२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा सार्वजनिक लेखा समितिको मौनताप्रति प्रश्न उठाउँदै घटनाको गहन अनुसन्धान गर्न माग गरेका छन् ।
शुक्रवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले कपडा खरिद प्रकरणमा अनियमितताको विषय उठिसक्दा पनि समितिले प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले उक्त प्रकरणसम्बन्धी कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरिएको भए पनि फाइल प्राप्त भए–नभएको जानकारीसमेत समितिका सदस्यहरूलाई नदिइएको भन्दै प्रश्न गरेका छन् । सुनारले आफूले व्यक्तिगत रूपमा चासो दिएर विषयको खोजी तथा छानबिन गर्दा गम्भीर त्रुटिहरू फेला पारेको दाबी गर्दै सम्बन्धित प्रमाण बुझाउने निकाय र प्रक्रियाबारे समितिका सभापतिले स्पष्ट पार्नुपर्ने बताएका छन् ।
उनले प्रहरी महानिरीक्षक तथा सम्बन्धित टोलीको भूमिकामाथि प्रश्न उठाउँदै प्राप्त प्रमाणहरूको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै समितिमा विधिवत रूपमा उजुरी परेको र छानबिनका क्रममा अनियमिततासम्बन्धी प्रमाण फेला परेको अवस्थामा आवश्यक सिफारिससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउनुपर्ने बताएका छन् । उनकाअनुसार सार्वजनिक लेख समितिले कुनै पनि बहानामा आलटाल गर्न पाउँदैन, खुट्टा कमाउन मिल्दैन । प्रहरी महानिरीक्षकले ‘तिमीहरूको पनि हेरौँला’ भनेकै कारण समिति डराएको हो कि भन्दै प्रश्नसमेत गरेका छन् ।
म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा छानबिन गर्न समितिको पूर्ण बैठकबाट निर्णय गर्ने वा छुट्टै उपसमिति गठन गर्ने भन्ने विषयमा स्पष्ट निर्णय लिन सभापतिसँग माग सुनारले गरेका छन् ।
सुनारले भने, ‘म्यादी प्रहरीको कपडा खरिदको सन्दर्भमा यत्रो ठूलो विषय उठ्यो, संसारभरि चर्चा भयो, तर सार्वजनिक लेखा समितिमा भने तैँ चुप, मैँ चुपको अवस्था छ । हामी किन चुपचाप बसिरहेका छौँ रु १५ दिनभित्र फाइल उपलब्ध गराउन हामीले माग गरेका थियौँ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij