Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

आज दिनभरको ३८ खबर एकै ठाउँमा

आज दिनभरको ३८ खबर एकै ठाउँमा


  • 71
    Shares

    आज दिनभरको ३८ खबर एकै ठाउँमा
    images

    १. भोटेकोशी–कालीगण्डकी करिडोर विपद् अध्ययन समिति सभापति पौडेलद्वारा शपथ ग्रहण

    राष्ट्रिय सभाबाट गठित भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पौडेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहणसँगै समितिको पहिलो बैठक बिहीवार नै बसेको छ । बैठकका क्रममा बोल्दै समिति सभापति कृष्णप्रसाद पौडेलले सचिवालयको कार्यसम्पादन नै समितिको सफलताको आधार भएको बताउनु भयो ।

    २. भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश

    गत भदौ १० गते ल्हेन्दे, भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको ‘एकीकृत प्रारम्भिक प्रतिवेदन’ वागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगर समक्ष पेश गरिएको छ । प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले १५ वटा विषयगत क्षेत्रका विवरण एकीकृत गरी तयार पारिएको प्रतिवेदन बिहीवार मुख्यमन्त्री किरण थापा मगरलाई हस्तान्तरण गर्नुभएको हो ।

    ३. पुस्तान्तरण, नवप्रवर्तन र राष्ट्रिय निकासका लागि मेरो उम्मेदवारीः नैनसिंह महर

    नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले पार्टीको आन्तरिक जीवनलाई सशक्त बनाउँदै मुलुकलाई विद्यमान संकटबाट निकास दिन आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको स्पष्ट पार्नुभएको छ । 
    पार्टीको महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले ९० वर्ष कटेका पुराना पुस्ताको अनुभवदेखि ‘जेन–जी’ तथा ‘अल्फा’ पुस्ताका नयाँ आकांक्षालाई एकाकार गरेर विश्वसँग प्रतिष्पर्धी काँग्रेस निर्माण गर्नु आफ्नो प्रमुख ध्येय रहेको बताउनुभएको हो । 

    ४. पार्टीको संगठनलाई वडा तहबाटै सुदृढ बनाउनुपर्छः उपसभापतिका उम्मेदवार गिरी

    नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री दीपक गिरीले पार्टीको संगठनलाई वडा तहबाटै सुदृढ, अनुशासित र जनताप्रति थप जवाफदेही बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभएको छ । बिहीवार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति पदका उम्मेदवार समेत रहनुभएका गिरीले यस्तो बताउनुभएको हो । पार्टीभित्रको सांगठनिक संरचनामा व्यापक सुधारको आवश्यकता रहेको बताउनु भयो । 

    ५. नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’

    नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गर्नुभएको छ । जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधीले विशेष महाधिवेशनले काँग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिदिएको भन्दै अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको हो । नेता निधीले पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै रहेको आरोप लगाउनु भयो । उहाँले लोकतन्त्र भनेको केवल सिद्धान्त मात्र नभएर प्रक्रिया र पद्धति पनि भएको स्मरण गराउँदै बहुमतले मात्रै पार्टी नचल्ने तर्क गर्नुभयो ।

    ६. नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि मतदान हुँदै

    नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रिय नेतृत्व चयनका लागि बिहीवार दिउँसो १ बजेदेखि मतदान प्रक्रिया शुरु हुँदैछ । राजधानी काठमाडौंमा गत आईतवारदेखि जारी महाधिवेशनमा देशभर तथा प्रवासबाट आएका ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रिय कार्यसमिति चयनका लागि मतदान गर्न लागेका हुन् । केन्द्रिय निर्वाचन समितिले सभापतिसहित पदाधिकारी तथा केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली बुधवार साँझ नै सार्वजनिक गरिसकेको छ । 

    ७. नेपाली काँग्रेसको १५ औं महाधिवेशनः मतदान प्रक्रिया प्राविधिक कारणले स्थगित, भोलि बिहान ७ बजे शुरु हुने

    नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत बिहीवारका लागि निर्धारित मतदान प्रक्रिया प्राविधिक कारणवश स्थगित भएको छ । मतपत्र छपाइमा भएको ढिलाइ र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निर्वाचन समितिले मतदान प्रक्रिया शुक्रवार बिहान ७ बजेका लागि सारेको हो । नेपाली काँग्रेस निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले पत्रकार सम्मेलन गर्दै मतदान प्रक्रियामा ढिलाइ हुनुको मुख्य कारण प्राविधिक र व्यवस्थापकीय जटिलता भएको स्पष्ट पार्नुभयो । 

    ८. नेपाली काँग्रेस महाधिवेशनः निर्वाचन प्रक्रिया एक दिन लम्बियो, व्यवस्थापनको जिम्मा पार्टीले लिने

    नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रिया प्राविधिक कारणवश एक दिन पछाडि धकेलिएको छ । निर्वाचन समितिको तयारी र व्यवस्थापकीय कमजोरीका कारण निर्धारित समयमा मतदान हुन नसकेपछि पार्टीले भोलि बिहान ७ बजेदेखि मतदान शुरु गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेसका नेता एवं निःवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठले महाधिवेशनमा सहभागी प्रतिनिधिहरू समक्ष निर्वाचनमा भएको ढिलाइप्रति क्षमायाचना व्यक्त गर्नुभयो । उहाँले प्राविधिक जटिलता र अत्यधिक मतपत्र छाप्नुपर्ने बाध्यताका कारण निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न नसकिएको स्पष्ट पार्नुभयो । नेता श्रेष्ठकाअनुसार करिव २ लाख २५ हजारभन्दा बढी मतपत्र छाप्नुपर्ने र सोही अनुरूपको व्यवस्थापन गर्नुपर्ने भएकाले समय लम्बिएको हो । 

    ९.जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर

    वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढीबाट प्रभावित बस्ती तथा संरचनाको पुनर्निर्माण गर्दा जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्न नहुने बताउनुभएको छ । उहाँले विपद्को जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थान पहिचान गरी बस्ती स्थानान्तरण तथा पुनर्निर्माणको काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । रसुवामा बाढीबाट भएको क्षतिको अवस्थाबारे आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले तयार पारेको एकीकृत प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री थापा मगरले प्रभावित क्षेत्रमा पहिलेकै स्थानमा बस्ती पुनर्निर्माण गर्दा भविष्यमा थप जोखिम निम्तिन सक्ने बताउनु भयो । 

    १०. चाडबाडको मुखमा अनलाइन ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी

    बडादशैँ र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटनाहरू चिन्ताजनक रूपमा बढेका छन् । सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको प्रलोभन देखाउने र अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उपभोक्तालाई विशेष शतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय अनलाइन सपिङको मोह बढ्दै जाँदा प्रविधिलाई दुरुपयोग गर्दै ठगी गर्ने क्रम पनि ह्वात्तै बढेको छ ।

    ११. चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र, अखाद्य वस्तु बिक्री रोक्न सक्रिय

    चाडपर्व नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडवाडको समयमा हुनसक्ने कालोबजारी, म्याद सकिएका वस्तुको बिक्री र मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले महानगरको टोलीले बिहीबार सामाखुशी लगायतका क्षेत्रमा स्थलगत अनुगमन गरेको हो । दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वहरू नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुहरूको माग बढ्ने गर्दछ । 

    १२. काठमाडौंमा लुटपाट मच्चाउने ‘माझी गिरोह’का नाइकेसहित पक्राउ, प्रहरीमाथि नै प्रहारको प्रयास
    काठमाडौं उपत्यकामा लामो समयदेखि श्रृंखलावद्ध लुटपाट, मोटरसाइकल चोरी र सुनका गरगहना लुट्ने कार्यमा सक्रिय ‘माझी गिरोह’का मुख्य नाइके आयन माझीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रोल... 
    जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष सुराकीका आधारमा सञ्चालन गरेको अप्रेसनका क्रममा प्रहरीमाथि नै धारिलो हतियार प्रहार गरी भाग्न खोजेपछि प्रहरीले गोली चलाएर मुख्य अभियुक्त माझीलाई नियन्त्रणमा लिएको हो । बिहीवार आयोजित पत्रकार सम्मेलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीलिप घिमिरेकाअनुसार पक्राउ पर्नेमा सिन्धुली मरिण गाउँपालिका–५ घर भई हाल कलंकी बस्ने २४ वर्षीय आयन माझी र उनका सहयोगीहरू मकवानपुरका ३६ वर्षीय मनोजकुमार मोक्तान तथा ३४ वर्षीय राकेश थिङ रहेका छन् । प्रहरीले उनीहरूलाई भक्तपुरको ठिमीबाट पक्राउ गरेको हो । 
    अनुसन्धानका क्रममा यो समूहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिहान र रातिको समयमा एक्लै हिँड्ने सर्वसाधारणलाई तारो बनाउने गरेको खुलेको छ । उनीहरूले ठेगाना सोध्ने बहानामा महिला तथा पुरुषहरूलाई नियन्त्रणमा लिई सिक्री लुटपाट गर्ने र फरार हुने क्रममा पटक–पटक सवारी साधन परिवर्तन गर्ने शैली अपनाउँदै आएका थिए । यो समूहले हालसम्म १५ वटाभन्दा बढी मोटरसाइकल चोरी गरिसकेको र विभिन्न स्थानमा लुटपाटका २७ भन्दा बढी मुद्दामा संलग्न रहेको पाइएको छ । 
    बाइट...दीलिप घिमिरे, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)
    अभियुक्त माझी यसअघि पनि पटक–पटक डाँका तथा चोरी मुद्दामा कारागार बसेर छुटेका व्यक्ति हुन् । उनले जेन–जी आन्दोलनका क्रममा लुटिएका अत्याधुनिक हतियार खरिद गर्ने योजनासमेत बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरिएका दुईवटा मोटरसाइकल, पाँचवटा नक्कली नम्बर प्लेट र धारिलो हतियार (खुकुरी) बरामद गरिएको घिमिरेले बताउनु भयो । प्रहरीले गिरोहका अन्य सदस्यहरूको खोजी कार्य तिब्र पारेको र पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । –न्युज एजेन्सी नेपाल

    १३. काँग्रेसमा युवा र महिलाको आवाज बुलन्द गर्न मेरो उम्मेदवारीः बासना थापा
    नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली र मधेसका पछाडि पारिएका वर्ग तथा युवा र महिलाको आवाजलाई पार्टीको नीति निर्माण तहमा पु¥याउने आफ्नो मुख्य ध्येय रहेको बताउनुभएको छ । रोल... 
    बिहीवार पार्टीको १५ औं महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । खुला महिलातर्फ केन्द्रिय सदस्यमा उम्मेदवारी दिनुभएकी उहाँले पार्टीभित्र देखिएका सांगठनिक चुनौतीहरूलाई चिर्दै काँग्रेसलाई थप गतिशीलता प्रदान गर्न आफ्नो उम्मेदवारी महत्वपूर्ण हुने दाबी गर्नुभयो । उहाँले पार्टीभित्र युवाहरूको सहभागिता उल्लेख्य रूपमा बढेको र उनीहरूलाई पार्टीको पद्धति र परम्परागत अनुभवसँग जोडेर अगाडि लैजानु अहिलेको मुख्य चुनौती रहेको बताउनु भयो । पछिल्ला निर्वाचनहरूमा पार्टीले भोगेको पराजयलाई ‘सत्तामुखी चरित्र’ भन्दा पनि मतदाताको ’नयाँ परीक्षण’को चाहनाका रूपमा बुझ्नुपर्ने थापाको तर्क छ । गगन थापाको नेतृत्वमा युवाहरूको क्रेज बढेको बताउँदै उहाँले महाधिवेशन प्रतिनिधिहरूलाई सक्षम र भिजन भएको नेतृत्व छनोट गर्न आह्वान गर्नुभयो । साथै, आन्तरिक चुनावमा हुने प्रतिष्पर्धाले संगठनलाई कमजोर नभई थप मजबुत बनाउनेमा उहाँले जोड दिनुभयो । 
    उहाँले भन्नुभयो, ‘हामीले जनादेश गुमाएका हौँ, तर हिम्मत होइन । अब पार्टीलाई थप जनमुखी बनाएर आम जनता र युवाहरूको आकर्षण पुनः कायम गर्नुपर्ने आवश्यकता छ । यो हाम्रो आन्तरिक प्रक्रिया हो, यहाँ कोही हार्दैन, संगठन मात्र जित्छ ।’
    पार्टीका अग्रजहरूको अनुभव र युवाहरूको उत्साहलाई समिश्रण गरी आगामी दिनमा काँग्रेसलाई एकढिक्का बनाउँदै लैजाने आफ्नो प्रतिवद्धता रहेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल

    १४. काँग्रेसको मत गणना निष्पक्ष र पारदर्शी हुन्छः निर्वाचन समिति संयोजक खड्का
    नेपाली काँग्रेसका निर्वाचन समिति संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले पार्टीको आगामी निर्वाचनको मत परिणाम पूर्णतः निष्पक्ष, पारदर्शी र धाँधलीरहित हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । रोल...
    उहाँले मत गणना कार्य बन्द कोठामा नभई मिडिया र प्रतिनिधिहरूको रोहबरमा सार्वजनिक रूपमा गरिने स्पष्ट पार्नुभएको हो । निर्वाचन समितिका संयोजक खड्काले मत गणनालाई चुस्त र छिटो बनाउन पार्टी कार्यालयमा पर्याप्त भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार मतगणनाका लागि १२ देखि १३ वटासम्म काउन्टर स्थापना गरिनेछ, जसले गर्दा परिणाम सार्वजनिक गर्न लामो समय लाग्ने छैन । यसअघि ७५३ वटै स्थानीय तहमा कानुन व्यवसायीहरूलाई परिचालन गरेर निर्वाचन सम्पन्न गराएको स्मरण गर्दै उहाँले सोही अनुभवका आधारमा अहिलेको निर्वाचन पनि व्यवस्थित हुने बताउनु भयो ।
    उहाँले भन्नुभयो, ‘मतगणनाको परिणाम निष्पक्ष, पारदर्शी र धाँधलीरहित हुनुपर्छ भन्नेमा हामी पूर्ण रूपमा सचेत छौँ । त्यसैले मतगणना बन्द कोठाभित्र होइन, सञ्चारकर्मी तथा सम्बन्धित सबैको उपस्थितिमा पारदर्शी रूपमा गरिनेछ । एउटा मत एउटा चिन्हमा परेको हो भने अर्को चिन्हमा गनिएको भन्ने कुनै शंका नहोस् भन्ने गरी प्रत्येक मत सावधानीपूर्वक गणना गरिनेछ । मतगणनाका लागि पर्याप्त जनशक्ति र स्थानको व्यवस्था गरिएको छ । आवश्यकताअनुसार १० देखि १३ वटासम्म काउन्टर सञ्चालन गरेर मतगणना अघि बढाउन सकिनेछ । त्यसैले मतगणना धेरै लामो समय नलाग्ने अपेक्षा छ । यद्यपि वास्तविक समय मतपत्रको संख्या र गणनाको प्रक्रियामा निर्भर हुनेछ । मतदान प्रक्रियालाई पनि सकेसम्म छिटो र व्यवस्थित बनाइएको छ । सभापति, उपसभापति, महामन्त्रीलगायत विभिन्न पदका लागि छुट्टाछुट्टै काउन्टरको व्यवस्था गरिएको छ । एक जना मतदाता एउटा काउन्टरमा मतदान गरिसकेपछि अर्को काउन्टरमा गएर मतदान गर्नसक्ने भएकाले एउटै समयमा धेरै मतदाताले मतदान गर्नसक्ने व्यवस्था मिलाइएको छ । यसले मतदान प्रक्रियालाई छिटो सम्पन्न गर्न सहयोग पुग्नेछ ।’
    बाइट...प्रेमबहादुर खड्का, संयोजक, निर्वाचन समिति, नेपाली काँग्रेस
    मतदान प्रक्रियालाई सहज बनाउन समितिले नयाँ व्यवस्था गरेको छ । एक पटकमा धेरै मतदाताले मतदान गर्न सक्ने गरी काउन्टरहरूको व्यवस्था मिलाइएको छ । खड्काकाअनुसार एक मिनेटको अन्तरालमा करिव ५० जना मतदाताले मत खसाल्न सक्ने गरी प्रविधिको विकास गरिएको छ । यसले लामो लाइन लाग्ने समस्याको अन्त्य गर्ने र मतदाताको समय वचत हुने दाबी समितिको छ । –न्युज एजेन्सी नेपाल

    १५. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पदबहाली, अध्यक्ष ओलीद्वारा गराइयो शपथ
    नेकपा (एमाले) का वरिष्ठ नेताको जिम्मेवारीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त हुनुभएको छ । पार्टीको स्थायी कमिटी बैठकका क्रममा आज अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । यस शपथसँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ उपाध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण गराएसँगै उहाँ औपचारिक रूपमा जिम्मेवारीमा पुग्नुभएको हो । भण्डारी यसअघि राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहनुभएको थियो । उहाँको कार्यकाल सकिएपछि राजनीतिक वृत्तमा उहाँको आगामी भुमिकाबारे विभिन्न चर्चा हुँदै आएको थियो । अन्ततः एमालेको उच्च तहमा उहाँको जिम्मेवारी तोकिएसँगै पार्टीभित्रको शक्ति समीकरणमा समेत यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । –न्युज एजेन्सी नेपाल

    १६. एमाले स्थायी कमिटी बैठक शुरुः पूर्वराष्ट्रपति भण्डारीको सहभागिता 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक शुरु भएको छ । रोल...
    बिहीवार पार्टीको केन्द्रिय कार्यालय ललितपुरको च्यासलमा वर्तमान राजनीतिक अवस्था र पार्टीको आन्तरिक रणनीतिबारे छलफल गर्न डाकिएको यो बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिले राजनीतिक वृत्तमा विशेष चासो बढाएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरूको उपस्थिति रहेको बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे गहन छलफल हुने कार्यसूची रहेको छ । एमाले स्थायी कमिटीका सदस्यहरूकाअनुसार बैठकमा सांगठनिक सुदृढीकरण र आगामी दिनमा पार्टीले खेल्नुपर्ने भुमिकाका विषयमा मुख्य रूपमा विचार–विमर्श गरिनेछ । पार्टीकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बैठकमा सहभागितालाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । बैठकमा पछिल्लो समय विकास भएका राजनीतिक घटनाक्रम, सरकारको कार्यसम्पादन र प्रतिपक्षी दलका रूपमा एमालेले उठाउनुपर्ने मुद्दाहरूका बारेमा पनि नेताहरूले आफ्ना धारणा राख्नेछन् । बैठकको निर्णयपछि पार्टीले औपचारिक रूपमा आफ्ना धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । च्यासलस्थित मुख्यालयमा जारी यस बैठकले पार्टीको आगामी नीति र रणनीति तय गर्ने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल

    १७. एनपीएलका लागि फेरिँदै टियु क्रिकेट मैदानको मुहारः रङ्गीचङ्गी बकेट कुर्सीदेखि स्वागतद्वारसम्म अन्तिम चरणमा तयारी (फोटो फिचर) 
    नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको मुहार फेरिन थालेको छ । आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म आयोजना हुने देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई लक्षित गरी मैदानको स्तरोन्नति, दर्शक प्यारापिटमा नयाँ कुर्सी जडान, पिच र आउटफिल्डको अन्तर्राष्ट्रियस्तरको व्यवस्थापन तथा प्रवेशद्वार निर्माणको काम तिब्र गतिमा भइरहेको छ । एनपीएलको तेस्रो संस्करण शुरु हुनुपूर्व नै मैदानको प्यारापिटमा अन्तर्राष्ट्रिय मापदण्डका पहेंलो, रातो, सुन्तला र सेतो रङका हजारौँ बकेट कुर्सीहरू जडान गरिएका छन् । मैदानको गोलाईअनुसार व्यवस्थित रूपमा मिलाइएका यी कुर्सीहरूले रंगशालालाई बेग्लै भव्यता प्रदान गरेका छन् । क्यान स्रोतकाअनुसार प्रत्येक सिटलाई निश्चित नम्बरिङ गरी दर्शकलाई सहजै आफ्नो स्थान पहिचान गर्न सकिने प्रणाली लागू गरिँदैछ । यसबाट दर्शकहरू बीचको अव्यवस्था र धकेलाधकेल अन्त्य भई सुरक्षित वातावरणमा खेल अवलोकन गर्न सकिनेछ । टि–२० क्रिकेटको मुख्य आकर्षण भनेकै चौका र छक्काको वर्षा र तिब्र गतिको खेल हो । यसलाई मनन गर्दै त्रिवि मैदानको केन्द्रिय पिच स्क्वायर (एष्तअज क्त्रगबचभ) र आउटफिल्डलाई विशेष शतर्कताका साथ स्याहार गरिँदैछ । स्थानीय क्युरेटर तथा मैदानकर्मीहरू बिहानैदेखि स्वचालित लन मोवर मेसिन चलाएर घाँसको लम्बाइ बराबर पार्न र रोलरमार्फत पिचको कडापन बढाउन जुटिरहेका छन् । आउटफिल्डमा हरियो दुबोलाई सन्तुलित पानी र मलखाद दिई चिल्लो गलैँचाजस्तै बनाइएको छ, जसले गर्दा खेलाडीहरूलाई बाउन्ड्री लाइन नजिकै डाइभ लगाउँदा घाइते हुने जोखिम निकै न्युन हुनेछ । बलले जमिन छुँदा द्रुत गतिमा सीमाना पार गर्ने किसिमको आउटफिल्ड तयार भइरहेको प्राविधिक टोलीले जनाएको छ । मैदान परिसरमा सिभिल इन्जिनियरिङ र निर्माणको काम पनि उत्तिकै द्रुत गतिमा अघि बढिरहेको छ । कामदारहरूले बालुवा, गिट्टी र रातो इँटाको प्रयोग गरी नयाँ दर्शक मञ्च, खेलाडी प्रवेश मार्ग र मञ्चको जग उठाइरहेका छन् । त्यस्तै, फलामका मजबुत ट्रस र बिमहरूमा दक्ष प्राविधिकहरूले वेल्डिङ गर्दै अन्तर्राष्ट्रिय कमेन्ट्री बक्स, प्रत्यक्ष टेलिभिजन प्रशारण क्यामेरा प्लेटफर्म र विशिष्ट अतिथि लाउन्जको निर्माण कार्यलाई पूर्णता दिइरहेका छन् । विदेशी कमेन्टेटर तथा टेलिभिजन प्राविधिकहरूका लागि वातानुकूलित र आधुनिक प्रविधियुक्त कार्यकक्षको व्यवस्था मिलाइँदैछ । मैदानभित्र मात्र होइन, बाहिर कीर्तिपुर जाने सम्पूर्ण सडकमा समेत क्रिकेटको उत्सव छाएको छ । काठमाडौंबाट त्रिवि मैदानतर्फ जाने मुख्य सडकमा एक्सट्रिम इनर्जी ड्रिंक, ओमोडा–जाईकु लगायतका मुख्य प्रायोजकहरू र जनकपुर बोल्ट्सका मार्की खेलाडी रोहित पौडेललगायत विभिन्न फ्रेन्चाइज टिमका खेलाडीहरूको तस्बिरसहितको भव्य स्वागतद्वार ठडिएको छ । सडकका बिजुलीका पोलहरूमा कामदारहरूले अग्ला भ¥याङ चढेर एनपीएलका आकर्षक ब्यानर र प्रचार सामग्री टाँसिरहेका छन् । यसले स्थानीय बासिन्दा तथा खेल हेर्न आउने समर्थकहरूमा अभूतपूर्व उत्साह जगाएको छ । प्रतियोगिता अवधिभर अत्यधिक दर्शकको चाप हुने सम्भावनालाई दृष्टिगत गर्दै नेपाल प्रहरी र आयोजकले कडा सुरक्षा योजना तयार पारेका छन् । खेल मैदान परिसरमा सीसीटीभी क्यामेरा, मेटल डिटेक्टर र सुरक्षा जाँच चौकिहरू रहनेछन् । दर्शकका लागि डिजिटल टिकट अनिवार्य गरिनेछ जसबाट दर्शकले आफ्नो निर्धारित गेट र सिट नम्बर सजिलै पत्ता लगाउन सक्नेछन् । साथै, सवारी साधन पार्किङका लागि कीर्तिपुर क्षेत्रका खुला ठाउँहरू निर्धारण गरिएको छ । आगामी कात्तिक ९ गते उद्घाटन खेलसँगै नेपाली क्रिकेटले नयाँ युगमा पाइला टेक्नेछ ।–न्युज एजेन्सी नेपाल
    तस्बिरहरुः नेपाल फोटो सर्भिस (एनपिएस)

    १८. इफ यु सी समथिङ, से समथिङ’ः शंकास्पद गतिविधि देखे प्रहरीलाई खबर गर्न प्रहरीको आग्रह
    चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे त्यसलाई आफैँमा सिमित नराखी तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ । रोल... 
    ‘इफ यु सी समथिङ, से समथिङ’ अर्थात ‘केही शंकास्पद देखे भन्नुहोस्’ भन्ने सन्देशलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्थाको महत्वपूर्ण आधार बनाउँदै प्रहरीले नागरिकको सानो सूचनाले ठूलो अपराध वा दुर्घटना रोक्न सक्ने जनाएको हो । चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अभिनारायण काफ्लेले चाडपर्वका समयमा सम्भावित अपराध रोकथाम तथा अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना अत्यन्त महत्वपूर्ण हुने बताउनु भयो । यसलाई ब्यबहारिक रुपमा लागू गर्न इफ यु सी समथिङ, से समथिङ’ भन्ने विषयलाई केन्द्रमा राखेर चाडपर्व लक्षित सुरक्षा व्यवस्था लागू गर्ने बताउनु भयो । 
    उहाँले भन्नुभयो, ‘कुनै पनि शंकास्पद वा आपराधिक गतिविधि हुन लागेको वा भइरहेको सूचना प्राप्त हुन्छ भने आफैँमा सिमित नराखेर नजिकको प्रहरी कार्यालयलाई सूचना दिनुस् । यहाँको सानो सूचनाले ठूलो दुर्घटना वा ठूलो अपराधबाट हामीले त्यो समाजलाई, त्यो ठाउँलाई जोगाउन सक्छौँ ।’
    उहाँकाअनुसार नागरिकले दिएको सूचना तत्काल प्रहरी परिचालनको आधार बन्नेछ र सूचनाको गोपनीयता कायम गरिनेछ । आपत्कालीन अवस्थामा नागरिकले प्रहरीको १०० नम्बरमा निःशुल्क फोन गर्न सक्नेछन् । जहाँबाट फोन गरिएको हो, सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा २४सै घण्टा फोन उठ्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । 
    प्रहरीको ‘इफ यु सी समथिङ, से समथिङ’  सन्देश भौतिक अपराधमा मात्र सिमित छैन । चाडपर्वमा बढ्न सक्ने डिजिटल ठगी तथा सामाजिक सञ्जालबाट फैलिने गलत सूचनामाथि पनि निगरानी बढाइएको छ । 
    प्रहरीले सामाजिक सञ्जाल मनिटरिङ डेस्कमार्फत गलत सूचना, दुष्प्रचार तथा डीपफेक सामग्रीको निगरानी गरिरहेको जनाएको छ । त्यस्ता गतिविधिबाट अपराध वा भ्रम फैलाउने काम भए कानूनअनुसार कारबाही गरिने काफ्लेले बताउनु भयो ।  
    एआईको प्रयोगबाट हुने अनलाइन ठगीलाई पनि यसपटकको सुरक्षा योजनामा समेटिएको छ । नक्कली अनलाइन सपिङ तथा चाडपर्वका अफर, नक्कली लोटरी तथा गिफ्ट म्यासेज, फेक इन्भेस्टमेन्ट र प्रोफिट स्किम, मोबाइल बैंकिङ तथा डिजिटल वालेट ठगी, ओटीपी, पिन र पासवर्ड चोरी गर्न हुने फिसिङप्रति प्रहरीले नागरिकलाई सचेत गराएको छ । 

    उहाँले भन्नुभयो, ‘एआईबाट बनाएका आवाज, भिडियो वा आफन्त तथा अधिकारीको नाम आएको असामान्य रकम माग्ने सन्देशलाई तुरुन्त विश्वास नगर्नुहोस्, ठगी हुन सक्छ ।’
    ५० हजारभन्दा बढी प्रहरी परिचालन
    चाडपर्वका समयमा नागरिकको सुरक्षा, सहज आवागमन र शान्ति व्यवस्था कायम गर्न नेपाल प्रहरीले ५० हजारभन्दा बढी जनशक्ति परिचालन गरेको छ । बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गरी सुरक्षा योजना लागू गरिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो । प्रहरीले यात्रुको सुरक्षाका लागि देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ भने भारत र चीनसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा नाकामा १०८ वटा सहायता कक्ष स्थापना गरिएको छ । 
    काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कमान्ड पोस्ट स्थापना गरी प्रहरी परिचालनको व्यवस्था मिलाइएको छ । पैदल, मोबाइल, ग्रामीण, क्यूआरटी, एलआरपी, एसआरपी र क्रस पेट्रोलिङलगायतका गस्ती परिचालन गरिएको प्रहरीले जनाएको छ । 
    अपराध हुनुअघि नै रोक्ने रणनीति
    प्रहरीले यसपटकको सुरक्षा योजनालाई घटना भएपछि अनुसन्धान गर्नेभन्दा अपराध हुनुअघि नै रोक्ने रणनीति मा केन्द्रित गरेको जनाएको छ । 
    उहाँले भन्नुभयो, ‘हामी घटना घटेर प्रहरीले अनुसन्धान गर्ने मात्रै होइन कि घटना नै घट्न नदिनलाई चोरी, डकैती, लुटपाट हुनै नगर्न दिनलाई विशेष गस्ती पेट्रोलिङको व्यवस्था मिलाएका छौँ ।’
    चोरी, डकैती र लुटपाटसँगै जुवातास, अवैध सट्टेबाजी, कालोबजारी, कृत्रिम अभाव, सार्वजनिक स्थलमा झैझगडा तथा उश्रृङ्खल गतिविधिमाथि विशेष निगरानी राखिने भएको छ । सीमा क्षेत्रमा तस्करी, सीमा अपराध तथा विस्फोटक पदार्थको अवैध ओसारपसार रोक्न विशेष चेकजाँचको व्यवस्था गरिएको छ । प्रमुख बजार, सपिङ मल, मार्ट, बैंक तथा वित्तीय संस्था, चोक, प्रवेश तथा निकास नाका र सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रमा ड्रोन तथा सीसीटीभीलगायत प्रविधिको प्रयोग गरी निगरानी बढाइएको छ । 
    यात्रामा पनि नागरिक निगरानी
    चाडपर्वमा ठूलो संख्यामा नागरिक राजधानीबाट बाहिरिने भएकाले यात्रु तथा राजमार्ग सुरक्षालाई प्रहरीले विशेष प्राथमिकता दिएको छ ।
    सवारी साधन छुट्ने स्थानमै चालकको लाइसेन्स, मादक पदार्थ तथा लागुपदार्थ सेवन परीक्षण गरिनेछ । लामो दूरीका सवारी साधनमा दुई चालक राख्ने व्यवस्था कडाइका साथ लागू गरिने र सवारी साधनको मेकानिकल परीक्षण प्रतिवेदनसमेत जाँच गरिने प्रहरीले जनाएको छ ।

    सिट क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालोबजारी गर्ने, सिट नभएको टिकट जारी गर्ने वा यात्रुलाई अनावश्यक दुःख दिने गतिविधिमाथि पनि निगरानी गरिनेछ ।
    प्रहरीका अनुसार चालकले लापरवाहीपूर्वक सवारी चलाएको देखिए यात्रुले तत्काल प्रहरीलाई सूचना दिन सक्नेछन् । सूचना प्राप्त भएपछि अगाडिको प्रहरी स्टेसनबाटै सम्बन्धित सवारी नियन्त्रणमा लिई कारबाही गर्ने व्यवस्था मिलाइएको छ । 
    घर छाड्दा पनि सावधानी
    चाडपर्वका क्रममा लामो समय घर बाहिर जाने नागरिकलाई प्रहरीले आफ्नो घर खाली रहेको सूचना सामाजिक सञ्जालमार्फत सार्वजनिक नगर्न आग्रह गरेको छ । घर छाड्नुअघि झ्यालढोका राम्रोसँग बन्द गर्ने, ग्यास तथा विद्युत जाँच गर्ने, भरपर्दो तालाचाबी तथा इन्टरलक प्रयोग गर्ने, सीसीटीभी तथा पर्याप्त प्रकाशको व्यवस्था गर्न प्रहरीले अनुरोध गरेको छ ।
    भीडभाडमा नगद, गरगहना, महँगा मोबाइल तथा अन्य बहुमूल्य सामग्री बोकेर हिँड्दा विशेष सावधानी अपनाउन पनि प्रहरीले आग्रह गरेको छ ।
    नागरिक–प्रहरी सहकार्यमा जोड
    प्रहरीले सुरक्षित चाडपर्वका लागि सुरक्षा निकायको मात्र प्रयास पर्याप्त नहुने भन्दै नागरिक, स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवाला निकायसँगको सहकार्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।
    उहाँले भन्नुभयो, ‘सुरक्षित चाडपर्व निर्माण गर्नु नेपाल प्रहरीको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको, स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र सरोकारवाला निकायको साझा जिम्मेवारी हो ।’
    यसैअनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सुरक्षा सचेतना बढाउने तथा नागरिकबाट सूचना प्राप्त गर्ने कामलाई तिब्रता दिइने प्रहरीले जनाएको छ ।
    विपद् र सडक अवरोधमा पनि तयारी
    चाडपर्व अवधिमा सम्भावित विपद्का घटनालाई समेत प्रहरीले सुरक्षा योजनामा समेटेको छ । विपद् तालिम केन्द्र तथा प्रदेशस्तरीय विपद् व्यवस्थापन गुल्मका प्रहरी कर्मचारीलाई खोज, उद्धार, राहत तथा सुरक्षा व्यवस्थाका लागि २४ सै घण्टा तयारी अवस्थामा राखिएको काफ्लेले बताउनु भयो । 
    मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी मौसम तथा विपद्सम्बन्धी सूचना नागरिकसम्म पु¥याउने व्यवस्था गरिएको छ । पहिरो वा अन्य कारणले सडक अवरुद्ध भए सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक उपकरण र जनशक्ति परिचालन गरेर सडक सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
    प्रहरीले चाडपर्वमा नागरिकको सुरक्षा, सहज आवागमन र दुर्घटना न्यूनीकरणलाई मुख्य लक्ष्य बनाएको जनाएको छ ।
    प्रहरीले शंकास्पद गतिविधि देखिए तत्काल सूचना दिन र चाडपर्वमा आफू पनि सुरक्षित रहने तथा अरूलाई पनि सुरक्षित राख्ने गरी स्वअनुशासन कायम गर्न नागरिकलाई आग्रह गरेको छ ।– न्युज एजेन्सी नेपाल

    १९. आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित
    तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३ औँ महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद् न्युनिकरणसम्बन्धी आपत्कालीन प्रश्ताव दुई–तिहाईभन्दा बढी मतले पारित भएको छ । रोल... 
    सभामुख डोलप्रसाद (डीपी) अर्यालद्वारा प्रश्तुत उक्त प्रश्तावलाई महासभाले छलफलको मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो । सभामुख अर्यालले ‘हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धि’ शिर्षकमा प्रश्ताव पेश गर्दै हिमालयलाई एशियाको ‘वाटर टावर’ र मानवताको साझा सम्पदाका रूपमा चित्रण गर्नुभयो । जलवायु परिवर्तनले हिमाल र हिमनदीमा पारेको गम्भीर प्रभावप्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै उहाँले संसदीय जवाफदेहिताको आवश्यकतामा जोड दिनुभयो । 
    प्रश्तावमाथि भएको मतदानमा ९०१ मत पक्षमा, ७८ मत विपक्षमा र १४० मत तटस्थ खसेको थियो । आईपीयूको नियमअनुसार दुई–तिहाई मत आवश्यक पर्ने उक्त प्रश्तावले सहजै बहुमत प्राप्त गरेपछि नेपालको मुद्दाले महासभामा प्राथमिकता पाएको हो । 
    प्रश्तावले सीमापार पूर्वसूचना प्रणाली, प्रविधिमा पहुँच तथा जलवायु प्रतिवद्धताहरू कार्यान्वयन गर्न कार्यपालिकालाई संसदीय तहबाट जवाफदेही बनाउने विषयलाई समेटेको छ । सभामुख अर्यालले कुनै एक देशलाई दोषारोपण गर्नुभन्दा पनि जलवायु न्याय र प्रभावित नागरिकको सुरक्षाका लागि सामूहिक समाधान खोज्नु अहिलेको आवश्यकता रहेको बताउनु भयो । 
    नेपालको यो प्रश्ताव अब औपचारिक छलफलको कार्यसूचीमा समावेश भएको छ । महासभाले भोलि बिहानबाट हिमालय संरक्षण, विपद् जोखिम न्युनिकरण र वित्तीय सहयोगका विषयमा विस्तृत विमर्श गर्नेछ । –न्युज एजेन्सी नेपाल

    २०. काबुलमा बाल मुटु अस्पतालको शुरुवातः विपन्न परिवारका लागि ‘आशाको किरण’
    अफगानिस्तानको राजधानी काबुलको बाहिरी भागमा हालै सञ्चालनमा आएको एक विशेष बाल मुटु अस्पतालले मुलुकभरका जन्मजात मुटुरोगबाट पीडित बालबालिकाका लागि जीवनदानको नयाँ ढोका खोलेको छ । चरम स्वास्थ्य सेवा अभाव र आर्थिक संकटबाट गुज्रिरहेको अफगानिस्तानमा यो अस्पताल गरिब परिवारका लागि आशाको केन्द्र बनेको छ । अफगान रेड क्रेसन्ट सोसाइटीको सहयोगमा स्थापना गरिएको ५० शैय्याको यो अस्पतालले विशेषगरी जन्मजात मुटुमा प्वाल पर्ने लगायतका जटिल समस्या भएका बालबालिकाको निःशुल्क निदान र शल्यक्रिया सेवा दिइरहेको छ । निजी अस्पतालमा उपचार गराउन लाखौं खर्च लाग्ने भएपछि निराश भएका परिवारका लागि यो अस्पतालले निःशुल्क सेवा दिएर ठूलो राहत दिएको छ । जोजान प्रान्तबाट करिव ३९० किलोमिटरको यात्रा तय गरेर आएका मोहम्मद हसन आफ्नो तीन वर्षीया छोरीको उपचारका लागि अस्पताल पुगेका छन् । दैनिक ज्यालादारी गर्ने हसनका लागि निजी अस्पतालले मागेको ३ लाख अफगानी मुद्रा (करिव ४,५५० डलर) जुटाउनु असम्भव थियो। उनले यसअघि उपचार अभावमा आफ्नी दुई महिनाकी छोरी गुमाइसकेका छन्, त्यसैले यो अस्पताल उनका लागि जीवन र मरणको सवाल बनेको छ।्ल्लअस्पतालका प्रमुख डा. अब्दुल वली अतमन्जाईकाअनुसार सञ्चालनमा आएको दुई महिनाको अवधिमा हालसम्म १५४ बालबालिकाको सफल शल्यक्रिया भइसकेको छ । दैनिक ४ देखि ८ वटासम्म शल्यक्रिया हुने यो अस्पतालमा प्रतिदिन २० देखि ३० नयाँ बिरामी दर्ता हुने गरेका छन् । अस्पतालले जाँच, औषधी र शल्यक्रियालगायतका सम्पूर्ण सेवा पूर्णतः निःशुल्क प्रदान गर्दै आएको छ । डा. अतमन्जाईका अनुसार अफगानिस्तानभर करिव १ लाखभन्दा बढी बालबालिका मुटुरोगबाट प्रभावित रहेको अनुमान छ । समयमै उपचार नपाउँदा २० देखि २५ प्रतिशत बालबालिकाको ज्यान जोखिममा पर्ने गरेको उनले औंल्याए । अस्पतालको यो पहलले बालबालिकाको अनुहारमा मुस्कान फर्काउनुका साथै आर्थिक बोझले थिचिएका परिवारका लागि नयाँ भविष्यको ढोका खोलेको छ ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २१. कोप–३१ का लागि मनोनीत अध्यक्ष कुरुमको आह्वानः ‘अब वार्ता होइन, ठोस जलवायु कार्यको समय’
    जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का लागि मनोनीत अध्यक्ष मुरात कुरुमले विश्व समुदायलाई जलवायुजन्य जोखिम कम गर्न तत्काल ठोस कदम चाल्न आह्वान गर्नुभएको छ । फिजीको नाडीमा आयोजित पूर्व–सम्मेलनमा बोल्दै उहाँले अबका छलफलहरू नीतिगत बहसभन्दा माथि उठेर कार्यान्वयनयोग्य परियोजनामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको हो । टर्कीका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्रीसमेत रहनुभएका कुरुमले १.५ डिग्री सेल्सियसको विश्वव्यापी तापमान वृद्धिको सीमा नाघ्नु गम्भीर संकटको संकेत भएको औंल्याउनु भयो । यद्यपि, यो सीमा नाघ्दैमा जलवायु प्रयासहरू अन्त्य नहुने बताउँदै उहाँले वर्तमानमा लिने निर्णयहरूले नै भविष्यको परिणाम निर्धारण गर्ने स्पष्ट पार्नुभयो । 
    कुरुमले भन्नुभयो, ‘अब हामीले के गर्ने भन्ने सैद्धान्तिक बहसबाट माथि उठेर वैज्ञानिक तथ्यहरूलाई ठोस नीतिमा, नीतिलाई परियोजनामा र परियोजनालाई मापनयोग्य नतिजामा रूपान्तरण गर्नुपर्ने बेला आएको छ ।’
    उहाँको नेतृत्वमा टर्कीले १.५ डिग्रीको लक्ष्यलाई जीवित राख्न दीर्घकालीन संयन्त्र निर्माण गर्ने अठोट लिएको छ । बैठकले विश्वका ५० भन्दा बढी मुलुकका मन्त्री र जलवायु वार्ताकारहरूलाई एकै ठाउँमा ल्याएको छ । यस भेलाले औपचारिक वार्ताअघि विभिन्न राष्ट्रका प्राथमिकता र विवादका विषयहरू पहिचान गरी सहमति जुटाउने आधार तय गर्ने लक्ष्य राखेको छ । बैठकमा जलवायु वित्तमा पहुँच, महासागर र जलवायुबीचको अन्तरसम्बन्ध तथा नवीकरणीय ऊर्जातर्फको संक्रमणजस्ता मुख्य मुद्दाहरूमा गहन छलफल भइरहेको छ । सहभागी राष्ट्रहरूले कोप–३१ लाई जलवायु एजेण्डाको एउटा ‘टर्निङ प्वाइन्ट’ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २२. चीनको ‘गोल्डेन विक’ मा बढेको आकर्षणः पर्यटकीय गन्तव्य बन्दै साना शहरहरू
    चीनको राष्ट्रिय दिवसका अवसरमा दिइने सात दिने लामो बिदा ‘गोल्डेन विक’ को अवधिमा चीनका साना शहर र काउन्टीहरू पर्यटकीय आकर्षणको केन्द्र बनेका छन् । ठूला शहरहरूको भीडभाडबाट टाढा, स्थानीय संस्कृति, ऐतिहासिक सम्पदा र खेलकुद गतिविधिका लागि प्रसिद्ध यी क्षेत्रहरूमा पर्यटकको चाप यस वर्ष उल्लेख्य रूपमा वृद्धि भएको छ । अक्टोबर १ देखि शुरु भएको बिदाका अवसरमा उत्तरी चीनको शान्सी प्रान्तस्थित रुईचेङ काउन्टीमा पर्यटकको विशेष चहलपहल देखिएको छ । त्यहाँस्थित युआन वंशकालीन प्रसिद्ध युआन म्युरल्सका लागि परिचित योङ्ले दरबारले यो वर्ष अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बढी पर्यटक भित्र्याएको छ । चिनियाँ एनिमेटेड फिल्म ‘अल विसेज कम ट्रू’ ले गर्दा यस क्षेत्रको ऐतिहासिक वास्तुकलाप्रति युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको हो । पर्यटकहरूले यहाँको गहिरो सांस्कृतिक विरासत र शिल्प कौशलको मुक्तकण्ठले प्रशंसा गरेका छन् । 
    मध्य चीनको हुनान प्रान्तस्थित फुरोङ शहर पनि आफ्नो झरना र तुजिया जातीय संस्कृतिका कारण विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । इटाली र इरानबाट आएका पर्यटकहरूले फुरोङको वातावरणलाई आफ्नो घरको जस्तै महशुस गरेको प्रतिक्रिया दिएका छन् । उनीहरूकाअनुसार ठूला शहरभन्दा यस्ता साना र परम्परागत सहरले चिनियाँ संस्कृतिको वास्तविक झल्को दिने गर्दछ । यसैगरी, हुबेई प्रान्तको जिङशान काउन्टी, जसलाई ’चीनको टेनिस सहर’ मानिन्छ, खेलकुद पर्यटनको हबका रूपमा विकसित भएको छ । ४० वर्षभन्दा लामो टेनिस इतिहास बोकेको यस काउन्टीमा ‘गोल्डेन विक’ कै अवसरमा आयोजित टेनिस प्रतियोगिताले खेलाडी र खेलप्रेमीहरूलाई आकर्षित गरेको छ । अष्ट्रेलियाली खेलाडी डेन स्विनीले जिङशानको टेनिस पूर्वाधार र स्थानीय आतिथ्यताको प्रशंसा गर्दै यहाँको अनुभवलाई अविस्मरणीय बताएका छन् । 
    चीनका यी साना गन्तव्यहरूले परम्परागत संस्कृति र आधुनिक खेलकुद सुविधालाई सफलतापूर्वक एकसाथ अगाडि बढाएका छन्, जसले गर्दा पर्यटकीय गन्तव्यहरूको विविधीकरणमा सघाउ पुगेको छ । 
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २३. टर्कीमा नवीकरणीय ऊर्जाको कीर्तिमानी उत्पादनः विद्युत क्षेत्रमा नयाँ युगको शुरुवात
    टर्कीले सन् २०२४ को पहिलो आठ महिनामा नवीकरणीय ऊर्जाको क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेको छ । ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयकाअनुसार जनवरीदेखि अगस्ट महिनासम्मको अवधिमा कुल विद्युत उत्पादनमा नवीकरणीय ऊर्जाको हिस्सा ६०.३ प्रतिशत पुगेको छ, जुन सन् २००० यताकै उच्च रेकर्ड हो । टर्कीको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देशको हरित ऊर्जाको यात्रामा ठूलो फड्को मारेको देखाएको छ । अगस्ट महिनामा मात्रै सौर्य र वायु ऊर्जाबाट ९.९ अर्ब किलोवाट–घण्टा विद्युत् उत्पादन भएको छ, जुन हालसम्मकै उच्च मासिक रेकर्ड हो । चालु वर्षको जनवरीदेखि अगस्ट महिनासम्मको अवधिमा जलविद्युत, वायु र सौर्य ऊर्जासहितका नवीकरणीय स्रोतहरूबाट कुल १४९.८ अर्ब किलोवाट–घण्टा विद्युत् उत्पादन भएको छ । यो उत्पादनले टर्कीको कुल विद्युत उत्पादन क्षमतामा हरित ऊर्जाको योगदानलाई ६०.३ प्रतिशतमा पु¥याएको हो । टर्कीका ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री अल्पास्लान बायरकतारले सामाजिक सञ्जालमार्फत यस उपलब्धिलाई ‘पूर्ण स्वतन्त्र ऊर्जा टर्की’ बनाउने राष्ट्रिय लक्ष्यतर्फको महच्वपूर्ण कदमका रूपमा व्याख्या गर्नुभयो । उहाँले आगामी दिनमा पनि नवीकरणीय ऊर्जाका परियोजनाहरूलाई तिब्रता दिँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विशेषज्ञहरूकाअनुसार टर्कीले विगत केही वर्षयता जीवाश्म इन्धनमाथिको निर्भरता घटाउन सौर्य र वायु ऊर्जाका ठूला परियोजनाहरूमा लगानी बढाएको छ । पछिल्लो तथ्यांकले टर्कीको विद्युत ग्रिडमा हरित ऊर्जाको पहुँच सुरक्षित र भरपर्दो हुँदै गएको संकेत गरेको छ । 
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २४. दक्षिण कोरियाको ‘नूरी’ रकेट प्रक्षेपणः १५ मध्ये १४ स्याटेलाइट मात्रै कक्षमा स्थापित
    दक्षिण कोरियाको स्वदेशी प्रविधिमा निर्मित ‘नूरी’ रकेटले बुधवार सफलतापूर्वक उडान भरे पनि अन्तिम चरणमा प्राविधिक त्रुटि देखिएको छ । कोरियाली अन्तरिक्ष प्रशासनकाअनुसार १५ वटा स्याटेलाइट बोकेर गएको उक्त रकेटले १४ वटा मात्रै तोकिएको कक्षमा सफलतापूर्वक स्थापना गर्न सकेको छ । बुधवार स्थानीय समय अनुसार दिउँसो १२ः२५ बजे सोलबाट ४०० किलोमिटर दक्षिण–पश्चिममा रहेको नारो स्पेस सेन्टरबाट ‘नूरी’ रकेटले उडान भरेको थियो । तीन चरणको तरल इन्धनयुक्त यो रकेटले आफ्नो लक्ष्यअनुसार ५७५ किलोमिटरको उचाईमा पुगेपछि स्याटेलाइटहरू छाड्ने प्रक्रिया शुरु गरेको थियो । उक्त रकेटको पहिलो र दोस्रो चरणको अलगाव र पे लोड फेयरिङको प्रक्रिया निर्वाध रूपमा सम्पन्न भएको थियो । मिसनको मुख्य भागको रूपमा रहेको पाँचवटा ‘नियोनस्याट’ माइक्रो–स्याटेलाइटहरू ३५ देखि ४० सेकेण्डको अन्तरालमा सफलतापूर्वक कक्षमा प्रवेश गरेका थिए । अघिल्लो चौथो उडानको तुलनामा यस पटकको मिसन निकै जटिल र महत्वाकांक्षी रहेको बताइएको थियो । यद्यपि, रकेटको अन्तिम चरणमा १० वटा साना शैक्षिक तथा व्यावसायिक ‘क्युबस्याट’ छाड्ने क्रममा प्राविधिक समस्या देखिएको छ । सुरुवाती जानकारीमा सबै स्याटेलाइट सफलतापूर्वक कक्षमा पुगेको दाबी गरिए पनि पछिल्लो विवरणले १० मध्ये नौवटा क्युबस्याट मात्रै अलग हुन सकेको पुष्टि गरेको छ । रकेटले आपसमा ठोक्किन नदिन आफ्नो माथिल्लो भागलाई ३० र ६० डिग्रीमा घुमाउँदै स्याटेलाइट छाड्ने प्रयास गरेको थियो । अन्तरिक्ष निकायकाअनुसार अब रकेटले थप दुर्घटना रोक्नका लागि मिसनपछिका आवश्यक प्रक्रियाहरू पूरा गर्नेछ र अन्ततः पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गरी नष्ट हुनेछ । यो घटनालाई दक्षिण कोरियाको अन्तरिक्ष कार्यक्रमको एक महत्वपूर्ण सिकाइका रूपमा हेरिएको छ ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २५. पिङलु नहर सञ्चालनमाः चीन–आसियान व्यापारमा नयाँ कोसेढुङ्गा
    चीनको सिजियाङ नदी र बेइबु खाडीलाई जोड्ने १३४.२ किलोमिटर लामो ‘पिङलु नहर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । यो परियोजनाले दक्षिण–पश्चिम चीनदेखि आसियान राष्ट्रहरूसम्मको व्यापारिक ढुवानीमा आमूल परिवर्तन ल्याउने र ढुवानी लागत तथा समयमा उल्लेख्य कटौती गर्ने अपेक्षा गरिएको छ । गत सेप्टेम्बर १६ मा जलयात्राका लागि औपचारिक रूपमा खुला गरिएको यो नहरले चीनको आन्तरिक जलमार्ग प्रणालीमा रणनीतिक महत्व राख्छ । यसले दक्षिण–पश्चिम चीनका उत्पादनहरूलाई गुआङ्सी झुआङ स्वायत्त क्षेत्र हुँदै सिधै आसियान बजारसम्म पु¥याउन ५६० किलोमिटरभन्दा बढीको जलयात्रा छोट्याएको छ । परम्परागत रूपमा ग्वाङडोङ प्रान्त हुँदै हुने ढुवानीभन्दा यो मार्ग निकै छिटो र किफायती सावित हुने इन्जिनियरहरूको दाबी छ । ५ हजार टन क्षमताका जहाजहरू चल्न सक्ने गरी डिजाइन गरिएको यो नहर ‘न्यु इन्टरनेसनल ल्यान्ड–सी ट्रेड करिडोर’ को एक अभिन्न अङ्ग हो । परियोजनाको निरीक्षण गरेका कम्बोडियाली मिडिया ‘डिएपी न्युज’ का संस्थापक सोय सोफेपले यसलाई आधुनिक इन्जिनियरिङको एक अद्भुत नमुनाका रूपमा व्याख्या गरेका छन् । सोफेपकाअनुसार यो नहरले केवल चीनको व्यापारिक क्षमता मात्र बढाएको छैन, बरु सस्तो ढुवानीका कारण आसियान राष्ट्रहरूका उपभोक्ताले पनि लाभ प्राप्त गर्नेछन् । इन्जिनियरिङको दृष्टिकोणबाट समेत यो नहर चर्चामा छ । पहाडी भू–भागलाई चिरेर निर्माण गरिएको यो मार्गमा वन्यजन्तुहरूको सुरक्षित आवतजावतका लागि विशेष पुलहरूको निर्माण गरिएको छ । साथै, नहर क्षेत्रमा स्थापित वायु ऊर्जा (विन्ड टर्बाइन) ले विद्युत उत्पादन गर्नुका साथै उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा समेत विकास गर्ने योजना चीनको छ  ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २६. मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा सतर्कताको आग्रह
    मङ्गोलियामा पछिल्लो केही महिनायता आवासीय क्षेत्रमा भालु देखिने क्रम बढेको छ । राजधानी उलान बटोरलगायत विभिन्न प्रान्तमा भालुको उपस्थिति र तिनले पशुधनमाथि गरेको आक्रमणका घटनाले स्थानीय जनजीवन त्रसित बनेको छ । प्रशासनले नागरिकहरूलाई सावधानी अपनाउन र सुरक्षाका उपायहरू अवलम्बन गर्न सार्वजनिक सूचना जारी गरेको छ । मङ्गोलियाको विभिन्न प्रान्तहरूमा भालुले परम्परागत आवास ‘गेर’ र स्थानीय घरहरूमा क्षति पु¥याइरहेका हृदयविदारक भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । विशेषगरी केन्टी प्रान्तमा अगस्टको अन्त्ययता मात्रै १९२ पटक भालु देखिएको वातावरण विभागले जनाएको छ । हालैका दिनमा भालुको आक्रमणका श्रृङ्खलावद्ध घटनाहरू सार्वजनिक भएका छन् । सोमवार मात्रै अर्खांगाई प्रान्तको खैरखान सुममा एउटा भालुले एक गोठालाका दुईवटा कुकुरलाई घाइते बनाएको र आठवटा बाख्रा मारेर खाएको छ । त्यसअघि सेलेन्गे प्रान्तको तुशिग सुममा अर्को भालुले आठवटा गाई र एक बाच्छो मारेको थियो । राजधानी उलान बटोरका केही क्षेत्रमा समेत भालु देखिएपछि प्रशासनले सहरवासीलाई समेत सतर्क रहन आग्रह गरेको छ । 
    वन्यजन्तु विज्ञहरूकाअनुसार यस्ता घटनाहरू बढ्नुमा जलवायु परिवर्तन, प्राकृतिक बासस्थानमा देखिएको खाद्य संकट र प्राकृतिक स्रोतको अत्यधिक दोहन प्रमुख कारक हुन् । भालुहरू खानेकुराको खोजीमा बस्ती पस्न बाध्य भइरहेको उनीहरूको विश्लेषण छ । प्रशासनले सम्भावित जोखिम कम गर्न फोहोर व्यवस्थापनमा ध्यान दिन र जंगली जनावरको नजिक नजान स्थानीयलाई सचेत गराएको छ ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २७. यमन द्वन्द्वमा सामेल नहुन साउदी नेतृत्वको गठबन्धनलाई हुथी नेताको चेतावनी
    यमनका हुथी विद्रोही समूहका नेता अब्देल–मालिक अल–हौथीले साउदी अरब नेतृत्वको सैन्य अभियानमा सामेल नहुन टर्की र पाकिस्तानलाई आग्रह गर्नुभएको छ । रियादले टर्की र पाकिस्तानसँग रक्षा सहयोग बढाउँदै गर्दा अल–हौथीले बुधवार एक टेलिभिजन सम्बोधनमार्फत दुवै मुलुकलाई द्वन्द्वको भूमरीमा नफस्न सचेत गराउनुभएको हो । हुथी नियन्त्रित अल–मसिराह टीभीमार्फत सार्वजनिक सम्बोधनमा अल–हौथीले टर्की र पाकिस्तानभित्रका केही आवाजहरूको प्रशंसा गर्दै उनीहरूले साउदी अरबको सैन्य अभियानलाई अस्वीकार गरेको दाबी गर्नुभयो ।  उहाँले कुनै विशिष्ट अधिकारी वा समूहको नाम नलिए पनि साउदी गठबन्धनमा यी मुलुकहरूको सैन्य उपस्थिति क्षेत्रीय सुरक्षाका लागि थप चुनौतीपूर्ण हुने संकेत गर्नुभयो । साउदी अरबले हालै मात्र पाकिस्तान र टर्कीसँग रक्षा समन्वय बढाएको छ । यसअघि सोमवार दुवै मुलुकले मक्का संयुक्त रक्षा सम्झौताअन्तर्गत साउदी अरबलाई आवश्यक सैन्य शक्ति र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । यसले यमनमा जारी द्वन्द्व थप जटिल बन्ने संकेत गरेको छ । यसैबीच अल–हौथीले साउदी अरबमाथि सैन्य कारबाही तिब्र पारेको आरोप लगाउनु भयो । उहाँले हालसम्मका कुटनीतिक प्रयासहरू विफल भएको भन्दै वार्ताको ढोका बन्द भएको घोषणा गर्नुभयो । उहाँले रियादले यमनका विमानस्थल, आयात र आर्थिक स्रोतहरूमाथि अझै पनि कडा प्रतिवन्ध लगाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । रणनीतिक महत्वको बाब अल–मान्देब जलडमरू मध्यको नियन्त्रण र त्यसवरिपरिको भू–भागमा हुथी विद्रोही र साउदी समर्थित सरकारी फौजबीच लडाइँ चर्किएको छ । साउदी नेतृत्वको गठबन्धनले हवाई कारबाही तिब्र पारेको छ भने हुथीहरूले पनि साउदी भूमि लक्षित ड्रोन र मिसाइल आक्रमण बढाएका छन् । सन् २०१४ मा हुथीहरूले राजधानी साना नियन्त्रणमा लिएपछि शुरु भएको यो द्वन्द्वले यमनलाई गम्भीर मानवीय संकटतर्फ धकेलेको छ ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २८. स्लोभाकियामा डान्युब नदीको बहाव १ सय १५ वर्षयताकै न्युन
    युरोपको प्रमुख जीवनरेखा मानिने डेन्युब नदीले आफ्नो बहावको ऐतिहासिक न्युन बिन्दु छोएको छ । स्लोभाकियाको राजधानी ब्राटिस्लाभस्थित डेभिन क्षेत्रमा नदीको दैनिक औसत बहाव ५७५.९ घनमिटर प्रतिसेकेण्डमा झरेको स्लोभाक हाइड्रोमेटियोरोलोजिकल इन्स्टिच्युटले पुष्टि गरेको छ । प्रवक्ता इभान गारकारकाअनुसार यो तथ्यांक सन् १९०० मा मापन शुरु भएयताकै सबैभन्दा कम हो । यसअघि सन् १९०९ को जनवरीमा नदीको बहाव ५८० घनमिटर प्रतिसेकेण्ड मापन गरिएको थियो । पछिल्लो मापनले विगतका सबै रेकर्ड तोड्दै नयाँ चिन्ताजनक अवस्था सिर्जना गरेको छ । नदीको यो असामान्य अवस्थाका पछाडि लामो समयदेखिको विषम मौसमी अवस्था मुख्य कारण मानिएको छ । करिव तीन साताअघि मात्रै सार्वजनिक गरिएको प्रतिवेदनमा स्लोभाकियाले सन् १९३१ यताकै तेस्रो तातो गर्मी महिनाको सामना गरेको उल्लेख थियो । त्यसबेला देशको करिव ९० प्रतिशत भू–भागमा गम्भीरदेखि चरम खडेरीको प्रभाव देखिएको थियो । विज्ञहरूले जलवायु परिवर्तनका कारण युरोपका प्रमुख जलस्रोतहरूमा परेको प्रभावलाई यसले पुनः उजागर गरेको बताएका छन् । पानीको बहावमा आएको यो ऐतिहासिक गिरावटले जल यातायात, कृषि र पारिस्थितिक प्रणालीमा पार्न सक्ने असरबारे सरोकारवाला निकायहरू शतर्क भएका छन् । हाल नदीको बहावमा आएको कमीले स्थानीय तटीय क्षेत्रको जनजीवन र वातावरणीय सन्तुलनमा गम्भीर चुनौती थपेको छ ।
    सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

    २९. काँगे्रस महाधिवेशनमा नेताहरुको संकल्पः ‘काँग्रेसलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउँछौँ’
    नेपाली काँग्रेसको १५ औँ महाविधेशन अन्तर्गत विहीवार नयाँ नेतृत्व चयन गर्नको लागि मतदान हुँदैछ । पार्टीको विभिन्न पदमा उम्मेद्वारी दिएका नेताहरु महाविधेशन प्रतिनिधिसंग मतदानस्थल खुला मञ्च, भृकुटीमण्डप, प्रज्ञाप्रतिष्ठान लगायतका क्षेत्रमा आफूलाई मत मागिरहेका छन् ।
    महाधिवेशनमा उम्मेद्वार दिने काँग्रेसका नेताहरूको एजेण्डा पार्टीभित्र पुस्तान्तरण, रूपान्तरण र संगठनात्मक सुधारमार्फत काँग्रेसलाई पुनः जनताको भरोसायोग्य राजनीतिक शक्ति बनाउने रहेको छ । महाधिवेशनमा खुला केन्द्रिय सदस्यका उम्मेदवार बलदेव तिमिल्सिना विशेष महाधिवेशनबाट भएको नीतिगत तथा नेतृत्व परिवर्तनलाई संस्थागत गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउँछन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै काँग्रेसलाई मुलुकको नेतृत्व गर्नसक्ने बलियो राजनीतिक शक्तिका रूपमा पुनः स्थापित गर्नुपर्ने उहाँको भनाई छ । पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको प्रक्रियालाई अब व्यवहारमै लागू गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । उहाँले पार्टीभित्र युवाको हस्तक्षेपकारी भुमिका बढाउँदै अग्रज नेताहरूलाई सम्मानजनक भुमिकासहित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
    उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशनमार्फत नेपाली काँग्रेसभित्र काँग्रेसको नीतिमा, काँग्रेसको नेतृत्वमा हामीले परिवर्तन ग¥यौँ । त्यो परिवर्तनलाई अहिले हामीले संस्थागत गर्नुपर्ने अवस्था छ । एकातिर नेपाली काँग्रेसको नेतृत्वमा स्थापित भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्नुपर्ने छ, अर्को विशेष महाधिवेशनमार्फत जुन ढङ्गले हामीले यो समाजमा भइरहेको परिवर्तन, युवाको राजनीतिमा हस्तक्षेपकारी भुमिका, अग्रजहरूलाई एउटा सम्मानजनक ढङ्गबाट बहिर्गमन गर्नुपर्ने, उहाँहरूको सम्मानजनक भूमिकालाई सम्मान गर्नुपर्ने स्थिति छ, त्यसलाई अब नेपाली काँग्रेस सभापति गगनकुमार थापाको नेतृत्वमा स्थापित गरेर नेपाली काँग्रेसलाई यो मुलुकको नेतृत्व गर्न सक्ने विगतको जस्तै बनाउनुपर्नेछ । अब मुलुकको समृद्धिको नेपाली काँग्रेस बलियो हुँदा मात्र सम्भव छ ।’
    बाइट... बलदेव तिमिल्सिना, नेता, नेपाली काँग्रेस
    खुला केन्द्रिय सदस्यका अर्का उम्मेदवार कुमार लुइँटेलले आफ्नो उम्मेदवारी पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको एजेण्डालाई संस्थागत गर्न केन्द्रित रहेको बताउनु भयो । काँग्रेस अब परम्परागत शैलीबाट अघि बढ्ने अवस्था नरहेको उहाँको भनाई छ । नयाँ राजनीतिक दलको उदय र काँग्रेसप्रति देखिएको जनअसन्तुष्टिलाई पार्टीले चुनौतीका रूपमा स्वीकार गरेर काम गर्नुपर्ने उहाँले बताउनु भयो । विगतमा काँग्रेसबाट भएका कामको समीक्षा गर्दै कमजोरी स्वीकार गरेर नयाँ ढङ्गबाट अघि बढ्नुपर्ने उहाँको भनाई छ । पार्टीभित्र देखिएका मतभेद र ध्रुवीकरणका कारण निर्वाचनमा समेत असर परेको उल्लेख गर्दै उहाँले सबै पक्षलाई समेटेर काँग्रेसलाई पुनः भरोसायोग्य पार्टी बनाउने अभियानमा लाग्ने बताउनु भयो । आगामी दिनमा काँग्रेसले सुशासन र समृद्धिलाई मुख्य राजनीतिक एजेण्डा बनाएर अघि बढ्नुपर्ने उहाँको भनाई छ । उहाँले गगनकुमार थापाको नेतृत्वमा आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो राजनीतिक शक्ति बनाउने लक्ष्य राखेर संगठन निर्माण गर्ने बताउनु भयो । उहाँले पार्टीभित्रका वरिष्ठ नेताहरूलाई समेत समेट्नुपर्नेमा जोड दिनुभयो ।
    उहाँले भन्नुभयो, ‘हामी नयाँ ढङ्गले अब जानुपर्छ । नबिन ढङ्गले जानुपर्छ, अलि परिवर्तित भएर जानुपर्छ, हामी पुस्तान्तरण भएर जानुपर्छ, हामी रूपान्तरित भएर जानुपर्छ भन्नेकुरा हाम्रो खास एजेन्डाको कुरा छ । हामी हिजो हाम्रो नेताहरूले राम्रो गरे त्यसलाई हामीले आत्मसात गरेर लिएर जाने हो । कमिकमजोरी भयो भने त्यसलाई स्वीकार गरेर नयाँ ढङ्गले अलिकति परिष्कृत भएर जानुपर्छ । अब हामी नेपाली काँग्रेसको सभापति गगन थापाकै नेतृत्वमा काँग्रेसलाई एउटा उचाइ पुग्छ भन्ने हामीले अपेक्षा गरेका छौँ । यो मुलुकले भरोसा गरेको, यो मुलुकले आशा गरेको, सारा नागरिकले आशा गरेर भरोसायोग्य नेता गगन थापा हुनुहुन्छ । उहाँकै नेतृत्वमा अबको निर्वाचनमा नेपाली काँग्रेसलाई यो मुलुकको पहिलो पार्टी बनाउने अभियानमा हामी लाग्छौँ ।’
    बाइट... कुमार लुँईटेल, नेता, नेपाली काँग्रेस
    सुदूरपश्चिमबाट दलित क्लस्टरतर्फ केन्द्रीय सदस्यका उम्मेदवार रमेश ताम्राकारले पछाडि परेका समुदायको आवाज पार्टी नेतृत्वमा प्रभावकारी रूपमा उठाउन आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । उहाँले कांग्रेसलाई थप शसक्त बनाउन पनि आफूले भुमिका खेल्ने उहाँको भनाई छ । हाल संसदमा काँग्रेस संख्यात्मक रूपमा दोस्रो दल बने पनि जनमतका आधारमा पार्टी कमजोर नभएको उहाँको दाबी छ । पुराना दलप्रति जनतामा देखिएका असन्तुष्टि कारण नयाँ राजनीतिक शक्तिलाई मत गएको उल्लेख गर्दै उहाँले आगामी स्थानीय निर्वाचनमा काँग्रेसलाई पहिलो संगठन बनाउनेगरि काम गर्ने बताउनु भयो । संगठन र नीति सुधार दुवै सुधार गर्दै पार्टीलाई पुनः जनताको विश्वासको पार्टी बनाउने उहाँको भनाई छ । उहाँले पार्टीले विगतका कमजोरीको समीक्षा गरी मतदाताबाट टाढिनुको कारण पहिचान गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । महिला, दलित, जनजाति, मुस्लिमलगायत पछाडि परेका समुदायलाई अवसर दिने तथा युवाका लागि रोजगारी सिर्जना गर्ने नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके कांग्रेस पुनः बलियो बन्न सक्ने उहाँको भनाइ छ ।
    उहाँले भन्नुभयो, ‘एमाले कांग्रेस माओवादीले विगतमा जुन जनतासँग वाचा गरेको थियो, त्यो पुरा गर्न सकेन । त्यसैले गर्दा जनताले अहिले पाला हामीलाई मत दिएनन् । एकपटक पुराना दललाई पनि बाहिर राखेर एउटा नयाँ गर्छु भन्नेलाई भोट दिएका छन् तर उनीहरुले पनि रङ्ग रोगन गर्नु बाहेक खासै काम गरेका छै्रनन् । त्यसैले आगामी स्थानीय निर्वाचनमा काँग्रेस बहुमतमै जान्छ र अहिले गगनजीले जुन पोलिसी ल्याउनुभएको छ । युवाबाट लिएर योग्यदेखी विज्ञसम्म लिएको हुनाले स्थानीय निकायमा काँग्रेस अगाडि जान्छ । हाम्रा भोटरबाट हामी टाढा कसरी भयौ भन्ने एउटा समीक्षा गरेर कमी–कमजोरीलाई सुधारेर हामी अगाडी बढ्नेछौँ ।’
    बाइट... रमेश ताम्राकार, नेता, नेपाली काँग्रेस
    काँग्रेसका नेताहरूले महाधिवेशनलाई नेतृत्व चयनसँगै पार्टीको संगठनात्मक पुनर्संरचना, पुस्तान्तरण र जनविश्वास पुनःस्थापनाको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । –न्युज एजेन्सी नेपाल

    ३०. काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका चिरीबाबु महर्जन भन्छन्, ‘काँग्रेसले अब कुरा होइन, डेलिभरी दिन सक्नुपर्छ’
    ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाली काँग्रेसले अब जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह र विकासमा ‘डेलिभरी’ दिनुपर्ने बताउनुभएको छ । रोल...
    काँग्रेसले अब विगतका कामको चर्चा गरेर मात्रै नहुने उहाँले बताउनु भयो । नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा केन्द्रिय कार्यसमितिको खुला सदस्य पदमा उम्मेदवारी दिनुभएका महर्जनले आफू दुई कार्यकाल ललितपुर महानगरपालिकाको प्रमुखका रूपमा काम गरेको अनुभव पार्टीको नीति निर्माण र कार्यसम्पादनमा उपयोग गर्न उम्मेदवारी दिएको बताउनु भयो । अहिलेका युवा पुस्ता तथा आम नागरिकले भाषण र आश्वासनभन्दा कामको परिणाम खोजिरहेको उल्लेख गर्दै काँग्रेस नेतृत्वले त्यसअनुसार काम गर्नुपर्ने उहाँले बताउनु भयो । काँग्रेसले विगतमा आफूले गरेका कामको विवरण प्रश्तुत गरेर मात्र अबको राजनीतिक चुनौती सामना गर्न नसक्ने उहाँको भनाइ छ । काँग्रेसले आगामी दिनमा देश विकासका लागि स्पष्ट योजना, नीति र दृष्टिकोणसहित अघि बढ्नुपर्ने बताउनु भयो । महाधिवेशनले मुलुकको विकासका लागि प्रभावकारी योजना र नीति निर्माण गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले काँग्रेसप्रति युवाको काँग्रेसप्रतिको आकर्षण बढ्दै गएको पनि बताउनु भयो । काँग्रेस सभापतिमा गगन थापा आउने अपेक्षाले युवामा नयाँ उत्साह देखिएको उहाँको भनाई छ । साथै पार्टीको संशोधित विधानले युवालाई समेट्ने गरी व्यवस्था गरेको पनि उहाँले बताउनु भयो । उहाँले पार्टीलाई एकताबद्ध र संगठित बनाउने विषय पनि आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । पार्टीभित्र दुई खेमाको अवस्था देखिएकोले त्यसलाई एकीकृत गर्दै प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।
    उहाँले भन्नुभयो, ‘जनतालाई डेलिभरी चाहिएको छ । कुरा होइन, गफ होइन, काम चाहिएको छ । दुई पटक मेयर भएर काम गरेको अनुभवलाई अब काँग्रेसको केन्द्रीय कार्यसमितिमा उपयोग गर्न चाहन्छु । मैले यो गरेँ, त्यो गरेँ भनेर अब काम बन्दैन । अब डेलिभरी दिन सक्ने गरी काम गर्न सक्नुपर्छ । गगन थापाजी सभापतिमा आउँदै हुनुहुन्छ भन्ने कुराले युवाहरू तरङ्गित भएका छन्, पार्टीको संशोधित विधानले पनि युवाहरूलाई प्रचुर मात्रामा सम्बोधन गरेको छ र युवाहरूलाई पार्टीमा ल्याउन क्लस्टरसमेत बनाएको छ ।’
    बाइट... चिरीबाबु महर्जन, प्रमुख, ललितपुर महानगरपालिका
    उहाँले काँग्रेसको महाधिवेशनबाछ चर्चित अनुहारभन्दा काम गरेर देखाएका र सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिनुभयो । चर्चित अनुहारले मात्रै डेलिभरी गर्न नसक्ने उहाँको भनाई छ । उहाँले महाधिवेशन प्रतिनिधिहरूलाई ‘टेस्टेड’ र नयाँ सम्भावना बोकेका दुवै खालका सक्षम व्यक्तिलाई मूल्याङ्कन गरेर छनोट गर्न आग्रह गर्नुभयो । उहाँले योग्य र काम गर्नसक्ने नेतृत्व चयनबाट काँग्रेसको भविष्य निर्धारण हुने उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल

    ३१. विपद्पछिको पुनर्निर्माणमा सरकार र नागरिक संस्थाबीच समन्वय आवश्यकः सरोकारवाला
    विपद्पछिको राहत, पुनस्र्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकार र नागरिक संस्थाबीच समन्वय आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । रोल...
    राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले तीन वटै तहका सरकार, नागरिक समाज र गैरसरकारी संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका हुन् । उनीहरुले हालैको भोटेकोशी बाढीपछिको पुनर्निर्माण र पुनस्थापनाको कार्यमा पनि सबै पक्षसंग सहकार्य गर्न आग्रह गरे । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल(फेकोफोन)का अध्यक्ष ठाकुर भण्डारीले विपद्पछिको राहत तथा पुनर्निर्माणमा सरकार र गैरसरकारी संस्था तथा नागरिक समाजबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भयो । पुनर्निर्माणमा सरकार, सामुदायिक वन उपभोक्ता समूह र निजी क्षेत्रबीच समन्वय हुन सके प्रभावित क्षेत्रमा दिगो तथा वातावरणमैत्री पुनर्निर्माण गर्न सकिने उहाँको भनाई छ । जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढिरहेकोले पुनर्निर्माणमा जलवायु न्याय र वातावरणीय पक्षलाई समेत ध्यान दिनुपर्ने उहाँले बताउनु भयो । पुनर्निर्माणका लागि सरकारले प्रभावित बस्तीको नजिकै जग्गा खरिद गरी दीर्घकालीन रूपमा घर निर्माणको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रभावितलाई टाढाको स्थानमा स्थानान्तरण गर्दा उनीहरूको सामाजिक, सांस्कृतिक तथा जीविकोपार्जन प्रणालीमा असर पर्ने उहाँको भनाई छ । पुनर्निर्माणमा स्थानीय आवश्यकता र समुदायको सहभागितालाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनु भयो । पुनर्निर्माणमा फलाम तथा अन्य धातुको अत्यधिक प्रयोगभन्दा स्थानीय रूपमा उपलब्ध काठको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । सामुदायिक वन उपभोक्ता समूहहरू आवश्यक काठ उपलब्ध गराउन तयार रहेको र काठ व्यवसायीहरू ढुवानी तथा वितरणमा सहकार्य गर्न इच्छुक रहेको उहाँको भनाई छ ।
    उहाँले भन्नुभयो, ‘पुनर्निर्माणको लागी सरकारले नजिकै जग्गा खोजेर व्यवस्था गर्नुपर्छ । टाढा लाँदा खेरी उहाँहरुको रीति, रिवाज, रहन–सहन सबै कुरा बिग्रन्छ । त्यसैले जहाँ समस्या छ, त्यसको नजिकै सरकारले जग्गा किन्ने र पुनर्निर्माणमा आह्वान गर्ने गर्नुपर्छ । सरकारले जतिसक्दो छिटो नजिकमा जग्गा किनेर दिगो रुपले उहाँहरुले लालपुर्जा पाउने गरी दीर्घकालीन समाधान गर्नेगरी शुरुमै प्लान बनाउन आवश्यक छ । हामीले जलवायु परिवर्तनको कुरा गरेका छौँ, अब फलाम प्रयोग गर्ने होइन, यो हामीले आवाज उठाउनुपर्छ, हामी जलवायु न्यायको कुरा गर्ने, जलवायु न्युनिकरणको कुरा गर्ने अनि भोलि गएर पुनर्निर्माणमा फलाम, अल्युमिनियम लगायतका अरु चिजहरु प्रयोग हुन्छ भने, त्यो फेरि अर्को घातक हो । अहिलेदेखि नै हामी सचेत हुनुपर्छ । सामुदायिक वन उपभोक्ता समूहहरु कति काठ चाहिन्छ दिन तयार छन्, सरकारले सजिलो बनाइदिनुपर्छ । काठ व्यवसायी साथीहरू त्यहाँ लैजान तयार हुनुहुन्छ । सरकारले कानुनी र प्रक्रियागत झन्झट हटाएर सहज वातावरण बनाउनुपर्छ ।’
    बाइट... ठाकुर भण्डारी, अध्यक्ष, फेकोफोन
    गैरसरकारी संस्था महासंघका सल्लाहकार सूर्यबहादुर थापाले राज्यले गैरसरकारी संस्थाको भूमिकालाई स्वीकार गरी आवश्यक सहजीकरण गर्नुपर्ने बताउनु भयो । अन्तर्राष्ट्रिय स्रोत तथा सहयोग नेपालमा भित्र्याउन सरकारले गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय संस्थालाई सहज वातावरण बनाउनुपर्ने उहाँको भनाई छ । उहाँले राहत तथा पुनर्निर्माणका लागि परियोजना स्वीकृति र प्रशासनिक प्रक्रियामा अनावश्यक झन्झट नदिने व्यवस्था गर्न पनि सरकारसंग माग गर्नुभयो । उहाँले प्रभावितको यकिन गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । वास्तविकभन्दा क्षति भन्दा बढाएर देखाउने प्रवृत्तिले राज्यको सीमित स्रोतमा थप दबाब पर्ने उहाँको भनाई छ । वास्तविक रूपमा प्रभावित नागरिकलाई पर्याप्त सहयोग उपलब्ध गराउनुपर्ने र लाभग्राहीको संख्या बढाउने काम रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले पुननिर्माणमा स्थानीय सरकार, स्थानीय नागरिक संस्था र प्रभावित समुदायलाई योजनाको शुरुवाती चरणदेखि नै सहभागी गराउनुपर्ने बताउनु भयो ।
    उहाँले भन्नुभयो, ‘सरकारले गैरसरकारी संस्थालाई कुन पालिकामा कति घर बनाउने भनेर ठेक्का खोजेजस्तो गरी होइन, प्रभावित क्षेत्रमा कहाँ कति घर आवश्यक छन् र गैरसरकारी क्षेत्रबाट कति सहयोग हुन सक्छ भनेर समन्वय गर्नुपर्छ । टेबलमा बसेर प्रस्ताव लेखेर मात्रै पुनर्निर्माण हुँदैन । स्थानीय सरकार, वडा र वास्तविक प्रभावित नागरिकले त्यो योजना स्वीकार गर्छन् कि गर्दैनन् भन्ने पनि हेर्नुपर्छ ।’
    बाइट... सूर्यबहादुर थापा, सल्लाकार, गैसस महासंघ
    गैरसरकारी संस्था महासंघका निःवर्तमान अध्यक्ष रामप्रसाद सुवेदीले विपद् प्रभावित क्षेत्रमा तत्काल सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । भोटेकोशी क्षेत्रमा चिसो बढ्दै गएको उल्लेख गर्दै उहाँले त्यहाँका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिको अवस्थाप्रति राज्यले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले विपद् प्रभावित क्षेत्रमा राहत र पुनस्र्थापनासँगै भविष्यमा निर्माण हुने पूर्वाधारलाई समेत विपद् प्रतिरोधी बनाउनुपर्ने बताउनु भयो । विगतका भूकम्प, बाढी तथा अन्य विपद्बाट प्राप्त पाठलाई आगामी पूर्वाधार निर्माणमा उपयोग गर्नुपर्ने उहाँको भनाइ छ । जलवायु परिवर्तनका कारण हरेक वर्ष विपद्को जोखिम बढ्दै गएकोले भोटेकोशीसँगै कालीगण्डकी करिडोरका प्रभावित क्षेत्रलाई समेत पुनर्निर्माण तथा राहतको प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
    उहाँले भन्नुभयो, ‘अब बन्ने इन्फ्रास्ट्रक्चरहरु कसरी विपदलाई थेल्ने किसिमको बन्न सक्छ, त्यसलाई पनि अलिकति हामीले डाइलग गर्नुपर्छ । भोटेकोशी भन्दा कालीगण्डकीमा बाढी गएकाmे भए ठूलो विनाश हुनसक्थ्यो । त्यही भएर अन्तराष्ट्रिय साझेदारी संस्थाहरुलाई भोटेकोशीको तीन चारवटा जिल्ला मात्रै होइन, कालीगण्डकीको करिडोरलाई पनि हामीले ध्यान दियौँ । जलवायु परिवर्तन नै अहिलेको मुख्य चुनौती हो । हामीले त्यहीअनुसार प्लान बनाउनपर्छ ।’
    बाईट... रामप्रसाद सुवेदी,निःवर्तमान अध्यक्ष, गैरसरकारी संस्था महासंघ
    राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले विपद् उद्धार, राहत र पुनस्र्थापनाका क्रममा राज्य र नागरिक संस्थाबीचको समन्वयमा अझै सुधार आवश्यक रहेको बताउनु भयो । विपद्को प्रारम्भिक उद्धारमा सरकारले सकारात्मक प्रयास गरेपनि राहत वितरणमा स्थानीय तहसँग पर्याप्त समन्वय हुन नसकेको उहाँको भनाई छ । राहत सामग्री एक ठाउँमा थुपार्ने तर स्थानीय आवश्यकता र वितरण प्रणालीसँग प्रभावकारी समन्वय हुन नसकेको विषयमा आयोगले समेत ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयो । लामो समयसम्म होल्डिङ सेन्टरमा प्रभावितलाई राख्दा सरसफाई, शौचालय, स्वास्थ्य तथा संक्रमण नियन्त्रणमा समस्या देखिएको उहाँको भनाई छ । उहाँले विपद् प्रभावित क्षेत्रमा गाँस, बास, कपडा, स्वास्थ्य, शिक्षा तथा रोजगारीजस्ता आधारभूत अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो । जेष्ठ नागरिक, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदाय राहत तथा क्षतिपूर्तिबाट छुट्न सक्ने भएकाले उनीहरूलाई विशेष प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ । विपद्मा हराइरहेका नेपाली तथा विदेशी नागरिकको खोजी, शव पहिचान तथा परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन समेत राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो । पुनस्र्थापना तथा पुनर्निर्माणको योजना बनाउँदा स्थानीय समुदायको अर्थ–सामाजिक तथा सांस्कृतिक अवस्थालाई ध्यान दिनुपर्ने उहाँको भनाई छ । प्रभावित नागरिकको अर्थपूर्ण सहभागिता सुनिश्चित गरेर मात्र पुनर्निर्माणका कार्यक्रम अघि बढाउनुपर्ने उहाँले बताउनु भयो ।
    उहाँले भन्नुभयो, ‘मानव अधिकार आयोगले सरकारलाई आवश्यक सुझाव दिईरहेको छ । सीमान्तकृत नागरिकको अधिकार, यहाँ जेष्ठ नागरिक, बालबालिकाको विषयहरु, दलित समुदायको, अपाङ्गता भएका व्यक्तिहरुले राहत, परिपूरण पाउनुपर्छ, तिनीहरु चाहिँ पछाडि परिरहेको छ । त्यसलाई अलिकति अगाडि ल्याउन फोकस गरेर पनि हाम्रा नीति योजना कार्यक्रम अगाडि बढ्नुपर्छ ।’
    बाइट...यज्ञप्रसाद अधिकारी, सहसचिव,राष्ट्रिय मानव अधिकार आयोग
    उहाँले नागरिक समाज र गैरसरकारी संस्थाबाट प्राप्त तथ्य, सुझाव तथा फिल्ड रिपोर्टलाई मानव अधिकार आयोगले समेत अनुगमन तथा सरकारलाई सिफारिस गर्ने कार्यमा उपयोग गर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल
     


    ३२. ‘खडेबाबा’ समस्या यही वर्षदेखि अन्त्य गर्छौँ, विशेषज्ञलाई एकभन्दा बढी मेडिकल कलेजमा अध्यापन गर्न दिइनुपर्छः अध्यक्ष कार्की
    नेपालका निजी मेडिकल कलेजहरूको साझा छाता संगठन निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ नेपालका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रसिंह कार्कीले निजी मेडिकल कलेजमा विद्यमान ‘खडेबाबा’ समस्या यही वर्षभित्र अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । रोल...
    बिहीवार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले मेडिकल कलेजको निरीक्षणका बेला मात्रै फ्याकल्टीका रूपमा उपस्थित हुने ‘खडेबाबा’ अर्थात घोस्ट फ्याकल्टीको समस्या अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको कडाइका कारण  मेडिकल कलेजहरुले कर्मचारी व्यवस्थापनमा सास्ती भोगिरहेको समेत गुनासो गर्नुभयो । बजारमा उपलब्ध विशेषज्ञलाई आवश्यकताअनुसार परिचालन गरी चिकित्सकीय अध्यापन गराउन दिने व्यवस्था हुनुपर्नेमा उहाँको जोड छ । उहाँले काठमाडौं बाहिरका मेडिाकल कलेजहरुले विदेशी चिकित्सकको भरमा चल्नुपर्ने अवस्था रहेकोले  ‘खडेबाबा’ समस्या सिर्जना भएको पनि बताउनुभयो । उहाँले नेपालको चिकित्सा क्षेत्रको विकास गर्न विदेशी चिकित्सकले योगदानलाई नकार्न नमिल्ने पनि बताउनु भयो । उहाँले  नेपाली विशेषज्ञ जनशक्तिलाई एकभन्दा बढी संस्थामा आवश्यकताअनुसार अध्यापन गराउन पाउने वा नपाउने विषयमा विवाद रहेको पनि बताउनुभयो । एउटा मेडिकल कलेजमा उपलब्ध नभएको विशेषज्ञ  चिकित्सक अरु कुनै संस्थाबाट उपलब्ध हुने अवस्था भए अध्यापनमा सहभागी गराउन सकिने कानूनी व्यवस्था हुन जरुरी रहेको पनि बताउनु भयो । 
    उहाँले भन्नुभयो, ‘आधारभूत विज्ञानको ६ वटा विषयमा नेपालमा दक्ष जनशक्ति औँलामा गन्ने मात्रामा छ । । अलिअलि भएका काठमाडौँमा छन् ।  त्योभन्दा बाहिर छैनन् । बडो दुःखले मिहिनेत गरेर हामी भारतबाट लिएर आउँथ्यौँ । वृद्ध भएपनि उसले हामीलाई त तयार पार्यो नि । हामी तयार भएको हुनाले त आज हामी हाम्रा बच्चाहरुलाई तयार पार्न सकिरहेका छौँ नि । त्यसैले गर्दाखेरि विदेशी विद्यार्थी मात्रै खडेबाबा हुन् भन्न चाहिँ हामीलाई पाप लाग्छ । अब बिदेशी खडेबाबा त नेपालमा सकिए । अब नेपाली खडेबाबा आए । को हुन् त यी खडेबाबा ? यी खडेबाबाको परिभाषा के हो ? कुनै बहुसंख्यक संस्थाहरू दक्ष जनशक्ति छ, चिकित्सकहरू हुनुहुन्छ, राम्रो स्पेसलिस्ट हुनुहुन्छ, तर मेरो संस्थामा त्यो उपलब्ध नहुन सक्छ । किनभने देखि एउटा कर्पोरेट हस्पिटलमा काम गर्ने चिकित्सकले महिनाको २ लाख, ५ लाख, १० लाख कमाउँछ भने त्यसलाई म पैसाको प्रलोभनमा या गुण्डा लगाएर तानेर त ल्याउन सक्दिन । हामीले इमानदारिताका साथ  उहाँलाई हामीलाई पनि केही समय दिनुपर्यो भनेर अनुरोध गर्ने हो नि । उसले आएर पढायो र दक्ष जनशक्ति बनाउन मद्दत गर्यो भने त्यो खडेबाबा भयो कि भएन ? ? दुईवटा मेडिकल कलेज, जस्तो पोखरामै मनिपाल र गण्डकी मेडिकल कलेज छ । गण्डकी मेडिकल कलेजको प्राध्यापकलाई दुईवटा क्लासको लागि मनिपालले आह्वान गर्न पाउने कि नपाउने ? यो कुरालाई चिकित्सा शिक्षा आयोग, युनिभर्सिटीले संवेदनशील भएर हामीले बारम्बार दोहोर्याएको सोचिदिएको भए आज यो खडेबाबा भन्ने शब्द हुँदैनथ्यो ।  हामी तपाईँहरूलाई एउटा वचन के दिन्छौँ भन्दाखेरि यो वर्षदेखि चाहे पीजी । डीएम, एमसीएचमा यस्तो समस्या आउँदैन ।’
    बाइट...प्रा.डा. ज्ञानेन्द्रसिंह कार्की, अध्यक्ष, निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ नेपाल
    अध्यक्ष कार्कीले सरकारले एउटा चिकित्सकले एकभन्दा बढी मेडिकल कलेजमा अध्यापन गर्न पाउनेगरी कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल


    ३३. अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकलाई एक महिनाको अल्टिमेटमः सम्पर्कमा नआए सिआईबीमाफर्त कारबाही प्रक्रिया अघि बढाउने सरकारको तयारी
    सरकारले अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका प्राध्यापकहरूमाथि काबारही प्रक्रिया अघि बढाएको छ । रोल...
    बिहीवार त्रिभूवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिनुभएको हो । उहाँले त्रिभूवन विश्वविद्यालयबाट अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकबाट भत्ता असुली तथा जरिवाना तिराउने प्रक्रिया प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले सम्पर्कमा नआएका र प्रक्रियामा सहयोग नगरेका प्राध्यापकको हकमा भने थप कारबाहीका लागि केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) तथा सम्बन्धित निकायमा लेखी पठाउन समेत निर्देशन दिनुभयो । उहाँले त्रिभूवन विश्वविद्यालय (त्रिवि)का अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई समेत प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिनुभयो ।
    उहाँले भन्नुभयो,‘ त्रिभूवन विश्वविद्यालय भित्रको अतिक्रमित जति पनि जग्गाहरु छन् त्यो जग्गाहरुलाई एकदमै प्राथमिकतामा राखेर त्यसको काम कारबाही अगाडि बढाउनको लागि अनुरोध गर्दछु । र अध्ययन बिदाको दुरुपयोग गरेर विश्वविद्यालय फर्किनु नभएका प्राध्यापकहरु अथवा सम्पर्कमा नहुनुभएका प्राध्यापकहरुको जुन हामीले चाहीँ रिकभर गरेका छौँ, उहाँहरूको भत्ता, त्यसलाई पनि तिब्रता दिई अहिले हाम्रो यता एजेण्डामा देखियो । जरिवाना तिराउने जसले त्यो दुरुपयोग गर्नुभएको छ भन्ने विषयमा तर जो सम्पर्कमै आउनुभएको छैन, जसले चाहिँ यो प्रक्रियामा सहयोग गर्नुभएको छैन उहाँहरूलाई पनि थप कारबाहीको लागि सीआईबी तथा सम्बन्धी निकायमा चाहीँ लेखी पठाउने एउटा प्रतिवेदन तयार गरेर त्यो लेखी पठाउन पनि म अनुरोध गर्दछु । र त्यसको समय सीमा पनि तोकौँ । त्यसको लागि १ महिनाको समय सीमाभित्र जो सम्पर्कमा आउनु हुँदैन । उहाँहरूको लागि चाहीँ प्रतिवेदन तयार गरेर त्यसलाई चाहीँ सीआईबी अथवा अन्य सम्बन्धीत निकायमा पठाउन लागि पनि अनुरोध गर्दछु ।’
    बाइट...सस्मित पोखरेल, मन्त्री, शिक्षा तथा खेलकुद मन्त्रालय
    मन्त्री पोखरेलले अध्ययन बिदाको दुरुपयोग गरेका प्राध्यापक एक महिनाको समयसीमाभित्र सम्पर्कमा नआए थप कारबाहीका लागि प्रतिवेदनसहित सिआईबीमा पठाउन निर्देशन दिनुभयो । –न्युज एजेन्सी नेपाल

    ३४. आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी, आवासीय चिकित्सकलाई छिट्टै काममा फर्काउने प्रतिवद्धता
    वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टल खाली गर्न उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ । रोल...
    बिहीवार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई १२ घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्पत्ति बुझाउन निर्देशन दिएको विषयमा सरकारको तर्फबाट शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार शैलेन्द्र झाले माफी माग्नुभएको हो । उहाँले यस विषयलाई मन्त्रालयले गम्भीर रुपमा लिएको बताउँदै छिट्टै अध्ययनको वातावरण निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । २४ दिनदेखि  आन्दोलनरत आवासीय चिकित्सकहरुले बिहीवार मन्त्रालय पुगेर आफ्ना मागहरु सम्बोधन गरी काम गर्ने वातावरण निर्माण गर्न माग गर्नुभयो । मन्त्री पोरखरेलका सल्लाहकार झाले मेडिकल कलेजको उक्त उर्दी आवेगमा जारी गरिएको र त्यसमा व्यक्तिगत ‘इगो’ प्रदर्शन भएको देखिएको दाबी समेत गर्नुभयो । उहाँले मौसमको संवेदनशील अवस्थालाई समेत बेवास्ता गर्दै चिकित्सकहरुलाई होस्टल छोड्न बाध्य बनाउनु अमानवीय र लोकतान्त्रिक शासन व्यवस्थाविपरित भएको भएको समेत बताउनु भयो । उहाँले मन्त्री पोखरेलले समेत यस विषयलाई गम्भीरतापूर्वक लिएर काम गरिरहेको जानकारी समेत गराउनु भयो ।
    उहाँले भन्नुभयो, ‘तपाईंहरुलाई १२ घण्टाभित्रमा होस्टल छोडिदिनु भनेर नोटिस आयो, जुन खनोटिस आवेगमा आएर लेखिएको पनि देखिन्छ । एउटा इगो डेमोस्टेट्र गरेको पनि देखिन्छ । र त्यो अमानवीय पनि हो । मौसमको हिसावले समेत जटिल र संवेदनशील विषय भएको कारणले भनेर हामीले सूचना समेत जारी गरेका थियौँ । त्यो समयमा त्यहाँ धेरै क्रियाकलाप भएको छ । मलाई मिति चाँही याद छैन । हामी यो सबैप्रति एकदमै डिसअपोइन्टेड छौँ । जतिुसकै गल्ती गरेको भएपनि हस्टेल छोड्न बाध्य बनाउनु उचित होइन । यो लोकतान्त्रि शासन व्यवस्थामा कुनैपनि हिसाबले उपयुक्त हुँदैन । त्यसप्रति हामी एकदमै चिन्तित छौँ । यसको लागि हामी राज्यको तर्फबाट एपोलोजिज पनि भन्न चाहान्छौँ । यो विषयमा मन्त्रीज्यूलाई  जानकारी दिएर  निरन्तर काम पनि गरिरहेको छौँ । उहाँले यो विषयलाई  उहाँले गम्भीर रुपमा लिनुभएको छ ।’
    बाइट...शैलेन्द्र झा, शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार
    आवासीय चिकित्सकहरुले कलेजमा शान्तिपूर्ण र मर्यादित वातावरण निर्माण गरी अध्ययनमा फर्कने अवस्था बनाउन माग गर्नुभयो । आवासीय चिकित्सक डा. अविश साहले कलेजमा प्रोफेसरको निगरानीमा समेत विद्यार्थीलाई बिरामी तथा केसमा प्रत्यक्ष संलग्न हुन नदिइएको बताउनु भयो । उहाँले कतिपय आवासी चिकित्सकलाई तेस्रो वर्षमा प्रवेश गर्दासम्म पनि व्यवहारिक चिकित्सकीय अभ्यासको अवसर नदिइएको बताउनु भयो । डा. साहले चिकित्सकले पर्याप्त क्लिनिकल एक्सपोजर नपाए कसरी गुणस्तरीय उपचार गर्न पाउँछ ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले कलेजमा सुरक्षित, मर्यादित र अध्ययनमैत्री वातावरण सुनिश्चित गर्न माग गर्नुभयो ।
    उहाँले भन्नुभयो,‘कलेजमा प्रोफेसर हुनुहुन्छ । तर प्रोफेसरको अन्डरमा विद्यार्थीले कुनैपनि केस छुन पाउँदैन । कति जनालाई तेस्रो वर्षसम्म पनि केही गर्न दिइएको छैन । यदि कुनै डाक्टरले एक्सपोजर नै पाएको छैन भने उसले के उपचार गर्छ होला त ? अनि त्यहाँ यति धेरै ह्यारेसमेन्ट छ कि त्यसको व्याख्या गर्न नै गाह्रो छ । यहाँसम्म कि मनमा लागेको प्रश्न र जिज्ञासा समेत सोध्न डर लाग्छ । यस्तो डरलाग्दो अवस्थामा हामी कसरी काम गर्न सक्छौँ ।’
    बाइट...डा. अविश साह, आवासीय चिकित्सक
    अर्का आवासीय चिकित्सक अजरुद्धिन अन्सारीले कलेज प्रशासनबाट आफूहरुलाई थर्काउने तथा धम्की दिने गरिएको आरोप लगाउनु भयो । उहाँले कलेज प्रशासनबाट धेरै बोले छतबाट फालिदिने सम्मको धम्की आउने गरेको दाबी गर्दै यस्तो वातावरणमा अध्ययन गर्न नसकिने बताउनुभयो । अन्सारीले कलेजमा विद्यमान वातावरणले चिकित्सकको व्यावसायिक दक्षता र उपचारको गुणस्तरमा समेत असर पार्न सक्ने भन्दै सुरक्षित र मर्यादित वातावरण निर्माण गर्न मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।
    उहाँले भन्नुभयो, ‘साथिहरुले सबै समस्या भनिसक्नुभयो, हाम्रो कलेज प्रशासनमा सबै कुरा खराब नै छ । थर्काउने, धम्की दिने भइरहेको छ । धेरै बोले छतनबाट फालिदिन्छुसम्मको धम्कीहरु आइरहन्छन् । अब यस्तो वातावरणमा पढ्नको लागि कतिको पोसिबल छ ? हामी यही वातावरणमा त्यहाँ बढ्न जाने हो भने भविष्यमा हामी कस्तो उपचार गर्छौँ, हाम्रो उपचारको गुणस्तर कस्तो हुन्छ ?’
    बाइट... अजरुद्धिन अन्सारी, आवासीय चिकित्सक
    छलफल सहभागि केही आवासीय चिकत्सकहरुले कलेजमा समेत ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ रहेको दाबी गर्दै त्यसबारे छानबिन गर्न पनि माग गरे । –न्युज एजेन्सी नेपाल


    ३५. एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने
    नेकपा (एमाले) ले आगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ । रोल...
    बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । उहाँकाअनुसार भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित संघ प्रदेश र पालिकाका जनप्रतिनिधि उपस्थित हुनेछन् । उहाँले अगामी मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय भएको पनि बताउनु भयो । उपमहासचिव भट्टले नगर र वडा अधिवेशन लगत्तै सात वटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने निर्णय समेत गरेको छ । उहाँले बैठकमा पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले शपथ समेत लिनुभएको बताउनु भयो ।
     उहाँले भन्नुभयो, ‘आजको बैठकमा चारवटा एजेण्डाहरु थिए । वरिष्ठ नेता विद्यादेवी भण्डारीले बैठकको आरम्भमै शपथ ग्रहण गर्नुभयो । अनि संगठनसम्बन्धी प्रश्तावमा विशेष छलफल भएर निर्णय भएको छ । त्यसैगरी, केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी बैठकका कार्यसूची अब भोलिको १ बजे बस्ने बैठठकमा गरिनेछ । मधेस प्रदेशमा समानुपातिक तर्फ रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने जैनव खातुनको निधन भएको हुँदा त्यसको उसमा रिक्त स्थानको मापदण्ड अनुरूप क्रम संख्या ४२ तथा बन्द सूचीको क्रम संख्या क्रम ४० मा रहनुभएकी नाजमा खातुनलाई पठाउने निर्णय गरिएको छ । बैठकले अगामी मंसिर २६ मा वडा अधिवेशन, आगामी पौष ४ मा पालिका अधिवेशन, मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने, पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिहरुसहित नगर र वडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने निर्णय भएको छ । १३ वटा जिल्लामा अध्यक्ष पद खालि रहेको छ । त्यसको लागि स्थानीय कमिटीले नै निर्माण गरेर माथिल्लो कमिटीमार्फत अनुमोदन गराई त्यसपछि कार्यान्वयनमा जान्छ । त्यो आयोजक समितिको रुपमा रहन्छ ।’
    बाइट...लेखराज भट्ट, उपमहासचिव, नेकपा (एमाले)
    उपमहासचिव भट्टले अध्यक्ष पद रिक्त रहेका १३ वटा जिल्लाको अध्यक्ष तोक्ने जिम्मेवारी पार्टीको तल्लो कमिटीलाई दिइएको समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल


    ३६. त्रिभूवन विश्वविद्यालयद्वारा ३० अर्ब ८७ करोडको बजेट पारित, बजेट अभावमा सञ्चालन खर्च जुटाउनै सास्ती
    त्रिभूवन विश्वविद्यालयले आर्थिक वर्ष २०८३÷०८४ का लागि प्रश्तावित ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ । रोल....
    बिहीवार विश्वविद्यालयको सभाको साधारण बैठकले रजिस्ट्रार रविन्द्र शिवाकोटीले प्रश्तुत गर्नुभएको उक्त बजेट स्वीकृत गरेको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९ दशमलव ७७ प्रतिशतले बढी हो । सभाको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार शिवाकोटीले आन्तरिक स्रोतबाट १५ अर्ब ३६ करोड र सरकारको अनुदानबाट १५ अर्ब ६२ करोड रुपैयाँ बजेट प्रश्ताव गर्नुभएको थियो । सरकारले चालु आर्थिकक वर्षको ७ अर्ब ३१ करोड रुपैपाँ त्रिभूवन विश्वविद्यालयलाई अनुदानका रुपमा दिएको छ । रजिस्ट्रार शिवाकोटीले सरकारले त्रिविलाई ४ अर्ब ८० करोड रुपैयाँ कम बजेट विनियोजन गरेको कारण करिव ८ अर्ब ३१ करोड रुपैयाँ अपुग हुने बताउनु भयो । रजिस्ट्रार शिवाकोटीकाअनुसार कुल प्रश्तावित बजेटबाट सञ्चालन खर्चतर्फ कुल प्रश्तावित बजेटको ८६ दशमलव १४ प्रतिशत र पुँजीगत खर्चतर्फ कुल प्रश्तावित बजेटको १३ दशमलव ८६ प्रतिशतले हुन आउने रकम प्रक्षेपण गरिएको बताउनु भयो । उहाँले अपुग रकम नेपाल सरकारबाट प्राप्त हुन नसकेमा अनिवार्य दायित्व शिर्षक अन्तर्गत खर्च समेत व्यहोर्न नसकिने अवस्था सरकारलाई जानकारी गराइसकेको जानकारी समेत दिनुभयो । उहाँले नपुग रकमको व्यवस्था मिलाइदिन त्रिविका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र साहलाई अनुरोध समेत गर्नुभयो ।
    उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष  २०८३÷८४ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न स्वायत्ततामा गएका आठवटा क्याम्पसहरू समेत नेपाल सरकारबाट २०८३÷८४ को बजेटमा राष्ट्रसेवक शिक्षक तथा कर्मचारीको तलव वृद्धि १० प्रतिशत र सो पश्चात वृद्धि भई हुन आउने रकममा १० प्रतिशत प्रोत्साहन भत्ता समेत गरी ३० अर्ब ८७ करोड ११ लाख ८ हजार बजेट प्रश्ताव गरेको छु । जुन अघिल्लो आर्थिक वर्षको बजेटभन्दा ९ दशमलव ७७ प्रतिशतले बढी हुन आउँछ । उक्त प्रस्तावित बजेटमा त्रिभुवन विश्वविद्यालयले आफ्नै आन्तरिक साधन र स्रोतबाट ४९ दशमलव ३८ प्रतिशत रकम रु १५ अर्ब २४ करोड २७ लाख ५ हजार र नेपाल सरकारको बजेटबाट कुल प्रश्तावित बजेटको ५० दशमलव ६२ प्रतिशतले हुन आउने रकम १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रहेको छ । सो कुल प्रश्तावित बजेटबाट सञ्चालन खर्चतर्फ कुल प्रश्तावित बजेटको ८६ दशमलव १४ प्रतिशत र पुँजीगत खर्चतर्फ कुल प्रस्तावित बजेटको १३ दशमलव ८६ प्रतिशतले हुन आउने रकम प्रक्षेपण गरेको छु । नेपाल सरकारबाट आर्थिक वर्षमा अनुदान रकम ७ अर्ब ३१ करोड ६ लाख ५६ हजार विनियोजन भएको छ । नेपाल सरकारबाट गत वर्षमा विनियोजन गरिएको भन्दा रु ४ अर्ब ८० करोड कम विनियोजन भएको अवस्था साथै नेपाल सरकारबाट राष्ट्रसेवक शिक्षक तथा कर्मचारीका निम्ति तलब वृद्धि तथा प्रोत्साहन भत्ताको व्यवस्थाबाट सिर्जना हुने दायित्व समेत गरी रु ८ अर्ब ३१ करोड ८७ लाख ४७ हजार न्युन हुने देखिन्छ । यो अपुग रकम नेपाल सरकारबाट प्राप्त हुन नसकेमा अनिवार्य दायित्व शीर्षक अन्तर्गत खर्च समेत व्यहोर्न नसकिने अवस्था नेपाल सरकारलाई समय समयमा अवगत गराइएको छ । नेपाल सरकारबाट अनिवार्य दायित्व अन्तर्गतको आवश्यक रकम व्यवस्था गर्ने कार्य अगाडि बढिरहेको व्यहोरा सम्मानित सभा समक्ष जानकारी गराउन चाहन्छु । उक्त नपूग रकमको व्यवस्था मिलाइदिनुहुन सम्मानित प्रधानमन्त्रीज्यु एवं त्रिविका कुलपतिज्यु र त्रिविका सह–कुलपतिज्यु समक्ष हार्दिक अनुरोध गर्दछु ।’
    बाइट.... रविन्द्र शिवाकोटी, रजिष्ट्रार, त्रिभूवन विश्वविद्यालय 
    विश्वविद्यालयले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राविधिक, श्रम बजारमुखी र ज्ञान उत्पादन गर्ने कार्यक्रमको सुधार र विस्तार गर्ने नीति लिएको छ । अनुसन्धान कार्यलाई प्रभावकारी बनाउने तथा सरकारको प्राथमिकताको क्षेत्रमा अनुसन्धान केन्द्रित गर्ने गर्ने समेत जनाएको छ । –न्युज एजेन्सी नेपाल

    ३७. यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदैः व्यवस्थापन संकायका मात्रै ४३ हजार बढी
    त्रिभूवन विश्वविद्यालयले चालु शैक्षिक वर्षमा स्नातकदेखि विद्यावारिधिसम्मका ९५ हजार ५४० विद्यार्थीलाई दीक्षित गर्ने भएको छ । रोल...
    बिहीवार त्रिभूवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस बैठकले ६४ औँ ग्रेस लिस्ट पारित गर्दै उक्त संख्याका विद्यार्थीलाई दिक्षान्त समारोहमा सहभागी गराउने निर्णय गरेको हो । त्रिविका रजिस्ट्रार रविन्द्र शिवाकोटीले प्रश्तुत गर्नुभएको विवरणअनुसार २०८२ असार १ गतेदेखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीलाई ६४औँ ग्रेस लिस्टमा समावेश गरिएको छ । ग्रेस लिस्टमा परेका विद्यार्थी मध्ये ८४ दशमलव ९० प्रतिशत साधारण र १५ दशमलव १० प्रतिशत प्राविधिकतर्फका रहेका छन् । ग्रेस लिस्टअनुसार एमफिलतर्फ २५३, पोस्ट ग्राजुएट डिप्लोमातर्फ १८४ र विद्यावारिधितर्फ १६६ विद्यार्थी रहेका छन् । संकाय तथा अध्ययन संस्थानतर्फ व्यवस्थापन संकायका सबैभन्दा धेरै ४३ हजार १४२, शिक्षाशास्त्रमा १० हजार ५३३, मानविकी तथा सामाजिकशास्त्रमा १५ हजार ४४१ र कानुनमा ३ हजार १ विद्यार्थी रहेका छन् । विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानमा ५ हजार १६०, चिकित्साशास्त्र अध्ययन संस्थानमा १ हजार ९२०, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ४६३ र वन विज्ञान अध्ययन संस्थानमा १९२ विद्यार्थी रहेको रजिस्टार शिवोकोटीले जानकारी दिनुभयो ।
    उहाँले भन्नुभयो, ‘ग्रेस लिस्टमा २०८२ असार १ गते देखि २०८३ असार मसान्तसम्म ६४औँ ग्रेस लिस्ट अनुसार कुल विद्यार्थी संख्या ९५ हजार ५ सय ४० रहेको छ । यसमध्ये प्राविधिक तर्फ १५ दशमलव १० र साधारण तर्फ ८४ दशमलव ९० प्रतिशत रहेका छन् । एमफिल गर्ने २५३ जना, पोस्ट ग्याजुएट डिप्लोमा १८४ जना र विद्यावारिधि १६६ जना रहेका छन् । संकायगत रूपमा हेर्दा व्यवस्थापन संकायमा ४३ हजार १४२ जना, शिक्षाशास्त्र संकायमा १० हजार ५३३ जना, मानविकी तथा सामाजिक शास्त्र संकायमा १५,४४१ र कानुन संकायमा ३ हजार १ जनशक्ति उत्पादन भएको छ । यसैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार ६८८ जना, इन्जिनियरिङ अध्ययन संस्थानमा ५ हजार १६० जना, चिकित्साशास्त्र अध्ययन संस्थानमा १ हजार ९२० जना, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ४६३ जना र वन विज्ञान अध्ययन संस्थानमा १९२ जनशक्ति उत्पादन भएको छ । व्यवस्थापन संकायतर्फ स्नातक तहमा ३२ हजार १५२ जनाले ट्रान्सक्रिप्ट लिनुभएको छ । र त्यस्तै स्नातकोत्तर तहमा १० ९०४ जना, एमफिल तहमा ६० जना, पीजीडी अधिसनातकमा १८ जना र विद्यावारिधिमा ८ जना र समग्रमा व्यवस्थापन संकायमा ४३ हजार १४२ जनाले ट्रान्सक्रिप्ट लिनुभएको छ । र त्यस्तै शिक्षाशास्त्र संकायमा स्नातक तहमा १६ हजार ३८९ जना, स्नातकोत्तर तहमा ३ हजार ४३ जना, एमफिल तहमा २८ जना, अधिसनातकमा ५२ जना  विद्यावारिधिमा २१ जनाले ट्रान्सक्रिप्ट लिनुभएको छ । आज उपाधि प्रदान गर्न अनुमति पाउने विद्यार्थीहरूको दिक्षान्त कार्यक्रमलाई २०८३ साल पौष महिनामा काठमाडौँमा मूल दीक्षान्त समारोह आयोजना गर्ने तयारी भइरहेको भइरहेको छ ।’
    बाइट....रविन्द्र शिवाकोटी, रजिस्ट्रार, त्रिभूवन विश्वविद्यालय
    विश्वविद्यालयले आगामी पुसमा काठमाडौंमा मूल दिक्षान्त समारोह आयोजना गर्ने तयारी गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । यस वर्षदेखि विद्यार्थीको सहजताका लागि सातै प्रदेशमा दीक्षान्त समारोह सञ्चालन गरिनेछ । –न्युज एजेन्सी नेपाल


    ३८. ऋण लिएर ऋण तिर्दै सरकार
    पछिल्लो समय राज्यले ऋण तिर्न ऋण नै लिएको पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ प्रतिवेदनमा सरकारले आन्तरिक ऋणको परिचालन बढाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको साँवा भुक्तानीमै खर्च भइरहेको देखाएको हो । जसका कारण आन्तरिक ऋण परिचालनबाट पुँजी निर्माण र अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न नसकेको आयोगले औंल्याएको छ । 
    आयोगको आठौं वार्षिक प्रतिवेदन, २०८३ अनुसार पछिल्ला वर्षमा मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी)को तुलनामा आन्तरिक ऋणको अनुपात करिव ५ प्रतिशतको हाराहारीमा रहे पनि ऋणको रकम भने निरन्तर बढ्दै गएको छ । आर्थिक वर्ष २०७८÷७९ को तुलनामा आर्थिक वर्ष २०८२÷८३ मा आन्तरिक ऋण ४५ प्रतिशतले बढेको आयोगको प्रतिवेदनमा उल्लेख छ । तर परिचालित आन्तरिक ऋणको ठूलो हिस्सा नयाँ विकास निर्माणमा भन्दा पुरानो ऋणको साँवा तिर्न प्रयोग भइरहेको छ । आर्थिक वर्ष २०८१÷८२ मा खुद आन्तरिक ऋण परिचालन कुल गार्हस्थ्य उत्पादनको १.४१ प्रतिशत मात्र रहेको आयोगले जनाएको छ । 
    ऋण सेवा खर्च निरन्तर बढ्दै गएकाले परिचालित अधिकांश आन्तरिक ऋण पुरानो ऋण भुक्तानीमै प्रयोग भएको आयोगको निष्कर्ष छ । यसबाट नयाँ पुँजी निर्माण हुने तथा अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्ने अवस्था कमजोर रहेको प्रतिवेदनले देखाएको छ ।
    प्रतिवेदनअनुसार नेपालको कुल सार्वजनिक ऋण पनि पछिल्ला वर्षमा बढ्दै गएको छ । आर्थिक वर्ष २०७७÷७८ मा कुल तिर्न बाँकी सार्वजनिक ऋण जीडीपीको ४०.७२ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१÷८२ मा बढेर ४३.७९ प्रतिशत पुगेको आयोगले जनाएको छ । त्यसैगरी ऋणको साँवा तथा ब्याज भुक्तानीको दायित्वसमेत बढेको छ । जीडीपीको अनुपातमा ऋणको साँवा भुक्तानी आर्थिक वर्ष २०७७÷७८ मा १.४१ प्रतिशत रहेकोमा २०८१÷८२ मा बढेर ४.७७ प्रतिशत पुगेको छ । ब्याज तथा कमिसन भुक्तानीको हिस्सा पनि सोही अवधिमा ०.८१ प्रतिशतबाट बढेर १.१५ प्रतिशत पुगेको छ । 
    ऋण सेवा खर्च बढ्दा बजेट घाटामा चाप पर्ने र पुँजीगत बजेट विनियोजनमा संकुचन आउने अवस्था देखिएको आयोगको विश्लेषण छ । सार्वजनिक ऋणको हिस्सा बढ्दै गए पनि आर्थिक वृद्धिदर र निर्यात कमजोर रहनुका साथै राजस्वको हिस्सा घट्दै गएको भन्दै आयोगले ऋण परिचालन गर्दा आर्थिक गतिविधि विस्तारमा सकारात्मक प्रभाव पर्ने सुनिश्चितता गर्नुपर्नेमा जोड दिएको छ ।
    चार वर्षमा आन्तरिक ऋण दायित्व २८ प्रतिशत बढ्यो
    सरकारले आयोगले सिफारिस गरेको सीमाभित्र रहेर आन्तरिक ऋण परिचालन गरे पनि तिर्न बाँकी आन्तरिक ऋण भने निरन्तर बढ्दै गएको छ । आर्थिक वर्ष २०७८÷७९ मा तिर्न बाँकी आन्तरिक ऋण ९ खर्ब ८७ अर्ब रुपैयाँ रहेकोमा करिव २८ प्रतिशतले बढेर आर्थिक वर्ष २०८१÷८२ को अन्त्यसम्म १२ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको २०.६८ प्रतिशत बराबर हो ।
    आयोगकाअनुसार आर्थिक वर्ष २०८१÷८२ मा तोकिएका आयोजनामा बजेट अपुग भएको अवस्थामा तथा प्रदेश र स्थानीय तहले आन्तरिक ऋण परिचालन नगरेको अवस्थामा तोकिएको थप सीमाभित्र रहेर संघीय सरकारले आन्तरिक ऋण परिचालन गरेको थियो ।
    दीर्घकालीन ऋणमा जोड दिन सुझाव
    आर्थिक वर्ष २०७७÷७८ मा कुल २ खर्ब २४ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन भएकोमा ४७.३२ प्रतिशतले बढेर आर्थिक वर्ष २०८१÷८२ मा ३ खर्ब २९ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । कुल परिचालित आन्तरिक ऋणमा दीर्घकालीन उपकरणको हिस्सा आर्थिक वर्ष २०७७÷७८ मा ५९.८२ प्रतिशत रहेकोमा २०८०÷८१ मा ७६.५० प्रतिशत पुगेको थियो। तर २०८१÷८२ मा पुनः घटेर ६५.१५ प्रतिशतमा झरेको छ । सरकारले आन्तरिक ऋण परिचालन गर्दा दीर्घकालीन उपकरणको प्रयोगलाई प्राथमिकता दिनुपर्ने आयोगले सुझाव दिएको छ । आयोगका अनुसार सरकारले सकेसम्म दीर्घकालीन उपकरणमार्फत आन्तरिक ऋण परिचालन गर्ने नीति निरन्तरता दिनुपर्छ ।  
    चालु खर्च धान्नै ऋणको सहारा
    सरकारको चालु खर्च निरन्तर बढिरहेको भए पनि त्यसअनुसार राजश्व सङ्कलन बढ्न नसकेको आयोगले जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ सम्म संघीय सरकारको राजस्व आम्दानीभन्दा आन्तरिक ऋणको वित्तीय व्यवस्थापन खर्च र चालु खर्चको योगफल बढी रहेको प्रतिवेदनमा उल्लेख छ । 
    यसले सरकारको नियमित खर्च धान्नसमेत ऋणमा निर्भरता बढ्दै गएको देखाएको छ । आयोगले चालु खर्चमा मितव्ययिता अपनाउनुका साथै राजस्वको दायरा विस्तार, कुशल राजश्व व्यवस्थापन तथा प्रशासनिक सुधारमार्फत राजश्व संकलन बढाउन सरकारलाई सुझाव दिएको छ ।
    सरकारको वित्तीय अवस्था पनि पछिल्ला वर्षमा दबाबमा रहेको आयोगको प्रतिवेदनले देखाएको छ । आर्थिक वर्ष २०७८÷७९ देखि २०८२÷८३ सम्म सरकार निरन्तर बजेट घाटामा रहेको छ ।
    सबै आर्थिक वर्षमा सरकारको कुल बचत ऋणात्मक रहेको छ । आर्थिक वर्ष २०७९÷८० मा कुल बचत सबैभन्दा बढी ५.८० प्रतिशतले ऋणात्मक रहेकोमा २०८२÷८३ मा पनि ३.०८ प्रतिशत ऋणात्मक रहेको छ ।
    प्राथमिक बचतको अवस्था पनि कमजोर बनेको छ । आर्थिक वर्ष २०८०÷८१ मा १.०५ प्रतिशत सकारात्मक रहेको प्राथमिक बचत आर्थिक वर्ष २०८२÷८३ मा १.५६ प्रतिशत ऋणात्मक भएको छ । कुल वचत र प्राथमिक वचत दुवै ऋणात्मक रहनु तथा पछिल्ला वर्षमा वित्तीय अवस्था थप कमजोर बन्दै जानुले सरकारलाई थप ऋण परिचालन गर्नुपर्ने दबाब बढाएको आयोगको प्रतिवेदनले देखाएको छ । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आश्विन २२ २०८३ बिहिवार - २०:३३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij