२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । सङ्घीय संसद्को राष्ट्रियसभाको २१औँ अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ। वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म चलेको अधिवेशनमा ५२ वटा बैठक बसेका थिए।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार अधिवेशनका क्रममा सभाले कुल ९८ घण्टा १० मिनेट संसदीय कामकारबाही गरेको छ। यस अवधिमा अध्यादेश प्रतिस्थापनका लागि ल्याइएका प्रतिनिधिसभा सदस्य निर्वाचन, मतदाता नामावली, सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ६ वटा विधेयक पारित गरी प्रमाणीकरणको प्रक्रिया अघि बढाइएको थियो।
अधिवेशनबाट विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकलगायत बजेटसँग सम्बन्धित महत्वपूर्ण कामसमेत सम्पन्न भएका छन्। लैङ्गिक हिंसा रोकथाम तथा सहायक प्रजनन प्रविधिको नियमनसम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसम्मत पारित भएको अध्यक्ष दाहालले जानकारी दिए।
त्यस्तै, मनसुनजन्य विपद् व्यवस्थापन तथा रसुवाको भोटेकोशी बाढीपीडितको राहत र पुनःस्थापनासम्बन्धी विशेष प्रस्ताव पारित गरिएको छ। महिला समन्वय समिति तथा भोटेकोशी–कालीगण्डकी करिडोर विपद् अध्ययनसम्बन्धी संसदीय विशेष समिति पनि गठन गरिएको छ।
अधिवेशनमा १५ वटा मन्त्रालयसँग सम्बन्धित ३५ वटा मौखिक प्रश्नको जवाफ दिने कार्यक्रम सम्पन्न भएको थियो। साथै, राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गरी सुझाव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिइएको छ। शून्य, विशेष र आकस्मिक समयमा सांसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै अध्यक्ष दाहालले आवश्यक विषयमा रुलिङसमेत गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij