Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

आज दिनभरको खबर एकै ठाउँमा

आज दिनभरको खबर एकै ठाउँमा


  • 792
    Shares

    • images
    आज दिनभरको खबर एकै ठाउँमा

    १. हावाहुरी ल्याएर चुनाव जित्ने सोच नराख्न रास्वपालाई प्रचण्डको चेतावनी

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गत प्रतिनिधिसभा निर्वाचनमा जस्तै हावाहुरी ल्याएर स्थानीय र प्रदेशसभा निर्वाचन जित्ने सोच नराख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई चेतावनी दिनुभएको छ । उहाँले संविधान र कानुनको व्यवस्थाविपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने प्रयास भए देश फेरि दुर्घटनामा जान सक्ने बताउनुभएको हो । शनिवार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै दाहालले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संविधानले तोकेको कार्यकाल र समयसीमाअनुसार छुट्टाछुट्टै हुनुपर्ने बताउनु भयो । उहाँले निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख नेताहरूलाई बोलाएर निर्वाचनको तयारी र समयतालिकाबारे छलफल गरेको जानकारी दिँदै त्यसक्रममा स्थानीय तह र प्रदेशसभाको निर्वाचन कहिले गर्ने भन्ने विषयमा फरक धारणा आएको बताउनु भयो । केही पक्षबाट स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने वा प्रदेशसभाको निर्वाचन पहिले गर्ने विषय उठेको भएपनि संविधान र कानूनको व्यवस्थाअनुसार नै अघि बढ्नुपर्ने आफ्नो धारणा रहेको उहाँले स्पष्ट पार्नुभयो । 

    २. संविधान र शान्ति सम्झौतामाथि प्रहार भइरहेको छः प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान राजनीतिक परिस्थितिमा संविधान र शान्ति सम्झौताका उपलब्धिमाथि प्रहार भइरहेको आरोप लगाउनुभएको छ । 
    शनिवार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति भक्तपुरले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै दाहालले सुकुम्बासी, आदिवासी जनजाति, दलित र महिलालगायत समुदायका अधिकार, हित र पहिचानमाथि विभिन्न ढंगले प्रहार भइरहेको बताउनुभएको हो । उहाँले शान्ति सम्झौताले परिकल्पना गरेको नयाँ नेपालको सपना र त्यसबाट प्राप्त उपलब्धि कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्नुभयो । तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको ऐतिहासिक शान्ति सम्झौताले निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने आधार तयार गरेको उनको भनाइ छ ।

    ३.संविधान कोमामा छ, शान्ति सम्झौताको बाटोबाट मुलुक बाहिरियोः देव गुरुङ

    नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देव गुरुङले मुलुक संविधान र विस्तृत शान्ति सम्झौताको बाटोबाट बाहिरिएको टिप्पणी गर्नुभएको छ । उहाँले संविधान खारेज नभए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अहिले संविधान ‘कोमा’ मा रहेको बताउनुभएको हो । शनिवार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै गुरुङले गत भदौ २३ र २४ गतेका घटनापछि मुलुकको राजनीतिक प्रक्रिया संविधान र विस्तृत शान्ति सम्झौताको मर्मविपरीत अघि बढिरहेको दाबी गर्नुभयो । उहाँले भदौ २३ र २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम संविधान र शान्ति सम्झौतालाई कार्यान्वयन तथा पूर्णता दिने दिशामा नभई त्यसलाई खारेज गर्ने दिशातर्फ उन्मुख भएको आरोप लगाउनु भयो । 

    ४. शान्ति प्रक्रियालाई विगतको बोझ भन्दै पन्छिन मिल्दैनः प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले नेपालको शान्ति प्रक्रियालाई विगतको बोझ भन्दै पन्छिन नमिल्ने बताउनुभएको छ । शान्ति सम्झौता राज्यले तत्कालीन विद्रोही पक्षसँग गरेको आधिकारिक दस्तावेज भएकाले सरकार परिवर्तन हुँदैमा त्यसबाट पन्छिन नमिल्ने उहाँको भनाइ छ । शनिवार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै ज्ञवालीले संक्रमणकालीन न्यायको प्रक्रिया टुंग्याउन सरकारले तत्काल सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक परिवर्तनसँगै यसअघि गठन भएका आयोग विघटन गरिएकोप्रति असन्तुष्टि जनाउँदै नयाँ आयोग गठनमा ढिलाइ गर्न नहुने बताउनु भयो । पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सिफारिस समितिबाट निश्चित प्रक्रिया पूरा गरेर आयोग गठन हुने भएकाले यसलाई अन्य राजनीतिक नियुक्तिसरह विघटन गर्न आवश्यक नरहेको उहाँको तर्क छ । 

    ५. शान्ति प्रक्रियाबाट पन्छिने छुट सरकारलाई छैनः पुष्पा भुसाल

    नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले विस्तृत शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने जिम्मेवारीबाट वर्तमान सरकार पन्छिन नमिल्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा सम्बोधन गर्दै उहाँले विगतका राजनीतिक दलले शुरु गरेको प्रक्रिया भन्दै वर्तमान सरकारले जिम्मेवारीबाट उम्किन नमिल्ने बताउनुभएको हो । संविधानमा नै शान्ति प्रक्रियाको विषय समेटिएको उल्लेख गर्दै उहाँले संविधान स्वीकार गर्ने वर्तमान सरकारले पनि त्यसको दायित्व लिनुपर्ने स्पष्ट पार्नुभयो । भुसालले संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्दा शान्ति प्रक्रियामा संलग्न राजनीतिक दल, नागरिक समाज र मानव अधिकारवादी संघसंस्थासँग समन्वय गर्नुपर्ने बताउनु भयो । 

    ६. वसन्तपुरमा श्री गणेश र श्री भैरवका लागि छुट्टै भवन निर्माणको शिलान्यास

    काठमाडौंको ऐतिहासिक वसन्तपुरस्थित कुमारी घरसँगै श्री गणेश र श्री भैरवका लागि छुट्टै भवन निर्माण गरिने भएको छ । उक्त भवन निर्माणका लागि शिलान्यास गरिएको छ । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको बसन्तपुर क्षेत्रको मौलिकता र परम्परालाई संरक्षण गर्ने उद्देश्यले भवन निर्माण गर्न लागिएको हो । नयाँ भवन निर्माणपछि श्री गणेश र श्री भैरवसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । यसले वसन्तपुर दरबार क्षेत्रको सांस्कृतिक सम्पदा संरक्षण तथा परम्परागत धार्मिक मान्यताको निरन्तरतामा समेत योगदान पु¥याउने विश्वास गरिएको छ । –

    ७. राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि काम स्वीकार्य हुँदैनः माधव नेपाल

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि गतिविधि स्वीकार गर्न नसकिने बताउनुभएको छ । शनिवार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उहाँले राष्ट्रियता, देशभक्ति, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा अभियानको पहिलो उद्देश्य रहेको बताउनुभएको हो । उहाँले कुनैपनि सरकारले राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने काम गर्न खोजे त्यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो । जनतामा देशभक्तिको भावना जगाउने, देशप्रेम बढाउने र आफू नेपाली हुनुको गौरववोध गराउने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । 

    ८. भारतीय विद्यार्थीको चित्रमा नेपाली कला, संस्कृति र हिमाल

    भारतको नयाँ दिल्लीस्थित नेपाली दुतावासले स्थानीय विद्यालयका विद्यार्थीलाई नेपालका सांस्कृतिक, सामाजिक, प्राकृतिक तथा धार्मिक विशेषताबारे परिचित गराउने उद्देश्यले आयोजना गरेको चित्रकला प्रतियोगितामा भारतीय विद्यार्थीले उल्लेख्य सहभागिता जनाएका छन् । नेपालका विशिष्टता, मौलिकता र सम्पदालाई चित्रमार्फत प्रश्तुत गर्ने उद्देश्यले दुतावासले रोटरी क्लव अफ दिल्ली रिसोर्सको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो । नयाँ दिल्लीका १० वटा विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा उनीहरूले नेपालबारे आफूले जानेका, पढेका र खोजेका विषयलाई चित्रमा उतारेका थिए । प्रतियोगितामा विद्यार्थीहरूले भगवान बुद्ध, नेपालको राष्ट्रिय झण्डा, जीवित देवी कुमारी, पशुपतिनाथ, स्वयम्भूनाथ, हिमाल, पहाड, नेपाली गाउँघर, परम्परागत भेषभूषा तथा विभिन्न जातजातिका सांस्कृतिक पहिचानलाई चित्रमा प्रश्तुत गरेका छन् । 

    ९.प्रधानमन्त्री साहको स्वागतका लागि दिल्ली सजाइयो, ठाउँठाउँमा फहराइए नेपाल–भारतका झण्डा

    प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँदिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ । प्रधानमन्त्री साहको राजकीय भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखेर स्वागतको वातावरण तयार पारिएको हो । प्रधानमन्त्री साह आईतवार दुईदिने राजकीय भ्रमणका लागि भारत जान लाग्नुभएको हो । उहाँको स्वागतका लागि दिल्लीका सडक तथा विभिन्न स्थानमा दुवै देशका झण्डा पोलमा राखिएका छन् । नेपाल र भारतका झण्डाले सजिएका सडकले प्रधानमन्त्री साहको भ्रमणलाई विशेष महत्वका साथ हेरिएको संकेत गरेको छ । दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    १०. पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव

    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा लामो समयदेखि अल्झिएका राष्ट्रिय हितका विषय टुंग्याउन सरकारलाई सुझाव दिनुभएको छ । शनिवार पार्टीको केन्द्रिय कार्यालयमा आयोजित प्रथम स्थापना दिवस कार्यक्रममा बोल्दै उहाँले पञ्चेश्वर आयोजना कार्यान्वयन, टनकपुर ब्यारेजबाट सिंचाईका लागि पानी छाड्ने, विद्युत व्यापारको बजार पहुँच विस्तार गर्ने र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुटको स्वीकृति प्राप्त गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो । घिसिङले महाकाली सन्धि भएको लामो समय बितिसक्दा पनि पञ्चेश्वर आयोजना कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्दै त्यसका लागि आवश्यक विषय टुंग्याउन प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । पञ्चेश्वर आयोजना कार्यान्वयनले नेपाललाई दीर्घकालीन लाभ पुग्ने उहाँको भनाइ छ । त्यस्तै, पञ्चेश्वर सन्धिअन्तर्गत टनकपुरबाट पश्चिम नेपालका विभिन्न क्षेत्रमा सिंचाईका लागि पानी उपलब्ध गराउने विषय पनि टुंग्याउनुपर्ने उहाँले बताउनु भयो ।

    ११. नेपालको राजनीतिलाई सही दिशामा लैजाने जिम्मेवारी नेपाली कम्युनिष्ट पार्टीको छः माधव नेपाल

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीतिलाई सही दिशामा अघि बढाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको बताउनुभएको छ । शनिवार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उहाँले देश, जनता र समाजको चिन्ता गर्दै मुलुकको रूपान्तरणका लागि पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभएको हो । उहाँले अहिले नेपाली राजनीतिमा विभिन्न पार्टीहरू आन्तरिक समस्यामा फसेको उल्लेख गर्दै कोही विभाजनको अवस्थामा रहेको र कोही आफ्नै समस्याका कारण कमजोर बनेको टिप्पणी गर्नुभयो । यस्तो अवस्थामा नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आशा र अपेक्षा बढेको उहाँको दाबी छ ।

    १२. नेपाल दक्षिण र मध्य एशियाबीचको सभ्यतागत सेतु होः मन्त्री पौडेल

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल दक्षिण र मध्य एसियाबीचको महत्वपूर्ण सभ्यतागत सेतुका रूपमा रहेको बताउनुभएको छ । भारत र चीनबीच अवस्थित नेपालले गङ्गाको मैदान र तिब्बती पठारलाई जोड्दै व्यापार, तीर्थयात्रा, ज्ञान र संस्कृतिको आदानप्रदानमा ऐतिहासिक भुमिका निर्वाह गरेको उहाँको भनाइ छ । भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको पहिलो एससीओ सभ्यतागत संवादमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले नेपालको सभ्यतागत इतिहास, धार्मिक तथा सांस्कृतिक विविधता र विश्व सभ्यतामा पु¥याएको योगदान प्रश्तुत गर्नुभयो । उहाँले सभ्यता भौगोलिक सीमा, स्मारक वा राज्यसत्ताको इतिहासमा मात्र सिमित नहुने उल्लेख गर्दै विचार, दर्शन, भाषा, आस्था, संस्कृति र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञानको जीवन्त निरन्तरता भएको बताउनु भयो । 

    १३. निर्वाचन खर्च घटाउन जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ

    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निर्वाचनलाई कम खर्चिलो बनाउन मतदाताले आफू बसेकै स्थानबाट आफ्नो गृहजिल्लामा मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ । 
    शनिवार पार्टीको प्रथम स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले निर्वाचनका दिन आफ्नो स्थायी जिल्लामा पुगेर मतदान गर्नुपर्ने बाध्यताले उम्मेदवार र मतदाता दुवैको खर्च बढाएको बताउनुभएको हो । उहाँले काठमाडौंमा बसेर डडेलधुराको मतदान गर्न पाउने व्यवस्था भए निर्वाचनमा हुने अनावश्यक यातायात खर्च कम हुने बताउनु भयो । निर्वाचन प्रणालीलाई सहज र कम खर्चिलो बनाउन बेजिल्लाबाट मतदान गर्न पाउने व्यवस्था स्पष्ट गर्नुपर्ने उहाँको माग छ । 

    १४. दुर्घटनातिर देशलाई लैजाने षडयन्त्रको गन्ध छ, हामी त्यसविरुद्ध ‘जिहाद’ छेड्ने तयारीमा छौँः प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्न खोज्नेहरूविरुद्ध आन्दोलनको तयारी गर्नुपर्ने बताउनुभएको छ । शनिवार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै दाहालले संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूका विरुद्ध ‘जिहाद छेड्नुपर्ने बेला आउँदै गरेको’ बताउनुभएको हो । उहाँले राष्ट्रिय जागरण अभियानलाई त्यसको तयारीका रूपमा लिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । हजारौँ शहीद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्गता भएका व्यक्ति र लाखौँ जनताको संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको उहाँको आरोप छ ।

    १५. गणेश र भैरवको छुट्टै निवासले जीवित सम्पदा संरक्षणमा टेवा पुग्छः डंगोल

    काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले श्री गणेश र श्री भैरवका लागि छुट्टै निवास निर्माणले जीवित सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ । शनिवार हनुमानढोका दरबार क्षेत्रमा आयोजित शिलान्यास कार्यक्रममा बोल्दै डंगोलले जीवित देवी कुमारीसँगै गणेश र भैरवका लागि पनि छुट्टै निवास आवश्यक रहेको बताउनुभएको हो । उहाँले इन्द्रजात्रालगायतका सांस्कृतिक पर्वमा जीवित देवीदेवताको रथयात्रा हुने भएकाले गणेश र भैरवको गरिमाअनुसारको निवास निर्माण महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । डंगोलले भवन निर्माणका लागि लामो प्रशासनिक प्रक्रिया पूरा गर्नुपरेको र पुरानो संरचना भत्काउनसमेत निकै प्रयास गर्नुपरेको बताउनु भयो ।

    १६. असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंश गरेर देश चल्दैनः प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा हरेक पटक हिंसा, आगजनी र विध्वंशको बाटो रोजेर देश अघि बढ्न नसक्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै ज्ञवालीले राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हरेक पटक विध्वंशमा परिणत हुन नहुने बताउनुभएको हो । उहाँले विगतका शासक अयोग्य भए पनि त्यसको जवाफ हिंसा र विनाश हुन नसक्ने बताउनु भयो । 

    १७. ६० दिनभित्र चलचित्रसम्बन्धी विधेयक पारित हुन्छः बोर्ड अध्यक्ष पण्डित

    चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष मनिष पण्डितले चलचित्र क्षेत्रको सुधार र चलचित्र हल व्यवसायीका समस्या सम्बोधन गर्न तयार पारिएको विधेयक आगामी ६० दिनभित्र पारित गर्ने लक्ष्यसहित काम अघि बढाइएको बताउनुभएको छ । शनिवार ललितपुरमा आयोजित नेपाल चलचित्र संघको ५२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सोमवारदेखि प्रक्रिया अघि बढाएर ६० दिनभित्र विधेयक पारित गरी सकेसम्म छिटो ऐनको रूप दिने लक्ष्य राखिएको जानकारी दिनुभएको हो । पण्डितले चलचित्र हल व्यवसायको संरक्षण, नयाँ लगानी आकर्षित गर्ने, पुराना हलहरूको आधुनिकीकरण गर्ने र व्यवसायीलाई सरकारले उपलब्ध गराउन सक्ने सहुलियतका कार्यक्रमलाई विधेयकमार्फत सम्बोधन गर्ने प्रयास भइरहेको बताउनु भयो । 

    १८. इरान युद्ध रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

    अमेरिकी सिनेटले इरानमाथि थप सैन्य आक्रमण गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रोक लगाउने उद्देश्यसहित ल्याइएको युद्ध अधिकारसम्बन्धी प्रश्ताव अस्वीकृत गरेको छ । रिपब्लिकनको नियन्त्रणमा रहेको सिनेटमा बिहीवार भएको मतदानमा प्रश्तावको पक्षमा ४८ र विपक्षमा ५१ मत परेको थियो । तीन जना रिपब्लिकन सिनेटर सुसान कोलिन्स, लिसा मुर्कोस्की र ¥यान्ड पलले डेमोक्र्याटिक सांसदहरूसँगै प्रस्तावको पक्षमा मतदान गरेका थिए । यस्तै पेन्सिलभेनियाका डेमोक्र्याटिक सिनेटर जोन फेटरम्यानले भने प्रस्तावको विपक्षमा मत दिएका थिए । यसअघि गत सेप्टेम्बरमा अमेरिकी प्रतिनिधिसभाले उक्त प्रस्ताव पारित गरेको थियो । तर सिनेटबाट अस्वीकृत भएपछि राष्ट्रपति ट्रम्पलाई इरानमाथि थप सैन्य कारबाही गर्ने निर्णयमा रोक लगाउने प्रयास सफल हुन सकेन । 

    १९. इरान युद्धमा अमेरिकाको खर्च ४८ अर्ब ३० करोड डलर पुग्यो

    इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड अमेरिकी डलर खर्च गरेको खुलासा भएको छ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का एक अधिकारीले बिहीवार सिनेटको सशस्त्र सेवा समितिको सुनुवाइका क्रममा युद्धमा भएको खर्चको विवरण सार्वजनिक गरेका हुन् । अमेरिकी नौसेनाको नियन्त्रक पदका लागि मनोनित पेन्टागनका बजेट अधिकारी आर्थर मिलरले नोभेम्बर १३ सम्म इरान युद्धमा ४८ अर्ब ३० करोड डलर खर्च भएको जानकारी दिए । यो रकम अमेरिकी कंग्रेसको बजेट कार्यालयले गत अगस्ट १ सम्मका लागि अनुमान गरेको ३८ अर्ब डलरभन्दा करिब २७ प्रतिशत बढी हो । मिलरकाअनुसार सार्वजनिक गरिएको खर्चमा युद्धमा प्रयोग भएका हतियार तथा गोलाबारुद, उपकरण प्रतिस्थापन र सैन्य सञ्चालन खर्च समावेश छन् ।

    २०. सिचुआन–युनान एक्सप्रेसवेअन्तर्गत जिन्सा नदीको पुल निर्माण सम्पन्न

    चीनको सिचुआन–युनान एक्सप्रेसवेअन्तर्गत जिन्सा नदीमाथि निर्माण गरिएको प्रमुख पुलको काम शुक्रवार सम्पन्न भएको छ । यिबिन–पान्झिहुआ एक्सप्रेसवेको महत्वपूर्ण संरचनाका रूपमा रहेको उक्त पुल १ हजार १४० मिटर लामो छ । पुलको मुख्य स्पान (दुई टावरबीचको भाग) १ हजार ६० मिटर रहेको छ । पुलले चीनको सिचुआन प्रान्तस्थित निङनान र युनान प्रान्तस्थित छ्याओजियालाई जोडेको छ । पुल निर्माण सम्पन्न भएसँगै यिबिन–पान्झिहुआ एक्सप्रेसवेलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने बाटो खुलेको छ । यसले दुई प्रान्तबीचको यातायात सम्पर्कलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

    २१. सिरियाली एयरलाइन्सद्वारा दमास्कस–अलेप्पो र अलेप्पो–मस्को उडान शुरु

    सिरियाली राष्ट्रिय ध्वजावाहक एयरलाइन्सले दमास्कस–अलेप्पो र अलेप्पो–मस्को हवाई सेवा शुरु गरेको छ । सन् २०२४ डिसेम्बरमा तत्कालीन सिरियाली सरकारको पतनपछि पहिलोपटक बुधबार दमास्कसबाट अलेप्पोका लागि नियमित आन्तरिक उडान सञ्चालन गरिएको हो । सिरियाको नागरिक उड्डयन तथा हवाई यातायात महानिर्देशनालयका सञ्चार निर्देशक मुस्तफा खैरल्लाहकाअनुसार दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सिरियाली एयरलाइन्सको पहिलो विमान अलेप्पो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उनले यसअघि नै देइर अल–जोरका लागि आन्तरिक उडान शुरु भइसकेको र अब अलेप्पो पनि दोस्रो आन्तरिक गन्तव्य बनेको जानकारी दिए । उनका अनुसार चाँडै कमिश्लीका लागि समेत उडान सञ्चालन गर्ने तयारी छ । 

    २२. सुडानको ओम्दुरमानमा भोकै विद्यालय जान बाध्य बालबालिका

    सुडानको खार्तुमस्थित ओम्दुरमानमा युद्धका कारण प्रभावित बालबालिका भोक र खाद्य अभावबीच विद्यालय जान बाध्य भएका छन् । सन् २०२३ अप्रिलमा युद्ध शुरु भएपछि बन्द भएको ओम्दुरमानको मोडेल स्कुल गत सेप्टेम्बरदेखि पुनः सञ्चालनमा आएको छ । तर विद्यालय खुले पनि विद्यार्थीको पोषण र पर्याप्त खानाको समस्या भने कायमै छ । केही विद्यार्थी घरबाट सामान्य खाजा बोकेर विद्यालय पुग्छन् भने केहीले सहपाठीले ल्याएको खाना बाँडेर खाने गरेका छन् । विद्यालयका विद्यार्थी अरिघी अहमदकाअनुसार उनीहरू घरबाट फुल (बकुल्ला) वा पास्ताजस्ता सामान्य खाना ल्याउने गर्छन् । खाना नल्याएका साथीहरूलाई पनि आफूले ल्याएको खाना बाँडेर खाने गरेको उनले बताए ।

    २३. अहिले राक्षसी राज छ, सधैँ राक्षसी राज चलाउन खोजे चुप लागेर बस्दैनौँः केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालमा राक्षसीराज चलिरहेको टीप्पणी गर्नुभएको छ । एमालेको जनवर्गिय संगठन नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उहाँले यस्तो टीप्पणी गर्नुभएको हो । राक्षसीराज अझै चलिरहे नेशनल युथ फोर्स आन्दोलनमा उत्रिने उहाँले चेतावनी दिनुभयो । उहाँले आफूलाई विनाकारण गिरफ्तार गरेर सरकारले राक्षसराज संचालन गरिरहेको पुष्टी गरेको उहाँको भनाई छ । आफू पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष रहेको व्यक्तिलाई १३ दिन सरकारले विनकारण हिरासतमा राखिएको उहाँले बताउनु भयो । उहाँले पार्टी अध्यक्ष गिरफ्तार परेपछि शान्तिपूर्ण आन्दोलनमा उत्रेका कार्यकर्तालाई सरकारले दुव्यवहार गरेको आरोप लगाउनु भयो । 

    २४. उद्यमशीलतामा लाग्न युवालाई एमाले अध्यक्ष ओलीको सुझाव

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशीलतामा लाग्न सुझाव दिनुभएको छ । नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उहाँले युवाहरूलाई रोजगारी खोजेर भौंतारिनुभन्दा आफैं रोजगारी सिर्जना गर्ने उद्यमशीलतामा लाग्न आग्रह गर्नुभएको हो । नेशनल भोलन्टियर फोर्सले देशको रक्षा, उन्नति र प्रगतिका साथै आर्थिक विकास तथा उद्यमशीलता प्रवद्र्धनमा समेत भुमिका खेल्नुपर्ने उहाँले बताउनु भयो । युवाहरूले कृषि, सूचना प्रविधि (आईटी), साना उद्योग तथा व्यावसायिक क्षेत्रमा नयाँ अवसर सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ । राजनीतिमा लागेपछि निकम्मा भइन्छ भन्ने भाष्यलाई तोड्दै राजनीति र उद्यमशीलतालाई सँगसँगै अघि बढाउन उहाँले युवाहरूलाई आग्रह गर्नुभयो । युवाहरूले आफ्नै कफी सप, बेकरी, टेलरिङ हाउस, फार्मेसीलगायतका व्यवसाय सञ्चालन गर्न सक्ने उहाँको भनाई छ । विदेशी वा स्थापित ब्रान्डको नाममा निर्भर हुनुभन्दा आफ्नै ब्रान्ड विकास गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

    २५. ओलीको आरोप–‘डरपोक राष्ट्रपतिले असंवैधानिक ढङ्गले संसद विघटन गरेर बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो’ 

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाउनुभएको छ । एमालेको जनवर्गिय संगठन नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उहाँले वर्तमान सरकारको गठन आतङ्क, आगजनी र तोडफोडबाट भएको आरोप लगाउनुभएको हो । उहाँले अहिले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको बताउनु भयो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ढंगले प्रतिनिधिसभा विघठन गरेको आरोप पनि लगाउनु भयो । प्रधानन्यायधीश भइसकेको मान्छे संविधान मिचेर प्रधानमन्त्री भएको एकल सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको उहाँको भनाई छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि अदालतले समयमै फैसला नगरेको उहाँको भनाई छ ।

    २६. बालेन सरकार बर्खामा उम्रिएको चुच्चे च्याउ हो, कुहिएर सकिन्छः महेश बस्नेत

    नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकारले एक वर्ष पनि नटिक्ने दाबी गर्नुभएको छ । एमालेको जनवर्गिय संगठन नेशनल भोलेन्टियर्स संघको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकारलाई वर्षायाममा उम्रिएको चुच्चे च्याउको संज्ञा दिनुभएको हो । उहाँले वर्षायामको च्याउ घाम लागेपछि आफै मरेर जाने उल्लेख गर्दै वर्तमान सरकार पनि लामो समय टिक्न नसक्ने दाबी गर्नुभयो । उहाँले वर्तमान सरकारले सुकुम्बासीलाई दिएको आश्वासन पूरा नगरेको पनि आरोप लगाउनु भयो । सुकुम्बासीका घर भत्काएर उनीहरूलाई वर्षायाममा सडकमा बस्न बाध्य पारिएको भन्दै उहाँले सरकारविरुद्ध जनआक्रोश बढिरहेको दाबी गर्नुभयो ।  –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :मंसिर ५ २०८३ शनिवार - २०:४५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij