२०८३ मंसिर ३ गते बिहिवार
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर रहेको पत्र बिहीबार एन्फालाई पठाउँदै निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको जानकारी गराइएको हो ।
राखेपको कार्यकारी समितिले नोभेम्बर १९ (मंसिर ३) मा गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध हटाइएको पत्रमा उल्लेख छ । प्रशासनिक र आर्थिक प्रतिबन्धसमेत पत्र जारी भएको मितिदेखि लागू हुने गरी फुकुवा गरिएको जनाइएको छ ।
एन्फाले गत अप्रिल ५ (चैत २३) मा पत्र पठाउँदै निलम्बन फुकुवाका लागि राखेपसमक्ष अनुरोध गरेको थियो ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार निलम्बन फुकुवा गर्ने निर्णय गरिएको राखेपले जनाएको छ ।
यस निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, मन्त्रीको सचिवालयसहित अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराइएको छ ।
निलम्बन फुकुवासँगै एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij