Logo

२०८३ आश्विन १४ गते बुधवार

२०८३ आश्विन १४ गते बुधवार

बाढीले क्षतिग्रस्त ५३ झोलुङ्गे पुलमध्ये १२ पुलको मर्मत अन्तिम चरणमा

बाढीले क्षतिग्रस्त ५३ झोलुङ्गे पुलमध्ये १२ पुलको मर्मत अन्तिम चरणमा


  • 316
    Shares

    बाढीले क्षतिग्रस्त ५३ झोलुङ्गे पुलमध्ये १२ पुलको मर्मत अन्तिम चरणमा
    images

    काठमाडौं । गत भदौ १० गते चीनतर्फबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तथा खोलामा रहेका ५३ वटा झोलुङ्गे पुलमा क्षति पुर्‍याएको एक महिना बितिसकेको छ। पुलहरू क्षतिग्रस्त भएपछि कैयौँ ग्रामीण बस्तीको आवागमन प्रभावित भएको थियो।

    स्थानीय पूर्वाधार विकास विभागका अनुसार बाढीले ३३ वटा झोलुङ्गे पुल पूर्ण रूपमा बगाएको छ भने २० वटा पुल सामान्य क्षति भएका छन्। तत्काल आवागमन सहज बनाउन विभागले चार स्थानमा अस्थायी तुइन सञ्चालनमा ल्याएको छ। नुवाकोटको इन्द्रेणी चौर र देवीघाट तथा रसुवाको स्याफ्रुबेँसी र हाकुबेँसीमा तुइन सञ्चालनमा ल्याइएको हो।

    बाढीबाट सामान्य क्षति भएका पुलमध्ये नुवाकोटको बेलकोटगढी–७ र तारकेश्वर–२ जोड्ने पिमलटार जागाराम झोलुङ्गे पुलको मर्मत सम्पन्न भइसकेको छ। त्यस्तै धादिङ, नुवाकोट र गोरखाका थप १२ वटा पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको विभागले जनाएको छ। ती पुल केही दिनभित्रै सञ्चालनमा ल्याउने तयारी छ।

    तर पूर्ण रूपमा बगेका ३३ वटा पुलको पुनर्निर्माण भने तत्काल सुरु हुन सकेको छैन। नयाँ पुलका लागि आवश्यक स्टिल वायर रोप (लठ्ठा) नेपालमा उपलब्ध नभएकाले भारतबाट आयात गर्नुपर्ने अवस्था छ। त्यसका लागि ग्लोबल टेन्डर प्रक्रिया अघि बढाउनुपर्ने र सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–बिडिङ प्रणालीमा आएको प्राविधिक समस्याका कारण प्रक्रिया थप जटिल बनेको विभागको भनाइ छ।

    विभागले बाढी प्रभावित क्षेत्रका पूर्वाधार पुनर्स्थापना तथा पुनर्निर्माणका लागि प्रारम्भिक रूपमा १ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरेको छ। यसमध्ये झोलुङ्गे पुल मर्मतका लागि १५ करोड, पूर्ण रूपमा बगेका ३३ पुल पुनर्निर्माणका लागि ६० करोड र ग्रामीण सडक खुलाउन तथा वैकल्पिक मार्ग व्यवस्थापनका लागि ४० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

    बाढी गएको एक महिना बितिसक्दा पनि दीर्घकालीन पुनर्निर्माण प्रक्रिया अघि बढ्न नसकेपछि स्थानीय तहका जनप्रतिनिधिले आवश्यक बजेट सुनिश्चित गरी खरिद तथा पुनर्निर्माण प्रक्रिया तीव्र बनाउन माग गरेका छन्।  

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - १३:४३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij