Logo

२०८३ कार्तिक २४ गते मंगलवार

२०८३ कार्तिक २४ गते मंगलवार

आज दिनभरको २२ खबर एकै ठाउँमा

आज दिनभरको २२ खबर एकै ठाउँमा


  • 491
    Shares

    आज दिनभरको २२ खबर एकै ठाउँमा
    images

    १. सरकारी कामकाज र डिजिटल प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छः सभामुख अर्याल

    सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताउनुभएको छ । मंगलवार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्नु महत्वपूर्ण उपलब्धि भएपनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो  । उहाँले नेपाल संवत वर्ष गणना गर्ने आधार मात्र नभई नेपालको ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक भएको उल्लेख गर्नुभयो । नेपाल संवत्को प्रभावकारी कार्यान्वयनका लागि सरकारले स्पष्ट नीति, आवश्यक बजेट र कार्ययोजना बनाउनुपर्ने उहाँको भनाइ छ ।  

    २. वागमतीका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषा प्रयोग गर्ने तयारी

    वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने तयारी भइरहेको बताउनुभएको छ । 
    नेपाल संवत ११४७ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले प्रदेश सरकारले २०८० सालमै नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने ऐन पारित गरी कार्यान्वयनमा ल्याएको स्मरण गर्नुभयो । तर ऐन कार्यान्वयनमा आए पनि व्यवहारमा भाषाको प्रयोग प्रभावकारी हुन नसकेको स्वीकार गर्दै उहाँले अब सबै मन्त्रालयका बोर्ड र लेटरहेडमा नेपाली, नेपाल र तामाङ भाषा प्रयोग गरिने जानकारी दिनुभयो । मुख्यमन्त्री थापामगरले नेपाल भाषा र तामाङ भाषाका विज्ञहरू सम्मिलित समूह गठन गरी सरकारी कार्यालयको कामकाजमा यी भाषाको प्रयोग विस्तार गर्ने तयारी भइरहेको पनि बताउनु भयो । विज्ञहरूको सुझावका आधारमा प्रदेशका सबै १३ जिल्लामा भाषाको प्रयोगलाई विस्तार गरिने उहाँको भनाइ छ । 

    ३. भाई मसलाको बजारः परम्परा, मिठास र दिदीबहिनीको अगाध स्नेह

    नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक (तिहार) को आगमनसँगै काठमाडौँ उपत्यकालगायत देशभरका प्रमुख बजारहरूमा भाइ मसला, सप्तरङ्गी टीका र सगुनका सामग्रीको किनमेल गर्नेहरूको अभूतपूर्व चहलपहल बढेको छ । ऐतिहासिक व्यापारिक केन्द्र असन, इन्द्रचोक, नयाँसडकका गल्लीहरूदेखि स्थानीय किराना पसल र सुपरमार्केटसम्म दिदीबहिनीहरूको बाक्लो उपस्थिति छ । परम्परागत नाङ्लो र माना–पाथीदेखि आधुनिक लेमिनेटेड गिफ्ट बक्ससम्म सजिएका भाइ मसलाहरूले दिदीबहिनी र दाजुभाइबीचको आत्मीय, पवित्र र अगाध स्नेहलाई जीवन्त बनाइरहेका छन् ।

    ४. नेपाल संवतलाई नेपाली नोटमा समेट्ने सरकारी प्रतिवद्धता स्वागतयोग्यः सांसद रञ्जित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जितले नेपाल संवत्लाई नेपाली नोटमा समेत अङ्कित गर्ने सरकारको प्रतिवद्धता स्वागतयोग्य रहेको बताउनुभएको छ । रोल... 
    मंगलवार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेपाल संवत नेपालीको मौलिक पहिचान र गौरव भएकाले यसको प्रवद्र्धन नेपालमा मात्र सिमित नभई अन्तर्राष्ट्रिय स्तरमा समेत हुनुपर्ने बताउनु भयो । सांसद रञ्जितले नेपाल सरकारले नेपाल संवत्को प्रवद्र्धनका लागि गरिरहेका प्रयासको प्रशंसा गर्दै नेपाली नोटमा नेपाल संवत अङ्कित गर्ने प्रतिबद्धता सकारात्मक भएको उल्लेख गर्नुभयो ।

    ५. नेपाल संवत सबै नेपालीको मौलिक संवत होः सांसद श्रेष्ठ

    नेपाली काँग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले नेपाल संवत नेवार समुदायको मात्र नभई सम्पूर्ण नेपालीको मौलिक संवत भएको बताउनुभएको छ । मंगलवार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेपाल संवत नेपालको मौलिक पहिचान र राष्ट्रिय स्वाभिमानसँग जोडिएको बताउनुभएको हो । उहाँले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाले सर्वसाधारण जनतालाई ऋणमुक्त गराएर मानवता र परोपकारको उत्कृष्ट उदाहरण प्रश्तुत गरेको उल्लेख गर्नुभयो । साख्वाको योगदानलाई आर्थिक तथा सामाजिक क्रान्तिका रूपमा लिनुपर्ने उहाँको भनाइ छ ।

    ६. नेपाल संवत मौलिकता, राष्ट्रियता र ऐतिहासिक स्वाभिमानको प्रतिकः प्रधानमन्त्री साह

    प्रधानमन्त्री बालेन्द्र साहले नेपाल संवत नेपालको मौलिकता, राष्ट्रियता र ऐतिहासिक स्वाभिमानको प्रतिक भएको बताउनुभएको छ । नेपाल संवत ११४७ न्हुँद नेपाल नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले कुनै शासकीय शक्तिबाट नभई एक परोपकारी र त्यागी नागरिकको प्रेरणाबाट नेपाल संवत शुरु भएको उल्लेख गर्नुभएको हो । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका पूर्वअध्यक्ष श्याम मानन्धरले प्रधानमन्त्री साहको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो । प्रधानमन्त्री साहको भनाइ उद्धृत गर्दै मानन्धरले ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा सर्वसाधारण जनतालाई ऋणमुक्त गराई जनहित र समाज सुधारको उत्कृष्ट उदाहरण प्रश्तुत गर्दै राष्ट्रिय विभूति शङ्खधर साख्वाले नेपाल संवत प्रचलनमा ल्याउनुभएको बताउनु भयो । 
    व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको सेवा गर्ने साख्वाको दूरदर्शी योगदान सधैँ प्रेरणादायी रहेको प्रधानमन्त्री साहको सन्देशमा उल्लेख छ ।

    ७. नेपाल संवत कुनै जाति वा समुदाय विशेषको नभई सबै नेपालीको होः काँग्रेस उपसभापति आचार्य

    नेपाली काँग्रेसका उपसभापति मधु आचार्यले नेपाल संवत कुनै जाति वा समुदाय विशेषको नभई नेपालभित्र बस्ने सबै नेपालीको मौलिक संवत भएको बताउनुभएको छ । मंगलवार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेपाल संवत नेपालको पहिचान, मौलिकता र राष्ट्रिय गौरवसँग जोडिएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय विभूतिको सूचीमा लामो समयसम्म राजा–महाराजा, धार्मिक व्यक्तित्व तथा वीरवीरङ्गनाहरूले मात्र स्थान पाउँदै आएको उल्लेख गर्दै जनताको ऋणमोचन र मानव कल्याणका लागि योगदान गर्ने शङ्खधर साख्वाजस्ता सर्वसाधारण नागरिकलाई राष्ट्रिय विभूतिको सम्मान दिन लोकतान्त्रिक परिवर्तनले भूमिका खेलेको बताउनु भयो ।

    ८. नेपाल संवत आन्दोलनका उपलब्धि नयाँ पुस्तासम्म पु¥याउनुपर्छः मन्त्री श्रेष्ठ

    ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले नेपाल संवत र नेवाः संस्कृति संरक्षणका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई नयाँ पुस्तासम्म पु¥याउनुपर्ने बताउनुभएको छ । नेपाल संवत ११४७ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले अग्रज अभियन्ताहरूले लामो संघर्षबाट स्थापित गरेका उपलब्धिको संरक्षण र पुस्तान्तरण अहिलेको पुस्ताको दायित्व भएको बताउनु भयो । मन्त्री श्रेष्ठले नेपाल संवत आन्दोलनका क्रममा उठाइएका मागमध्ये नेवाः विश्वविद्यालय स्थापना प्रक्रिया अघि बढ्नु, नयाँ नेपाली नोटमा नेपाल संवत् समावेश गर्ने सरकारी प्रतिवद्धता आउनु र आकाश भैरवको तस्बिर नोटमा समावेश गर्ने प्रक्रिया अघि बढ्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो । 

    ९.नेपाल संवत ११४७ नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाइयो

    राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ को नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाएको छ । नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय विभूति शंखधर साख्वाःको शालिकमा माल्यार्पण गर्नुभयो । कार्यक्रममा शंखधर साख्वाःको योगदानको स्मरण गर्दै नेपाल संवत्को ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गरिएको थियो । नेपाल संवत् नेपालको मौलिक संवत् हो । राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका जनताको ऋणमोचन गरी नयाँ संवत् चलाएको जनविश्वास छ । 

    १०. नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने ऐन ल्याएका छौँः मुख्यमन्त्री थापा मगर

    वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने कानूनी व्यवस्था गरिएको बताउनुभएको छ । मंगलवार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बताउनु भयो । मुख्यमन्त्री थापा मगरले वागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने गरी ऐन निर्माण गरी कार्यान्वयनको प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

    ११. दीपको महासागरमा काठमाडौंः तिहारको रात जब उपत्यका ताराझैँ जगमगायो

    यमपञ्चकको उल्लासमय साँझमा काठमाडौं उपत्यका प्रकाशको एक भव्य महासागरमा परिणत भयो । तिहारको अवसरमा परम्परागत माटोका पाला, तेलका दियो र आधुनिक रङ्गीविरङ्गी विद्युतीय झिलिमिलीले सिङ्गारिएपछि सिंगो उपत्यका आकाशका ताराहरू धर्तीमै ओर्लिएझैँ चहकिलो र मनमोहक देखियो । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्वयम्भूनाथ महाचैत्य डाँडाको शिखरदेखि उपत्यकाका मुख्य राजमार्गहरूमा बगेका प्रकाशका लामहरूसम्म, काठमाडौं, ललितपुर र भक्तपुरका हरेक घर, चोक र गल्लीहरू उज्यालोको अनुपम सौन्दर्यमा डुबेका छन् । 

    १२. गणेशमानको त्याग र आदर्शबाट काँग्रेसले पाठ सिक्नुपर्छः प्रकाशमान सिंह

    नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखिएको विवाद र राजनीतिक अन्योल समाधान गर्न गणेशमान सिंहले देखाएको त्याग, निष्ठा र आदर्शलाई आत्मसात गर्नुपर्ने बताउनुभएको छ । 
    मंगलवार गणेशमान सिंहको ११३ औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको शान्तिबाटिकास्थित उहाँको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले लोकतन्त्र, राष्ट्रियता र पार्टीको सिद्धान्तमाथि चुनौती उत्पन्न हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निर्णय गर्नुपर्ने बताउनु भयो । उहाँले २०४६ सालको जनआन्दोलनपछि तत्कालीन राजाले प्रधानमन्त्री बन्न प्रश्ताव गर्दा गणेशमान सिंहले आफू प्रधानमन्त्री नबनी कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरेको प्रसङ्ग स्मरण गर्नुभयो । उक्त निर्णयले प्रधानमन्त्री जनताको रोजाइबाट बन्नुपर्छ भन्ने राजनीतिक सन्देश दिएको उहाँको भनाइ छ । 

    १३. इरानसँगको कूटनीतिक वार्तामा उल्लेखनीय प्रगति नभएको अमेरिकी विदेशमन्त्री रुबियोको भनाइ

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी कुटनीतिक प्रयासमा उल्लेखनीय प्रगति हुन नसकेको बताउनुभएको छ । आईतवार फ्लोरिडाबाट फ्रान्स प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले इरानले अघि सारेका मागहरू अस्वीकार्य र कतिपय अव्यावहारिक रहेको बताउनु भयो । इरानसँगको युद्ध अन्त्य गर्न कुटनीतिक तहमा कुनै ठोस उपलब्धि हासिल नभएको उहाँको भनाइ थियो । विभिन्न देशले इरानसँग संवाद गर्दै समाधानका लागि फरक–फरक प्रश्ताव अघि सारे पनि तत्कालै कुनै महत्वपूर्ण सहमति हुने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हरेक समस्याको समाधान कुटनीतिक माध्यमबाटै खोज्न चाहने भए पनि सबै अवस्थामा त्यो सम्भव नहुने रुबियोले बताउनु भयो ।

    १४. दक्षिण अस्ट्रेलियाको गभर्नर हाउस सर्वसाधारणका लागि खुला

    अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यस्थित गभर्नर हाउस आइतबार सर्वसाधारणका लागि खुला गरिएको छ । ऐतिहासिक वास्तुकला र सांस्कृतिक सम्पदाको अवलोकन गर्न इच्छुक एडिलेडका स्थानीय बासिन्दा तथा आगन्तुकहरूले गभर्नर हाउसको भ्रमण गरेका थिए । यस अवसरमा गभर्नर हाउसको प्राङ्गणमा विभिन्न सार्वजनिक गतिविधि आयोजना गरिएको थियो । ती गतिविधिले परिसरलाई सामुदायिक भेटघाट र मनोरञ्जनको आकर्षक स्थलका रूपमा रूपान्तरण गरेको थियो । दक्षिण अस्ट्रेलियाका गभर्नरको आधिकारिक निवासका रूपमा रहेको उक्त भवनले आगामी डिसेम्बर ९ देखि नयाँ नेतृत्व पाउने भएको छ । 

    १५. भारतभर हर्षोल्लासका साथ दीपावली पर्व मनाइयो

    भारतभर हिन्दू धर्मावलम्बीको प्रमुख पर्व दीपावली हर्षोल्लास र धार्मिक श्रद्धाका साथ मनाइएको छ । दीपावलीका अवसरमा सर्वसाधारणले घरलाई माटोका दियो तथा विभिन्न विद्युतीय बत्तीले सजाएका थिए । नयाँ तथा आकर्षक पहिरनमा सजिएका मानिसहरूले आफन्त, साथीभाइ र छिमेकीसँग मिठाई तथा शुभकामना आदानप्रदान गरी पर्व मनाएका थिए । रात परेसँगै विभिन्न स्थानमा पटका पड्काएर दीपावलीको खुसी साटासाट गरिएको थियो । घरघरमा विभिन्न परिकार, मिठाई तथा परम्परागत खानाका साथ विशेष भोजको समेत आयोजना गरिएको थियो । दीपावलीको मुख्य आकर्षणका रूपमा साँझ घरघरमा धनकी देवी लक्ष्मीको विशेष पूजा आराधना गरिएको थियो । 

    १६. यूएफसी प्रमुख डाना ह्वाइटलाई प्रेस सचिव बनाउने प्रश्ताव मजाक मात्रै भएको ट्रम्पको स्पष्टीकरण

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डाना ह्वाइटलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रश्ताव मजाकका रूपमा राखेको स्पष्ट पार्नुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले ह्वाइट उक्त पदको विचारप्रति उत्साहित भएपनि आफूले वास्तविक रूपमा नियुक्तिको प्रश्श्ताव नगरेको बताउनु भयो । उहाँले ह्वाइटलाई उत्कृष्ट व्यक्तिको संज्ञा दिँदै उनीसँगै चर्चित फाइटरहरूलाई सहायकका रूपमा नियुक्त गर्ने कुरा पनि ठट्टाकै रूपमा गरेको बताउनु भयो । ह्वाइट सोमवार अन्य कामको सिलसिलामा वासिङ्टन आउने भएकाले आफूलाई भेट्न आउने कार्यक्रम रहेको पनि ट्रम्पले जानकारी दिनुभयो । 

    १७. सिरिया र जोर्डनबीच ११ वटा सहकार्य सम्झौता, हवाई आक्रमणका पीडितलाई क्षतिपूर्ति दिने तयारी

    सिरिया र जोर्डनबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले ११ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमवार सिरियाको राजधानी दमास्कसमा आयोजित तेस्रो सिरिया–जोर्डन उच्चस्तरीय समन्वय परिषद्को बैठकपछि दुवै देशबीच सम्झौता भएको हो । सिरियाली सरकारी समाचार संस्था सानाकाअनुसार सम्झौतामा लगानी, नागरिक उड्डयन, खाद्य सुरक्षा तथा जलस्रोत क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएका छन् । त्यस्तै, साउदी अरेबियादेखि जोर्डन र सिरिया हुँदै टर्किएसम्म जोड्ने प्रस्तावित रेलमार्ग निर्माणका लागि समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । 
    बैठकका क्रममा जोर्डनका विदेशमन्त्री तथा उपप्रधानमन्त्री ऐमन सफादीले गत महिना भएको जोर्डनको हवाई आक्रमणमा मारिएका सर्वसाधारणका परिवारप्रति पुनः समवेदना व्यक्त गर्नुभयो । 

    १८. होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम

    इरानले होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने आफ्नो दुईदिने प्रश्ताव अझै कायम रहेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सोमवार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकासँगको वार्ताका लागि इरानको धारणा स्पष्ट रहेको बताउँदै दुईदिने प्रश्ताव इरानको इमानदार प्रयासको प्रमाण भएको उल्लेख गर्नुभयो । उहाँले उक्त प्रश्ताव उपलब्ध विकल्पमध्ये सबैभन्दा तार्किक रहेको दाबी गर्दै अमेरिकाले इरानका सर्त पूरा गरे पश्चिम एसियामा दुई दिनभित्रै सकारात्मक घटनाक्रम अघि बढ्ने र क्षेत्रीय सुरक्षा पुनःस्थापित हुने बताउनु भयो । अमेरिकाले आफ्ना जनताको सन्देश सही रूपमा बुझेको भए अब निर्णय लिनुपर्ने उहाँको भनाइ थियो । इरानले यसअघि गत सेप्टेम्बरमा युद्धविराम र होर्मुज जलडमरु पुनः सञ्चालनका लागि अमेरिकासमक्ष सातदिने प्रस्ताव अघि सारेको थियो । 

    १९. ऋण वर्गीकरणको व्यवस्था अव्यवहारिक र कडा भयोः अध्यक्ष उपाध्याय

    बैंक तथा वित्तीय संस्थासम्बन्धी ऋण वर्गीकरण तथा प्रोभिजनिङको विद्यमान व्यवस्था अव्यवहारिक र अत्यधिक कडा भएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पुनरावलोकन गर्न माग गरेको छ । परिसंघका अध्यक्ष राजेश उपाध्यायले अर्थतन्त्रमा देखिएको प्रतिकूल अवस्थाका कारण ऋण तिर्न नसकेका व्यवसायी र नियतवश ऋण नतिर्ने व्यवसायीलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने भन्दै त्यसमा पुनरावलोकन गर्न जरुरी रहेको बताउनुभएको छ । उहाँकाअनुसार  ऋणको एसेट क्लासिफिकेसनअन्तर्गत तीन महिना, छ महिना र एक वर्षको अवधिअनुसार शतप्रतिशतसम्म प्रोभिजन गर्नुपर्ने व्यवस्था व्यावहारिक  छैन । एक वर्षको अवधिमै वास्तविक तथा इमान्दार व्यवसायीसमेत कालोसूचीमा पर्ने अवस्था सिर्जना हुनु उचित होइन । 

    २०. नेपाल संवत कुनै एक जात वा भाषा विशेषको मात्रै होइन, सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा होः सभामुख अर्याल

    सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको साझा राष्ट्रिय सम्पदा भएको बताउनुभएको छ । मंगलवार नेपाल सम्वत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपाल संवत कुनै एक जात वा भाषा विशेषको मात्रै नभएको बताउनुभएको हो । उहाँले नेपाल संवत केवल समय गणना गर्ने पात्रो मात्र नभई नेपालको मौलिक इतिहास र सभ्यताको महत्वपूर्ण धरोहर भएको उल्लेख गर्नुभयो । नेपाल संवतको प्रारम्भ राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी योगदानसँग जोडिएको बताउँदै उहाँले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएर साख्वाले सामाजिक न्याय, परोपकार र सामूहिक हितको सन्देश दिएको उल्लेख गर्नुभयो ।

    २१. भाइमसलाको मूल्यवृद्धिले अपेक्षित व्यापार हुन सकेनः व्यवसायी

    नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा आवश्यक पर्ने भाइमसलाको मूल्यमा वृद्धि भएका कारण अपेक्षित कारोबार हुन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् । विगतका तिहारमा जस्तो यसपटक भाईमसलाको कारोवार अपेक्षित रुपमा कम भएको उनीहरुको भनाई छ । भाइमसला व्यवसायी सजीव बज्राचार्यकाअनुसार नयाँ फसल भित्रिएसँगै भाईमसलाको मुल्यवृद्धि भएको हो । विशेषगरी पिस्ता र बदामको मूल्य केही बढेको उहाँले बताउनु भयो । गत वर्षको तुलनामा यस वर्ष तिहार १० देखि १५ दिन ढिलो परेकाले नयाँ फसलका सामग्री बजारमा आएको उहाँको भनाई छ । सोही कारण केही वस्तुको मूल्यमा वृद्धि भएको हो । ओखर र नरिवललगायतका सामग्रीमा प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्म मूल्य वृद्धि भएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार मूल्य बढेका कारण उपभोक्ताको खरिद क्षमतामा प्रभाव परेको छ । 

    २२. शंखधर साख्वाको परोपकारी भावना आत्मसात गर्दै लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्छः सुनिता डंगोल

    काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात गर्दै नागरिक केन्द्रित लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्ने बताउनुभएको छ । मंगलवार नेपाल सम्वत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नेपाल संवतका प्रवर्तक शंखधर साख्वालाई केवल नेपाल संवत्का संस्थापकका रूपमा मात्रै लिन नहुने उहाँले बताउनु भयो । समाजप्रतिको उत्तरदायित्व र परोपकारका प्रतीकका रूपमा साख्वालाई स्मरण गर्नुपर्ने उहाँको भनाइ छ । व्यक्तिगत सम्पती र सुखसुविधा आर्जन गर्नुभन्दा समाजको हित, नागरिकको दुःख निवारण र सकारात्मक परिवर्तनका लागि योगदान गर्नु नै व्यक्तिको वास्तविक महानता भएको उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :कार्तिक २४ २०८३ मंगलवार - १८:०१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij