२०८२ भाद्र २ गते सोमवार
‘यात्रा, यात्रा र यात्रा ।’
आफू त परियो यात्राप्रेमी मान्छे ! यदि कसैले मलाई मेरो जीवनको तीन वटा लक्ष्य सोध्यो भने मैले दिने सरल जवाफ हो यो ।
गणेश हिमाल पर्यटन विकास समितिका साथीहरूले रुबी भ्याली पदयात्रा मार्गको अवलोकन भ्रमणको आयोजना गर्दै छन् भन्ने सुनेपछि नलोभिने त कुरै भएन । कोभिड–१९ जस्तो महामारीको कारणले नेपालको सिङ्गो पर्यटन नै अन्योलताको बादलभित्र रूमलिइरहेको पृष्ठभूमिमा यो क्षेत्रलाई उत्थान गर्न लागिपरेका थिए उनीहरु । यसैले त व्यवसायप्रतिको आशा जीवित भएको प्रतीत भइरहेथ्यो मलाई । रसुवा–नुवाकोट पर्यटन समाजको तर्फबाट प्रतिनिधित्व गर्ने संयोग मिलेपछि त ‘के खोज्छस् कानो, आँखो’ भनेझैँ भइगयो मलाई ।
०००
‘हा.....चौतारीको
लहरे पीपल
ओझेलै पा¥यो बरको छायाँले
जिन्दगीमा मलाई दुई कुराले ठग्यो
एउटा आफ्नै रूपले हो...., अर्को मायाले....’
बिहानै सोमदाङमा जीप स्टार्ट गर्नेबित्तिकै युवा चालक राजु थापा चर्को आवाजमा गीत बजाउन थाल्छन् । अघिल्लो दिन काठमाडौँबाट हिँडेदेखि नै भक्कु सुनेका थियौँ, कान्छी फकाउने यो र यस्तै खाले अरू गीतहरू । कच्ची सडकमा गाडी हुइँक्याउन्जेल आफ्ना यात्रुलाई भुलाउने लोकल जीप चालकहरूको यो कायदालाई पनि मान्नैपर्छ । नत्र आत्तिन्छन् यात्रुहरू सडकले छिचोलेका भीर पहराहरूमा गुड्दा ।
जति सुनेपनि झिजो लाग्दो रहेनछ गीतहरू सुमधुर भएपछि । आखिर जीवन दर्शाउने कला न हो गीत ! बोलेरो जीपभित्रको यात्रा उसिसनिसिस भए पनि सङ्गीतले नसा भरिभरि प्रवाहित गराउँछ उमङ्ग र उत्सुकताको बिजुली । गीतका शब्दहरूलाई समात्दै आन्तरिक गायनमा थिएँ म । गीतका उही शब्दहरूको हाउभाउ लागाइरहेका थिए, जीपको पछिल्लो पङ्क्तिमा मसँगै बसेका अशोक सिलवाल । एकातिर यात्राको उन्माद; अर्कोतिर सङ्गीतको उन्माद । ज्यास्ती नै उन्मादग्रस्त देखिन्थे उनी ।
सोमदाङ (३,२०० मिटर) बाट तिप्लिङसम्म तीन घण्टा जीपमा र त्यहाँ लन्च गरेपछि सेर्तुङ हुँदै चालीस गाउँ ओर्लंदा तीन घण्टा हिँड्नुपर्छ भन्ने जानकारी पाइएको थियो । केही वर्षयता सोमदाङमाथिका पहाडहरूले पनि सडकको पटुकी बाँधेका छन् । यद्यपि यसले नजिक्याएको छ रसुवाको गत्लाङ र धादिङको तिप्लिङलाई किन्तु हिँड्नुभन्दा ज्यादा साहसिक हो हिमाली सडकमा जीपको यात्रा । मनमनै रामको नाम पो जप्दै थिएँ म !
जसै जीपले पहाडको फन्को मार्न थाल्यो, मेरो नजरमा प¥यो अघिल्लो साँझ पार गरेको ३,५०० मिटर उचाइको खुर्पु भन्ज्याङ (युरी खर्क) । गत्लाङबाट पदयात्रा गर्दै आइपुगेका पदयात्रीहरूको बिसौनी हो खुर्पु भन्ज्याङ र लाङटाङ हिमशृङ्खलालाई नजिकबाट देखाइदिने दुर्विनडाँडा पनि ।
हिजो पार्वतीकुण्ड आइपुग्दा झमक्कै साँझ परिसकेको थियो । बेलुकाको सात बजिसकेको थियो, खुर्पु भन्ज्याङ छिचोल्दा । हिमालका मनोरम दृश्य देखिने त्यो उचाइबाट नियालेथेँे मैले निहारिका । नेपाल आफैँमा उत्कृष्ट गन्तव्यमध्येको एउटा हो, तारा हेर्नका लागि । ओहो ! खुर्पु भन्ज्याङबाट देखिनेजस्तो तारापुञ्ज शहरबाट कहाँ पो देखिनु र ! नवीन अनुभूति भएथ्यो मलाई । ताराहरूको अद्भुत दृश्य देखेर निःशब्द भएथेँ । अझ उल्का वर्षा (तारा खसेको) हेर्दा अचम्मकै अनुभूति हुन्छ । खुर्पु भन्ज्याङमै रात बिताउन पाएको भए त देखिन्थ्यो होला त्यो दृश्य ।
खुर्पु भन्ज्याङबाट सोमदाङ ओर्लंदै गर्दा कामना गरेथेँ मैले– ‘आकाशमा ताराजस्तै छरिएका रुबी भ्यालीबासीका सपनाहरूलाई सँगालेर गणेश हिमाल पर्यटन विकास समितिले उनीहरूको समृद्धिको आधार बनाउन सकोस् !’
हिमाली सडकमा धुलो उडाइरहेका छन्– ‘रुबी भ्याली फ्याम ट्रिप” ब्यानर टाँगिएका जीपहरूले । जीपमा सवार छन्– मजस्तै सरोकारवाला, सञ्चारकर्मी, छविकार र आयोजकहरू । रुबी भ्याली विचरण गर्न गइरहेको थियो, तेत्तीसजनाको त्यो डफ्फा । ठाउँठाउँमा ओर्लेर अद्भुत लाग्ने भू–आकृतिहरूलाई आफ्नो क्यामरामा कैद गर्छन् छविकारहरू । त्यही मौकामा मनपरेका दृश्यहरू मोबाइलको मेमोरीमा सङ्ग्रह गर्छु म पनि ।
पहरामा रसाएको पानी बग्दा बग्दै शून्य डिग्रीमा झर्दा स्फटिकको रुपमा सडकभरि थुप्रिएका छन् । ठाउँठाउँका यी दृश्यले कोभिड– १९ को कारण यसरी नै मेरो जीवन पनि शून्यमा पुगेको अनुभूत गराउँछ । त्यही बरफ सकडको अर्को छेउमा घामको राप पाएर शून्यबाट माथि उठिरहेछ । र, सोच्छु– ‘मैले पनि शून्यबाटै सुरु गर्नुछ जीवन । जिन्दगीको तापमान बढाउन शून्यबाट माथि उठ्नैपर्छ ।’
तर थाहा छैन– मेरो जीवनको तापमान बढाउने घाम कहिले पो उदाउने हो ।
“लौ आइपुग्यो पाङसाङ भन्ज्याङ । हामी अहिले ३,८५० मिटरको उचाइमा आइपुगेका छौँ । स्थानीय भाषामा ‘पाङ’ भनेको डाँडो र ‘साङ’ भनेको भन्ज्याङ । सम्भवतः नेपालको सबैभन्दा उचाइमा निर्मित सडक हो यो ।”
जीपमा मसँगै बसेका टेकबहादुर गुरुङले बताए ।
उनी गणेश हिमाल पर्यटन विकास समिति परिवारका सदस्य । रुबी भ्यालीकै खादिङ गाउँमा जन्मेका उनी निकै भइसक्यो पदयात्रा व्यवसायमा लागेको । पथप्रदर्शककै भूमिका निर्वाह गर्दै छन् उनी अहिले पनि ।
भन्ज्याङ पुगेर जीप रोकिए पनि निर्वाध बजिरहन्छ गीत–
‘ठाडे पिपल चल्यो बतास
मलाई छाडी जाने माया कता छ.....’
गाडीबाट ओर्लनेबित्तिकै मत्त मयुरझैँ नाच्न थाल्छन् अशोक सिलवाल र तेजबहादुर गुरुङ । गायन, वादन र नृत्यको समष्टि रूप हो– सङ्गीत । हंसमुखहरूको रमाइलो गर्ने मेसोे । दर्शक बनेथेँ म त्यसबेला ।
दुई उच्च पहाडको बीचमा छ फराकिलो घाँटी । आफैँमा प्राकृतिक प्रवेशद्वार हो– घाँटी । घाँटीमै छ मानवनिर्मित सुन्दर प्रवेशद्वार । प्रवेशद्वारसँगै छन् तीन थान माने । सिरसिरे हावामा छुन्मुनाइरहेका छन् मानेमा नत्थी लगाइएका शान्तिका सजधज । घाँसे पहाडभन्दा माथि झ्याउरिएका देखिन्छन् हिउँले पखालिएर तृणविहीन बनेका काला पर्वतहरू । र, क्षितिजबाटै उठेर साउती गरिरहेका छन् श्वेत हिमशैल । भन्ज्याङको चिया घरले निमग्न भएर हेरिरहेथ्यो हामी आगन्तुलाई । चिया घरको तन्मयतामा नजर डुलाएँ मैले ।
“उः परको बराह शिखर, यतापट्टिको अन्नपूर्ण, त्योभन्दा यताको माछापुच्छ«े, मनासलु, हिमालचुली, गणेश हिमाल– ४, पाबिल, पाल्दोर र यतापट्टिको लाङटाङ हिमालका शृङ्खला र परपट्टिको दोर्जेलाक्पा ।”
पश्चिमदेखि पूर्वसम्म आँखाले भ्याएसम्मका अनन्त दृश्य साक्षात्कार गराए टेकबहादुरले ।
एउटाले अर्कोलाई छेकेको छ, एकमाथि अर्को खप्टिएझैँ लाग्छन् । अनगिन्ती छन्– नाम थाहा नभएका र संज्ञाविहीन चुलीहरू । निलो आकाशको पृष्ठभूमिमा बिछट्टै सुन्दर लाग्थे हिउँका ढकनाले ढाकिएका उच्च चुचुराहरू ।
भन्ज्याङमा छरियौँ हामी । सबैसबै आ–आफ्नै तालगाँठीमा लाग्यौँ । निशङ्कोच नाङ्गो तस्बिर खिचाउँदै थियो पाङसाङबाट देखिने सबैभन्दा नजिकको गणेश हिमाल– ४ ले ।
थुम्कै थुम्काहरू छन् पाङसाङको देब्रेपट्टि पाखामा ।
“जाने हो त त्यहाँ ?”
नजिकैको थुमलाई देखाउँदै सोध्छन् तेज ।
स्वीकारोक्ति हुन्छ मेरो । र, उकालिन्छौँ हामी सुनपातीको सुगन्ध लिँदै । हाम्रा पाइला पछ्याउँदै छन्– अम्बीर गुरुङ, लाला गुरुङ र अर्जुन पाख्रिन ।
तेजिला छन् तेज । ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल
(टान)को प्रथम उपाध्यक्ष भइसकेका उनी आयोजक संस्था गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष हुन् । उनी रुबी भ्यालीकै माटोमा जन्मेर हुर्केका । उनकै नेतृŒवमा रुबी भ्यालीको सुवास लिइरहेका थियौँ हामीले । थुममा पुगेपछि उनले हामीलाई देखाए निला जस्ताले ढाकिएका सुन्दर तिप्लिङ, सेर्तुङ र उनको आफ्नो थातथलो– चालीस गाउँ ।
उनले भने– ‘चालीस तपाईंहरूको प्रतीक्षामा छ आज ।’
मैले भनेँ– ‘चालीसको आतिथ्य ग्रहण गर्न आतुर छु म ।’
साहित्यका विद्यार्थी र एउटा राम्रो सर्जक पनि हुन् तेज । उकालिँदै गर्दा आफ्नो सिर्जना सुनाउँछन् उनी–
‘तिमी कतै उदाउन
यहाँ अस्ताएको हुनुपर्छ
तिमी रम्ने दुनियाँ
सायद अर्कै हुनुपर्छ......’
उकालोमा ऊर्जा दिन्छ मलाई उनका शब्दले ।
सिँढीजस्तै लाग्छ थुममाथिका थुम । निरन्तर उकालिँदा आफूलाई गणेश हिमालको हाराहारीमा पु¥याएको महसुस गर्दै छु म । जतिजति माथि गयो त्यतित्यति नै पाङसाङको सौन्दर्यमा डुबुल्की मारेको महसुस भइरहेछ । प्राकृतिक सौँन्दर्यमा डुब्न उचाइ चुम्नै पर्दोरहेछ ।
“बहुमूल्य रत्न लुकेका छन् रुबी भ्यालीमा, स्वादिलो आलु र कोदो उब्जन्छ, पवित्र नदीहरू बग्छन्, तातो पानीका मुहानहरू छन्, कालो र सेतो कुण्ड यहीँ छ, गुरुङ र तामाङ संस्कृति जीवित छन् । यस्तो लाग्छ– के छैन रुबी भ्यालीमा ?” निश्वास नरोकी भन्छन् तेज ।
उनी थप्छन्– “गणेश हिमाल पदयात्रा मार्गलाई नयाँ ढङ्गले प्रवद्र्धन गर्न रुबी भ्याली भनेर नामकरण गरिएको हो । यहाँका प्रत्येक बस्तीले पर्यटकका लागि आतिथ्यको ढोका उघारिसकेका छन् ।”
अचेल त पहाडले पनि इसाई धर्मको प्रतीक ‘क्रस’को नाकफुली लगाउन थालिसकेछन् । परम्परागत रङ्गीन लुङ्दरको बुलाकीले शोभायमान हाम्रा पहाडलाई जबरजस्ती लगाइदिएको फुली असुहाउँदिलो लाग्यो मलाई ।
एउटा सवालको ज्वार–भाटा उठ्यो मेरो मनमा– ‘सडकले परम्परागत गोरेटोलाई विस्थापित गरेझैँ आयतीत धर्म र संस्कृतिले कतै हाम्रो मौलिक कला र संस्कृति विलोप हुने त होइन ?’
“कस्तो लाग्दैछ त्यो डाँडाको शिरमा सिउरिएको क्रस ?” मित्र अम्वीर गुरुङलाई प्रश्नको सोला हु¥र्याउँछु म ।
“हाम्रो धर्म र संस्कृतिमाथि भएको निर्मम ठट्टा !” सटीक जवाफ दिन्छन् उनी ।
अशिक्षा र निर्धनताको कारण इसाई धर्म मौलाएको स्वीकार गर्ने तेज भन्छन्– “नेपालमा धार्मिक स्वतन्त्रता छ ।”
नेपालमा इसाई धर्म प्रवेशको इतिहास नयाँ होइन । देवीप्रसाद शर्माको आधुनिक नेपालको इतिहास नामक पुस्तकका अनुसार इसाईको रोमन क्याथोलिक सम्प्रदायका धर्मगुरु ‘क्यापुचीन पादरी’लाई वि. सं. १६८५ मा कान्तिपुरका राजा शिवसिँह मल्लले पहिलोपटक धर्मप्रचारका लागि नेपाल भिœयाएका थिए । कान्तिपुरका राजा प्रताप मल्ल, ललितपुरका राजा श्रीनिवास मल्ल र भक्तपुरका राजा रणजित मल्लले उनीहरूलाई निर्बाध धर्मप्रचार गर्न छुट दिएका थिए । यसमा ललितपुरका राजाले बढी नै उदारता देखाए । वि. सं. १८२४ मा उनीहरूले ३९ नेपालीलाई इसाई बनाउन सफल भएका थिए । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि ब्रिटिस जासुसको रूपमा काम गर्ने गरेको आशङ्कामा वि. सं. १८२६ मा ६२ जना शिष्यसहित ती पादरीहरूलाई बिदा गरेका थिए ।
सुनेको थिएँ– ‘धर्म भित्र पनि धर्म हुन्छ रे !’ जसै आगोले पोल्छ, त्यो आगोको धर्म । पानीले भिजाउँछ, त्यो पानीको धर्म । आगो माथि लप्कन्छ; पानी तल छिर्छ । यिनै हुन्– आगो र पानीको धर्म । तर नेपालमा इसाई धर्म प्रचारको भित्री धर्म र मर्म बुझ्न सकस हुन्छ मलाई ।
लुङ्दा फर्फराइरहेको माथिल्लो थुममा जाने इच्छा जाग्यो सबैलाई । फेरि उक्लियौँ अर्को थुम । बौद्ध मन्त्र पाठ गर्दै अर्जुन पाख्रिनले ढोगे मानेलाई । बौद्ध धर्म उनको आस्थाको धर्म र माने बौद्ध धर्मावलम्बीको आस्था विम्ब । धर्मप्रतिकोे आस्थाले उनकै अनुकरण नगरिरहन सकिनँ मैले ।
माथि छ– सबैभन्दा अग्लो थुम्का अर्थात् भ्यू प्वइन्ट ।
तेजले भने– सन् २०१२ मा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)ले बिसौनी बनाएको छ त्यहाँ ।”
त्यसैतर्फ डो¥याए उनले हामीलाई ।
४,२०० मिटरको उचाइमा पुगेर बिसौनीमा थुचुक्क बस्दा गर्वले ठडिएथ्यो मेरो माथ । दुई हजारभन्दा बढी व्यवसायीहरूको छाता सङ्गठन हो– ‘टान’ ! आफ्नो संस्थाको पहलमा भएको काम देख्दा त्यत्तिकै फुल्दोरहेछ छाती ।
बिसौनीमा बस्दै गर्दा विशेष क्षणहरू कब्जा गरे मेरा आँखाले, मनले, आत्माले र स्मृतिले– पहाडको फराकिलो छाती, प्रकृतिको सौम्य मुस्कुराहट, सुनपातीलगायत जडीबुटीहरूको मिश्रित सुगन्ध, लुङ्दरले सिर्जना गरेको सङ्गीत र मन्द न्यानो वायुको संवेगात्मक सक्रियता । पाङसाङको निलो आकाशबाट निलै वायु झरेको भ्रममा छु यतिबेला । आँखा चिम्लेर निलै वायु पिएको महसुस गर्छु म ।
“मौसम खुल्दा राजधानीबाट देखिने गणेश हिमाल यही हो । बूढीगण्डकीको खोँचमा धादिङ र गोरखाको बीचमा तिब्बतसँगको सिमानामा अवस्थित छ यो । गणेशको सुँढजस्तै भएकोले गणेश हिमाल भनिएको रे !” मेरो पछाडिबाट आवाज आउँछ अम्वीरको ।
आकृति हेर्दा गणेशको सुँढजस्तै लाग्ने मोहडापट्टि थिएनौँ हामी । गणेश हिमशृङ्खलामध्ये सबैभन्दा अग्लोलाई याग्राकाङ्ग्र्री, तेस्रोलाई सालासुङ्गो र पाचौँलाई पाबिल भनिन्छ । याग्राकाङ्ग्र्री र सालासुुङ्गोको दर्शन नपाए पनि गणेश हिमाल– ४ को नगिचै पुग्दा भगवान् गणेशकै पाउमा पुगेझैँ अनुभूति गरेँ मैले ।
बिसौनीबाट देखिएका भू–आकृतिहरूलाई मगजको भूगोलमा चाङ लगाउँदै गर्दा टुप्लुकिए कुलबहादुर गुरुङ । नेपालको पर्वतीय पर्यटनको एउटा सशक्त हस्ताक्षर । गणेश हिमाल पर्यटन विकास समितिका संस्थापक । ‘टान’को पूर्व उपाध्यक्ष । नेपाल माउन्टेनियरिङ एसोसिएसन(एनएमए)को महासचिव र अन्तर्राष्ट्रिय पर्वतारोरण महासंघ(युआईएए)का सचिवालय सदस्य । रुबी भ्यालीमा पर्यटनको उज्यालो भर्ने सदिच्छा छ उनको । नेपालको पर्यटन प्रवद्र्धनका खातिर अहोरात्र खट्न सक्ने आफैँमा विचारको एउटा घैँटो हुन् उनी । थकाइ भन्ने शब्द नै देख्दिनँ म उनको जीवनको शब्दकोशमा । पर्यटनमा लोभलाग्दो सक्रियता छ उनको ।
“रमेश धमलाको कार्यकालमा हामीले नै बनाएका हौँ यो बिसौनी र तल भन्ज्याङको चिया घर । हेर्नुस् त ! यही काम गरेवापत आफ्नै कार्य समितिकाले मुद्दा हाले हामीलाई ।” दुखेसो पोखे उनले ।
“व्यावसायिक संस्थामा दलतन्त्र हावी भएपछिको परिणाम ।” मैले भनेँ ।
यो नै यथार्थ हो वर्तमान ‘टान’को, जहाँ नीतिगत व्यावसायिक चिन्तनभन्दा दलीय भागबण्डाको राजनीतिमात्र चल्छ ।
०००
“उहिलेउहिले त्रिशूलीबाट सुरु हुन्थ्यो गणेश हिमाल पदयात्रा । वेत्रावती, भाल्चे, रुप्चेत हुँदै सिङ् ला (४,०५० मिटर) पार गरेर सेर्तुङ पुग्न्थ्यिो । ज्यामरुङबाट धादिङबेसी झरेपछि पदयात्रा पूरा हुन्थ्यो । दुई हप्ता लाग्ने यात्रा एकहप्तामै सकिन्छ अचेल ।”
पुरानो पदमार्गको अनुभव भएका अम्वीर गुरुङ बोले ।
“नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रूपमा चिनिएको लाङटाङसित कुम जोडेर उभिएको गणेश हिमालले पदयात्रा गन्तव्यको रूपमा हैसियत प्राप्त गर्न नसकेकै हो । लाङटाङदेखि गणेश हिमाल हुँदै मनासलु र अन्नपूर्णासम्मको पदयात्रा मार्गलाई जोड्न सके ‘मिनी जीएचटी’को रूपमा विकास गर्न सकिन्छ ।”
‘मिनी जीएचटी अर्थात् मिनी ग्रेट हिमालयन ट्रेल !’
अद्भुत आकर्षण छ यो शब्दमा । सुन्दैमा यात्राका लागि निस्कौँजस्तो लाग्ने ।
भ्रमणमा निस्कनुअघि नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतसँग सम्वाद हुँदा मैले उनको मुखारबिन्दबाट सुनेँ यो शब्द ।
सुरुमा त उनकै अवधारणा हो ‘मिनी ग्रेट हिमालयन ट्रेल’ । थाहा छैन अहिले यो क–कसको धारणा बनेको छ । अवधारणा जोसुकैको भए पनि यसलाई साँच्चिकै ‘मिनी ग्रेट हिमालयन ट्रेल’कै हैसियत दिन सके त लामो दूरीको पदयात्राको एउटा विकल्प नै हुने थियो । पाङसाङ गाङमा टहलिँदै गर्दा मनोलाप गरेथेँ मैले ।
“भ्यू प्वइन्टले त नमज्जाले अल्मल्यायो हामीलाई । छकाल पो भइसकेछ ! अब त जाऊँ होला ! तिप्लिङमा लन्च गरेर सेर्तुङ पुग्नु छ । त्यहाँ स्वागतको कार्यक्रम राखेका छन् गाउँलेहरूले । साँस्कृतिक कार्यक्रम पनि हेर्नुछ । चालीस पुग्दा ढिलो हुन्छ ।” तेज र कुलले तातो लगाए ।
गणेश हिमाल– ४ र पाबिलमा अड्किएथ्यो मेरो मन । अझै गणेश हिमालको नजिक पुग्न पाए हुन्थ्यो भन्ने नलागेको त कहाँ हो र ! धर्तीका अनेक भङ्गिमाहरू सुम्सुम्याउँदै गणेश हिमालको छातीमा निधार ठोकाउने रहर नभएको त कहाँ हो र ! साँच्चै एउटा इतिहास भर्न चाहन्थेँ म । फगत् रहर भएर मात्रै के लाग्दोरहेछ र समयको धागोमा बाँिधएपछि ! फुटिगयो मैले स्वैर कल्पना फुकेर फुलाएको आशाको बेलुन ।
आफैँलाई सोधिरहेँ मैले– “फेरि कहाँ देख्न पाइएला र यस्तो अन्तहीन दृश्य ?”
२०७७ मंसिर २२
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij