२०८३ कार्तिक २६ गते बिहिवार
काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको भीषण सवारी दुर्घटनामा परी ज्यान गुमाउने चालकसहित ११ जनाको पहिचान खुलेको छ। दुर्घटनामा ५ महिला (३ बालिकासहित) र ६ पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार दुर्घटनामा मृत्यु हुने चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ निवासी ३० वर्षीय रवि शंकर कुमार मण्डल हुन्। अन्य १० जना मृतक सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका बासिन्दा रहेको उनले जानकारी दिए।
दुर्घटनामा एकै परिवारका आमा र तीन छोरीको ज्यान गएको छ। मृत्यु हुनेमा ३५ वर्षीया पुनम यादव र उनका तीन छोरीहरू १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दिक्षा यादव र ५ वर्षीया दिपिका यादव रहेका छन्।
त्यस्तै, दुर्घटनामा २६ वर्षीय बिकेश यादव, ३६ वर्षीय गुड्डु यादव र उनकी ३२ वर्षीया श्रीमती गायत्री देवी, २६ वर्षीय राम दुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ६ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी सुरुमा हेटौँडा अस्पताल पुर्याइएको थियो। गम्भीर अवस्थामा रहेका अवधेश यादवका १४ महिनाका छोरा सुदीप यादव र मृतक गुड्डु यादवका ३ वर्षीय छोरा सुजन यादवलाई थप उपचारका लागि काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल पठाइएको छ।
त्यस्तै, टाउको र शरीरमा चोट लागेका ३१ वर्षीय देवेन्द्र राय (बेचु) लाई थप उपचारका लागि चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको छ।
अन्य तीन घाइते ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय सामान्य उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
छठ पर्व मनाउन घर फर्किँदै गरेका यात्रुहरू सवार सवारीसाधन दुर्घटनामा पर्दा एकै गाउँका धेरै परिवार शोकमा परेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij