Logo

२०८३ मंसिर ९ गते बुधवार

२०८३ मंसिर ९ गते बुधवार

आजको सबै खबर एकै ठाउँमा

आजको सबै खबर एकै ठाउँमा

images

  • 323
    Shares

    आजको सबै खबर एकै ठाउँमा
    images

    १. सुदूरपश्चिम विजेता बन्दै बास्केटबलको क्वार्टरफाइनलमा

    सञ्जु घिसिङको प्रेरणामा सुदूरपश्चिम प्रदेशले सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको महिला बास्केटबलमा समूहविजेता रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको छ । तीन टोली रहेको समूह ‘बी’ को दोस्रो खेलमा सुदूरपश्चिमले मधेस प्रदेशमाथि सहज जित निकाल्यो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको कोर्टमा सुदूरपश्चिमले मधेशाई ४७–३ को फराकिलो अन्तरले हरायो । सुदूरपश्चिमको जितमा सञ्जुले सर्वाधिक १४ अंक योगदान गरिन् । सुदूरपश्चिमले चारै क्वाटरमा क्रमशः २०, ११, ४ र १२ अंक जोड्यो । मधेशले भने दोस्रो क्वाटरमा मात्र अंक जोड्न सक्यो । अन्य क्वार्टरमा सुदूरपश्चिमसामू मधेसले अंक जोड्न सकेन । सुदूरपश्चिमले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । यस समूहबाट अब बागमती र मधेशमध्ये एक टोली क्वार्टरफाइनलमा पुग्नेछ । बिहीबार यी दुईबीच प्रतिस्पर्धा हुनेछ ।  

    २. विपद् आउनुअघि नै जोखिम न्युनिकरण गर्नुपर्छः यूएनडीपी आवासीय प्रतिनिधि योकोसुका

    संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद्को क्षति न्युनिकरण गर्न विपद् आउनुअघि नै जोखिम पहिचान र व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले विपद् आएपछि उद्धार तथा राहतमा केन्द्रित हुने परम्परागत अभ्यासबाट अघि बढेर जोखिमको पूर्वानुमान, न्युनिकरण र विकासका पूर्वाधार तथा लगानीको संरक्षण गर्ने प्रणाली विकास गर्नुपर्ने बताउनुभएको हो । नेपाल सरकार र यूएनडीपीको सहकार्यमा सञ्चालन हुन लागेको ४९.९४ मिलियन अमेरिकी डलरको ‘जीएलओएफ सञ्जीवनी परियोजना’ सम्बन्धमा मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय प्रारम्भिक कार्यशालामा उहाँले जलवायुजन्य जोखिमलाई समयमै सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । 

    ३. महिला हिंसा र डिजिटल बुलिङ अन्त्यको माग गर्दै माईतीघरमा प्रदर्शन

    महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, विभेद र छुवाछुत अन्त्य गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा बुधवार युथ एड्भोकेसी नेपाल र एक्शन एडको आयोजनामा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा र छुवाछुत अन्त्य गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले राज्यका प्रत्येक तहमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । 

    ४. पूर्वमन्त्री सञ्जय साहको मुद्दा छिनोफानो गर्न समर्थकको माग, प्रशासनमा बुझाए ज्ञापनपत्र

    पूर्वमन्त्री संजय साहको मुद्दा लामो समयदेखि टुंगो लाग्न नसकेको भन्दै उनका समर्थकहरूले शिघ्र न्यायिक निरूपणको माग गरेका छन् । समर्थकहरूले बुधवार जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउँदै साहको मुद्दा तत्काल छिनोफानो गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । नेपालमा मुद्दाको तीन वर्षभित्र अन्तिम टुंगो लगाउने व्यवस्था रहे पनि साहले १३ वर्षभन्दा बढी समय कारागारमा बिताउँदासमेत मुद्दाको अन्तिम फैसला हुन नसकेको उनीहरूको भनाइ छ । न्यायिक प्रक्रियामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै समर्थकहरूले यसलाई गम्भीर विषयका रूपमा उठाएका छन् ।

    ५. पत्रकारलाई सामुहिक गिरफ्तारी गर्न माग गर्दै धनुषामा पत्रकार महासंघको प्रदर्शन

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र आफ्ना माग तत्काल सम्बोधन गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ धनुषा शाखाले प्रदर्शन गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यसमितिको सर्कुलरअनुसार देशव्यापी आन्दोलनअन्तर्गत बुधवार जनकपुरधाममा पत्रकारहरूले सामुहिक गिरफ्तारीको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘नेपाल पत्रकार महासंघका मागहरू तत्काल पूरा गर’ लगायतका नारा लेखिएका ब्यानर बोकेर विरोध जनाएका थिए । 

    ६. कार्यवाहक प्रमुख डंगोलबाट अटिजम भएका बालबालिकाका लागि स्कुलको शिलान्यास

    काठमाडौं महानगरपालिकाले वडा नं. २९ मा अटिजम स्कुलको शिलान्यास गरेको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधवार बिहान स्कुलको शिलान्यास गर्नुभएको हो । वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयका साथमा भवन निर्माणका लागि जग पूजा र शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रमपछि आयोजित समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले हरेक बालबालिकाले पढ्न पाउनुपर्ने र अरु सरह नै समान अधिकार पाउनुपर्ने बताउनु भयो । अटिजम भएका कारणले फिजिकल डिजिबिलेटी भएका कारणले गर्दा शिक्षाबाट वञ्चित हुन नपर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्ने बताउनु भयो ।

    ७. इरानमाथि तत्काल सैन्य आक्रमण गर्नुपर्ने खतरा नरहेको इजरायली विपक्षी नेताको भनाइ

    इजरायलको विपक्षी गठबन्धनका नेता गादी आइसेनकोटले आगामी केही साताभित्र वा नयाँ सरकार गठन हुनुअघि इरानमाथि सैन्य आक्रमण गर्नुपर्ने तत्काल र प्रत्यक्ष खतरा नरहेको बताएका छन् । प्रशारण गरिएको एक वक्तव्यमा उनले इरानबाट उत्पन्न सबैभन्दा गम्भीर खतरा ४४० किलोग्राम प्रशोधित युरेनियम रहेको उल्लेख गर्दै त्यसलाई नष्ट गर्ने वा इरानबाट हटाउने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनको यो भनाइ इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच छलफल भइरहेका बेला आएको हो । यसैबीच, इजरायली सञ्चारमाध्यमहरूले निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि तत्काल संयुक्त सैन्य आक्रमण गर्न आग्रह गरिरहेको समाचार सार्वजनिक गरेका छन् । नेतान्याहुले इजरायल आफैँले पनि इरानमाथि आक्रमण गर्नुपर्ने दबाब दिइरहेको समाचारमा उल्लेख छ ।

    ८. केन्या र प्रजातान्त्रिक गणतन्त्र कङ्गोबीच कुटनीतिक सम्बन्ध पूर्ण रूपमा पुनःस्थापना गर्ने सहमति

    केन्या र प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले कुटनीतिक सम्बन्ध पूर्ण रूपमा पुनःस्थापना गर्ने सहमति गरेका छन् । केन्याका राष्ट्रपति विलियम रुटो र डीआर कङ्गोका राष्ट्रपति फेलिक्स चिसेकेदीबीच भएको भेटवार्तामा दुई देशबीचको कुटनीतिक सम्बन्ध सुधार गर्ने सहमति भएको हो । कङ्गो गणतन्त्रको उत्तरी सहर ओयोमा आयोजित चारपक्षीय शिखर सम्मेलनका क्रममा दुई नेताबीच उक्त सहमति भएको जनाइएको छ । सहमतिअनुसार दुवै देशले राजदुतस्तरमा कुटनीतिक प्रतिनिधित्व पुनःस्थापना गर्ने, संयुक्त वृहत सहयोग आयोगलाई पुनःसक्रिय बनाउने र नियमित कुटनीतिक परामर्शलाई निरन्तरता दिने भएका छन् । त्यसैगरी व्यापार, आर्थिक विकास, सुरक्षा तथा संस्कृतिका क्षेत्रमा सहकार्य विस्तार गर्ने र क्षेत्रीय शान्ति, स्थायित्व तथा एकीकरणलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि दुवै देशले व्यक्त गरेका छन् । 

    ९.चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली

    पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिसान अली चीनको अन्तरिक्ष केन्द्र ‘तियाङगोङ’ पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्ने भएका छन् । चीनको ‘शेन्झाउ–२४’ अन्तरिक्ष मिसनका लागि पेलोड विशेषज्ञका रूपमा छनोट भएका अलीले चिनियाँ अन्तरिक्ष यात्रीहरूसँगै अन्तरिक्ष यात्रा गर्ने तयारी गरेका हुन् । चिनियाँ समकक्षीहरूसँग महिनौँसम्मको कठिन प्रशिक्षण पूरा गरेपछि अली ऐतिहासिक अन्तरिक्ष यात्राका लागि तयार भएका छन् । उनले आफू व्यक्तिगत रूपमा मात्र नभई पाकिस्तानको प्रतिनिधित्व गर्दै अन्तरिक्षमा जान लागेको बताएका छन् । ‘म आफ्ना लागि मात्र अन्तरिक्षमा उडिरहेको छैन । मेरो काँधमा पाकिस्तानको नाम र पहिचान छ,’ अलीले भनेका छन् ।

    १०. चीनद्वारा पहिलो विदेशी अन्तरिक्ष यात्रीसहित ‘शेन्झाउ–२४’ अन्तरिक्षयान प्रक्षेपण

    चीनले पहिलोपटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत समावेश गर्दै तीन सदस्यीय टोलीसहित ‘शेन्झाउ–२४’ मानवसहितको अन्तरिक्षयान प्रक्षेपण गरेको छ । बुधवार चीनको उत्तरपश्चिमी क्षेत्रमा रहेको जिउछ्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट लङ मार्च–२एफ रकेटमार्फत अन्तरिक्षयान प्रक्षेपण गरिएको हो । उक्त यान चीनको अन्तरिक्ष केन्द्र ‘तियाङगोङ’तर्फ प्रस्थान गरेको छ ।अन्तरिक्षयानमा मिसन कमान्डर तथा अन्तरिक्षयानका पाइलट ताङ होङ्बो, फ्लाइट इन्जिनियर वु यी र पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिसान अली सवार छन् । मुहम्मद जिसान अली चीनको तियाङगोङ अन्तरिक्ष केन्द्र भ्रमण गर्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बनेका छन् । 

    ११. ट्रम्पद्वारा एनभिडियाको सीईओमा जेन्सेन हुआङको पुनरागमनलाई समर्थन, अमेरिकी शेयर बजारमा उछाल

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिप निर्माता कम्पनी एनभिडियाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जेन्सेन हुआङको पुनरागमनलाई समर्थन गरेका छन् । हुआङ पुनः सीईओ नियुक्त भएको घोषणासँगै अमेरिकी सेयर बजारमा समेत उल्लेख्य वृद्धि भएको छ । एनभिडियाले हुआङलाई तत्काल लागू हुनेगरी कम्पनीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गरेको घोषणा गरेको हो । उनलाई कम्पनीको सञ्चालक समितिको सदस्यका रूपमा समेत पुनःस्थापित गरिएको छ । कम्पनीकाअनुसार सञ्चालक समितिले हुआङसँग विभिन्न चरणमा छलफल तथा बैठक गरेपछि सर्वसम्मत रूपमा उनको पुनर्नियुक्तिको निर्णय गरेको हो । 

    १२. बेल्जियममा सरकारी मितव्ययिता नीतिविरुद्ध ५० हजारको प्रदर्शन, शिक्षा सुधारले बढायो असन्तुष्टि

    सरकारी मितव्ययिता उपाय र घट्दो क्रयशक्तिको विरोधमा बेल्जियममा करिव ५० हजार मानिसले प्रदर्शन गरेका छन् । सोमवार राजधानी ब्रसेल्समा आयोजित प्रदर्शनमा विद्यार्थी, युवा, श्रमिक तथा नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएका थिए । बेल्जियमका तीन प्रमुख ट्रेड युनियनको आह्वानमा भएको प्रदर्शनमा संघीय सरकारका आर्थिक तथा सामाजिक नीतिको विरोध गरिएको थियो । प्रदर्शनकारीहरूले सरकारी खर्च कटौतीका कारण सर्वसाधारणको जीवनयापन कठिन बन्दै गएको र गरिबी बढिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । पछिल्लो समय सरकारले अघि सारेको शिक्षा सुधार योजनाविरुद्ध विद्यार्थीहरूले पनि लगातार प्रदर्शन गर्दै आएका छन् । 

    १३. यमनमा यात्रुवाहक सवारीसाधनमाथि गोलाबारी हुँदा ६ जनाको मृत्यु, दर्जनौँ घाइते

    यमनको दक्षिणी क्षेत्रमा यात्रुवाहक सवारीसाधनमाथि बमबारी हुँदा ६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । सोमवार दक्षिणी लहज प्रान्तको अल–मकातिराह जिल्लास्थित माबाक क्षेत्रमा यात्रुवाहक बस तथा मालवाहक ट्रकमाथि आक्रमण भएको स्थानीय अधिकारीले बताएका छन् । स्थानीय अधिकारीका अनुसार मुख्य सडकमा गुडिरहेका यात्रुवाहक बस र मालवाहक ट्रकलाई लक्षित गरी गरिएको भारी गोलाबारीमा उनीहरूको मृत्यु भएको हो । घटनामा चारवटा सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य केहीमा क्षति पुगेको छ । आक्रमणको वास्तविक कारण भने खुल्न सकेको छैन । 

    १४. रुसमा आवासीय भवनमा ग्यास विस्फोट हुँदा एक जनाको मृत्यु, १४ जना घाइते

    रुसको दक्षिणपश्चिमी क्षेत्र अल्ताई क्राइस्थित एक आवासीय भवनमा ग्यास विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मंगलवार बिहान कुलुन्डा गाउँमा रहेको पाँचतले आवासीय भवनमा ग्यास विस्फोट भएको रुसको आपत्कालीन सेवा निकायले जनाएको छ । विस्फोटका कारण भवनको दोस्रो प्रवेशद्वारतर्फका चौथो र पाँचौँ तलाका केही भाग भत्किएका छन् भने आगलागीसमेत भएको थियो । रुसको आपत्कालीन अवस्था मन्त्रालयको क्षेत्रीय शाखाका अनुसार उद्धारकर्मीले भवनबाट पाँच जनालाई सुरक्षित रूपमा बाहिर निकालेका थिए भने अन्य आठ जना आफैँ बाहिर निस्किएका थिए । 

    १५. लाओसमा भव्य रूपमा मनाइँदै ‘थाट लुआङ’ धार्मिक तथा सांस्कृतिक महोत्सव

    लाओसको प्रमुख धार्मिक तथा सांस्कृतिक उत्सवमध्ये एक ‘थाट लुआङ’ महोत्सव भव्य रूपमा मनाइँदै छ । नोभेम्बर २० देखि २४ सम्म सञ्चालन हुने महोत्सव यस वर्ष ‘लाओ संस्कृति संरक्षणमा सामूहिक सहभागिता’ भन्ने नाराका साथ आयोजना गरिएको हो । लाओसमा प्रत्येक वर्ष आयोजना हुने यस महोत्सवमा विभिन्न परम्परागत धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि सञ्चालन भइरहेका छन् । महोत्सवमा धार्मिक समारोहसँगै मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिएका छन् । महोत्सवमा सबै उमेर समूहका मानिसहरूको सहभागिता देखिएको छ । 

    १६. शेन्झाउ–२४’ मानवसहितको अन्तरिक्षयान प्रक्षेपण सफल

    चीनले तीन अन्तरिक्ष यात्रीसहित प्रक्षेपण गरेको ‘शेन्झाउ–२४’ मानवसहितको अन्तरिक्षयानको उडान पूर्ण रूपमा सफल भएको जनाएको छ । चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रम सञ्चालन गर्ने निकाय (सीएमएसए) ले बुधवार अन्तरिक्षयानको प्रक्षेपण पूर्ण रूपमा सफल भएको घोषणा गरेको हो । स्थानीय समयअनुसार बिहान ८ बजेर १८ मिनेटमा उत्तरपश्चिम चीनस्थित जिउछ्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट लङ मार्च–२एफ रकेटमार्फत अन्तरिक्षयान प्रक्षेपण गरिएको थियो । अन्तरिक्षयानमा चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो, वु यी र पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिसान अली सवार छन् ।

    १७. नेपाल–फिनल्याण्डबीच आर्थिक साझेदारी विस्तारको पर्याप्त सम्भावना छः राजदुत पेट्री

    नेपालका लागि फिनल्याण्डका राजदुत पेट्री पुहाक्काले नेपाल र फिनल्याण्डबीच व्यापारिक कारोबार हालसम्म अपेक्षाकृत हुन नसकेको बताउनुभएको छ । नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको साधारणसभामा उहाँले आर्थिक साझेदारी विस्तारको पर्याप्त सम्भावना रहेपनि अपेक्षाकृत हुन नसकेको बताउनुभएको हो । उहाँले दुई देशबीच व्यापार, लगानी, पर्यटन, शिक्षा तथा प्रविधिको क्षेत्रमा सहकार्य विस्तार गर्न आवश्यक रहेको बताउनु भयो । फिनल्याण्ड नवप्रवर्तन, हरित तथा नवीकरणीय ऊर्जा, चक्रीय अर्थतन्त्र, शिक्षा र अत्याधुनिक प्रविधिमा परिचित रहेको उल्लेख गर्दै उहाँले नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय तथा उद्यमशीलताका क्षेत्रमा रहेका सम्भावनालाई फिनल्याण्डको अनुभव र प्रविधिसँग जोड्न सकिने बताउनु भयो ।

    १८. न्यायमा पहुँच नहुँदा लैङ्गिक हिंसापीडित थप गरिबीको चपेटामाः महिलामन्त्री वादी

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले न्यायमा पहुँच नहुँदा लैङ्गिक हिंसापीडितहरु थप गरिबीको चपेटामा पर्ने गरेको बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा बुधवार आयोजित कार्यक्रममा उहाँले हिंसापीडितले समयमै न्याय, संरक्षण र पुनःस्थापना नपाउँदा थप गरिबीको चक्रमा धकेलिने गरेको बताउनुभएको हो । उहाँले लैङ्गिक हिंसालाई सामाजिक तथा मानव अधिकारको विषयमा मात्र सीमित नराखी यसको आर्थिक क्षतिको समेत मूल्याङ्कन गर्नुपर्ने बताउनु भयो । नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले शारीरिक हिंसा र आठ प्रतिशतले यौन हिंसा भोगेको उहाँको भनाई छ । हिंसापीडितमध्ये ५८ प्रतिशत महिलाले कसैसँग सहयोग नमागेको र न्यायका लागि पहलसमेत नगरेको उहाँले बताउनु भयो ।

    १९. हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना, चार हिमतालको सतह घटाउने तयारी

    सरकारले हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने भएको छ । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका हिमनदी तिब्र गतिमा पग्लिँदै गएर हिमतालहरू अस्थिर बन्दै गएपछि नेपालले उच्च जोखिममा रहेका चार हिमतालको जोखिम न्युनिकरण गर्न करिव ७ अर्ब रुपैयाँ बराबरको ‘सञ्जीवनी’ परियोजना कार्यान्वयनमा ल्याउन लागेको हो । हिमताल विस्फोटबाट आउने बाढी (ग्लेसियल लेक आउटबस्र्ट फ्लड–ग्लोफ) तथा जलवायु परिवर्तनजन्य बाढीबाट जोखिममा रहेका समुदाय, उनीहरुको जीविकोपार्जन र सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले जानकारी दिनुभयो ।

    २०. १३ वर्षदेखि बालबालिकालाई हलुका काममा लगाउने प्रश्तावबारे मन्त्री यादवको स्पष्टिकरण–‘विद्यालयबाट निकालेर श्रममा लगाउने उद्देश्य होइन’

    युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मुलुकको आर्थिक, सामाजिक र बालबालिकाको पारिवारिक अवस्थालाई मध्यनजर गर्दै १३ देखि १५ वर्षसम्मका बालबालिकालाई निश्चित शर्तमा हलुका काम गर्न दिने प्रश्ताव गरिएको बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयकमाथिको सैद्धान्तिक बोल्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपालमा ११ लाख बालबालिका श्रममा रहेको तथ्यांक उल्लेख गर्दै ती बालबालिकालाई श्रमबाट बाहिर निकाल्ने उद्देश्यले नै विधेयक ल्याइएको दाबी पनि गर्नुभयो । 

    २१. उद्योग समितिका सभापति अन्सारी र इजरायली राजदुतबीच भेटवार्ता

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारी र नेपालका लागि इजरायलका राजदुत स्मुलिक एरी बासबीच भेटवार्ता भएको छ । बुधवार सिंहदरबारस्थित सभापति अन्सारीको कार्यकक्षमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल–इजरायल द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको छ । भेटका क्रममा दुवै पक्षबीच दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र साझा हितका विषयमा कुराकानी भएको जनाइएको छ । 

    २२. काँग्रेसले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमण जनअपेक्षाअनुसार उपलब्धीमूलक हुन सकेन,

    नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणको क्रममा भएका सम्झौता, समझदारी र उपलब्धीहरु आधिकारिक रुपमा सार्वजनिक गर्न माग गरेको छ । बुधवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस महामन्त्री प्रदीप पौडेलले यस्तो माग गर्नुभएको हो । उहाँले प्रधानमन्त्री साहको भारत भ्रमण नेपाली जनताको अपेक्षाअनुसार उपलब्धीमूलक हुन नसकेको पनि बताउनु भयो । उहाँले दुई देशबीच लामो समयदेखि छलफलकै क्रममा रहेका तथा नटुंगिएका विषयहरु टुंगिनेमा नेपाली जनताको विश्वास रहेको भएपनि त्यसअनुसार दृष्टिकोण राख्न प्रधानमन्त्री सफल भएको नदेखिएको बताउनु भयो । 

    २३. बालश्रम अन्त्यका लागि शिक्षा र परिवारको आर्थिक सशक्तीकरणमा सांसदहरूको जोड

    प्रतिनिधि सभाका सांसदहरूले बालबालिकाको उमेर, उनीहरूको पारिवारिक आर्थिक अवस्था र मनोवैज्ञानिक तथा सर्वाङ्गीण विकासमा बाधा पुगे नपुगेको विषयलाई सम्बोधन गरेर मात्र श्रममा प्रवेश गर्न दिनुपर्नेमा जोड दिएका छन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले यस्तो धारणा राखेका हुन् । बैठकमा नेकपा (एमाले)का सांसद कृपाराम रानाले बालबालिकालाई श्रममा लगाउँदा उनीहरूको मनोवैज्ञानिक अवस्था र सर्वाङ्गीण विकासमा पर्न सक्ने असरलाई ध्यान दिनुपर्ने बताउनु भयो ।

    २४. १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै

    सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्दैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलमार्फत ६ वर्ष अवधिको विकास ऋणपत्र–२०८९ बिक्री गर्न लागेको हो । कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विकास ऋणपत्र–२०८९ को कुल निष्कासन रकम १० अर्ब रुपैयाँ रहेको छ । ऋणपत्रको ब्याजदर भने बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ । ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीले मंसिर ९ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । यसका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रणाली प्रयोग गर्नुपर्नेछ ।

    २५. चार महिनामै ८ खर्ब बढीको वस्तु आयात

    चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चार महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार वस्तु आयात ३१.७७ प्रतिशत भन्दा बढिले बढेको हो । यस अवधिमा नेपालको निर्यात व्यापार पनि ४३.४८ प्रतिशतले वृद्धि भएको छ । चार महिनामा १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९३ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो ।

    २६. नागरिक लगानी कोषको अर्बौं परिचालनमा सांसदहरुले खोजे स्पष्ट नीति

    नागरिक लगानी कोषमा अर्बौं रकम रहेको भन्दै त्यसको सही रुपमा परिचालनका लागि स्पष्ट नीति जरुरी रहेको सांसदहरुले बताएका छन् । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिमा भएको सैद्धान्तिक छलफलमा सांसदहरूले कोषको लगानी नीति, प्रतिफल, संस्थागत सुशासन र योगदानकर्ताको हितका विषय उठाएका हुन् । उनीहरुकाअनुसार अर्बौं परिचालनका लागि स्पष्ट लगानी नीति हुनुपर्छ । कोषको रकम सुरक्षित राख्दै उचित प्रतिफल दिने व्यवस्था गर्नुपर्ने र नयाँ लगानीका क्षेत्रमा प्रवेश गर्दा जोखिम व्यवस्थापन तथा पारदर्शितालाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ ।

    २७. नागरिक लगानी कोषको पुँजी १० अर्ब पु¥याउने प्रश्ताव, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न सकिने

    नागरिक लगानी कोषको पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पु¥याउने प्रश्ताव गरिएको छ । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिको बैठकमा भएको सैद्धान्तिक छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषको पुँजी, लगानीको क्षेत्र र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो । अर्थमन्त्री वाग्लेले बदलिँदो आर्थिक परिवेशअनुसार नागरिक लगानी कोषलाई आधुनिक वित्तीय उपकरण तथा नयाँ लगानीका क्षेत्रमा प्रवेश गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले अब कोषले निजी इक्विटी (प्राइभेट इक्विटी), भेन्चर क्यापिटललगायतका क्षेत्रमा समेत लगानी गनसक्ने गरी कानूनी व्यवस्था अद्यावधिक गर्न खोजिएको बताउनु भयो ।

    २८. नागरिक लगानी कोषले पुँजी बजारमा योगदान बढाउन खोजिरहेको छः कार्यकारी निर्देशक कार्की

    नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले पुँजी बजारको विकासमा योगदान बढाउन नयाँ वित्तीय उपकरणहरूमा समेत लगानी विस्तार गर्न कोषले खोजिरहेको बताउनुभएको छ । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिमा भएको सैद्धान्तिक छलफलमा उहाँले पुँजी बजारमा कोषको भुमिका थप प्रभावकारी बनाउन नयाँ वित्तीय उपकरणमा लगानी गर्ने व्यवस्था ऐनमै समेट्न खोजिएको बताउनु भयो । उहाँकाअनुसार नागरिक लगानी कोषको लगानीलाई परम्परागत क्षेत्रबाट विस्तार गर्दै पुँजी बजारका नयाँ वित्तीय उपकरणसम्म पु¥याउन आवश्यक छ । 

    २९. भोटेकोशी बाढीः प्रभावित जलविद्युत आयोजना पुनर्निर्माण गर्न नीतिगत सहजीकरण गर्न सरकारसँग निजी क्षेत्रको माग

    भोटेकोशी बाढपिछि प्रभावित जलविद्युत आयोजना पुनर्निर्माण गर्न निजी क्षेत्रले सरकारसँग नीतिगत सहजीकरणको माग गरेको छ । प्राकृतिक विपद्का कारण क्षति पुगेका आयोजनालाई पुनः निर्माण गरी सञ्चालनमा ल्याउन सरकारले आर्थिक सहयोग गर्नुभन्दा पनि नीतिगत तथा प्रशासनिक सहजता प्रदान गर्नुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले बताउनुभएको छ । उहाँकाअनुसार भोटेकोशी प्रलयबाट प्रभावित १३ वटा आयोजनामध्ये ९ वटा आयोजना निजी क्षेत्रका रहेका छन् । निजी क्षेत्रका ती आयोजनाको शतप्रतिशत बीमा गरिएको उहाँले बताउनु भयो । बीमा भएकै कारण आयोजनाको पुनर्निर्माण सहज हुने भएपनि पुनर्निर्माण प्रक्रियामा देखिने नीतिगत, कानूनी तथा प्रशासनिक जटिलता समाधान गर्न सरकारको भुमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

    ३०. देशवासीले गनन नेतृत्वको काँग्रेसलाई चिन्छ, अरु कसैले काँग्रेसको झण्डा र रुख चिह्न प्रयोग गर्छ भने निर्वाचन अयोगले जान्ने कुरा होः निश्कल राई

    नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको अगामी कार्यदिशाको विषयमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । बुधवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग पार्टीका संसदीय दलका प्रमुख सचेत एवं केन्द्रिय सदस्य निश्कल राईले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार बैठकमा काँग्रेसले शुरु गर्न लागेको ‘काँग्रेस तयार छ’ अभियानलाई गाउँ र टोल तहसम्म कसरी विस्तार गर्ने भन्ने विषयमा केन्द्रिय सदस्यहरुले धारणा राखिरहेका छन् । उहाँले संविधान र लोकतान्त्रिक व्यवस्था संरक्षणका लागि नागरिकको विश्वास जित्न काँग्रेस तयार रहेको सन्देश तल्लो तहमा पु¥याउनुपर्ने विषयमा केन्द्रित भएर सदस्यहरुले कुरा राखिरहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :मंसिर ९ २०८३ बुधवार - १९:४४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij