२०८३ आश्विन १४ गते बुधवार
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीका कारण क्षतिग्रस्त दूरसञ्चार पूर्वाधारको मर्मत कार्य तिब्रताका साथ अघि बढाइएको बताएका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले भोटेकोशी र पछिल्ला बाढीका कारण दूरसञ्चार क्षेत्रमा करिव ८ करोड ८५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुगेको बताएका हुन् । मन्त्री तिमिल्सिनाले बाढीबाट प्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई प्राथमिकताका साथ पुनस्र्थापना गरिएको स्पष्ट पारेका छन्। उनकाअनुसार भोटेकोशी बाढीबाट नेपाल टेलिकमका तीन वटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।
हेलिकोप्टरमार्फत उपकरण ढुवानी गरेर रसुवागढी क्षेत्रमा सोलार प्रणालीसहितको टावर सञ्चालनमा ल्याइएको उनले जानकारी दिएका छन् । त्यस्तै, पछिल्लो बाढीले गण्डकी प्रदेशका ११ जिल्लामा गरी कुल २९१ वटा साइटमा क्षति पु¥याएकोमा हालसम्म २४६ वटा साइट सञ्चालनमा आइसकेका छन् । बाँकी ४५ वटा साइटमा विद्युत आपूर्ति सुचारु हुनेबित्तिकै सेवा सञ्चालनमा आउने मन्त्री तिमिल्सिनाको भनाइ छ ।
यसका लागि ऊर्जा मन्त्रालयसँग समन्वय गरी प्राविधिक टोली र जेनेरेटर परिचालन गरिएको उनले बताएका छन्। दूरसञ्चारसँगै फाइबर नेटवर्क र ब्याकबोन ट्रान्समिसनमा पुगेको क्षतिलाई पनि क्रमशः मर्मत गरिरहेको मन्त्री तिमिल्सिनाले जानकारी दिएका छन्। कतिपय स्थानमा फाइबर काटिँदा वैकल्पिक रूपमा माइक्रोवेभ प्रविधिमार्फत सेवा प्रदान गरिएको उनको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij