२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । यस वर्षको तिहार अवधिभर देशका अधिकांश स्थानमा मौसम घमाइलो रहने पूर्वानुमान गरिएको छ। मौसमविद्हरूका अनुसार आगामी एक सातासम्म देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना न्यून रहेको छ।
यस वर्ष यमपञ्चकको पहिलो दिन अर्थात् काग तिहार यही कात्तिक २२ गते परेको छ भने भाइटीका २५ गते छ ।
मौसम विज्ञान विभागले आज कात्तिक १९ गतेदेखि २३ गते गाईपूजाको दिनसम्मको मौसम पूर्वानुमान सार्वजनिक गर्दै मौसममा उल्लेख्य फेरबदल नहुने जानकारी दिएको छ । मौसम बुलेटिनमा एक–दुई ठाउँमा मात्र हल्का पानी पर्ने र तराई मधेश तथा उपत्यका अनि खोँचहरुमा बिहानपख हल्का हुस्सुकुहिरो मात्र लाग्ने उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि आगामी एक साताको मौसमबारे जानकारी दिँदै तिहार अवधिभर व्यापक वा लगातार वर्षाको सम्भावना नरहेको बताएका छन् ।
मौसम अनुकूल रहने देखिए पनि घमाइलो मौसमसँगै वायु प्रदूषण बढ्न सक्ने जोखिमप्रति भने सचेत रहन मौसमविद्हरूले सुझाव दिएका छन्।
जाडोयाममा वर्षा र हावाको गति कम हुने तथा सवारीसाधन, उद्योग, निर्माण र कृषि गतिविधिबाट निस्कने धुवाँधुलोका कारण वायु प्रदूषण बढ्ने सम्भावना रहन्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij