२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ। युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
आगामी अक्टोबर नोभम्बरमा आयोजना हुने टी-२० विश्वकपको खेल तालिका अन्तराष्ट्रिय क्रिकेट परिषद् [आईसीसी] ले मंगलबार सार्वजनिक गरेको हो ।
कोरोना महामारीको कारण भारतबाट सरेको विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ। सार्वजनिक खेल तालिका अनुसार भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्ने भएको छ। सुपर १२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ। भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ ।
अन्तिम पटक दुवै टिम सन् २०१९ को वान डे विश्वकपमा भिडेका थिए। जसमा भारत विजयी बनेको थियो। प्रतियोगिताको पहिलो चरणमा ८ टोलीले सहभागिता जनाउनेछन्। जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्ने छन् ।
यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन्। सुपर-१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो राउण्डको समूह बी विजेता र समूह ए को उपविजेता यस समूहमा रहने छन् ।
यस्तै, समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज रहेका छन्। पहिलो राउण्डको समूह ए को विजेता र समूह बी को उपविजेता यस समूहमा रहने छन् ।
अबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ। दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij