२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । काठमाडौं उपत्यकामा स्वस्थ तथा गुणस्तरीय मासु पहिचानका लागि आधिकारिक छाप लगाउने कार्य सुरु गरिएको छ ।
उपभोक्ताले स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु उपभोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्ने उद्देश्यले कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा ल्याएसँगै छाप लगाउने प्रक्रिया सुरु गरेको हो ।
मन्त्रालयका अनुसार मंगलबारदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका विभिन्न स्थानमा ऐन कार्यान्वयन सुरु गरिएको छ । पहिलो चरणमा कुखुरा, राँगा र खसीको मासु परीक्षण गरी स्वस्थ तथा उपभोगयोग्य मासुमा आधिकारिक छाप लगाउन थालिएको हो ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मासुको स्वच्छता र गुणस्तर खाद्य पदार्थसँग मात्र नभई नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएको बताएकी छन् । उनले उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउनुपर्ने भन्दै ऐनको कार्यान्वयनलाई सुरुवातमा मात्र सीमित नराखी निरन्तरता दिने योजना रहेको बताइन् ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पशु वध गर्नुअघि पशुको स्वास्थ्य परीक्षण र वधपछि मासुको स्वच्छता परीक्षण गरिनेछ । परीक्षणका क्रममा मासु उपभोगका लागि योग्य ठहरिएपछि मात्र त्यसमा आधिकारिक छाप लगाइनेछ ।
त्यसैगरी, खुद्रा मासु व्यवसायीले पनि तोकिएको वधशालामा पशु वध तथा आवश्यक परीक्षण गराई आधिकारिक छाप लगाइएको मासु आफ्नो पसलबाट बिक्री गर्न सक्नेछन् ।
ऐनको कार्यान्वयनसँगै मासुको गुणस्तर र स्वच्छतामा सुधार आउने तथा उपभोक्ताले सुरक्षित मासु उपभोग गर्न पाउने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij