२०८३ आश्विन १८ गते आइतवार
१. हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी
हेटौंडा बजारमा जथाभावी पार्किङ र छरिएर सञ्चालन भइरहेका सुमो तथा बसका काउन्टरका कारण हुने सवारी चाप घटाउन उपमहानगरपालिकाले नयाँ व्यवस्थापनको तयारी थालेको छ । हेटौंडा–चौकीटोलस्थित रोपवे चौरलाई सुमो तथा अन्य सवारीसाधनको एकीकृत पार्किङ र टिकट काउन्टरका रूपमा सञ्चालन गर्ने तयारी गरिएको हो । हाल हेटौंडाको मुख्य बजार, बसपार्क, चौकीटोल ओरालो, टिसीएन रोड र सङ्गमचोकलगायतका स्थानमा सुमो तथा बसका काउन्टर सञ्चालनमा छन् । विभिन्न स्थानमा रहेका काउन्टरका कारण यात्रु चढाउने–ओराल्ने क्रममा सडकमा सवारी रोकिने र पार्किङको समस्या हुने गरेको छ ।
२. हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा
मकवानपुरगढी गाउँपालिकामा बेमौसमी हावाहुरीले गोलभेँडा खेतीमा ठूलो क्षति पु¥याएपछि किसानहरू मर्कामा परेका छन् । ऋणधन गरेर बनाएका टनेल उडाएपछि र उत्पादन दिने बेलाका बोटहरू सोत्तर भएपछि उनीहरूलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको छ । मकवानपुरगढी गाउँपालिका वडा नं ८, बुढीचौरका शम्सेर ल्वागुनले तरकारी मण्डीका साहुसँग ५० हजार रुपैयाँ ऋण लिएर टनेलमा गोलभेँडा खेती गर्नुभएको थियो ।
३. बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा गत १० भदौमा आएको विनाशकारी बाढीपछि विपद् प्रतिकार्यबारे सुरक्षा निकायहरुसँग छलफल गरेको छ । सिंहदरबारमा बसेको समितिको बैठकमा बाढीपछिको खोज, उद्धार, राहत र पुनःस्थापनाका विषयमा सुरक्षा निकायहरुसँग छलफल भएको हो । बैठकमा सांसदहरुले जलवायु परिवर्तनका कारण सिर्जित विपद्पछिको पुनः स्थापनाका क्रममा प्रभावित समुदायको जीविकोपार्जन, खाद्य सुरक्षा प्रणालीलाई गम्भीरतापूजर्वक लिनुपर्ने बताएका छन् ।
४. पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले वि.सं. २०६४ सालको पहिलो संविधानसभा निर्वाचन हुनुभन्दा दुई साताअघि तत्कालीन नेकपा (माओवादी) का शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहसँग गोप्य सहकार्यको प्रश्ताव पठाएको खुलासा गर्नुभएको छ । थापाले आफ्नो नयाँ पुस्तक ‘रिइम्याजिनिङ नेपाल’ मार्फत यो दाबी सार्वजनिक गर्नुभएको हो । पूर्वउपप्रधानमन्त्री थापाकाअनुसार २०६४ चैत २८ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनको प्रचारप्रसार चलिरहेकै बेला चैत ११–१२ गतेतिर डा. बाबुराम भट्टराईले उहाँलाई सम्पर्क गर्नुभएको थियो ।
५. जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’
जलवायु परिवर्तनको असरले आक्रान्त पीडितहरूले सरकारले निर्माण गरिरहेको नयाँ जलवायु नीतिमा ‘जलवायु न्याय’लाई प्राथमिकता दिन माग गरेका छन् । कार्बन उत्सर्जनमा नेपालको भुमिका शुन्यप्रायः रहे पनि जलवायु प्रकोपका कारण भोटेकोशी लगायतका क्षेत्रमा भोग्नुपरेको अपूरणीय क्षतिविरुद्ध उनीहरूले अन्तर्राष्ट्रिय समुदायसँग उत्तरदायित्व र क्षतिपूर्तिको आवाज उठाएका हुन् । नेपालमा बढ्दो जलवायु संकट र त्यसको असर न्युनिकरणका लागि ‘जलवायु न्याय’ को अवधारणालाई राष्ट्रिय नीतिको केन्द्रमा राख्नुपर्ने उनीहरुको माग छ ।
६. जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना
विश्वव्यापी तापक्रम वृद्धिका लागि जिम्मेवार मानिएको हरितगृह ग्यास उत्सर्जनमा नेपालको हिस्सा ०.०२७ प्रतिशत मात्र छ । तर जलवायुजन्य विपद्को अभिघात खेप्ने विश्वका जोखिमपूर्ण मुलुकहरूको अग्रपङ्क्तिमा नेपाल पर्छ । यही ऐतिहासिक अन्यायविरुद्ध नेपालले दशकौँदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा ‘जलवायु न्याय’ को याचना गर्दै आएको छ । काठमाडौंमा जारी ‘जलवायु सप्ताह’ को एउटा विशेष सत्रमा भने नेपाली राज्यसंयन्त्रका दुई फरक तर महत्वपूर्ण अङ्ग–न्यायपालिका र कार्यपालिकाका दुई विशिष्ट प्रतिनिधिहरूले यो परम्परागत विमर्शमाथि निर्मम शल्यक्रिया गर्नुभएको छ ।
७. कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले पछिल्लो समयको भीषण वर्षाका कारण जोखिममा रहेको भनिएको कुलेखानी जलविद्युत आयोजनाको बाँध क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणपश्चात मन्त्री श्रेष्ठले बाँध पूर्ण रूपमा सुरक्षित र स्थिर रहेको भन्दै सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभएको हो । असोज ८ देखि १२ गतेसम्मको अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि यसको सुरक्षा र तल्लो तटीय क्षेत्रमा पर्ने प्रभावबारे चासो बढेको थियो ।
८. ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले नेवार समुदाय, मौलिक परम्परा र संस्कृतिप्रतिको गहिरो लगाव व्यक्त गर्दै आफूलाई ‘जगदीश खरेल नेवार’ का रूपमा चिनाउने धोको रहेको बताउनुभएको छ । ज्यापू समाजको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधान र परम्पराले दिएमा आफूलाई कुनै अधिकारबिनाको केवल कर्तव्य निर्वाह गर्ने ‘मानार्थ सदस्य’ बनाउन नेतृत्वसमक्ष प्रश्ताव राख्नुभएको हो । ललितपुरमा आयोजित ज्यापू समाजको औपचारिक कार्यक्रममा बोल्दै सांसद खरेलले नेवारी कला र संस्कृतिसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउनु भयो । समाजको विधान, नियम र परम्परागत प्रक्रियाले मिल्ने भए आफूलाई मानार्थ सदस्यका रूपमा स्वीकार्न उनले ज्यापू समाजका अध्यक्ष तथा पदाधिकारीहरूसँग आग्रह गर्नुभयो ।
९.इजिप्टको अल–अलामेनमा अफ्रिकी व्यापार मञ्च शुरुः आर्थिक एकीकरण र लगानीमा जोड
इजिप्टको तटीय शहर अल–अलामेनमा पहिलो पटक ‘अल–अलामेन अफ्रिका फोरम’ शुक्रवार औपचारिक रूपमा शुरु भएको छ । महादेशभरका झन्डै १,५०० व्यावसायिक नेतृत्वकर्ताहरूलाई एकै थलोमा भेला गराएर व्यापार, लगानी र आर्थिक साझेदारीलाई नयाँ उचाईमा पु¥याउने उद्देश्यसहित यो मञ्चको आयोजना गरिएको हो । अक्टोबर २ देखि ४ सम्म सञ्चालन हुने यस मञ्चको सह–आयोजना इजिप्ट सरकार, अफ्रिकन एक्सपोर्ट–इम्पोर्ट बैंक र अफ्रिकन युनियन डेभलपमेन्ट एजेन्सीले संयुक्त रूपमा गरेका छन् ।
१०. किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह
किर्गिस्तानले इतिहासमा पहिलोपटक आफ्नो राष्ट्रिय भू–उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित भानडेनबर्ग स्पेस फोर्स बेसबाट स्थानीय समयअनुसार अक्टोबर १ मा सो भू–उपग्रह प्रक्षेपण गरिएको हो । यस ऐतिहासिक क्षणमा किर्गिस्तानका राष्ट्रपति सादिर जापारोभ आफैं प्रक्षेपण केन्द्रमा उपस्थित थिए । अमेरिकी अन्तरिक्ष संस्था स्पेस–एक्सको फाल्कोन ९ रकेटमार्फत अन्य धेरै भू–उपग्रहहरूसँगै किर्गिस्तानको स्याटेलाइटलाई पृथ्वीको कक्षमा स्थापित गरिएको हो ।
११. टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम
टर्की र युक्रेनबीच लामो समयदेखि प्रतिक्षित स्वतन्त्र व्यापार सम्झौता आधिकारिक रूपमा कार्यान्वयनमा आएको छ । टर्कीको व्यापार मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने लक्ष्यसहित यो सम्झौता लागू भएको जनाएको छ । टर्कीको व्यापार मन्त्रालयकाअनुसार यो सम्झौताले दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ र अनुमानयोग्य बनाउनेछ । हालको विश्वव्यापी आर्थिक परिवेशमा दुवै राष्ट्रका व्यवसायीहरूका लागि प्राथमिकतायुक्त व्यापारिक अवसरहरू कायम राख्न यो सम्झौताले एक बलियो नीतिगत आधार प्रदान गर्ने मन्त्रालयको विश्वास छ ।
१२. दक्षिण कोरियामा ७८ वर्ष पुरानो अभियोजन प्रणाली खारेज, नयाँ संरचनासहित दुई निकाय गठन
दक्षिण कोरियाले ७८ वर्षदेखि कायम रहेको आफ्नो सरकारी अभियोजन सेवालाई औपचारिक रूपमा खारेज गर्दै शुक्रवारदेखि न्याय प्रणालीमा व्यापक पुनर्संरचना गरेको छ । सन् १९४८ देखि अस्तित्वमा रहेको यो पुरानो संस्थालाई विघटन गरी अनुसन्धान र अभियोजनका लागि छुट्टाछुट्टै दुईवटा निकायहरू स्थापना गरिएको छ । नयाँ कानूनी व्यवस्थाअनुसार अब सरकारी अभियोजन कार्यालय न्याय मन्त्रालय मातहत रहनेछ र यसले विशेष गरी अभियोग पत्र दर्ता गर्ने तथा सरकारी अभियोजनको कार्यलाई मात्र निरन्तरता दिनेछ ।
१३. लिबिया र अफ्रिकी युनियनबीच सहकार्यका लागि त्रिपोलीमा सम्पर्क कार्यालय स्थापना
लिबिया र अफ्रिकी युनियन (एयू) ले द्विपक्षीय सहकार्यलाई थप सुदृढ र संस्थागत बनाउने उद्देश्यका साथ लिबियाको राजधानी त्रिपोलीमा ‘एयू सम्पर्क कार्यालय’ को औपचारिक उद्घाटन गरेका छन् । लिबियाली विदेश मन्त्रालयकाअनुसार कार्यालयको उद्घाटन लिबियाका कार्यवाहक विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्री अल–ताहेर सालेम अल–बाउर र अफ्रिकी युनियन आयोगका अध्यक्ष महमुद अली युसुफले संयुक्त रूपमा गरेका हुन् । एयू अध्यक्ष युसुफ हाल लिबियाको आधिकारिक भ्रमणमा छन् ।
१४. सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ
टर्कीको राष्ट्रिय गुप्तचर संस्थाले सन् २०१३ मा दक्षिणी सहर रेहानलीमा भएको विनाशकारी बम विष्फोटका मुख्य योजनाकारमध्येका एक ओमर अल–हातिबलाई पक्राउ गरेको छ । सुरक्षा स्रोतहरूका अनुसार, हातिबलाई देश छाडेर समुद्र मार्ग हुँदै युरोप छिर्ने तयारी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । सन् २०१३ को मे महिनामा रेहानलीमा भएको दुईवटा कार बम विष्फोटमा परी ५ बालबालिकासहित ५३ जना सर्वसाधारणले ज्यान गुमाएका थिए । टर्कीको इतिहासमा यो एउटा दर्दनाक घटनाका रूपमा दर्ज छ ।
१५. सिरियाको ऐतिहासिक सेन्ट सिमियन तीर्थस्थल १४ वर्षपछि पर्यटकका लागि खुला
सिरियाको उत्तरी सहर अलेप्पोस्थित पाँचौँ शताब्दीको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल सेन्ट सिमियन कम्प्लेक्स १४ वर्षको लामो बन्दपछि पर्यटकका लागि पुनः सञ्चालनमा आएको छ । युद्ध र प्राकृतिक प्रकोपका कारण थलिएको यो पुरातात्विक सम्पदाको पहिलो चरणको पुनस्र्थापना कार्य पूरा भएसँगै सेप्टेम्बरको अन्त्यदेखि पर्यटकका लागि ढोका खुला गरिएको हो । युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश एन्सिन्ट भिलेज अफ नर्दन सिरियाको एक महत्वपूर्ण अंगका रूपमा रहेको सेन्ट सिमियन, प्रारम्भिक क्रिस्चियन अनुयायीहरूका लागि लामो समयदेखि श्रद्धाको केन्द्र रहँदै आएको छ ।
१६. कांग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा
नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्र देखिएको विवादलाई लिएर कांग्रेस विभाजन नभएको दाबी गर्नुभएको छ । शनिवार महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नेक्रममा उहाँले काँग्रेसभित्र केही विवाद देखिएपनि पार्टी विभाजन नभएको दाबी गर्नुभएको हो । उहाँले काँग्रेसभित्रको विवाद मिलाउने जिम्मेवारी आफुहरुको रहेको बताउनु भयो ।
१७. कांग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता
नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा सोमवार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ । शनिवार काँग्रेसको महाधिवेशनस्थल खुल्ला मञ्चमा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले उक्त जानकारी दिनुभएको हो । उम्मेदवारी दर्तापछि निर्वाचन आयोगले मतदानको समय निर्धारण गर्ने उहाँले बताउनु भयो । उहाँले उम्मेद्वारी दर्ता अगाडी विधान संशोधन गर्ने प्रश्ताव बन्दसत्रमा लैजाने र नयाँ विधानअनुसार उम्मेदवारी दर्ता हुने जानकारी दिनुभयो । उम्मेदवारी मनोनयनअघि नै कांग्रेसको विधान संशोधन प्रक्रिया टुंग्याइने उहाँको भनाई छ ।
१८. डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा
नेपाली काँग्रेसका नेता डा सुनिल शर्माले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । शनिवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उहाँले उम्मेद्वारी घोाषणा गर्नुभएको हो । उहाँले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताउनु भयो । उहाँले काँग्रेसलाई दूरदराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको बताउनु भयो । लोकतन्त्र पुनःस्थापनाका लागि विगतमा आफूले नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि र ‘लभिङ’ गरेको स्मरण गर्दै कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।
१९. पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे
नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले काँग्रेसको १५ औँ महाधिवेशन ऐतिहासिक राजनीतिक महत्व बोकेको स्थलमा हुन लागेको बताउनुभएको छ । महाधिवेशनस्थल खुल्ला मञ्चमा शनिवार पत्रकार सम्मेलन गर्दै उहाँले नेपालको राजनीतिक इतिहासमा खुल्ला मञ्चको विशेष महत्व रहेको बताउनु भयो । २०३३ सालमा जननायक वीपी कोईराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३६ सालको जनमतसंग्रहको लागि पहिलो ऐतिहासिक सार्वजनिक सम्बोधन खुल्ला मञ्चबाट गर्नुभएको उहाँले बताउनु भयो ।
२०. ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम सम्पन्न भइसकेको दाबी गर्नुभएको छ । शनिबार ललितपुरमा ज्यापू समाजले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । पुनर्निर्माणको लागी बाँकी रहेको सम्पदाहरुको पनि अधिकांश काम सकिएर फिनिसिङ गर्न मात्रै बाँकी रहेको उहाँले बताउनु भयो । महानगरपालिका र ज्यापु समाज मिलेर सम्पदा संरक्षणको काम गर्दै उहाँले उहाँको भनाई छ । उहाँले ललितपुरको संस्कृति, संस्कार तथा मूर्त र अमूर्त सम्पदा संरक्षणमा ज्यापु समाजसँग सहकार्य गर्दै महानगरपालिकाले काम गरिरहेको बताउनु भयो ।
२१. सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल
सभामुख डोलप्रसाद अर्यालले ललितपुरको कला, संस्कृति, सम्पदा र नेवारी भाषाको संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्ने बताउनुभएको छ । ललितपुरमा शनिवार आयोजित कार्यक्रममा उहाँले सम्पदा, संस्कृति, मठमन्दिर र भाषाको संरक्षणका लागि राज्यले आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले अग्रजहरूले छाडेर गएका सम्पदा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले आफू सामान्य नागरिक भएकाले स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्न आफू सधैँ तयार रहेको बताउनु भयो । मुलुक निर्माणमा नेवारी समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उहाँले स्थानीय समुदायबाट प्राप्त सुझाव र समस्या कानुन निर्माण गर्ने तहसम्म पु¥याउन आफूले प्रयास गर्ने बताउनु भयो । उहाँले देशको माटो चिनाउन नेवारी र थारु समुदायको महत्वपुर्ण भुमिका रहको बताउनु भयो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij