२०८२ भाद्र ९ गते सोमवार
हाम्रा कमजोरीलाई हटाउँदै गएर तिनलाई समाप्त गुर्नुपर्छ। त्यो शक्ति हामीलाई ब्रह्मचर्यले दिन्छ। व्रह्मचार्य आधारभूत कुरा हो। यो पनि खाऊ, त्यो पनि खाऊ, मन लागेको खाऊ। मनले मागेको खाऊ। मनले मागेको चाहेको गर। कतिपय समुदायमा यस्तो भनेको सुन्छु मैले।
तर, मलाई अचम्म के लाग्छ भने, ‘आगोमा पेट्रोल हाल्यो भने निभ्छ कि झन दन्किन्छ?’ पक्कै पनि झन् दन्किने हो। यो तरिका होइन। व्रह्मचार्यका लागि सम्यम चाहिन्छ।
पाइथागोरसले ‘डक्टर अफ मिन’ भन्नुभयो। यो भनेको मध्यमार्गको सिद्धान्त हो। बुद्धले सम्बेक पथ भन्नुभयो। सम्बेक व्यायाम, सम्बेक भोजन, सम्बेक दृष्टि। उहाँले सम्बेकको कुरा गर्नुभयो। त्यो पनि ‘डक्टर अफ मिन’ नै हो।
त्यसैले एउटा साधकका लागि व्रह्मचार्य एकदमै आवश्यक छ। ब्रह्मचर्यको शाब्दिक अर्थ ‘व्रह्म’ भनेको ठूलो, ‘चर्या’ भनेको आचरण हो। यो शब्द विवाह नगर्नुसँग जोडिएको छैन। तपाईंको आचरण ठूलो हुँदा काम कृतको याद हुँदैन।
तपाईंको ऊर्जाको अनावश्यक स्खलन हुँदैन।ब्रह्मचरिणि माताले ऊर्जाको अनावश्यक खर्च नगर्नु भन्नुहुन्छ। परमात्माको प्राप्ति गर्नु छ भने, चैतन्यको परमस्तुतिलाई अनुभूति गर्नुछ भने परमात्माको पूर्णशक्ति ग्रहण गर्न सक्नुपर्छ। ऊर्जा धपधप बलेको हुनु जरुरी छ।
यहाँ उमेरको हिसाबकिताब हुँदैन। तपाईंसँग जति ऊर्जा छ त्यति नै तपाईं जीवन्त हुने हो। जति ऊर्जा कम हुँदै गएको छ, जीवन त्यति नै मृततुल्य हुँदै गएको हुन्छ। काम कृत्यले कहिले थाक्दैन मान्छे। काम कृत्यमा डुब्नेहरू कहिले टुंगिँदैनन्। जिन्दगी टुंगिन्छ। तर, उनीहरूको चाहना टुंगिँदैन। त्यसैले गृहस्थ आश्रममा पनि सम्यमको आवश्यकता छ।
म पाँच–सात वर्षदेखि पूर्णरूपमा व्रह्मचार्यमा छु। त्यसैले ममा यति ऊर्जा छ। विवाहित होस् वा अविवाहित, जीवनमा जसले अत्यधिक व्रह्मचार्य भंग गर्छ, जसले अत्यधिक ऊर्जा स्खलन गर्छ, त्यो व्यक्ति डिप्रेसनग्रस्त हुन्छ। यो ग्यारेन्टेड कुरा हो।
डाक्टर र वैज्ञानिकहरूको अनुसन्धानले पनि कामकृत्य केही होइन, जो नियमित कामकृत्यमा जान्छ उसलाई मुटुको समस्या हुँदैन भन्छन्। तर, त्यो गलत हो। यो मेरो अनुभूतिले भनेको कुरा हो।
हाम्रो शरीर चुहिने बाल्टी भइरहेको छ। आँखाबाट चुहिरहेको छ। चौबिसै घन्टा नेट–नेट। आँखाबाट ऊर्जा चुहिरहेको छ। कानबाट चाहिने नचाहिने कुरा सुनेर ऊर्जा चुहिरहेको छ। स्पर्शबाट पनि ऊर्जा चुहिरहेको छ। स्पर्श आनन्द लिने क्रममा ऊर्जा चुहिरहेको थाहै पाउँदैन मान्छे। बोलीबाट पनि ऊर्जा चुहिरहेको हुन्छ। त्यसैले धेरै बोल्ने पेसा भएका मानिसले कहिलेकाहिँ मौन व्रत लिनु जाति हुन्छ।
सबैभन्दा ऊर्जा सकिने भनेको कामकृत्य हो। सेक्सुअल एक्टिभिटिज। कामकृत्यलाई पनि केही साधकसाधिकाले मेडिटेसन बनाए बीचको एउटा कालखण्डमा। त्यसलाई तन्त्रको प्रयोग भनियो। तर, अहिले तान्त्रिक प्रयोग विक्षिप्त र अश्लिल हुँदै गयो। त्यसैको नमुना मन्दिरका टुँडालहरूमा कामकृत्यका दृश्य कुँदिएको हुन्छ। पवित्र मानेको हो कामकृत्यलाई पनि। मन्दिरको टुँडालमा कुद्नु भनेको कामकृत्यलाई पवित्र मान्नु हो। साधनात्मक विषयवस्तु मानेको हो।
भारतमा खजुराव भन्ने ठाउँ छ। त्यहाँ खजुरावको मन्दिर छ। त्यो खजुरावको मन्दिरमा पूरै कामकृत्यका कला छन्। सबै परिवार नै गएर सहजतापूर्वक निरीक्षण गर्ने गर्छन्। कामकृत्यलाई साधनात्मक विषयवस्तु मानिएको हो। तर, पछि विकृति आयो त्यसैमा। विकृति आउन थालेपछि तान्त्रिक प्रयोगहरू छुटे। त्यो तान्त्रिक प्रयोगहरूलाई हटाइयो। अब तान्त्रिक प्रयोग ऊर्जा स्खलनको विषयमात्रै बन्यो।
पहिला तान्त्रिक प्रयोगबाट ऊर्जा पैदा हुने गथ्र्यो। तर, अहिले ऊर्जाको स्खलन हुन थाल्यो। त्यसैले अहिले किशोरावस्थादेखि नै व्रह्मचार्य रहन जरुरी छ। अहिले त ५–६ कक्षा पढ्ने केटाकेटीहरू आफ्नो ऊर्जाको स्खलन गरिरहेका छन्। इन्टरनेटबाट अनेक दृश्य हेरेका छन्। १२÷१४ वर्षका केटाकेटीहरू ऊर्जा स्खलनमा लागेका छन्। अनि, कसरी ऊर्जा प्राप्त हुन्छ तिनीहरूलाई? एकदमै अप्ठ्यारो छ। अभिभावकलाई पनि अप्ठ्यारो छ। अभिभावकसँग केटाकेटीको यस्तो कुरा हुँदैन। थाहा पाए पनि अभिभावकहरूले थाहा नपाए झैं गर्नुपरिरहेको अवस्था छ। त्यसैले जीवनमा धेरै ऊर्जा स्खलन हुने काम नगरौं।
जीवनमा सफल हुन चाहने व्यक्तिले सधै व्रह्मचार्य हुने प्रयास गर्नुपर्छ। रज र वीर्यको आवश्यकता सन्तान उत्पादनका लागि मात्रै हो। मनोरञ्जनका लागि होइन। अहिले त सन्तानहरू बाइप्रडक्ट जस्तो भए। सेक्सुअल एक्टिभिटी मनोरञ्जनको विषयवस्तु भयो। मनोरञ्जन गर्ने क्रममा उपजका रूपमा सन्तान जन्मिरहेजस्तो भइरहेको छ अहिले। सन्तान जन्मने विधि हुन्छ। सन्तान विधिवत रूपमा जन्मिनुपर्छ।
गर्भधारणदेखि प्राण प्रतिष्ठा हुनेबेलासम्ममा अनेक किसिमका विधि छन्। अनेक किसिमका तरिका छन्। ती तरिकापछि मात्रै दिव्यआत्माको आगमन हुन्छ गर्भमा। उहिले त उद्देश्य थियो कामकृत्यको तर अहिले जन्म्यो बच्चा। कस्तो बच्चा जन्म्यो जन्म्यो? कस्तो आत्माको आगमन भयो भयो? अनी गाँजा, भाङ, धतुरो खाने भयो।
कृष्ण फेरि जन्मिन सकेनन्। राम फेरि जन्मिन सकेनन्। रामलाई कृष्णलाई फेरि जन्माउने हो भने अब यी कुरामा विचार गर्नैपर्छ। हाम्रो रज र वीर्य मनोरञ्जनका लागि हुनुहुँदैन। यसको प्रयोग महान पुरुषहरूको आगमनका लागि हुनुपर्छ।
एकपटक शुकरातलाई उनका शिष्यले सोधे– ‘जिन्दगीमा शारीरिक सम्बन्ध कतिपटक गर्ने?’ अनि, शुकरातले भने– ‘यदि गृहस्थ हो भने सन्तान उत्पादनका लागि मात्रै गर्ने।’
शिष्यले फेरि सोधे– ‘त्यतिले पनि मनले मानेन भने?’
शुकरात– ‘वर्षमा एकपटक गर्नू।’
शिष्य– ‘त्यतिले पनि मनले मानेन भने?’
शुकरात– ‘वर्षमा पनि मनले मानेन भने टाउँकोमा काँक्रो बाँध्नू, जतिपटक कामकृत्यमा डुब्नुछ डुब्नू। मुर्दासरह हुन्छ त्यो मान्छे जो रातदिन कामकृत्यमा डुबिरहेको हुन्छ।’
त्यसैले ध्यान, मेडिटेसनलगायत काम गरेर ऊर्जा प्राप्त गर्न सकिन्छ। दमन गर्नुभन्दा आफूलाई परिवर्तन गर्नु उपयुक्त हुन्छ। अझै समस्याको कुरा त के भने ९० प्रतिशत मानिस इलिगल रिलेसनबाट आफ्नो शक्ति खर्च गरिरहेका छन्। जसले गर्दा उनीहरू डिप्रेसनमा गइरहेका हुन्छन्। आफ्नो लिगल रिलेसनमा लभफुल्ली सम्बन्ध राख्छन् भने त्यसले त्यति असर गर्दैन।
विषेशगरी छोरी मान्छेलाई सानैदेखि कामकृत्य पाप हो भनेर सिकाइएको छ। महिनावारी सुरु भइसकेको छ। लोग्ने मानिसको नजिक जानु हुँदैन भनिन्छ। तर, वास्तविक कुरो बताइँदैन। अनि, ती किशोरीको मनमा यो पाप हो भन्ने पर्छ। त्यपछि फेरि आमाबुबाले कुनै पुरुषसँग बिहे गरेर पठाइदिन्छन्। र, त्यो पुरुषले सुरुकै दिनबाट सुहागरात भनेर कामकृत्यमा धकेल्ने काम गर्छ। जसले कामकृत्यमा धकेल्यो त्यो व्यक्तिलाई प्रेम कसरी आउँछ। त्यसले बच्चाहरूलाई मर्यादित ढंगबाट यौन शिक्षा पनि दिनुपर्छ। र, पारदर्शिताको कला सिकाउनुपर्छ। जब विकारको रूपान्तरण हुन्छ। तबमात्रै परमआनन्दको अनुभूति हुन्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij