२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । जापानमा मस्तिष्कघात भएर ६ महिनादेखि उपचाररत २२ वर्षीया नेपाली युवती विष्णु कुँवर स्वदेश फर्किएकी छन्। सोमबार नेपाल आइपुगेकी उनको काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचार सुरु गरिएको छ।
आर्थिक अभावका कारण जापानमा उपचारलाई निरन्तरता दिन कठिन भएपछि नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनिलकुमार शर्माको पहलमा उनलाई नेपाल ल्याइएको हो।
डा. शर्माले विष्णुको उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने प्रतिबद्धता जनाएका छन्। उनलाई नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको थियो। विमानस्थलबाट सिधै एम्बुलेन्समार्फत सिनामंगलस्थित केएमसी शिक्षण अस्पताल पुर्याएर भर्ना गरिएको हो।
अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले उनको स्वास्थ्य परीक्षण गरी उपचार अघि बढाएको छ।अस्पतालबाट डिस्चार्ज नहुँदासम्म उपचारको सम्पूर्ण खर्च आफूले व्यहोर्ने डा. शर्माले बताएका छन्।
रोजगारी र उज्ज्वल भविष्यको खोजीमा जापान पुगेकी विष्णुलाई अचानक मस्तिष्कघात भएको थियो। आर्थिक समस्याका कारण उनको उपचार र स्वदेश फर्किने प्रक्रिया कठिन बनेको थियो।
हाल उनी स्वदेशमै परिवारको साथमा रहेर थप उपचार गराइरहेकी छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij