Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

गुरुराज घिमिरेको कवितामा प्रजातान्त्रिक चेत

गुरुराज घिमिरेको कवितामा प्रजातान्त्रिक चेत


  • 13.0K
    Shares

    गुरुराज घिमिरेको कवितामा प्रजातान्त्रिक चेत

    विद्यार्थी आन्दोलनका प्रारम्भिक दिनहरूमा मैले नेविसंघ नेताको रूपमा गुरुराज घिमिरेको नाम सुनेको थिएँ जुनबेला नेपाली राजनीतिमा गिरीजाप्रसाद कोइरालाको  दबदवा थियोे । जनआन्दोलनको आर्कहरूमा गुरुराज लगायत नेविसंघका  तरुण विद्यार्थीहरूले नारा लगाएका थिए– ‘लोकतन्त्र जिन्दावाद’ ।  तत्कालीन सातदल र नेकपा माओवादीको नेतृत्वमा लोकतन्त्र आएको थियोे । गिरीजाप्रसाद कोइराला, सुशीला कोइराला जस्ता बृद्ध नेताहरूले सडकमा पुलिसको लौरो खाइरहेका थिए । त्यतिबेला पत्रिकातिर गुरुराजको तरुण फोटो छापिन्थियो । हामी कवितामै भन्थ्यौं ‘लोकतन्त्र जिन्दावाद !’
    धेरै पछि मात्र मैले नेता गुरुराज घिमिरेको कवि ब्यक्तित्वबारे थाहा पाएँ । उनले राष्ट्रवादी, जीवनवादी र आदर्श चेतसहितको कविता लेख्छन् भन्ने थाहा पाएँ  । कविताको मर्मलाई छोएर कविता लेख्न सक्ने उनले समाएको राजनीतिक बिचारधाराप्रति मेरो असहमति छ । तर उनको केही कविताको समय चेतबाट म प्रभावित छु । भलै  कवितामा उनले जिकिर गरेको राष्ट्रियताको सन्दर्भमा बहस गर्न सकिन्छ । 
    हालै उनको नविनतम कविता सङ्ग्रह बजारमा आएको छ, मृत्युसँग साक्षात्कार । सहकारीबाट ऋण झिकेर सुखम् दुखम् चलिरहेको बिएन पुस्तक संसारले यस कविता संग्रहलाई बजारमा ल्याएको हो । बरु फर्सीको साग खाने तर स्वाभिमान धरौटीमा नराख्ने प्रीय कमरेड सुर्य बिसी र ठाकुरजीले जोखिम मोलेर कविता संग्रह बजारमा ल्याएका हुन् ।
    कविता संग्रह मुलतः तीन खालको कविता समावेश छन्,  १) राष्ट्रियताको चेत बोकेका कविता २) जीवन दर्शन र  आदर्श चेतका कविता ३) समसामयिक राजनीतिक, सामाजिक चेतका कविता ।
    सङ्ग्रहमा मलाई एकदम मन परेको कविता हो– मृत्युसँग साक्षात्कार । यो कविता जीवन र मृत्युको चिन्तन गर्ने कविता हो । एक टुक्रा हेरांै–

    241128725_4442660639126136_2271731188240069558_n.jpg

    हो, म जिउँदै छु त 
    नपत्याए मेरो धड्कन छाम्न सक्छौ 
    हिँड्नु, डुल्नु, खानु, पिउनु 
    अनि सारा सास फेर्नुमात्र 
    जिउनु हो र साथी ?
    उसको नयाँ प्रश्नको बन्दुक 
    तेर्सियो म उपर 
    नाजवाफ थिएँ म 
    अर्को कविता छ फगत एक अनुभुती । यो कविताले आशावादी स्वर बोलेको छ ।

    जीवनको आयाम पनि साँट्ने छैन कर्मसँग 
    किस्तीमा हालेर तिमीलाई बुझाएको 
    मेरो हर हिसाब चुक्ता हुनै बाँकी छ 
    तिम्रो लीलाहरूको पर्दाफास गर्नै बाँकी छ 
    मेरो आँशुको मूल्य असुल्नै छ अझै 
    उनको कवितामा अब्बल समसामयिक चेत पाइन्छ । उनी राजनीतिकर्मी भएकोले पनि त्यो राजनीतिक ढंगले आएको छ । कहिलेकाहीँ समसामयिक चेतलाइ कलाले भर्न सकिएन भने त्यो इन्टर कविता बन्ने खतरा धेरै हुन्छ । कवि गुरुराजका कवितामा आएको समसामयिक चेत इन्टर कविता हुनबाट जोगिएको छ  । नेता शीर्षकमा कविता हेरौं– 

    मेरो लगाम उ त्यसले समाएको छ
    म त एउटा जाबो टेपरिकर्डर हूँ
    थिचेपछी बल्ल बोल्छु 
    म त एउटा गुडिया हूँ
    नचाएपछी बल्ल नाँच्छु 
    म त एउटा भकुण्डो हूँ
    बजारेपछी बल्ल उफ्रिन्छु 
    म त एउटा सुगा हूँ
    बोलाएपछी बल्ल बोल्छु 
    म त एउटा आज्ञाकारी कारिन्दा 
    अह्राएको गर्छु , नूनको सोझो ।

    उनको धेरै कविता ब्यंग्य चेत पनि छ । समाज र राजनीतिका धमिला पाटोहरूमा असहमति छ घिमिरेको । त्यो असहमति कतै मुर्त छन् कतै अमूर्त ।  मूर्त लाग्ने कविता राजनीति प्रबन्धमा उनी लेख्छन् – 
    कुहिएको लासको गन्ध 
    सौर्यमण्डलमा झरेको उल्कापिण्ड 
    आफन्तको कारूणिक चीत्कार 
    सत्याग्राहीमाथि घनघोर अत्याचार 
    छाँट न काँटको बेढङ्गको निबन्ध 
    धन्य हो मेरो देशको 
    राजनीतिक प्रबन्ध 
    गुरुराजको कवितामा आएको राष्ट्रवादी चेतना कतिपय ठाँउमा चाहिँ प्रश्न गर्न लायक छन् । हिमाल, पहाड, झरना मात्र होइन पृथ्वीनारायण शाहको धेरै ठाँउमा उच्च प्रशंसा गरिएको देखिन्छ । सहिद र वलिदानीको कम चर्चा भएको छ । जबकि मुलुक बन्न जनताको रगत पसिना बग्यो ।

    म नेपाली हुनुको अस्तित्वको प्रमाण 
    मेरो प्रातः स्मरणीय पुर्खाहरूको 
    महान उत्सर्गको परिणाम 
    बिशाल राष्ट्रको निर्माण 
    कुनै राजाको फगत महत्वाकांक्षा मात्र 
    मान्दिन म यस महायज्ञलाई 

    ( चन्द्रागिरी पर्वत )

    देश जोगाउन पर्छ । देशको रक्षा गर्नुपर्छ । देश फुलाउनु पर्छ भन्ने भावका कविता संग्रहमा देख्न सकिन्छ ।

    जोत्न दिन्नौ तिम्रो कमल छाती 
    ढोंगी र पाखण्डीहरूलाइ धपाएर 
    गाड्ने छौँ सौर्यको झण्डा 
    कायम राख्ने छौँ तिम्रो अस्तित्व 
    पहिचान र स्वतन्त्रता 
    मेरो प्रीय कालापानी 

    (मेरो कालापानी )
    प्रेमिल भावका कवितामा यसमा समावेश छन् । धोका, मिलन बिछोडका शब्दहरू कोरिएका केही कविता छन् जस्तो –

    बाटो छली हिँड्नेसँग अचानक भेट भयो 
    माया निकै लाग्यो तर सारै लेट भयो 

    ( बाटो छली हिँड्नेसँग )

    एउटा गीत लेखांै भन्थें लेख्नै सकिएन 
    जिन्दगीका गल्तीहरू देख्नै सकिएन 

    ( जिन्दगीका गल्तीहरू )

    कविताको मुल्याङ्कन गर्नु गाह्रो कुरा हो । कविताको तुलना पनि हुँदैन । तर कवितामा विचार र दर्शन चाहिँ  हुन्छ ÷ हुनुपर्छ । नत्र त्यो अर्थहीन निबन्ध मात्र भइदिन्छ  । यसैले गुरुराजका  कवितालाई बैचारिक मुल्याङ्कन गर्न आवश्यक छ । वैचारिक रूपमा भन्न सकिन्छ गुरुका  कवितामा कला छ  सचेत प्रजातान्त्रिक रङ पनि ।  
    अनेकौं रंगहरूसँग शब्दको  कुच्ची चलाएर समाजको  क्यानभास रङ्गिन पारेका छन् उनका कविताले  । दुःख, पिडा, आक्रोश, उत्पीडन, देशभक्ति र प्रजातन्त्र अटाउने गुरुको कविता संग्रह पठनीय र संग्रहणीय छ । सरल कवितामा गम्भीर भाव दिन सक्नु यो गुरुको कविताकारिताको पहिचान हो । यो पहिचान यो संग्रहसम्म आइपुग्दा पनि कायम छ ।
    हो, गुरुका कवितामा बिपीले देख्नुभएको प्रजातान्त्रिक समाजवादको अबधारणा स्पष्ट देखिन्छ परैवाट !

    प्रकाशित मिति :भाद्र १७ २०७८ बिहिवार - १२:३८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij