२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ ले जितेको छ । आइतवार भएको फाईनलमा विभागीय टिम एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि जितेको हो ।
खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ६ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको एपीएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा सिमित हुन पुगेको थियो । ओपनर ज्योती पाण्डेले १४ रन बनाएको ईनिङ्समा राजमती ऐरी शुन्य रनमा आउट भईन् । इन्दु वर्माले ७, सरिता मगरले ६ रन बनाईन् । ममता चौधरी र करुणा भण्डारीले छैटौ विकटका लागि ६४ रनको योगदान गर्दै एपीएफलाई जितको नजिक पुर्याएका थिए । तर अन्तिम ओभरमा सम्हालिन नसक्दा एपीएफ पराजित बन्यो ।
प्रदेश १ की रुविना क्षेत्री र अलिसा खनियाँले समान २ विकेट लिए । संगिता राईको नाममा एक विकेट रह्यो । यसअघि, दाङ्गको लमहीमा प्रदेश नम्बर १ ले टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेको थियो । निर्धारित ओभर खेल्दै प्रदेश १ ले ४ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । ओपनर अप्सरी बेगमले सर्वाधिक ३४ रन बनाएको ईनिङ्समा काजोल श्रेष्ठले २९ रन बनाईन् । कप्तान रुविना क्षेत्रीले १८ रन बनाईन् । यस्तै, रोमा थापाले ३, निशा शाहले ५ तथा संगिता राई २ रनमा अविजित रहिन् । एपीएफकी सिता राना मगरले सर्वाधिक ३ विकेट लिईन् । करुणा भण्डारीले १ विकेट हात पारेकी थिईन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij