Logo

२०८३ आश्विन १४ गते बुधवार

२०८३ आश्विन १४ गते बुधवार

बाढीले पुलको पिल्लरमा ठोक्काएको राइनो क्रुज अझै नदीमै, १० करोडको क्षति

बाढीले पुलको पिल्लरमा ठोक्काएको राइनो क्रुज अझै नदीमै, १० करोडको क्षति


  • 344
    Shares

    बाढीले पुलको पिल्लरमा ठोक्काएको राइनो क्रुज अझै नदीमै, १० करोडको क्षति
    images

    काठमाडौं । नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बगाएको राइनो क्रुज अझै निकाल्न सकिएको छैन । बाढीले बगाउने क्रममा नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा ठोकिएर अड्किएको क्रुजलाई क्रेनमार्फत पल्टाइए पनि नदीबाट बाहिर निकाल्न नसकिएको राइनो वाटर इन्टरटेन्टमेन्टका अध्यक्ष दीपक ढुङ्गेलले जानकारी दिए ।

    केही समयअघि स्थानीय काभ्रेघाटमा तटबन्धन गरी सञ्चालन गरिएको उक्त क्रुज त्यहाँ सहज नभएपछि नवलपरासीको गैँडाकोट लगेर सञ्चालन गरिएको थियो । अध्यक्ष ढुङ्गेलका अनुसार गत असारदेखि गैँडाकोटस्थित होटल रिभर क्राउनले उक्त क्रुज खरिद गरी नजिकै नदी किनारमा सञ्चालन गरिरहेको थियो ।

    सञ्चालक ढुङ्गेलका अनुसार क्रुज सञ्चालनका लागि ३० जना साझेदारले रु १५ करोड लगानी गरेका थिए । त्यसमध्ये क्रुजको मात्र लागत रु १० करोड रहेको छ । उनले भने, “बाढीले बगाएपछि अब यसै क्रुज सञ्चालन गर्न सक्ने अवस्था छैन । त्यसमा रु १० करोडभन्दा बढी नोक्सान भएको छ ।”

    उक्त क्रुज सञ्चालन राष्ट्रिय गौरवको आयोजना भएकाले पूर्ववत् अवस्थामा सञ्चालन गर्न सरकारी सहयोग आवश्यक पर्ने सञ्चालकको भनाइ छ । कम्पनीले १५० जना यात्रुलाई देवघाटदेखि गोलाघाटसम्म ४० किलोमिटर जलयात्रा गराउन पाउने गरी पर्यटन विभागबाट अनुमति लिएको थियो ।

    करिब ९५ फिट लामो र २१ फिट चौडा रहेको साढे दुई तलाको क्रुजमा १५० जनाले एकैपटक सेवा लिन सक्ने व्यवस्था थियो ।

    क्रुजमा ब्रेकफास्ट, लन्च र डिनर प्याकेज तथा विवाह, व्रतबन्ध, पास्नी र जन्मोत्सवजस्ता शुभकार्यका लागि विशेष बुकिङको व्यवस्था थियो । खासगरी चितवनको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले परियोजनाका रूपमा क्रुज सञ्चालनमा ल्याइएको हो ।

     

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - १६:३९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij