२०८३ मंसिर ५ गते शनिवार
१. हरिवोधिनी एकादशीमा बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको घुइँचो
हरिवोधिनी एकादशीको अवसरमा काठमाडौंको बुढानीलकण्ठस्थित प्रसिद्ध बुढानीलकण्ठ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । एकादशीका दिन भगवान विष्णुको पूजा, आराधना तथा दर्शन गर्न काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजन मन्दिर पुगेका छन् । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्वका रूपमा मनाइने हरिवोधिनी एकादशीलाई भगवान विष्णु चार महिनापछि योगनिन्द्राबाट जागा हुने दिनका रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीदेखि क्षीरसागरमा शयन गर्नुभएका भगवान विष्णु कार्तिक शुक्ल एकादशीका दिन जागा हुने धार्मिक विश्वास छ । त्यसैले यस दिनलाई हरिवोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।
२. स्थानीय र प्रदेश निर्वाचन संविधानले तोकेको पाँच वर्षे कार्यकाललाई आधार मानेर हुनुपर्छः प्रचण्ड
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले स्थानीय तह र प्रदेशको निर्वाचन संविधान तथा कानुनले व्यवस्था गरेको पाँच वर्षे कार्यकाललाई आधार मानेर गरिनुपर्ने बताउनुभएको छ । शुक्रवार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा राजनीतिक दलहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले यस्तो बताउनुभएको हो । उहाँले स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा राजनीतिक दलहरूबीच थप छलफल आवश्यक रहेको बताउनु भयो । संविधान र कानूनले स्थानीय तथा प्रदेश सरकारलाई पाँच वर्षको पूर्ण कार्यकाल सुनिश्चित गरेकाले त्यसैलाई आधार मानेर निर्वाचन सम्पन्न गर्नुपर्ने उहाँको भनाइ छ ।
३. स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगद्वारा दलहरूसँग छलफल शुरु
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी र व्यवस्थापनका विषयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल शुरु गरेको छ । शुक्रवार आयोगमा आयोजित छलफलमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, प्रतिपक्ष दलहरु नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सहभागी भएका छन् । छलफलमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी छन् ।
४. सुशासन र पारदर्शिताको माग गर्दै जेन–जी अभियन्ताको प्रदर्शन, प्रधानमन्त्रीका सल्लाहकारमाथि प्रश्न
सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । शुक्रवार दिउँसो काठमाडौंको माईतीघर मण्डलामा भेला भएका अभियानका सदस्यहरूले ज्वागलसम्म मार्च गर्दै सरकारसँग जवाफदेहिता माग गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘इनमको फोनको लोकेसनः ज्वागल ललितपुर’, ‘कुमारजी आज्ञा गर्नुहुन्छ, रास्वपा चुप लाग्छ’, ‘रास्वपा सरकार के भन्छ, कुशासनलाई बचाउ भन्छ’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी जेन–जी अभियन्ता जश्मिन ओझाले आफूहरू कुनै व्यक्ति विशेषको विरोधमा नभई राज्यका संस्थागत संरचनामा पारदर्शिता र जवाफदेहिता खोज्न सडकमा आएको बताउनु भयो ।
५. सामुदायिक विद्यालयको जिम्मेवारी स्थानीय तहले लिनुपर्छः पूर्वराष्ट्रपति यादव
पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको शिक्षा प्रणाली सुधारका लागि सामुदायिक विद्यालयको जिम्मेवारी स्थानीय तह, समुदाय र विद्यालयले लिनुपर्ने बताउनुभएको छ । शुक्रवार जनकपुरधाममा प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान) को राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले शिक्षा सुधारको मुख्य जिम्मेवारी स्थानीय सरकार र समुदायको हुनुपर्ने बताउनुभएको हो । यादवले नेपालको शिक्षा प्रणाली सन्तोषजनक नरहेको उल्लेख गर्दै सार्वजनिक र निजी शिक्षाबीचको विभाजनले शैक्षिक क्षेत्रमा असमानता बढाएको धारणा राख्नुभयो । शिक्षा समाजलाई समान बनाउने माध्यम हुनुपर्ने भए पनि नेपालमा दुई धारको शिक्षा प्रणाली विकास हुँदा त्यसको उद्देश्य कमजोर भएको उहाँको भनाइ छ ।
६. विश्व जलवायु सम्मेलनः नेपालको एजेण्डा किन साँघुरो भयो ?
टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–३१ को आज अन्तिम दिन भएपनि मुख्य राजनीतिक बुँदाहरूमाथि सहमति जुट्न नसकेका कारण वार्ता लम्बिने देखिएको छ । कोप–३१ का मुख्य एजेण्डाहरूमा अझै तिब्र मतभेद कायम छ । नेपाल, भूटानसहितका मुलुकले उठाएको माउण्टेनको एजेण्डा, जलवायु वित्त बढाउने, विभिन्न कोषका निर्देशिकाहरु, अनुकुलन कोषलाई तेब्बर बनाउने र जिवाश्मा इन्धनको कटौति लगायत मुलभुत एजेण्डामा सहमति जुटेको छैन । नेपालले उठाएको पर्वतीय (माउण्टेन) एजेण्डाले छुट्टै औपचारिक एजेन्डाको स्थान पाउने संभावना झिनो बन्दै गएको छ ।
७. मोदीको दिवाभोजदेखि नेपाल–भारत बिजनेस फोरमसम्म, प्रधानमन्त्री साहको भारत भ्रमणमा आर्थिक कुटनीतिलाई प्राथमिकता
प्रधानमन्त्री बालेन्द्र साहको आसन्न भारत भ्रमणमा राजनीतिक भेटवार्तासँगै आर्थिक कुटनीति र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिइने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते हुन लागेको दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री साहले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुका साथै नेपाल र भारतका व्यवसायीबीच आर्थिक सहकार्य विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफलसमेत आयोजना हुने जानकारी दिनुभयो । उक्त फोरममा दुवै देशका व्यवसायीबीच सहकार्यका सम्भावना, नीतिगत दृष्टिकोण र आर्थिक साझेदारीका प्रयासबारे छलफल हुनेछ ।
८. मधेसमा मुख्यमन्त्री नियुक्तिको अन्योल, समय थप्न तीन दलको माग, ठूलो दलले माग्यो धारा १६८(३) अनुसार सरकार
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिए पनि मुख्यमन्त्रीमा दाबी पेश हुन सकेको छैन । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि दिएको सात दिनको समय शुक्रवार अपराह्न ४ बजे सकिएको हो । तर उक्त अवधिमा कुनै पनि राजनीतिक दलले मुख्यमन्त्रीमा दाबी पेश गरेनन् । समयसीमा सकिएपछि नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले प्रदेश प्रमुख कर्णसँग भेट गरी सरकार गठनका लागि थप समय माग गरेका छन् । नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले सात दिनको समयमध्ये चाडपर्व र एमालेको महाधिवेशनका कारण राजनीतिक छलफलका लागि पर्याप्त समय नपुगेको बताउनु भयो ।
९.प्रधानमन्त्री साह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने, ऊर्जा र पूर्वाधार सहकार्य प्राथमिकतामा
प्रधानमन्त्री बालेन्द्र साह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जानुहुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री साह मंसिर ६ र ७ गते भारत भ्रमणमा जान लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिनुभयो । उहाँकानुसार प्रधानमन्त्री साह मंसिर ६ गते आईतवार मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन् ।
१०. प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुग्छौंः रास्वपा
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा वृहत छलफलपछि मात्रै निष्कर्षमा पुग्ने जनाएको छ । शुक्रवार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न राजनीतिक दलका शिर्ष नेताहरूलाई बोलाएपछि रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले यस्तो बताउनुुभएको हो । उहाँले निर्वाचन आयोगले राखेको छलफलमा स्थानीय तह र प्रदेशको निर्वाचन सँगै गराउने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयका दुवै पक्षका फाइदा र बेफाइदाबारे छलफल हुने बताउनु भयो । खरेलले निर्वाचन आयोग, राजनीतिक दल, सरकार तथा अन्य सरोकारवालाबीच वृहत छलफल गरेर मात्रै निर्वाचनको विषयमा निष्कर्ष निकाल्नुपर्ने धारणा राख्नुभयो ।
११. नेपालमा पहिलोपटक यू–२० फोर नेसन कबड्डी कप, उपाधि जित्ने लक्ष्यसहित नेपालको तयारी
नेपालमा पहिलोपटक यू–२० फोर नेसन अन्तर्राष्ट्रिय कबड्डी कप आयोजना हुने भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र थाइल्याण्डका जुनियर राष्ट्रिय टोली सहभागी हुनेछन् । प्रतियोगिता शनिवारदेखि ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो हलमा शुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलअघि दिउँसो १ बजेदेखि औपचारिक कार्यक्रम हुनेछ भने खेलहरू दिउँसो २ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गर्ने कार्यक्रम छ । अखिल नेपाल कबड्डी संघकाअनुसार प्रतियोगिता आयोजना गर्न चार राष्ट्रबीच थाइल्याण्डको क्राबी शहरमा सहमति भएको थियो ।
१२. जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामलाई सुन्दर र व्यवस्थित शहरका रूपमा विकास गर्न अभियान शुरु भइसकेको बताउनुभएको छ । जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै उहाँले जानकी मातासँग सम्बन्धित सबै संरचनाको पुनर्निर्माण र व्यवस्थापन गरिने बताउनुभएको हो । यसका लागि बजेटमा कुनै कन्जुसी नगरिएको उल्लेख गर्दै उहाँले जनकपुरधामको विकासका लागि पर्याप्त बजेट विनियोजन गरिएको दाबी गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको बजेटमा जनकपुरधामको सहरलाई सुन्दर र व्यवस्थित बनाउने योजनालाई प्राथमिकता दिइएको बताउनु भयो । आगामी चैत–वैशाखसम्म जनकपुरधाममा उल्लेखनीय परिवर्तन देखिने उहाँको भनाइ छ । मन्त्री लम्सालले जनकपुरधामको विकासका लागि आवश्यक पूर्वाधारमा क्रमशः लगानी बढाउँदै लगिने पनि बताउनु भयो । विवाहपञ्चमी महोत्सवलाई प्रवद्र्धन गर्न र उत्सवको रौनक बढाउन बजेट छुट्याउने विषयमा पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
१३. जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन
जनकपुरधाममा यस वर्षको रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी शुरु गरिएको छ । महोत्सवलाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन जानकी मन्दिरले विभिन्न समिति तथा उपसमिति गठन गरी तयारी अघि बढाएको हो । जानकी मन्दिरमा बसेको सर्वपक्षीय बैठकले मंसिर २३ गतेदेखि शुरु हुने साताव्यापी विवाहपञ्चमी महामहोत्सवको तयारीलाई तीव्रता दिने निर्णय गरेको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवकाअनुसार महोत्सव व्यवस्थापनका लागि शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रंगभूमि गेट, पण्डाल व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी तथा विद्युत् आपूर्तिलगायतका समिति तथा उपसमिति गठन गरिएको छ ।
१४. जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु हुँदै, एक हजार बढी सहभागी हुने
प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रवार (आज) देखि जनकपुरधाममा शुरु हुँदैछ । विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय नेतृत्वको सुदृढीकरण तथा तीनै तहका सरकारबीच शैक्षिक सहकार्य बढाउने उद्देश्यले मंसिर ४ देखि ६ गतेसम्म सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा सातै प्रदेशबाट एक हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि र शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ । प्रधानाध्यापक संघ नेपाल मधेसका अध्यक्ष सञ्जय झाले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय नेतृत्व, स्थानीय सरकार, शिक्षक, अभिभावक र नीति निर्माताबीच सहकार्य बढाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको बताउनु भयो ।
१५. जनकपुर–अयोध्या रेल र हवाई सेवा सञ्चालन गर्न प्रधानमन्त्रीलाई निधीको आग्रह
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले जनकपुरधाम र भारतको अयोध्याबीच रेल तथा हवाई सेवा सञ्चालनलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री बालेन्द्र साहलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री साहको आसन्न भारत भ्रमणको सन्दर्भमा शुक्रवार जनकपुरधाममा धारणा राख्दै निधिले जनकपुर–अयोध्या धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई यातायात सेवामार्फत थप विस्तार गर्नुपर्ने बताउनुभएको हो । उहाँले जनकपुरस्थित जानकी मन्दिर र अयोध्याबीच धार्मिक सम्बन्ध ऐतिहासिक रहेकाले दुई धार्मिक सहरलाई रेल सेवामार्फत जोड्नु महत्वपूर्ण हुने बताउनु भयो । जनकपुर–अयोध्या रेल सेवा नियमित सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ठोस पहल हुनुपर्ने उहाँको भनाइ छ । निधीले रेल सेवासँगै जनकपुर र अयोध्याबीच हवाई सेवा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
१६. ९५ वर्षीय ज्येष्ठ नागरिकबाट पक्की पुल उद्घाटन, तोडियो परम्परा
विकास निर्माणका संरचना राजनीतिक नेता तथा जनप्रतिनिधिबाट उद्घाटन गराउने परम्परा तोड्दै लमजुङमा ९५ वर्षीय ज्येष्ठ नागरिकबाट पक्की पुल उद्घाटन गरिएको छ । मध्यनेपाल नगरपालिका–१ र २ जोड्ने खहरे खोलामा निर्माण सम्पन्न भएको पक्की पुल स्थानीय ९५ वर्षीय गोरे सार्कीले रिबन काटेर उद्घाटन गर्नुभएको हो । मध्यनेपाल नगरपालिका–१ का वडाध्यक्ष सुदीप थापाले परम्परागत शैलीभन्दा फरक अभ्यास गर्दै समाजका ज्येष्ठ नागरिक सार्कीलाई पुल उद्घाटनको सम्मान प्रदान गर्नुभएको हो । पुल उद्घाटनका विषयमा विभिन्न पक्षबाट राजनीतिक दबाब र धम्कीसमेत आएको वडाध्यक्ष थापाले बताउनु भएको छ ।
१७. आर्थिक अभावले अफगान बालबालिका सडकमा, परिवार पाल्ने जिम्मेवारी बाल्यकालमै
अन्तर्राष्ट्रिय समुदायले बालअधिकार र बालकल्याण प्रवद्र्धनका लागि विश्व बाल दिवस मनाइरहँदा अफगानिस्तानका हजारौँ बालबालिका भने परिवारको गुजारा चलाउन सडकमा काम गर्न बाध्य छन् । गरिबी र आर्थिक सङ्कटका कारण बालबालिकाले पढ्ने, खेल्ने र रमाउने उमेरमै परिवारको आर्थिक जिम्मेवारी सम्हाल्नुपरेको छ । राजधानी काबुलका सडकमा सामान बेच्दै हिँड्ने १३ वर्षीय मोहम्मद जमिर पनि त्यस्तै बालबालिकामध्ये एक हुन् । जमिर आफ्ना भाइसँग बिहानदेखि दिउँसोसम्म फाइल राख्ने फोल्डर बेच्ने गर्छन् । आठ सदस्यीय परिवारको खर्च जुटाउन सहयोग गर्नुपर्ने बाध्यताका कारण उनले सानै उमेरमा काम शुरु गरेका हुन् । कक्षा ३ मा अध्ययनरत उनले दैनिक २०० देखि ३०० अफगानी कमाउने गरेका छन् । सशस्त्र द्वन्द्वका क्रममा बुबा गुमाएका जमिरको सपना भने इन्जिनियर बन्ने छ । सडकमा सामान बेच्नुपर्ने बाध्यता भए पनि उच्च शिक्षा हासिल गरेर आफ्नो देशको पुनर्निर्माणमा योगदान गर्ने चाहना रहेको उनले बताएका छन् ।
१८. इण्डोनेसियाको संसद्बाट भ्रष्टाचारलगायत अपराधमा संलग्न सम्पती जफत गर्ने कानून पारित
इण्डोनेसियाको संसदले भ्रष्टाचार तथा अन्य आपराधिक गतिविधिबाट आर्जित सम्पती जफत गर्न सकिने कानून पारित गरेको छ । बिहीवार संसदबाट पारित उक्त कानुनले निश्चित परिस्थितिमा आपराधिक कसुरमा दोषी ठहर नभए पनि सम्बन्धित सम्पत्ति जफत गर्न सरकारी निकायलाई अधिकार दिएको छ । यससँगै सन् २००८ देखि शुरु भएको १८ वर्ष लामो विधायिकी प्रक्रिया टुङ्गिएको छ । उक्त कानूनी व्यवस्था ल्याउने विषयमा लामो समयदेखि पटक–पटक छलफल हुँदै आएको थियो । नयाँ कानूनले भ्रष्टाचार, लागुऔषध कारोबार, आतंकवाद तथा आतंकवादी गतिविधिमा आर्थिक सहयोग, मानव तस्करी, हतियार तस्करी र मानव बेचबिखनजस्ता अपराधबाट आर्जित सम्पतीलाई समेटेको छ ।
१९. किसानका उत्पादन बजारसम्म पु¥याउन विशेष बस सेवा शुरु
चीनको पूर्वी प्रान्त चच्याङको हाइनिङमा किसानका ताजा कृषि उपज सहरी बजारसम्म सहज रूपमा पु¥याउने उद्देश्यले विशेष बस सेवा शुरु गरिएको छ । बिहानै सञ्चालन हुने उक्त बसले ह्वाङवान टाउनबाट किसान र उनीहरूले उत्पादन गरेका ताजा फलफूल तथा तरकारी संकलन गरी बजारसम्म पु¥याउने गरेको छ । बिहान करिव ६ बजे छुट्ने बसले पहिलेभन्दा छिटो र कम समयमा यात्रा पूरा गर्दै ३३ किलोमिटरको मार्गमा रहेका तीन व्यस्त सहरी बजारलाई जोडेको छ । विशेष बस सेवाले किसानलाई कृषि उपज बजारसम्म पु¥याउन सहज भएको छ । किसान सुश्री चाउले अब बीचमा बस परिवर्तन गर्नुपर्ने झन्झट हटेको र सिधै बजार पुग्न सकिने बताइन् ।
२०. घानामा खोप अनुसन्धान र डीएनएका लागि अत्याधुनिक प्रयोगशाला सञ्चालनमा
घानाले खोप अनुसन्धान तथा मानव पहिचानसम्बन्धी अनुसन्धानलाई प्रवद्र्धन गर्ने उद्देश्यले दुईवटा अत्याधुनिक चिकित्सा प्रयोगशाला सञ्चालनमा ल्याएको छ । घानाका राष्ट्रपति जोन ड्रामानी महामाले बुधवार राजधानी अक्रास्थित घाना विश्वविद्यालयअन्तर्गतको नोगुची मेमोरियल इन्स्टिच्युट फर मेडिकल रिसर्चमा स्थापना गरिएका प्रयोगशालाको उद्घाटन गरेका हुन् । नयाँ प्रयोगशालामध्ये खोप अनुसन्धान तथा विकास प्रयोगशालाले घानालाई खोप उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै मानव पहिचान प्रयोगशालाले व्यक्तिको पहिचान र पारिवारिक सम्बन्ध स्थापित गर्न, आनुवंशिक रोगको अवस्था अध्ययन गर्न तथा संक्रामक रोगका जीवाणु र भाइरसको निगरानी गर्न सहयोग पु¥याउनेछ ।
२१. चक्रवात ‘अक्वान’ भारतको पूर्वी तटतर्फ अघि बढेपछि सतर्कता बढाइयो
बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अक्वान’ भारतको पूर्वी तटतर्फ अघि बढेपछि भारतीय अधिकारीहरूले विपद् व्यवस्थापनको तयारी तिब्र पारेका छन् । भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ । यो शुक्रबार मध्याह्नसम्म भारतको पूर्वी तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ । चक्रवात आन्ध्र प्रदेशको नरसापुर र ओडिशाको पुरीबीचको तटीय क्षेत्रमा प्रवेश गर्ने पूर्वानुमान गरिएको छ । यसका कारण प्रतिघण्टा ९० देखि १०० किलोमिटरको गतिमा हावा चल्ने र हावाको गति प्रतिघण्टा ११० किलोमिटरसम्म पुग्न सक्ने विभागले जनाएको छ ।
२२. चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा
चीनले १०० किलोमिटरभन्दा लामो पहिलो शुद्ध हाइड्रोजन पाइपलाइन सञ्चालनमा ल्याएको छ । उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रअन्तर्गत बाओथाउमा बिहीबारदेखि १९५ किलोमिटर लामो पाइपलाइन सञ्चालनमा आएको हो । यसले हाइड्रोजन ढुवानी लागत करिब ७७ प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । सन् २०२६ को हाइड्रोजन ऊर्जा उद्योग विकास सम्मेलनमा उक्त पाइपलाइन सञ्चालनमा आएको घोषणा गरिएको हो । पाइपलाइनले दारहान मुमिङगान संयुक्त ब्यानर क्षेत्रमा उत्पादन हुने हरित हाइड्रोजनलाई औद्योगिक उपभोक्तासम्म पु¥याउनेछ ।
२३. जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड
जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले युरोपको ऊर्जा सुरक्षामा अजरबैजानको भूमिकाको प्रशंसा गर्दै दुई देशबीच आर्थिक तथा ऊर्जा सहकार्य विस्तारमा जोड दिएका छन् । बुधवार अजरबैजानको राजधानी बाकुको भ्रमणका क्रममा उनले अजरबैजानका विदेशमन्त्री जेहुन बेरामोभसँग भेटवार्ता गरेका थिए । भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा वाडेफुलले ऊर्जा आपूर्तिमा अजरबैजानले गर्दै आएको विश्वसनीय सहकार्यप्रति धन्यवाद व्यक्त गरे । उनले जर्मनीको ऊर्जा क्षेत्र र समग्र अर्थतन्त्रलाई लाभ पुग्ने गरी दुई देशबीच आर्थिक तथा ऊर्जा सम्बन्ध थप विस्तार गर्न सकिने बताए । यसका लागि दुवै देशका अर्थमन्त्रीहरू निकट भविष्यमा जर्मनीको राजधानी बर्लिनमा भेट गर्ने सहमति भएको पनि उनले जानकारी दिए ।
२४. जोर्डन र ईयूबीच १५ अर्ब डलरको लगानी अवसर खोज्न पहिलो सम्मेलन
जोर्डन र युरोपेली सङ्घ (ईयू) ले करिव १५ अर्ब अमेरिकी डलर बराबरका लगानीका अवसर पहिचान गर्ने उद्देश्यले पहिलो लगानी सम्मेलन आयोजना गरेका छन् । बिहीवार मृतसागर क्षेत्रमा आयोजित एकदिने सम्मेलनको उद्घाटन जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गरेका हुन् । सम्मेलनमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनसहित ५१ देश तथा क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए । जोर्डनको लगानी मन्त्रालयका अनुसार सम्मेलनमा निजी क्षेत्रका ३१८ कम्पनीसहित करिव ८०० जनाको सहभागिता रहेको थियो । सम्मेलनको मुख्य उद्देश्य लगानीका सम्भावनालाई कार्यान्वयन गर्न सकिने परियोजनामा रूपान्तरण गर्ने, रोजगारी सिर्जना गर्ने तथा जोर्डनमा प्रविधि र विशेषज्ञताको हस्तान्तरणलाई सहज बनाउनु रहेको छ ।
२५. दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानको मुद्दामा सर्वोच्चद्वारा पुनः सुनुवाइको आदेश
दक्षिण कोरियाको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री हान डक–सूलाई १५ वर्षको जेल सजाय सुनाउने पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै मुद्दामा पुनः सुनुवाइ गर्न आदेश दिएको छ । पूर्वराष्ट्रपति युन सुक–योलले घोषणा गरेको सैनिक शासन लागू गराउन सहयोग गरेको र विद्रोहमा साथ दिएको अभियोगसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बिहीबार यस्तो आदेश दिएको हो । सर्वोच्चले मुद्दालाई पुनर्विचारका लागि सोल उच्च अदालतमा फिर्ता पठाएको छ । सन् २०२४ डिसेम्बर ३ को राति तत्कालीन राष्ट्रपति युनले संकटकालीन सैनिक शासन घोषणा गरेका थिए । तर राष्ट्रिय सभाले केही घण्टामै त्यसलाई खारेज गरेको थियो । सर्वोच्च अदालतले सैनिक शासन घोषणा हुनुअघि र त्यसपछि हानले गरेका गतिविधिलाई छुट्टाछुट्टै रूपमा मूल्याङ्कन गरेको छ ।
२६. दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर
दक्षिण कोरियाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन हीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा चार वर्षको जेल सजाय सदर गरेको छ । सर्वोच्च अदालतले बिहीवार प्रत्यक्ष प्रसारण गरिएको सुनुवाइमार्फत किमलाई यसअघि सोल उच्च अदालतले सुनाएको चार वर्षको कैद सजायलाई सदर गरेको हो । अदालतले उनलाई पाँच करोड वन (करिव ३७ हजार ५७० अमेरिकी डलर) जरिवाना गर्ने फैसला पनि कायम राखेको छ । किममाथि घुस लिएको, सेयर कारोबारमा अनियमितता गरेको र अवैध रूपमा जनमत सर्वेक्षण गराएको गरी तीनवटा भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको थियो । यसअघि तल्लो अदालतले उनलाई २० महिनाको जेल सजाय सुनाएकोमा उच्च अदालतले बढाएर चार वर्ष पु¥याएको थियो ।
२७. पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण
पाकिस्तानले फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानी सेनाले बुधवार उक्त मिसाइलको सफल परीक्षण प्रक्षेपण गरेको जनाएको छ । सेनाको सञ्चार विभाग इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै परीक्षण सफल भएको जानकारी दिएको हो । आईएसपीआरका अनुसार फतह–३ मिसाइलमा अत्याधुनिक नेभिगेसन र प्रोपल्सन प्रणाली जडान गरिएको छ । यो मिसाइल सुपरसोनिक गतिमा लामो दूरीका लक्ष्यलाई उच्च सटीकता र प्रभावकारिताका साथ प्रहार गर्न सक्षम रहेको सेनाले जनाएको छ । परीक्षणले पाकिस्तानको मिसाइल प्रविधि तथा रक्षा क्षमतामा थप प्रगति भएको सैन्य अधिकारीहरूको दाबी छ ।
२८. पाकिस्तानमा सुरक्षा कारबाहीमा २२ जना आतंककारी मारिए
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको विभिन्न कारबाहीमा २२ जना आतंककारी मारिएका छन् । पाकिस्तानी सेनाले बिहीवार दिएको जानकारीअनुसार यसै साताको शुरुमा दक्षिण वजिरिस्तान, बन्नु र ट्याङ्क जिल्लामा गुप्तचर सूचनाका आधारमा सुरक्षा कारबाही सञ्चालन गरिएको थियो । पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले जारी गरेको विज्ञप्तिमा कारबाहीका क्रममा मारिएका आतंककारीहरू क्षेत्रका विभिन्न आतंकवादी गतिविधिमा संलग्न रहेको उल्लेख गरिएको छ । कारबाहीका क्रममा उनीहरूबाट हतियार तथा गोलीगट्ठासमेत बरामद गरिएको सेनाले जनाएको छ ।
२९. एमाले हार्नको लागि जन्मिएकै होइन, फेरि जित्छौँः अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले हार्नको लागि जन्मिएको पार्टी नभएको भन्दै छिट्टै फेरी सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित नेकपा (एमाले)को राष्ट्रिय जनप्रतिनिधि भेलाललाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो दाबी गर्नुभएको हो । उहाँले मुलुकको विकास गर्नुका साथै राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारी समेत एमालेकै भएको भन्दै सो जिम्मेवारी पूरा गरेरै छोड्ने जिकिर गर्नुभयो । उहाँले आगामी निर्वाचनमा स्थानीय तह मुख्य प्रतिस्पर्धाको थलो भएको भन्दै जनप्रतिनिधिहरूलाई आफ्नो काममा देखिएका कमजोरी सच्याउन निर्देशन दिनुभयो । उहाँले विगतमा भएका कमजोरी भए सच्याउन र जनतामाझ विश्वास कायम गर्नेगरी काम गर्न समेत निर्देशन दिनुभयो ।
३०. जनप्रतिनिधिहरुलाई ओलीले भने– ‘स्थानीय निर्वाचनमा हराउने मात्र होइन ‘धोवीपाठ’ पछार्ने हो, जनतासँग टुटेको सम्बन्ध जोड्नुस्’
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अगामी स्थानीय तह निर्वाचनमा विपक्षीलाई हराउने मात्र नभई ‘धोवीपाठ’ पछार्ने गरी तयारीमा जुट्न जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित नेकपा (एमाले)को राष्ट्रिय जनप्रतिनिधि भेलाललाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले अगामी स्थानीय तह निर्वाचनमा जित सुनिश्चित हुनेगरी कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभयो । उहाँले विगतमा विभिन्न कारणले जनतासँग टुटेको सम्बन्ध फेरी जोड्नुपर्ने बताउनु भयो । उहाँले निर्वाचनका सम्बन्धमा संविधानमा भएको व्यवस्थाभन्दा बाहिर जान नदिने समेत उहाँको जिकिर छ । स्थानीय तहको निर्वाचन अगामी बैशाख अन्तिममा र मंसिरमा प्रदेश तहको निर्वाचन हुनुपर्ने उहाँको भनाइ छ ।
३१. निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारकै हो, सरकार कसैलाई ‘नचिन्ने’ कार्यशैलीमा हिँडेको छः सभापति थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताउनुभएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शिर्ष नेताहरूसँग निर्वाचन आयोगले गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनको वातावरण निर्माण गर्ने कुरामा आयोग आफैंले सबै जिम्मेवारी उठाउने भन्दा पहलकदमीका लागि समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भयो । उहाँले सरकारले राजनीतिक दल र प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढ्न खोजिरहेको भन्दै निर्वाचनका सम्बन्धमा यस्तो व्यवहार र कार्यशैली स्वीकार्य नहुने समेत बताउनु भयो ।
३२. प्रधानमन्त्री साहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
मन्त्रिपरिषद््बाट प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण स्वीकृत गरेको छ । शुुक्रवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अगामी आईतवार हुने प्रधानमन्त्री साहको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सनाले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकले उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको समेत जानकारी दिनुभयो ।
३३. बदर मत संख्या घटाउन स्थानीय र प्रदेश तहको निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा शिर्ष नेताहरूको जोड
राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शिर्ष नेताहरूले अगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रवार निर्वाचन आयोग आयोजित छलफल कार्यक्रममा बोल्ने क्रममा शिर्ष तहका नेताहरुले स्थानीय र प्रदेश तहको निर्वाचनसँगै अगामी दिनमा हुने सबै प्रकारका निर्वाचनलाई क्रमशः प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल राष्ट्रिय (रास्वपा)का प्रवक्ता जगदीश खरेलले निर्वाचन आयोगले आसन्न निर्वाचनको तयारीका सम्बन्धमा दलहरुलाई ब्रिफिङ गरेको जानकारी दिनुभयो । उहाँले स्थानीय तह र प्रदेश तहको निर्वाचन एकै समयमा गर्न सकिने सम्भावनाको सम्बन्धमा समेत छलफल भएको बताउनु भयो ।
३४. राप्रपा अध्यक्षमा ज्ञानबहादुर शाहीको उम्मेदवारी घोषणा, अध्यक्ष लिङदेनलाई सर्वोच्च नेताको हैसियतमा बस्न प्रश्ताव
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले आसन्न पार्टी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले पार्टीका वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनलाई सर्वोच्च नेताको रुपमा बस्न समेत प्रश्ताव गर्नुभयो । उहाँले पार्टीमा पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै अग्रजको अनुभव र युवाको नेतृत्व स्थापित गर्न आफू अग्रसर भएको दाबी गर्नुभयो । उहाँले राप्रपालाई सिमित चुनावी उपलब्धि र सत्ता समीकरणमा मात्रै केन्द्रित नराखी राष्ट्रवादी विचारको बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
३५. श्रमको अभियान एमालेले चलाएको होः अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमदान अभियानको थालनी श्रम संस्कृति पार्टीले नभई नेकपा (एमाले) ले शुरु गरेको टिप्पणी गर्नुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एमाले राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले बबई सिंचाई आयोजना निर्माणको धेरै काम जनश्रमदानबाटै सम्पन्न भएको उल्लेख गर्दै त्यसको अगुवाई तत्कालीन एमाले सरकारले गरेको बताउनु भयो । उहाँले एमालेको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ अभियानमार्फत जनश्रमदानको माध्यमबाट मुलुकमा धेरै भौतिक विकास निर्माणका कामहरु समेत सम्पन्न भएको बताउनु भयो । उहाँले संविधान निर्माणको क्रममा आफूहरु जोड स्थानीय तहलाई बलियो बनाउनुमा रहेको समेत उहाँले स्मरण गर्नुभयो ।
३६. ‘भारतीय पर्यटक दोब्बर भित्र्याउन सकिन्छ, कन्टेक्टिभिटिका लागि दिल्लीसँग कुरा गरौँ’
प्रधानमन्त्री बालेन्द्र साहको आसन्न भारत भ्रमणलाई पर्यटन क्षेत्रले भारतीय पर्यटक आगमन वृद्धि र दुई देशबीचको पर्यटन सहकार्य विस्तारको अवसरका रूपमा हेरेको छ । होटल एशोसिएशन नेपाल (हान) ले आईतवारबाट प्रधानमन्त्रीले गर्ने भारत भ्रमणका क्रममा हवाई तथा स्थल कनेक्टिभिटी विस्तार, धार्मिक पर्यटन प्रवद्र्धन, पर्यटन सर्किट निर्माण र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएको छ । हानका अध्यक्ष विनायक शाहकाअनुसार नेपालमा भारतीय पर्यटक भित्र्याउने सम्भावना ठूलो भएपनि त्यसअनुसार उपलब्धि हासिल हुन सकेको छैन । हाल वार्षिक औसत तीन लाख भारतीय पर्यटक नेपाल आउने गरेको उल्लेख गर्दै यसलाई दोब्बर बनाउने लक्ष्यका साथ कनेक्टिभिटिका लागि प्रधानमन्त्री साहको भारत भ्रमणका बेला प्रस्ताव गरिनुपर्ने बताउनु भयो ।
३७. कृषि यान्त्रीकरण नीतिलाई समयसापेक्ष बनाइने तयारी भइरहेको छः कृषि सचिव मिश्र
कृषि, वन तथा पर्यावरण मन्त्रालयका डा. राजेन्द्रप्रसाद मिश्रले कृषि यान्त्रीकरण नीतिलाई समयसापेक्ष बनाइने बताउनुभएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघले राजधानीमा आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको कृषि यान्त्रिकरण प्रदर्शनीलाई शुक्रवार सम्बोधन गर्दै उहाँले कृषि यान्त्रीकरणका लागि उपलब्ध गराइने अनुदानको दायरा कतै साँघुरो र कतै फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै छिट्टै अनुकुलको नीति ल्याइने बताउनु भयो । उहाँकाअनुसार नेपालको भौगोलिक विविधता, किसान समुदायको अवस्था, आर्थिक क्षमता र चेतनाको स्तर फरक रहेकाले सबै ठाउँमा एउटै नीति र कार्यशैली प्रभावकारी हुँदैन ।
३८. नेपालको समृद्धि आयात बढाएर होइन, स्वदेशी उत्पादन बढाएर सम्भव छः मन्त्री साह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालको समृद्धि आयात बढाएर नभई स्वदेशी उत्पादन र उत्पादकत्व वृद्धि गरेर मात्र सम्भव हुने बताउनुभएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघले राजधानीमा आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको कृषि यान्त्रिकरण प्रदर्शनीलाई सम्बोधन गर्दै मन्त्री साहले आर्थिक वर्ष २०८२÷८३ मा खाद्य तथा कृषि समूहका वस्तुको आयात करिव ४ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकले स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकतालाई थप स्पष्ट पारेको बताउनु भयो । उहाँले उक्त आयातमा खाद्य वस्तुका अतिरिक्त कच्चा खाद्य तेल, पशुआहार तथा पशुधनका लागि आयात गरिएका सामग्रीसमेत समावेश हुन सक्ने भएकाले यसलाई खाद्यान्नको आयात मात्रै भन्न नमिल्ने स्पष्ट पार्नुभयो । तथापि, धान, चामल, तरकारी, फलफूललगायत कृषि उपजको स्वदेशी उत्पादन र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्ने ठूलो सम्भावना नेपालसँग रहेको उहाँको भनाइ छ ।
३९. वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्न लगेको छ । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न लगातार पैसा खिचिरहेको राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आज फेरि एकैपटक अर्बौँ रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । आज अपराह्न २ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
४०. बजेट कटौतीको विरोध र विपद् व्यवस्थापनमा भइरहेको ढिलाइप्रति सरकारलाई खबरदारी गर्न एमाले महासचिव पोखरेलको निर्देशन
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले केन्द्र सरकारले स्थानीय तहलाई उपलब्ध गराउने बजेटमा गरेको कटौतीबारे जनतालाई जानकारी दिन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ । शुक्रवार च्यासलमा आयोजित एमाले राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले विगतको केन्द्र सरकार र वर्तमान सरकारबाट स्थानीय तहले प्राप्त गर्ने बजेटबीचको अन्तर सार्वजनिक गर्दै वर्तमान सरकार नागरिकप्रति कति अनुदार छ भन्ने कुराको जानकारी आम नागरिकलाई दिनुपर्ने बताउनु भयो । उहाँले स्थानीय तहमा सञ्चालित विकास निर्माणका आयोजना तथा विपद्पछि पुनःनिर्माणमा सरकारले गरिरहेको ढिलासुस्ती र लापरबाहीविरुद्ध पनि दबाब सिर्जना गर्न उहाँको निर्देशन छ । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij