२०८३ आश्विन १४ गते बुधवार
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा पाँच सय र एक हजार रुपैयाँका नोट बन्द गर्ने विषय उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले देशमा बढ्दो कालो धन नियन्त्रणका लागि ठूला दरका नोट तत्काल बन्द गर्नुपर्ने माग गरेका हुन्।
बैठकमा बोल्दै न्यौपानेले पछिल्लो ३५ वर्ष सत्तामा रहेका व्यक्तिहरूले अवैध रूपमा सम्पत्ति आर्जन गरी कालो धन थुपारेको आरोप लगाए। कालो धनका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको दाबी गर्दै उनले पाँच सय र एक हजार रुपैयाँका नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरे।
न्यौपानेको प्रस्तावमा प्रतिक्रिया दिँदै नेकपाका प्रमुख सचेतक युवराज दुलालले नोटबन्दी गर्ने सरकारको निर्णयमा आफ्नो पार्टीको समर्थन रहने बताए। यद्यपि, उनले सरकारसँग पर्याप्त बहुमत र अधिकार हुँदाहुँदै पनि निर्णय लिन किन ढिलाइ भइरहेको भन्दै प्रश्न उठाए।
दुलालले भने, ‘नोटबन्दी गर्ने कार्यमा हाम्रो पार्टीको समर्थन छ, तर यो कदम चाल्न सरकारलाई कसले रोकेको छ ? सहज बहुमतको सरकारसँग नोटबन्दी गर्न सक्ने पर्याप्त अधिकार र तागत छ, तैपनि सरकार किन पछाडि हटिरहेको छ ?’
उनले सरकारले ठोस निर्णय लिएमा कालो धन नियन्त्रण र अर्थतन्त्र सुधारका लागि सहयोग पुग्ने दाबी गर्दै नोटबन्दीको विषयमा तत्काल निर्णय लिन आग्रह गरे।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij