Logo

२०८३ कार्तिक २६ गते बिहिवार

२०८३ कार्तिक २६ गते बिहिवार

आज दिनभरको २१ खबर एकै ठाउँमा

आज दिनभरको २१ खबर एकै ठाउँमा


  • 260
    Shares

    • images
    आज दिनभरको २१ खबर एकै ठाउँमा

    १. ह्याट्रिकसहित सन्दीपको ६ विकेटमा विराटनगर प्लेअफनजिक

    सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट प्रेरणामा विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा तेस्रो जितसँगै प्लेअफ दाबेदारीमा फर्किएको छ ।  कीर्तिपुरमा बिहीवार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्ससमाथि चार विकेटको संघर्षपूर्ण जित निकाल्दै यस सिजन प्लेअफ होडनजिक पुगेको हो । कप्तान सन्दीपले ह्याट्रिकसहित ६ विकेट लिँदै पोखरालाई सस्तैमा अलआउट गरे । सामान्य लक्ष्य पाएको विराटनगरले चार बल अगावै लक्ष्य भेट्टाउँदै जित रच्यो । यो हारसँगै पोखराको भने प्लेअफ होडबाट बाहिरिएको छ । समान ६ खेलबाट विराटनगरले ६ अंक बटुल्दा पोखरा दुई अंकसहित पुछारमा छ । 

    २. मकवानपुरको चिसापानीगढीमा माइक्रोबस दुर्घटनाः १० जनाको मृत्यु, ५ घाइते

    मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीवार बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । काठमाडौंबाट सर्लाहीतर्फ यात्रु बोकेर जाँदै गरेको उक्त सवारीसाधन अनियन्त्रित भई सडकबाट करिव ७०० मिटर तल खस्दा उक्त मानवीय क्षति भएको हो । बिहीवार बिहान करिव ६ः१० बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरूमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो गाडीमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा परी घाइते भएका ५ जनाको तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ । घाइतेहरूमा ३ पुरुष र २ बालक रहेको प्रहरीले जनाएको छ । 

    ३. बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद

    सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा २३१ किलो ८०० ग्राम गाँजा फेला परेको हो । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलामा गाँजा लुकाइएको विशेष सूचनाका आधारमा प्रहरीले राति करिव १ बजे खोजतलास गरेको थियो । सो क्रममा खाल्डोभित्र लुकाएर राखिएको गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

    ४. छठको भव्य तयारीः सांस्कृतिक सद्भावको केन्द्र बन्दै काठमाडौंका पोखरीहरू

    आस्था, निष्ठा र सूर्य उपासनाको महापर्व छठका लागि काठमाडौंका नदी र पोखरीमा सरसफाई र भौतिक संरचना निर्माण कार्य जारी रहेको छ । आस्था, निष्ठा र लोकआस्थाको पर्व छठ आउन केही दिन मात्र बाँकी रहँदा काठमाडौं उपत्यकाका विभिन्न जलाशय तथा पोखरीहरूमा तयारीले तिब्रता पाएको हो । विशेषगरी राजधानीको मुटुमा अवस्थित ऐतिहासिक कमलपोखरीमा छठ पूजाका लागि विशेष सरसफाइ, काठका परम्परागत मण्डपमा रङरोगन, तथा टेन्ट र झिलिमिली बत्ती जडानका लागि फलामे संरचना निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । कात्तिक शुक्ल चतुर्थीदेखि शुरु भई सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर सम्पन्न हुने छठ पर्वका लागि काठमाडौंका विभिन्न घाटहरू दुलहीझैं सिँगारिन थालेका छन् । पछिल्ला वर्षहरूमा राजधानीको कमलपोखरी छठ पर्व मनाउने प्रमुख केन्द्रका रूपमा विकास भएको छ । 

    ५. छठ पर्वका लागि धनुषामा एकीकृत सुरक्षा योजना, भीआईपीको आगमनले सर्वसाधारणको पूजामा असर नपर्ने

    दीपावली तथा तिहार पर्व सकिएसँगै मिथिलाञ्चलसहित देशभर छठ पर्वको तयारी तिब्र पारिएको छ । छठ पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाएको छ । बिहीवार जनकपुरधाममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले छठ पर्वका अवसरमा नदी, पोखरी तथा घाटहरूमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा परिचालन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार जनकपुरधामका विभिन्न पोखरी, नदी किनार तथा छठ घाटमा सरसफाइ र व्यवस्थापनका काम भइरहेका छन् । सुरक्षा समितिले एकीकृत जिल्ला सुरक्षा योजनाअन्तर्गत सुरक्षा व्यवस्था मिलाएको छ । 

    ६. छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै, गंगासागरमा तयारी अन्तिम चरणमा

    छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रमा पोखरी, तालतलैया तथा नदी किनारका घाटहरू सिँगार्न थालिएको छ । छठ पर्वको मुख्य केन्द्र मानिने जनकपुरधामका विभिन्न पोखरीमा सरसफाई, सजावट तथा व्यवस्थापनका काम तिब्र पारिएको हो । जनकपुरधामस्थित गंगासागर पोखरीमा पनि छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । गंगासागरको धार्मिक तथा पर्यटकीय महत्वलाई ध्यानमा राख्दै छठ पूजा तयारी समिति र स्थानीय युवाहरू करिव १० दिनदेखि व्यवस्थापनमा जुटेका छन् । गंगासागर धर्मशाला भगवान शिव मन्दिर सेवा समितिका प्रतिनिधिकाअनुसार पोखरी परिसरलाई आकर्षक बनाउन सरसफाइसँगै रङरोगनको काम भइरहेको छ । 

    ७. घरभित्र अन्याय छोडेर न्याय खोज्न सरकार अन्ताल्यामा

    सविन धमला,काठमाडौं 
    विकासको लाभ राष्ट्रिय तहमा पुग्दा स्थानीय समुदायले आफ्नो थातथलो र पहिचान गुमाउनुपर्ने अवस्था आयो भने त्यो पनि न्याय माथिको प्रश्न हो । सरकारको मौनताले नागरिकलाई आफ्नो भविष्यको निर्णय आफैँ गर्न नसक्ने अवस्थामा राख्नु त झन् ठूलो अन्याय हो । जलवायु अनुकूलन र स्वच्छ ऊर्जा परियोजना पनि मानव अधिकार, स्थानीय सहभागिता र न्यायपूर्ण लाभ वितरणको कसौटीमा जाँचिनुपर्छ । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको माग गर्दा आफ्नै नागरिकको पीडा, उनीहरूको न्यायको बाटो र राज्यको जवाफदेहितालाई पनि सँगै लिएर जानुपर्छ । नत्र जलवायु परिवर्तनका कारण अन्याय बढिरहेको छ भन्ने हाम्रो दाबी त रहन्छ, तर आफ्नै विकास र शासन व्यवस्थाले सिर्जना गरेको अन्याय घटाउने क्षमता देखिँदैन । 

    ८. अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्धको महाभियोग प्रयास प्रतिनिधिसभाबाट असफल

    अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग लगाउने प्रयास अमेरिकी प्रतिनिधिसभाबाट रोकिएको छ । रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको प्रतिनिधिसभाले महाभियोग प्रश्ताव थप छलफलका लागि समितिमा पठाउने प्रक्रियागत प्रश्तावमाथि २११ विरुद्ध २०४ मतले निर्णय गरेको हो । यससँगै हेगसेथविरुद्धको महाभियोग प्रक्रिया तत्कालका लागि अघि बढ्न नसक्ने भएको छ । महाभियोग प्रस्तावको नेतृत्व गरेका रिपब्लिकन सांसद थोमस मेसीको प्रयासलाई हेगसेथले ‘प्रहसन’ र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्षति पु¥याउने उद्देश्यले गरिएको राजनीतिक नाटकको संज्ञा दिनुभएको छ । मंगलवार प्रतिक्रिया दिँदै हेगसेथले एक जना असन्तुष्ट र पराजित सांसदले गरिरहेको प्रयास निगरानी वा जवाफदेहिताको विषय नभई व्यक्तिगत अहंकार र प्रतिशोधबाट प्रेरित राजनीतिक प्रदर्शन भएको बताउनु भयो । 

    ९.इजरायलको नयाँ संसद् शपथग्रहण, प्रमुख पदमा विपक्षीको दाबी

    इजरायलको नवनिर्वाचित संसद् (नेसेट) ले मंगलबार शपथग्रहण गरेको छ । संसद्मा बहुमत जुटाएको विपक्षी गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका निकट सहयोगीलाई प्रमुख संसदीय पदबाट हटाउने तयारी गरेको छ । राष्ट्रपति इसाक हर्जोगले १२० सदस्यीय संसदको पहिलो बैठक उद्घाटन गरेपछि नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । गत अक्टोबर २७ मा सम्पन्न निर्वाचनमा नेतान्याहुको दक्षिणपन्थी गठबन्धनले बहुमत गुमाएको थियो । निर्वाचनमा नेतान्याहु पक्षधर दलहरूले ५३ सिट प्राप्त गर्दा विपक्षी दलहरूले ६७ सिट जितेका थिए । शपथग्रहण समारोहअघि विपक्षी नेता गादी आइजेनकोटको याशार पार्टीले संसद्का सभामुख आमिर ओहानालाई पदबाट हटाउन ६१ भन्दा बढी सांसदले हस्ताक्षर गरेको जनाएको छ । नेतान्याहुको लिकुड पार्टीका सांसद ओहानाको स्थानमा याशार पार्टीका सांसद माटान काहानालाई सभामुख बनाउने विपक्षीको प्रश्ताव छ ।

    १०. इटालीमा बमको धम्कीपछि ३०० भन्दा बढी विद्यालय खाली गराइयो

    इमेलमार्फत बम विस्फोट गराउने धम्की आएपछि इटालीभरका ३०० भन्दा बढी विद्यालय खाली गराइएको छ। बुधबार देशका विभिन्न सहरका विद्यालय प्रशासनलाई धम्कीपूर्ण इमेल प्राप्त भएपछि विद्यार्थी र शिक्षकलाई सुरक्षित रूपमा विद्यालयबाट बाहिर निकालिएको हो । इटालीको सरकारी सञ्चारमाध्यम राई न्युज २४ का अनुसार राजधानी रोम, मिलान, फ्लोरेन्सलगायत प्रमुख सहरका विद्यालयलाई लक्षित गरी इमेल पठाइएको थियो। शिक्षा मन्त्री ज्युसेप्पे भाल्दितारालाई उद्धृत गर्दै टेलिभिजन च्यानल ला–७ ले कम्तीमा ३०० विद्यालय प्रभावित भएको र यो संख्या अझै बढ्न सक्ने जनाएको छ । धम्कीपछि प्रहरी, काराबिनिएरी सैन्य प्रहरी तथा विस्फोटक पदार्थ निष्क्रिय पार्ने विशेषज्ञ टोलीले विद्यालयहरूमा सुरक्षा जाँच थालेका छन् ।

    ११. चिनियाँ वायुसेनाको ७७ औँ वार्षिकोत्सवमा ग्रेटवालमाथि लडाकु विमानको प्रदर्शन

    चीनको जनमुक्ति सेना (पीएलए) वायुसेनाको ७७ औँ स्थापना दिवसका अवसरमा लडाकु विमानले ग्रेटवालमाथि हवाई प्रदर्शन गरेका छन् । सन् २०२६ नोभेम्बर ६ मा चीनको तियानजिनस्थित ह्वाङयागुआन ग्रेटवालमाथि पीएलए वायुसेनाको बायी एरोबेटिक टोलीका छ वटा जे–१० लडाकु विमानले उडान भरेका हुन् । हवाई प्रदर्शनअघि पाइलटहरूले २४ घण्टासम्म विभिन्न प्राविधिक जाँच, सुरक्षा ब्रिफिङ तथा अभ्यास गरेका थिए । ग्रेटवालमाथिको उक्त उडान वायुसेनाको स्थापना दिवसका अवसरमा आयोजित उत्सवको एक हिस्सा रहेको जनाइएको छ । पीएलए वायुसेनाको स्थापना दिवस बुधबार परेको छ । स्थापना भएको ७७ वर्ष पूरा भएको अवसरमा चीनले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।

    १२. जलवायु वित्त र विकासशील राष्ट्रका लागि न्याय सुनिश्चित गर्न कोप–३१ मा माग

    संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी प्रतिनिधिहरूले जलवायु वित्तको अभाव अन्त्य गर्न तथा विकासशील राष्ट्रका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गरेका छन् । संयुक्त राष्ट्रसंघको सन् २०३० सम्मको दिगो विकास एजेण्डा कार्यान्वयन गर्न अब चार वर्ष मात्रै बाँकी रहेकाले सम्मेलनमा उत्सर्जन न्युनिकरणका लक्ष्य निर्धारण गर्नेभन्दा पनि व्यावहारिक समाधान र कार्यान्वयनमा जोड दिइएको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) अन्तर्गत दिगो विकासका लागि शिक्षा क्षेत्रका अध्यक्ष मोहम्मद नुरुननबीले अब प्रतिवद्धता मात्रै नभई त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनु भयो । 

    १३. बुल्गेरियामा राजमार्गमा सवारीसाधन एकआपसमा ठोक्किँदा १० भन्दा बढीको मृत्यु

    दक्षिणपूर्वी बुल्गेरियाको याम्बोल नजिकै राजमार्गमा भएका दुईवटा श्रृंखलावद्ध सवारी दुर्घटनामा परी १० जनाभन्दा बढीको मृत्यु भएको छ । दुर्घटनामा करिव ५० वटा कार तथा ट्रक संलग्न रहेको जनाएको छ । याम्बोल क्षेत्रका गभर्नर जर्जी चालाकोभकाअनुसार बाक्लो हुस्सुका कारण दृश्यता कम हुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनापछि उक्त राजमार्गमा दुवैतर्फको यातायात आवागमन बन्द गरिएको छ । दुर्घटनास्थलमा उद्धार टोली, आन्तरिक मामिला मन्त्रालयका अधिकारी तथा सैनिकहरू परिचालन गरिएको सरकारी सूचना सेवाले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई नजिकैका स्लिभेन, याम्बोल र बुर्गास सहरका अस्पतालमा उपचारका लागि पठाइएको छ । 

    १४. मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक घरमै नजरबन्दमा

    मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकले आफ्नो बाँकी जेल सजाय घरमै नजरबन्दमा बिताउने भएका छन् । अदालतले घरमै नजरबन्दमा राखेर बाँकी सजाय भुक्तान गर्न अनुमति दिएपछि उनलाई तत्कालै क्वालालम्पुरस्थित आफ्नै निवासमा स्थानान्तरण गरिएको हो । अदालतको नयाँ आदेशअनुसार नजिबले एसआरसी इन्टरनेसनल एसडीएन बीएचडी प्रकरणमा पाएको बाँकी कैद सजाय घरमै नजरबन्दमा बिताउन पाउनेछन् । उक्त आदेश आगामी सन् २०२८ अगस्ट २३ सम्म लागू हुनेछ । यससँगै नजिबले कारागारमा नभई आफ्नै निवासमा नजरबन्दमा रहेर बाँकी सजाय पूरा गर्ने भएका छन् । 

    १५. यमनको राजधानी सानामा ग्यास केन्द्र र तेल कम्पनीको भवनमा हवाई आक्रमण

    यमनको राजधानी सानामा रहेको ग्यास केन्द्र र सरकारी तेल कम्पनीको भवनमा मंगलबार हवाई आक्रमण भएको छ । हुथी विद्रोहीले उक्त आक्रमण साउदी अरबले गराएको आरोप लगाएका छन् । आक्रमणपछि ग्यास केन्द्रमा आगलागी भएको छ भने आसपासका घर तथा पसलहरूमा समेत आंशिक क्षति पुगेको छ । हुथी विद्रोहीको नियन्त्रणमा रहेको अल–मसिराह टेलिभिजनकाअनुसार सानाको उत्तरी भागस्थित बानी अल–हारिस जिल्लामा रहेको अल–मफजार ग्यास स्टेसनलाई लक्षित गरी आक्रमण गरिएको थियो । आक्रमणबाट ग्यास बोकेका केही ट्याङ्करमा आगलागी भएको र दमकल तथा नागरिक सुरक्षा टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको जनाइएको छ । त्यस्तै, सानाको दक्षिणी क्षेत्रमा रहेको यमन पेट्रोलियम कम्पनीको भवनमा पनि लडाकु विमानबाट आक्रमण गरिएको थियो । हुथीको नियन्त्रणमा रहेको उक्त सरकारी कम्पनीले इन्धन वितरण तथा बजारीकरण गर्दै आएको छ । 

    १६. साउदी अरबको सुरक्षाका लागि इजिप्टका सेना महिनौँदेखि तैनाथ

    इजिप्टले साउदी अरबको रक्षा क्षमता सुदृढ बनाउन आफ्ना सेना केही महिनादेखि त्यहाँ तैनाथ गरेको जनाएको छ । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले सोमबार फ्रान्सेली सञ्चारमाध्यम फ्रान्स–२४ सँगको अन्तर्वार्तामा इजिप्टका सैनिक साउदी अरबको सुरक्षामा सहयोग पु¥याउन खटिएको बताउनुभएको हो । उहाँकाअनुसार इजिप्टको संसद्ले राष्ट्रपति अब्देल फताह अल–सिसीलाई साउदी अरबको रक्षात्मक क्षमता मजबुत बनाउन आवश्यक कदम चाल्ने अधिकार दिएको छ । ‘साउदी अरबको सुरक्षा इजिप्टको सुरक्षाको पनि हिस्सा हो,’ विदेशमन्त्री अब्देलाट्टीले भन्नुभयो । 
    उहाँले इजिप्टको सैन्य सहयोग पूर्ण रूपमा रक्षात्मक रहेको र साउदी अरबको भूभागभित्रै सीमित रहेको स्पष्ट पार्नुभयो । 

    १७. हङकङमा अन्तर्राष्ट्रिय प्रहरी तालिम एकेडेमी स्थापना

    हङकङ प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी तालिम एकेडेमी स्थापना गरेको छ । हङकङ प्रहरीले बुधवार ‘हङकङ इन्टरनेसनल एकेडेमी अफ पुलिसिङ’ (एचकेआईएपी) शुभारम्भ गरेको हो । एकेडेमीको उद्घाटन समारोहमा विभिन्न देशका प्रहरी तथा स्थानीय सुरक्षा निकायका ४०० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी जोन लीले सुरक्षा चुनौतीहरू दिनप्रतिदिन जटिल र सीमाविहीन बन्दै गएको बताउनु भयो । विश्वव्यापी सुरक्षा र समृद्धिका लागि अन्तर्राष्ट्रिय सहकार्य तथा बलियो सम्बन्ध आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले नयाँ एकेडेमीले हङकङको अन्तर्राष्ट्रिय साझेदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । 

    १८. छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको सन्देश दिन्छः मनिष झा

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको पाँच वटा महत्वपुर्ण सन्देश दिने बताउनुभएको छ । छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । छठ पर्वले पर्यावरण संरक्षण, कृषि उत्पादनको प्रवद्र्धन, सामाजिक समानता, अनुशासन र पारिवारिक एकताको सन्देश दिने उहाँले बताउनु भयो । उहाँकाअनुसार छठ पर्वको पहिलो सन्देश पर्यावरण संरक्षण हो । पर्वका क्रममा पोखरी, जलाशय तथा पानीका स्रोतहरू सफा गर्ने परम्पराले वातावरण संरक्षणमा योगदान गर्ने उहाँको भनाई छ । दोस्रो पक्ष कृषि उत्पादनको प्रवद्र्धन रहेको उहाँले बताउनु भयो । 

    १९. जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ पूजामा सहभागी हुने रवि लामिछानेको तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसवर्ष छठ पर्व मनाउन जनकपुरधाममा सर्वसाधारणको घरमा बसेर विधिपूर्वक मनाउनुहुने भएको छ । सभापति लामिछानले जनकपुरधामस्थित गङ्गासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको घरमा बसेर छठका सम्पूर्ण विधिमा सहभागी हुने तयारी गरेको रास्वपाका नेता मनिष झाले जानकारी दिनुभयो । सांसदसमेत रहनुभएका नेता झाले सभापति लामिछानेले जनकपुर आउनेभएपछि तयारी तिब्र पारिएको जानकारी दिनुभयो । उहाँकाअनुसार लामिछाने आफ्नी श्रीमतीसहित परिवारका सदस्यसँगै जनकपुर आउने तयारीमा छन् । लामीछाने पत्नी निकिता पौडेल लामिछानले खरनादेखि बिहानको अघ्र्यसम्मका सम्पूर्ण विधिमा व्रत बसेर छठमा सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

    २०. सामाजिक सुरक्षा कोषमा करिव १ खर्ब ३० अर्ब रुपैयाँ संकलन, आवद्ध हुनेको संख्या ३२ लाख ४३ हजार पुग्यो

    सामाजिक सुरक्षा कोषमा करिव १ खर्ब ३० अर्ब संकलन भएको छ । कोषकाअनुसार गत असोज मशान्तसम्म औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका गरी ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ताले हालसम्म हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ योगदान गरेका छन् । कोषमा सहभागिताको हिसावले वैदेशिक रोजगारीमा जानेहरुको संख्या ठूलो छ । सोही कारण योगदानको हिसाबले पनि उनीहरुले नै बढी गरेका छन् । कोषकाअनुसार  वैदेशिक रोजगारी क्षेत्रबाट मात्रै २४ लाख ५० हजार ९५८ जना कोषमा आवद्ध भएका छन् । यो कुल योगदानकर्ताको करिव ७५ प्रतिशत हो । त्यस्तै, औपचारिक क्षेत्रबाट ७ लाख ९० हजार ८३ जना, अनौपचारिक क्षेत्रबाट १ हजार १६८ जना र स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना कोषमा आवद्ध भएका छन् । औपचारिक क्षेत्रअन्तर्गत सातै प्रदेशबाट योगदानकर्ता आबद्ध भएका छन् ।

    २१. फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने

    नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा तेस्रो जितपछि विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले फिल्डिङ कारण आफ्नो टोली पछि परिरहेका बताएका छन् । पोखरा एभेन्जर्समाथि जितपछि पत्रकार सम्मेलनमा सन्दीपले आफ्नो टोलीले राम्रो खेलिरहे पनि फिल्डिङ चुकिरहेको बताएका हुन् । तर आफ्ना खेलाडीले उत्कृष्ट इफोर्ट भने लगाएको उनको विश्वास छ । विराटनगरकै खेलमा भिजेको मैदानका कारण पनि समस्या भएको सन्दीपले उल्लेख गरे । तर यही बाहना गर्न नहुने र टोलीले सुधार गर्नुपर्ने उनको भनाइ छ । उनले आगामी अन्तिम खेलमा राम्रो खेल्दै प्लेअफमा पुग्ने विश्वास पनि व्यक्त गरे । पोखरासँगको पनि खेलमा हारको संघारमा पुगिसकेको अवस्थामा इसुरु उडनाले उत्कृष्ट ब्याटिङ गरेको उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :कार्तिक २६ २०८३ बिहिवार - १७:५१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij