Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

आज दिनभरको ३३ खबर एकै ठाउँमा

आज दिनभरको ३३ खबर एकै ठाउँमा


  • 120
    Shares

    आज दिनभरको ३३ खबर एकै ठाउँमा
    images

    १. साउदीका लागि प्रश्तावित राजदुत सुनारमाथि सुनुवाई समितिमा प्रश्न, हिंसा र आर्थिक अनियमितताका आरोप अस्वीकार

    साउदी अरेबियाका लागि प्रश्तावित नेपाली राजदुत गिरीबहादुर सुनारले आफूमाथि लगाइएका घरेलु हिंसा, आर्थिक लेनदेन तथा कुटनीतिक मर्यादाविपरितका आरोपहरूको खण्डन गर्नुभएको छ । 
    संघीय संसदको संसदीय सुनुवाई समितिको बुधवारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले १३ वर्ष पुरानो व्यक्तिगत विवादलाई अतिरञ्जित बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको दाबी गर्नुभएको हो ।

    २. साउदी अरेबियाका लागि प्रश्तावित राजदुत सुनारको कार्ययोजनाः श्रम सुरक्षा र कुटनीतिक सुधार प्राथमिकतामा

    साउदी अरेबियाका लागि प्रश्तावित नेपाली राजदुत गिरीबहादुर सुनारले साउदी अरबमा कार्यरत नेपाली कामदारको सुरक्षा र सेवा प्रवाहलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्नुभएको छ । संसदीय सुनुवाई समितिको बुधवारको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै सुनारले श्रम सम्झौताको पूर्ण कार्यान्वयन, मृतकको शव नेपाल पठाउने प्रक्रियालाई छिटो बनाउने र कुटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

    ३. श्रीलंकाका लागि प्रश्तावित राजदुत मञ्जुलाकुमारी झाको कार्ययोजनाः पर्यटन, धर्म र कुटनीतिलाई प्राथमिकता

    श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीको ठोस नतिजामा बदल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । संसदीय सुनुवाई समितिको बुधवारको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै झाले पर्यटन, रामायण सर्किट, बौद्ध सम्पदा र व्यापार प्रवद्र्धनलाई आफ्नो कार्यकालका चार मुख्य रणनीतिक स्तम्भका रूपमा अघि सार्नुभएको हो । प्रश्तावित राजदुत झाले दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पञ्चशीलको सिद्धान्त र साझा सांस्कृतिक सम्पदालाई आधार मान्नुपर्नेमा जोड दिनुभयो । 

    ४. श्रीलंकाका लागि प्रश्तावित राजदुत झालाई सांसद पुनको सुझावः लुम्बिनीको ब्राण्डिङमा केन्द्रित हुनु

    नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले लुम्बिनीको अन्तर्राष्ट्रिय प्रवद्र्धन र धार्मिक पर्यटनमा केन्द्रित हुन श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झासँग आग्रह गर्नुभएको छ । संसदीय सुनुवाईको क्रममा बुधवार संसदीय सुनुवाई समितिको बैठकमा सांसद पुनले विशेषगरी श्रीलंकाबाट आउने बौद्ध धर्मावलम्बीहरूलाई भारतीय भूमि हुँदै लुम्बिनी भ्रमण गराउने र नेपालमा बसाइ नराख्ने प्रवृत्ति चिर्न कुटनीतिक पहल आवश्यक रहेको बताउनुभएको हो । 

    ५. श्रीलंकाका लागि प्रश्तावित राजदुत झालाई सांसद दंगालको प्रश्नः ‘भिसा सहजता र उडान विस्तारमा के छ कार्ययोजना ?’

    नेकपा एमालेका सांसद प्रेमप्रसाद दंगालले नेपाल र श्रीलंकाबीचको कूटनीतिक सम्बन्ध, नेपाली पर्यटकलाई भिसामा देखिएको समस्या र हवाई उडान विस्तारका सम्भावनाबारे प्रश्तावित राजुदत डा. मञ्चलाकुमारी झासँग कार्ययोजना माग गर्नुभएको छ । श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत डा. झाको संसदीय सुनुवाईका क्रममा उहाँले कार्ययोजना माग गर्नुभएको हो । बुधवार संघीय संसदको संसदीय सुनुवाई समितिमा उहाँले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन आग्रह गर्नुभयो । 

    ६. राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका नवनियुक्त राजदुतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधवार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो । ओहोदाको प्रमाणपत्र पेश गर्नेहरूमा युरोपेली सङ्घका आवासीय राजदूत चाल्र्स ह्वाइटली रहनुभएको छ । इण्डोनेसियाका लिस्टियोवाती, घानाका कोजो बोन्सु, सुडानका डा. मोहम्मद अब्दुल्ला अली एल्तोम र ब्रुनाई दारुस्सलामका सिटी आर्निफारोजा बिन्ती हाजी मोह्द जैनीले गैरआवासीय राजदुतका रूपमा ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । 

    ७. मलेसियाका लागि प्रश्तावित राजदुत चुडामणि खरेलविरुद्ध रास्वपा सांसदको आर्थिक अनियमितताको आरोप

    मलेसियाका लागि नेपाल सरकारद्वारा प्रश्तावित राजदुत चुडामणि खरेलमाथि संसदीय सुनुवाई समितिमा गम्भीर आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वका प्रश्नहरू उठेका छन् । समितिको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले खरेलविरुद्ध ठगी, सार्वजनिक जग्गामा चलखेल र म्यानपावर व्यवसायीसँगको अनुचित सम्बन्धबारे प्रमाणसहित प्रश्न उठाउनुभएको हो । मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाई प्रक्रिया निकै पेचिलो बनेको छ । 

    ८. मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

    मलेसियाका लागि प्रश्तावित राजदुत चुडामणि खरेलको संसदीय सुनुवाईमा सांसदहरूले गम्भीर प्रश्न उठाएका छन् । सुनुवाईका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेपछि संसदीय समितिले प्रक्रियालाई केही समयका लागि रोकेर थप अध्ययन र प्रमाण जुटाउने निर्णय गरेको हो । संसदीय सुनुवाई समितिको बैठकमा प्रश्तावित राजदुत खरेलले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू तथ्यहीन र भ्रामक रहेको दाबी गर्नुभयो ।

    ९.मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको कार्ययोजनाः ‘श्रमिकमैत्री दुतावास र डिजिटल सेवा प्राथमिकता’

    मलेसियाका लागि प्रश्तावित राजदुत चुडामणि खरेलले दुतावासको सेवालाई पूर्ण डिजिटल बनाउँदै नेपाली श्रमिकको सुरक्षा र आर्थिक कुटनीतिलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभएको छ । बुधवार बसेको संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उहाँले मलेसियालाई केन्द्र बनाएर थप चार देशको गैरआवासीय कुटनीतिक जिम्मेवारी निर्वाह गर्दै श्रमिकका समस्यालाई तत्काल सम्बोधन गर्ने संयन्त्र निर्माण गर्ने घोषणा गर्नुभएको हो । 

    १०. म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा

    श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी भएको बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिनुभएको हो । आफू आरक्षणका आधारमा नभइ योग्यताका आधारमा सिफारिस भएको बताउनु भयो । आफूले अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कुटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेको बताउनु भयो ।  

    ११. प्रश्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झालाको कार्यषमतामाथि प्रश्न उठाउनुभएको छ । संसदीय सुनुवाईका क्रममा चौलागाईंले उहाँको कुटनीतिक अनुभव विगतको कार्यसम्पादन र प्रश्तावित नियुक्तिमाथि प्रश्न उठाउनुभएको हो । सांसद चौलागाईंले डा. झाको प्राज्ञिक पृष्ठभूमि र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यकाललाई लिएर असन्तुष्टि व्यक्त गर्दै कुटनीतिक क्षमतामाथि प्रश्न खडा गर्नुभयो । 

    १२. जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति

    जापानका लागि प्रश्तावित नेपाली राजदुत डा. जिज्ञानकुमार थापाको संसदीय सुनुवाईका क्रममा सांसदहरूले उहाँको विदेशी स्थायी आवासीय अनुमतिपत्र (पीआर), स्वार्थको द्वन्द्व तथा परिवारको हैसियतका कारण उत्पन्न हुनसक्ने कुटनीतिक जटिलतामाथि प्रश्न उठाएका छन् । बुधवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा प्रश्तावित राजदुत थापाले पेश गर्नुभएको  कार्ययोजनामाथि छलफल हुनुअघि नै उनको योग्यता र विगतको आवासीय स्थितिलाई लिएर सांसदहरूबीच चर्को बहस भएको हो ।

    १३. जापानका लागि प्रश्तावित राजदुत जिज्ञानकुमार थापाको स्पष्टीकरणः ‘मेरो ध्यान नेपालको हितमा मात्र’

    जापानका लागि नेपालका प्रश्तावित राजदुत जिज्ञानकुमार थापाले आफूमाथि लागेका पिआर (स्थायी आवासीय अनुमति) र स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) लगायतका आरोपहरूको खण्डन गर्नुभएको छ । बुधवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा थापाले आफूले जापानको पिआर त्यागेर नेपालको राष्ट्रिय हितमा काम गर्ने उद्देश्यका साथ अगाडि बढेको दाबी गर्नुभएको हो । संसदीय समितिको बैठकमा थापाले जापानमा आफू र आफ्नो परिवारको हैसियतबारे उठाइएका प्रश्नहरूको विस्तृत जवाफ दिनुभयो । 

    १४. उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकताः प्रश्तावित राजदुत थापा

    जापानका लागि प्रश्तावित नेपाली राजदुत जिज्ञानकुमार थापाले लामो समयदेखि हुन नसकेको कार्यकारी तहको उच्चस्तरीय भ्रमण र त्यहाँ तिब्र रूपमा बढिरहेको नेपाली समुदायलाई चुस्त कन्सुलर सेवा प्रदान गर्नु आफ्नो मुख्य दायित्व हुने बताउनुभएको छ । बुधवार संसदीय सुनुवाई समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्ययोजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई थप सक्रिय र जनमुखी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । संसदीय सुनुवाई समितिको बैठकमा कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत थापाले नेपाल र जापानबीच उच्च राजनीतिक संवादको रिक्तता हटाउन पहल गर्ने बताउनु भयो । 

    १५. कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ९ हजार नाघ्यो, खोप परीक्षणको तयारी तिब्र

    डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआरसी) मा पछिल्लो पटक फैलिएको इबोला महामारीका कारण सङ्क्रमितको सङ्ख्या ९ हजार नाघेको छ । गत मे महिनाबाट सुरु भएको यस महामारीले अहिलेसम्म ९,०६६ जनालाई सङ्क्रमित बनाएको छ भने ४,३८१ जनाले ज्यान गुमाएका छन् । कंगोको स्वास्थ्य मन्त्रालय र इबोला टास्क फोर्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार यस महामारीको मृत्युदर ४८.३ प्रतिशत पुगेको छ । कुल सङ्क्रमितमध्ये २,३८९ जना उपचारपछि निको भएका छन् । 

    १६. दक्षिण कोरियामा सपिङ मलमा छुरा प्रहारः ८ जना घाइते, आक्रमणकारी नियन्त्रणमा

    दक्षिण कोरियाको पश्चिमी बन्दरगाह शहर इन्चियोनस्थित एक व्यावसायिक कम्प्लेक्समा मंगलवार दिउँसो भएको भीषण छुरा प्रहारको घटनामा कम्तीमा आठजना घाइते भएका छन् । स्थानीय समयअनुसार दिउँसो करिव १ः४९ बजे भएको उक्त आक्रमणमा संलग्न ६० वर्षका एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रत्यक्षदर्शीकाअनुसार आक्रमणकारीले दुवै हातमा धारिलो हतियार बाँधेर सपिङ मलको दोस्रो तलामा रहेको डिस्काउन्ट स्टोरबाट क्रमशः माथिल्ला तल्लातर्फ बढ्दै सर्वसाधारणमाथि प्रहार गरेका थिए । 

    १७. दुराचारको आरोप लागेपछि ग्रिसका लागि अमेरिकी राजदुतलाई राजीनामा दिन ह्वाइट हाउसको निर्देशन

    ह्वाइट हाउसले ग्रिसका लागि अमेरिकी राजदुत किम्बर्ली गिलफायललाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ । उनीमाथि लागेका दुराचार र पदको दुरुपयोगसम्बन्धी गम्भीर आरोपहरूको अनुसन्धान भइरहेका बेला ह्वाइट हाउसको तर्फबाट यस्तो निर्णय सार्वजनिक भएको हो । मङ्गलवार ह्वाइट हाउसकी प्रेस सचिव क्याटी जकरियाले राजदुत गिलफायललाई राजीनामा दिन आग्रह गरिएको पुष्टि गरिन् ।

    १८. पाकिस्तानको पन्जाबमा रेल दुर्घटनाः ५ जनाको मृत्यु, ३० यात्रु घाइते

    पाकिस्तानको पन्जाव प्रान्तको मुल्तान जिल्लामा मंगलवार बिहान भएको भीषण रेल दुर्घटनामा कम्तीमा पाँच यात्रुको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् । कराचीबाट पेशावरतर्फ जाँदै गरेको ‘रहमान बाबा एक्सप्रेस’ रेलका १४ वटै डिब्बा लिकबाट बाहिरिएर दुर्घटनाग्रस्त भएको हो । प्रहरी स्रोतकाअनुसार मंगलबार बिहान रेल दुर्घटनामा परेपछि घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । दुर्घटनामा परेर घाइते भएका यात्रुहरूलाई तत्कालै नजिकैको अस्पतालमा पु¥याएर उपचार शुरु गरिएको छ । केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटनालगत्तै सो खण्डमा रेल सेवा पूर्ण रूपमा बन्द गरिएको छ । 

    १९. पाकिस्तानद्वारा फतह–२ विस्तारित दूरीको क्षेप्यास्त्रको सफल परीक्षण

    पाकिस्तानले मंगलवार आफ्नो फतह–२ ब्यालिस्टिक क्षेप्यास्त्र प्रणालीको विस्तारित दूरीको संस्करणको सफल परीक्षण गरेको छ । पाकिस्तानी सेनाले उक्त परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । पाकिस्तानी सेनाको सञ्चार तथा जनसम्पर्क विभाग (आईएसपीआर) का अनुसार फतह–२ क्षेप्यास्त्र प्रणालीमा उन्नत नेभिगेसन प्रविधि तथा एभियोनिक्स प्रणाली जडान गरिएको छ । यसले निर्धारित लक्ष्यमा उच्च सटीकताका साथ प्रहार गर्न सक्ने क्षमता राख्छ । 

    २०. मौरिससमा हिंसा भड्किएपछि कफ्र्यु आदेशः प्रधानमन्त्री रामगुलामद्वारा शान्तिको अपिल

    मौरिससका प्रधानमन्त्री नविनचन्द्र रामगुलामले देशभर भड्किएको हिंसात्मक गतिविधिलाई नियन्त्रणमा लिन मंगलवार रात्रिकालीन कफ्र्युको घोषणा गर्नुभउको छ । स्थानीय समयअनुसार मंगलबार राति ८ः३० बजेदेखि बुधवार बिहान ६ः०० बजेसम्मका लागि लगाइएको यो निषेधाज्ञाले देशमा जारी पछिल्लो तनावपूर्ण परिस्थितिलाई थप प्रष्ट पारेको छ । सोमवार साँझदेखि मौरिससका विभिन्न स्थानमा प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्ने, सवारीसाधनमा आगजनी गर्ने, प्रहरी चौकी र पसलहरू तोडफोड गर्ने जस्ता अराजक गतिविधि गर्दै आएका छन् । 

    २१. यमनको राजधानी सानास्थित तेल सुविधा क्षेत्र खाली गर्न साउदी नेतृत्वको गठबन्धनको चेतावनी

    साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले यमनको राजधानी सानामा रहेको पेट्रोलियम कम्पनीको कार्यालय र अल–सवाह केन्द्रीय स्टेसनमा विशेष सैन्य कारबाही गर्ने चेतावनी दिँदै ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तुरुन्त सुरक्षित स्थानमा जान आग्रह गरेको छ । गठबन्धनका प्रवक्ता टर्की अल–माल्कीले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत उक्त सूचना सार्वजनिक गरेका हुन् । उनले आक्रमण गरिने क्षेत्रलाई नक्सामा चिन्हित गर्दै सो क्षेत्रलाई लक्षित गरी सैन्य कारबाही हुन लागेको स्पष्ट पारेका छन् ।

    २२. विश्वव्यापी तेल सञ्चिति खतरनाक स्तरमा झरेको साउदी अरामकोको चेतावनी

    विश्वकै ठूलो तेल उत्पादक कम्पनी साउदी अरामकोका अध्यक्ष तथा सीईओ अमिन एच. नासिरले विश्वभर कच्चा तेलको सञ्चिति खतरनाक स्तरमा ओर्लिएको चेतावनी दिनुभएको छ । रियादमा आयोजित २५ औँ विश्व पेट्रोलियम काउन्सिल ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै नासिरले मौज्दातको अभाव र आपूर्ति श्रृंखलामा देखिएको समस्याले आगामी दिनमा ऊर्जा संकट गहिरिन सक्ने औँल्याएका हुन्।नासिरकाअनुसार हाल विश्वभरको व्यावसायिक स्थलगत (अनसोर) तेल भण्डार ६ अर्ब ब्यारेल भन्दा निकै तल झरेको छ, जसलाई उनले ‘अन्तिम सुरक्षा घेरा’ वा ‘बफर’ को रूपमा व्याख्या गर्नुभयो । 

    २३. साउदी अरबको दमाममा शक्तिशाली विस्फोट   

    साउदी अरबको पूर्वी प्रान्तस्थित दमाम शहरमा मंगलवार साँझ एक शक्तिशाली विस्फोटको आवाज सुनिएको छ । स्थानीय बासिन्दा र प्रत्यक्षदर्शीहरूले विस्फोटको ठूलो आवाज सुनिएको बताए पनि हालसम्म यसको आधिकारिक कारण र क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन । स्थानीय समयानुसार मंगलवार साँझ दमाम शहरका विभिन्न क्षेत्रमा विस्फोटको आवाज प्रतिध्वनित भएको थियो । विस्फोटको प्रकृति र स्रोतका बारेमा साउदी सुरक्षा अधिकारीहरूले तत्काल कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । 

    २४. साउदी अरबद्वारा ‘इस्ट–वेस्ट पाइपलाइन’ को क्षमता दैनिक १ करोड ब्यारेल पु¥याउने घोषणा

    साउदी अरबले आफ्नो रणनीतिक महत्वको ‘इस्ट–वेस्ट पाइपलाइन’ को दैनिक तेल ढुवानी क्षमतालाई आगामी वर्षहरूमा १ करोड ब्यारेल पु¥याउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । रियादमा आयोजित २५ औँ विश्व पेट्रोलियम काउन्सिल ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै साउदी ऊर्जा मन्त्री राजकुमार अब्दुलअजिज बिन सलमान बिन अब्दुलअजिजले ऊर्जा सुरक्षालाई मजबुत बनाउन यो कदम चालिएको स्पष्ट पारेका हुन् । 

    २५. साउदी अरबमाथि हुने हुथी आक्रमणको निन्दा गर्दै एर्दोगानद्वारा रियादलाई पूर्ण समर्थनको प्रतिवद्धता

    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले साउदी अरबमाथि यमनको हुथी विद्रोही समूहले गरेको आक्रमणको कडा निन्दा गरेका छन् । साउदी युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानसँग मङ्गलबार भएको टेलिफोन संवादका क्रममा राष्ट्रपति एर्दोगानले साउदी अरबको सुरक्षा र अखण्डताप्रति टर्कीको पूर्ण समर्थन रहेको पुनः दोहो¥याएका हुन् । टर्कीको राष्ट्रपतिको सञ्चार निर्देशनालयकाअनुसार दुई नेताबीच पछिल्लो समय मध्य–पूर्वमा देखिएको सुरक्षा चुनौती र साउदी भूमिमा भइरहेका आक्रमणका घटनाबारे विस्तृत छलफल भएको छ। विशेषगरी गत शनिवार रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी गरिएको घातक प्रहारले यस क्षेत्रको सुरक्षा अवस्था गम्भीर बनाएको छ । 

    २६. कर्णालीका समस्या काठमाडौले बुझ्नुपर्छः महामन्त्री राणा

    नेपाली काँग्रेसका महामन्त्री उदय शमशेर राणाले कर्णालीका समस्या काठमाडौंले बुझ्न आवश्यक रहेको बताउनुभएको छ । बुधवार काठमाडौमा आधा अध्याय पुस्तक विमोचन गर्दै उहाँले कणार्ली, सुदूरपूर्व र सुदूरपश्चिमका नागरिकको भावना तथा उनीहरूले भोग्दै आएका दुःख–सुख राजधानी काठमाडौंले बुझ्न आवश्यक रहेको बताउनुभएको हो । काठमाडौंमा बस्ने राजनीतिक नेतृत्वले देशका विभिन्न भूगोल र समुदायका समस्या बुझ्न नसके राजनीति गर्न नहुने उहाँले बताउनु भयो । दुर्गम क्षेत्रका नागरिकका अनुभव र कथाले आफूलाई राजनीतिक बुझ्न तथा उनीहरूसँग घुलमिल हुन सहयोग गरेको उहाँको भनाई छ । 

    २७. काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र 

    काठमाडौं महानगरपालिकाले सम्यक महादानका लागि तयारी तिब्र पारेको छ । महानगरले आगामी माघ १ गते आयोजना गर्न लागेको सम्यक महादान सफल बनाउन ३०१ सदस्यीय मूल समारोह समिति गठन गरि तयारी अगाडी बढाएको हो । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महादान सफल पार्न आवश्यक तयारी थालिएको जानकारी दिनुभयो । उहाँकाअनुसार महादानमा सहभागी हुने दीपङ्कर बुद्धको उपस्थिति सुनिश्चित गरिएको छ । महादानमा सहभागी हुने दीपङ्कर बुद्धका संरक्षक, सम्बन्धित परिवार, समुदाय र गुठीसँग छलफल गरी कार्यक्रममा उपस्थित हुने प्रतिवद्धता लिइएको उहाँले बताउनु भयो । 

    २८. धरै विद्युत खपत गर्नेलाई महशुल कम लाग्ने संयन्त्रको विकास गर्दैछौँः मन्त्री श्रेष्ठ

    ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विद्युत खपत बढाउन बढी ऊर्जा खपत गर्नेलाई महसुल रकम कम लाग्नेगरि संयन्त्र निर्माण भईरहेको बताउनुभएको छ । बुधवार मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । यद्यपि ५० युनिट भन्दा बढीको विद्युत खपतमा भ्याट लाग्नेगरी आर्थिक ऐन बनेकोले केही समस्या भइरहेको उहाँले बताउनु भयो । भ्याटसम्बन्धी विषय सम्बोधन गर्न अर्थमन्त्रालयसंग समन्वय भईरहेको उहाँको भनाई छ । 

    २९. निजी क्षेत्रलाई विद्युत व्यापारको लागी दशैँअघि नै अनुमति दिने तयारी गर्दैछौँः उर्जामन्त्री श्रेष्ठ

    ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले दशैँ अगाडी नै निजी क्षेत्रलाई विद्युत व्यापार अनुमति दिने बताउनुभएको छ । बुधवार मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको बताउनुभएको हो । निजी क्षेत्रलाई विद्युत व्यापारका लागि आशयपत्र (एलओआई) तथा नो अब्जेक्सन लेटर (एनओसी) जारी गर्ने तयारी भइरहेको उहाँले बताउनु भयो । दशैँअगाडी नै आशयपत्र दिने गरि प्रक्रिया अघि बढाएको उहाँको भनाई छ । 

    ३०. १० देशका राजदूतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन, मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतको नाम अस्वीकृत

    संसदीय सुनुवाई समितिले विभिन्न १० देशका लागि सिफारिस गरिएका राजदूतका नाम अनुमोदन गरेको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले भारत, चीन, संयुक्त राज्य अमेरिका लगायत १० देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । समिति सभापति बोधनारायण श्रेष्ठकाअनुसार अनुमोदित नामहरूमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर राणा, जर्मनीका लागि सरू जोशी रहनुभएका छन् । त्यसैगरी इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, ओमानका लागि डा. पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्राध्यापक डा. संगम श्रेष्ठ र श्रीलंकाका लागि डा. मञ्चलाकुमारी झा अनुमोदित हुनुभएको सभापति श्रेष्ठले बताउनु भयो ।

    ३१. काठमाडौं महानगरद्वारा ‘कामठमाडौं स्कुल पार्टनरसिप कार्यक्रम’ कार्यान्वयनका कार्यविधि पारित

    काठमाडौं महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयबीच सिकाइ र क्षमता आदानप्रदान गर्न ‘कामठमाडौं स्कुल पार्टनरसिप कार्यक्रम’ कार्यान्वयनका लागि कार्यविधि पारित गरेको छ । 
    बुधवार बसेको कार्यपालिकाको ५९ औँ  बैठकले ‘काठमाडौं महानगरपालिका विद्यालय–विद्यालय साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ पारित गरेको हो । महानगरपालिकाले  चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘कामठमाडौं स्कुल पार्टनरसिप कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको थियो । 

    ३२. हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु

    नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्नसक्ने भएका छन् । बुधवारदेखि नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा उक्त सेवा शुरु गरिएको छ । बुधवार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले शुभारम्भ गर्नुभएको हो । मन्त्री तिमल्सिनाले हुलाक सेवामार्फत सिमकार्ड समेत लिनुभयो । सेवा शुभारम्भ गर्दै मन्त्री तिमिल्सिनाले हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गरी सिमकार्ड वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिनुभयो ।

    ३३. वाणिज्य बैंकहरुले पौने १८ अर्ब रुपैयाँ बढी नाफा कमाए

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८३–८४ को भदौसम्ममा पौने १८ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन् । 
    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्ममा २० वटा वाणिज्य बैंकले १७ अर्ब १ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । अघिल्लो वर्ष २०२–८३ को भदौसम्ममा यी बैंकहरुले १६ अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्ममा बैंकहरुको नाफा ७.३२ प्रतिशतले बढेको छ । 
    तथ्यांकअनुसार सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आश्विन २८ २०८३ बुधवार - २०:३६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij