२०८३ मंसिर ७ गते सोमवार
काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारसँग भएका सहमति तत्काल कार्यान्वयन गर्न माग गर्दै पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले २०८३ कात्तिक २१ गते शिक्षामन्त्रीसहितको सरकारी टोलीसँग भएको सहमति दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्म पूरा नभएको बताएका छन्।
यसअघि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन तथा समतामूलक पहुँचको माग राख्दै डा. केसीले सुरु गरेको २४औँ सत्याग्रह २०८३ साउन ११ गते सरकारसँग सहमति भएपछि स्थगित भएको थियो। तर, सहमति कार्यान्वयन नभएको र चिकित्सा शिक्षा ऐन तथा सुशासनविपरीतका निर्णय भएको भन्दै उनले कात्तिकमा नौ दिन लामो २५औँ सत्याग्रह गरेका थिए।
सरकारलाई तिहार र छठ पर्वको सार्वजनिक बिदाका कारण सहमति कार्यान्वयनका लागि थप समय दिइएको भए पनि अब प्रतिबद्धताबाट पछि हट्न नपाइने डा. केसीको भनाइ छ।
उनले सहमति कार्यान्वयन नभए वा त्यसविपरीत गतिविधि भए स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिएका छन्। आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने उनको भनाइ छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij