२०८३ कार्तिक २६ गते बिहिवार
काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ। पछिल्लो समय तापक्रम निरन्तर घट्न थालेसँगै बिहीबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहान ५ः४५ बजे गरिएको प्रारम्भिक मापनमा काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखिएको हो। उनका अनुसार बिहान ८ः४५ बजेसम्म तापक्रम अझै घट्न सक्ने सम्भावना छ।
यसअघि बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस मापन गरिएको थियो। एकै दिनमा तापक्रम घटेसँगै उपत्यकामा चिसो थप बढेको छ।
मौसमविद् ढकालका अनुसार बिहीबार काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना छैन। दिनभर मौसम मुख्यतः घमाइलो रहने अनुमान गरिएको छ। यद्यपि, केही स्थानमा आंशिक बादल देखिन सक्ने उनले बताएका छन्।
बुधबार भने काठमाडौं उपत्यकाका विभिन्न स्थानमा असिनासहित वर्षा भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ३३.५ मिलिमिटर र बबरमहलमा ११.२ मिलिमिटर वर्षा मापन गरिएको थियो। उपत्यकाका अन्य स्थानमा भने हल्का वर्षा भएको थियो।
पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तापक्रम घट्दै गएको छ। मौसम महाशाखाले दैनिक बिहान ८ः४५ बजे न्यूनतम र साँझ ५ः४५ बजे अधिकतम तापक्रमको अन्तिम मापन सार्वजनिक गर्दै आएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij