२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेर ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले रिसोर्टमा छापा मार्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । चिनियाँ नागरिकहरूको गतिविधि शंकास्पद रहेको भन्दै गुनासो आएपछि प्रहरीले छापा मारेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार नियन्त्रणमा लिइएकाहरूबाट केही थान ल्यापटप र मोबाइलसमेत बरामद गरिएको छ । नियन्त्रणमा लिइएका ३६ जनामध्ये ३१ जना पुरुष र ५ जना महिला रहेका छन् ।
छापा मार्ने क्रममा रिसोर्टका दुईवटा कोठा शंकास्पद देखिएपछि थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट अनुसन्धान टोलीसमेत बोलाइएको डीएसपी विष्टले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयको टोलीको नेतृत्व अधिकृत सुनिता थापाले गरेकी थिइन् भने प्रहरी टोलीको नेतृत्व डीएसपी विष्टले गरेका थिए ।
घटनाबारे प्रहरीले थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij