Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

दुर्गेश थापा अर्को 'फण्डा' लिएर आए

दुर्गेश थापा अर्को 'फण्डा' लिएर आए


  • 3.9K
    Shares

    दुर्गेश थापा अर्को 'फण्डा' लिएर आए
    images

    काठमाडौं। सांगीतिक क्षेत्रमा केही न केही ‘फण्डा’ गरिरहन्छन् दुर्गेश थापा। आफ्नै गीतका शब्दका कारण उनी विवादमा मुछिन पुग्छन्।

    गत शुक्रबार सार्वजनिक भएको गीत ‘पैसा’ बाट पनि विवादमा मुछिन सक्ने देखिन्छन् उनी। शब्द, संगीत, स्वर र अभिनयसमेत उनकै रहेको गीत पैसामा पनि उनले केही आपत्तिजनक शब्द समावेश गरेका छन्। पैसाले देश ध्वस्त बनायो, सिध्याउँछ र ‘यस्तो जाबो कागज’ ‘मूला’ जस्ता शब्द छन्। केही त सुन्नै नसकिने शब्दहरु समेत समावेश गरेका छन् उनले। 

    पैसा बोलको गीतमा उनले द्विअर्र्थी र आपत्तिजनक शब्द मात्रै प्रयोग गरेका छैनन्, केही शब्द अश्लिलजस्ता सुनिन्छन्। यो गीत सार्वजनिक भएसँगै कलाकारहरुले आलोचना गरिरहेका छन्। केही संगीतकर्मीहरु त यो गीतले सांगीतिक क्षेत्रलाई नै असर पर्नसक्ने बताउँछन्। 

    ‘आफ्नो बानी कहीँ नजानी’ भनेजस्तै थापाले हरेक गीतमा आपत्तिजनक शब्द अनिवार्यजस्तो बनाइसकेका छन्। आपत्तिजनक शब्दबिना गीत नै हुँदैनजस्तो छवि बनाएका छन्। यसअघि आएका गीतका कारण पनि उनी निकै आलोचित भएका थिए।  

    ‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ बोलको तीज गीतबाट हिट भएका दुर्गेशले सांगीतिक क्षेत्रमा एउटा छलाङ नै मारे। तर आफैंले सिर्जना गरेका गीतका कारण भने विवादमा पर्ने गरेका छन्। चलचित्र ‘छ माया छपक्कै’ प्रमोसनका लागि ‘बीच्च बीच्चमा’ थेगो प्रयोग गरिएको गीतमा पनि आलोचित बन्नुपरेको थियो उनले। 

    तिहारको गीत ‘डन आयो डन’मा पनि केही आपत्तिजनक शब्दका कारण उनी प्रहरी कार्यालय समेत धाउनु परेको थियो। गीतमा भएको केही शब्दका कारण जिल्ला प्रशासन कार्यालय काठमाडांैमा उजुरी समेत परेको थियो। यसपछि उनले युट्युबबाटै गीत हटाउन बाध्य भए। पछि केही शब्दलाई ‘म्युट’ गरेर गीतलाई पुनः अपलोड पनि गरेका थिए। 

    गएको वर्ष ‘बीच्च बीच्चमा २’ र ‘बीच्च बीच्चमा ३’ गीत सार्वजनिक गरेपछि दुर्गेश भिडियोका कारण पनि आलोचित भएका थिए। भिडियोमा पुरुष कलाकारले साडी लगाएर ‘मोडर्न’ तीजको भाव दिने कोसिस गरेका थिए। त्यसैगरी उनको ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ का कारण पनि उनी आलोचित भए। गीतमा प्रयोग भएको ‘ख्यास्स पुतली’ शब्दले तीज पर्व र महिलामाथि नै अपमान गरेको आरोप लागेको थियो। 

    दुर्गेशले गत वर्ष दिएको एक अन्तर्वार्तामा प्रस्तोताले नारायण गोपालको सम्झनामा उनले गाएको गीत गाउन लगाउँदा भक्तराज आचार्यको गीत गाएर आलोचित भएका थिए। संगीतप्रतिको कमजोर ज्ञानका कारण धेरै ट्रोल समेत बनेका थिए। 

    गीतको शब्द छनोटमा साह्रै लापरवाही रहेको आरोप समेत लाग्ने गर्छ उनलाई। त्यस्ता शब्दलाई फेरबदल गरी ल्याउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले उनलाई ध्यानाकर्षण पत्र समेत काटेको थियो। तर उनले प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दा उनको साधारण सदस्य समेत खारेज गर्ने निर्णय प्रतिष्ठानले गरेको थियो। 

    प्रकाशित मिति :माघ १६ २०७८ आइतवार - १३:४७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij