Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

भारतले नेपाललाई दियो ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति

भारतले नेपाललाई दियो ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति


  • 1.1K
    Shares

    • images
    भारतले नेपाललाई दियो ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) को भारत भ्रमणअघि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ ।

    भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आइएक्स)को डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिएको हो।

    प्राधिकरणले १ मंसिर २०८३ (१७ नोभेम्बर २०२६) देखि १५ साउन २०८४ (३१ जुलाई २०२७) सम्म विद्युत् आयात गर्न पाउनेछ । यसअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा आइएक्सबाट दैनिक विद्युत् आयात गर्न सकिनेछ।

    अनुमतिअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भारतबाट ३५० मेगावाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत् माग र आपूर्तिको व्यवस्थापन गर्न थप सहज हुने बताए ।

    रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमता भएका आयोजनाहरू राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन्। यसलगायतका अवस्थालाई ध्यानमा राखेर आगामी हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

    गत वर्षको विद्युत् माग र उत्पादनको अवस्थालाई आधार मानेर गरिएको विश्लेषणअनुसार यस वर्ष पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म विद्युत् माग आन्तरिक उत्पादनभन्दा बढी हुने अनुमान छ। यस अवधिमा भारतबाट विद्युत् आयात गर्नुपर्ने देखिएको छ। विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म निरन्तर विद्युत् आयात गर्नुपर्ने अनुमान गरिएको छ।

    यस्तै, उच्च माग हुने पिक आवरमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको अनुमान गरिएको छ। पुस र चैतमा भने तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने आकलन गरिएको छ। आगामी वैशाखदेखि नदीहरूमा पानीको बहाव क्रमशः बढ्दै जाने भएकाले आन्तरिक विद्युत् उत्पादनमा वृद्धि भई आयात प्रतिस्थापन हुँदै विद्युत् निर्यात सुरु हुने अनुमान गरिएको छ।

    ५६ मेगावाट विद्युत् निर्यात अनुमति

    नेपाल विद्युत् प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आइएक्स)मा बिक्री गर्न पनि अनुमति पाएको छ । प्राधिकरणले १ मंसिर २०८३ (१७ नोभेम्बर २०२६) देखि १५ साउन २०८४ (३१ जुलाई २०२७) सम्म उक्त विद्युत् निर्यात गर्न पाउनेछ ।

    प्रकाशित मिति :मंसिर १ २०८३ मंगलवार - १६:३६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij