२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले अडियो प्रकरणमा दोषी देखिए सांसद खगेन्द्र सुनारमाथि कारबाही हुने बताएका छन् ।
मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले सुनारको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगले छानबिन सुरु गरिसकेको जानकारी दिए । उनले छानबिनबाट दोषी ठहर भए पार्टीको नियमअनुसार कारबाही हुने स्पष्ट पारे ।
उनका अनुसार छानबिन प्रक्रिया टुङ्गोमा नपुग्दासम्म सुनारलाई पदीय हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ ।
केही प्रमाणसहित अडियो सार्वजनिक भएकाले त्यसको सत्यताबारे विस्तृत छानबिन गर्न अनुशासन आयोगलाई जिम्मेवारी दिइएको बुर्लाकोटीले बताए ।
उनले अडियो प्रकरणमा राज्यका कानुन आकर्षित हुने अवस्था आए सरकारी निकायले गर्ने अनुसन्धानमा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
अनुशासन आयोगको छानबिनमा सुनार दोषी नदेखिए वा गल्ती नभएको पाइए कारबाही नहुने उनको भनाइ छ । तर, गल्ती गरेको पुष्टि भए पार्टीको नियमअनुसार कारबाही गरिने बुर्लाकोटीले स्पष्ट पारे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij