२०८३ मंसिर ७ गते सोमवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनमा बालबालिकाको सहभागिता बढाउन १० जनालाई ‘जलवायु परिवर्तन सद्भावना दूत’ बनाउने भएको छ।
महानगरपालिकाले ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ अन्तर्गत भिडियो प्रतियोगिता आयोजना गरी उत्कृष्ट १० विद्यार्थीलाई सद्भावना दूतका रूपमा छनोट गर्न लागेको हो। प्रतियोगितामा महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन सक्नेछन्।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, सान्त्वना स्थान हासिल गर्ने सात जनालाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ। छनोट भएका १० जनालाई वर्षभरि जलवायु परिवर्तनसम्बन्धी गतिविधिमा बालबालिकाको सिर्जनात्मक भूमिका प्रवर्द्धन गर्न परिचालन गरिने महानगरको योजना छ।
महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि छलफलमा मात्र सीमित नभई व्यवहारमै काम गर्नुपर्ने बताएकी छन्। यही उद्देश्यले एक सातासम्म सञ्चालन हुने जलवायु कार्य सप्ताह आयोजना गरिएको उनको भनाइ छ।
कार्य सप्ताहका क्रममा जलवायु परिवर्तन, वित्त, ऊर्जा, पूर्वाधार, सम्पदा संरक्षण, खाद्य प्रणाली तथा बालबालिकाको सहभागितासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। पहिलो दिन बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग अनुभव आदानप्रदान तथा ‘रिचार्ज काठमाडौं अभियान’ सुरु गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, विद्यालयमा वर्षाको पानी जमिनमुनि पुनःभरण गर्ने स्थान पहिचान गरी कार्यक्रम अघि बढाउने, जलवायु वित्तबारे विज्ञसँग छलफल गर्ने तथा परम्परागत हिटी प्रणाली र ऐतिहासिक सम्पदाको संरक्षणमा केन्द्रित गतिविधि सञ्चालन गरिनेछ।
कार्य सप्ताहको चौथो दिन स्वच्छ ऊर्जा, विद्युतीय सवारीसाधन र फोहोरमैला व्यवस्थापनका विषयमा कार्यक्रम हुनेछ। पाँचौँ दिनलाई ‘बालबालिका तथा युवा जलवायु कार्य दिवस’ का रूपमा मनाइनेछ। त्यस दिन ५० भन्दा बढी विद्यालयमा फोहोर वर्गीकरण, वृक्षरोपण योजना, जलवायुसम्बन्धी खेल तथा सचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ।
विद्यार्थीले विकास गरेका नवीन प्रविधि, हरित आविष्कार तथा इको क्लबका गतिविधिसमेत प्रदर्शन गरिने महानगरले जनाएको छ।
साताव्यापी कार्यक्रमको छैटौँ दिन खाद्य प्रणाली र जलवायु परिवर्तन तथा अन्तिम दिन नागरिक समाज, गैरसरकारी र अन्तरसरकारी संस्थाको भूमिकाबारे छलफल हुनेछ।
महानगरले यस कार्यक्रममार्फत जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि स्थानीयस्तरमा व्यावहारिक काम अघि बढाउने तथा नयाँ पुस्तालाई जलवायु जोखिम सामना गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij