२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले नेवार समुदाय, मौलिक परम्परा र संस्कृतिप्रतिको गहिरो लगाव व्यक्त गर्दै आफूलाई ‘जगदीश खरेल नेवार’का रूपमा चिनाउने धोको रहेको बताएका छन् । शनिबार (असोज १७) ज्यापु समाजको एक कार्यक्रममा उनले विधान र परम्पराले दिएमा आफूलाई कुनै अधिकारबिनाको केवल कर्तव्य निर्वाह गर्ने ‘मानार्थ सदस्य’ बनाउन नेतृत्वसमक्ष प्रस्ताव राखेका हुन् ।
ललितपुरमा आयोजित ज्यापु समाजको कार्यक्रममा सांसद खरेलले नेवारी कला र संस्कृतिसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताए । समाजको विधान, नियम र परम्परागत प्रक्रियाले मिल्ने भए आफूलाई मानार्थ सदस्यका रूपमा स्वीकार्न उनले ज्यापु समाजका अध्यक्ष तथा पदाधिकारीसँग आग्रह गरे । उनले नियम र परम्पराले दिए ‘जगदीश खरेल नेवार’का रूपमा समाजको सेवा गर्न आफू पूर्ण रूपमा तयार रहेको बताए ।
"अब त जगदीश खरेल मात्र होइन, जगदीश खरेल नेवार भनेर चिनिन मन छ । यहाँहरूको विधान, नियम, कानुन र प्रक्रियाले मिल्छ कि मिल्दैन, मलाई थाहा छैन," उनले भने, "तर, एउटा सानो लोभ छ, कर्तव्य निर्वाह गर्नका लागि भए पनि ज्यापु समाजको मानार्थ सदस्य बन्न पाए कति गजब हुन्थ्यो होला । मलाई कुनै अधिकार चाहिँदैन ।"
उनले अगाडि भने, "बरु, मानार्थ सदस्य बनाएर बेलाबेलामा “तिमी त समाजको सदस्य हौ, यो काम किन गरेनौ ? भनेर गाली गर्ने अधिकार यहाँहरूलाई होस् । अध्यक्ष बन्ने चाहना छैन, तर समाजप्रतिको कर्तव्य निर्वाह गर्ने अवसर भने चाहन्छु ।"
सांसद खरेलले आफ्नो कर्मभूमि ललितपुरको कला, संस्कृति र अमूर्त सम्पदाको संरक्षणमा सक्दो पहल गर्ने पनि बताए । उनले ललितपुरको विकास र सम्पदा संरक्षणका निम्ति आफूले संसद्मा सशक्त भूमिका खेल्ने र आगामी हिउँदे अधिवेशनमार्फत अमूर्त सम्पदासम्बन्धी विधेयक अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
आफ्नो राजनीतिक यात्राभन्दा बढी समय ललितपुरको पाटन क्षेत्रमा व्यतीत भएको उनले स्मरण गरे । आफूमा नेवार समुदायप्रति विशेष आत्मीयता रहेको उनले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij