२०८३ आश्विन २१ गते बुधवार
काठमाडौं । पशुपतिनाथको मुख्य मन्दिरमा गैरहिन्दू प्रवेश गरेको घटनामा जोडिएका इटहरीकी प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन् ।
पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई इटहरीबाट पक्राउ गरिएको हो । पक्राउ परेका परियार र अन्सारीलाई प्रहरी वृत्त गौशाला पठाइएको छ ।
पशुपति मन्दिरमा गैरहिन्दु प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि उनीहरुलाई पक्राउ गरिएको हो । अन्सारी र परियारले प्रेम विवाह गरेका थिए । प्रेम विवाह गरेका उनीहरु केही दिनअघि पशुपतिनाथ मन्दिरमा गएर भिडियो बनाएका थिए ।
उनीहरुले बनाएको भिडियोमा अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिन्छ । सोही टोपीका आधारमा सांसद खुस्वु ओलीले प्रतिनीधि सभाको बैठकमा प्रश्न गरेकी थिइन् । संसदमा नै प्रश्न उठेपछि पुशपति नाथ दर्शन गरेर घर आएका उनीहरुलाई पक्राउ गरिएको हो ।
परियारले श्रीमान् अन्सारीलाई पशुपतिनाथ लगेको बताउँदै पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र भएको उल्लेख गरेकी छन् । आफ्नो धार्मिक आस्थाको केन्द्रमा श्रीमानलाई सँगै लिएर जानुलाई अन्य उद्देश्यबाट नबुझ्नसमेत उनले प्रहरीसँग आग्रह गरेकी छन् । अन्सारी इटहरीमा व्यापार व्यवसाय गर्दै आएका छन् । उनी इटहरी–८ का स्थायी बासिन्दा हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij