२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियर दीपा कार्की र अन्य दुई बिचौलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ। घर निर्माणको स्वीकृति तथा नक्सा पास गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको हो।
नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुखसमेत रहेकी इन्जिनियर कार्कीले भवनको संरचनागत विश्लेषण स्वीकृत गरिदिने भन्दै सेवाग्राहीलाई पटक-पटक दुःख दिएर घुस मागेकी थिइन्।
सेवाग्राहीको उजुरीका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले कार्की र घुस रकम लिन मध्यस्थकर्ताको भूमिका खेल्ने आस्मा कार्कीलाई ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा इन्जिनियर कार्कीले अन्य दुई प्रतिवादी आस्मा कार्की र आशिष पौडेलसँग मिलेमतो गरी कुल दुई लाख आठ हजार रुपैयाँ घुस लिन लगाएको खुलेको छ। घर निर्माणको सिफारिस, नक्सा पास, अस्थायी इजाजत र निर्माण सम्पन्न प्रमाणपत्रलगायतका सम्पूर्ण काममा सहजीकरण गरिदिने सर्तमा उनीहरूले उक्त रकम असुलेका थिए।
यसैगरी, गैरकानुनी लाभ लिन मुख्य कसुरदारलाई सघाउने मतियारका रूपमा अख्तियारले आस्मा कार्की र आशिष पौडेललाई पनि प्रतिवादी बनाएको छ। सिन्धुलीको कमलामाई नगरपालिका-९ स्थायी घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने आस्माविरुद्ध पनि मुख्य कसुरदारसरह दुई लाख आठ हजार रुपैयाँ नै बिगो कायम गरी सजाय माग गरिएको छ।
गोकर्णेश्वरकै अर्का प्रतिवादी पौडेलविरुद्ध भने एक लाख ४४ हजार रुपैयाँ बिगो कायम गरिएको छ। उनीहरू दुवै जनालाई ऐनको दफा २२ बमोजिम मुख्य कसुरदारसरह नै कैद र जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij