२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । राष्ट्रिय फुटबल टिमका खेलाडी बिक्रम लामा र बिमल घर्तिमगरको चोटको उपचार कतारमा हुने भएको छ । खेल्ने क्रममा चोट लागेको दुवै खेलाडी मैदानदेखि बाहिर छन् । दुवैले उपचारका लागि कतारको सुविधा सम्पन्न खेलकुद अस्पतालमा ब्यवस्था मिलाउन एन्फासँग अनुरोध गर्दै आएका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार फुटबल संघबीच भएको सम्झौता अनुसार दुई खेलाडीको चोटको उपचार कतारमा हुने भएको हो । आइतबार साँझ मात्र दुवै खेलाडीको भिसा आएको छ ।
केही हप्ता अघि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा कतार पुगेर खेलाडीको उपचारसहित फुटबलका विभिन्न क्षेत्रमा सहयोगका विषयमा कतार फुटबल संघसँग सम्झौता गरेका थिए । सोही सम्झौता अनुसार बिशेषज्ञ चिकित्सक र खेलकुद अस्पतालमा उच्चस्तरको उपचार नेपालका दुई खेलाडीले पाउने एन्फाले जनाएको छ ।
बिक्रम दुई वर्ष अघि भाँचिएको खुट्टाको पुन चेकजाँचका लागि कतार जान चाहेका थिए । दुई वर्ष अघि खुट्टाको सफल शल्यक्रिया गरेका बिक्रम पछिल्लो समय असहज महशुश गर्न थालेका थिए । खेल्ने क्रममा उनको खुट्टामा पीडा हुन थालेको थियो । बंगलादेशसंगको पछिल्लो मैत्रीपूर्ण खेलमा समेत उनलाई चोट लागेको थियो । खुट्टामा गम्भिर चोट लागेर पनि सफल उपचारपछि मैदान फर्किएका बिक्रमले क्लब र राष्ट्रिय टिमबाट आफूलाई सिद्ध गरिसकेका छन् ।
बिमल भने केही साता अघि मात्र अभ्यासको क्रममा घाइते भएका थिए । उनको दायाँ घुँडामा गम्भिर चोट लागेको एन्फाले जनाएको छ । विश्वकप छनोट अन्तर्गत राष्ट्रिय टिमको तयारीमा रहेको बेला बिमललाई चोट लागेको हो । उनी लामो समयसम्म मैदान बाहिर रहने बताईएको छ ।
एन्फाका अनुसार एक हप्ताभित्र दुवै खेलाडी कतार उड्नेछन् । एन्फाले कतार फुटबल संघसँग खेलाडीको उपचारका लागि सहयोग सम्झौता गरेको छ । कतारले अनुकुलताका आधारमा नेपाली फुटबल खेलाडीलाई उपचारको ब्यवस्था मिलाउँदै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij