Logo

२०८३ आश्विन १४ गते बुधवार

२०८३ आश्विन १४ गते बुधवार

हेलिकोप्टरबाट इन्धन ल्याएर थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

हेलिकोप्टरबाट इन्धन ल्याएर थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी


  • 512
    Shares

    हेलिकोप्टरबाट इन्धन ल्याएर थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी
    images

    काठमाडौं । घट्टेखोलाको लेदोसहितको बाढीका कारण ढुंगा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी अझै पनि पुलको दायाँ र बायाँबाट बगिरहेको छ ।

    नदील पुलको माथिबाट धार परिवर्तन गरी आंशिक रूपमा बगे पनि हालसम्म तालकै रूपमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    “एक्साभेटरले दुवैतर्फबाट काम गरिरहेको छ, इन्धन ल्याउन सहज छैन । नेपाली सेनाको हेलिकोप्टरमार्फत इन्धन ल्याएर काम भइरहेको छ,” उनले भने ।

    हाल त्यस क्षेत्रमा विज्ञहरूको परामर्शमा स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको समन्वयमा काम भइरहेको उनले जानकारी दिए ।

    स्थानीय तहमा उपलब्ध एक्साभेटरलगायत सामग्री प्रयोग गरी तालको बहवलाई सञ्चालन गर्न कोसिस भइरहेको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।

    “नदीको बहाव र जोखिमलाई ध्यानमा राखेर छेउको भागबाट काम गरिरहेका छौँ”, घलेले भने, “आम नागरिकको हितका लागि दिनरात नभनी काम गरिरहेका छौँ ।”

    उनका अनुसार, पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेपछि त्यस क्षेत्र वरपरका केही घर डुबानमा परेका छन् ।

    लमजुङ हिमालबाट उत्पत्ति हुने घट्टेखोलाको बाढी र पहिरोका कारण त्यसमा विद्युत् र खानेपानी आपूर्ति, टेलिफोन, इन्टरनेट र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध छ ।

    यसैबी मर्स्याङ्दीको बाढीले नासोँ गाउँपालिका–८ र ९ वडा जोड्ने पुल बगाएपछि स्थानीयलाई आवतजावतमै समस्या परेको छ ।

    स्थानीय रामबहादुर थकालीका अनुसार, ताचैबासी सडक सञ्चालबाट अहिले अलग भएको अवस्था छ । विगतमा तीनतिरबाट त्यहाँ आवतजावत गर्न मिल्थ्यो । उनका अनुसार, पछिल्ला दिनमा त्यस क्षेत्रका घोडेटो, गोरेटो र मोटरबाटो बाढी पहिरोले क्षति पुर्‍याएको छ । गाउँमा कसैलाई आकस्मिक रूपमा कहीँकतै जानुपर्यो भने अहिले त्यो सम्भव छैन ।

    नासोँ–८ का वडाध्यक्ष याद घले भन्छन्, “गाउँबाट आवतजावत गर्ने सबै बाटो बाढी र पहिरोले बगाएपछि अन्य गाउँसँगको सडक सम्पर्क टुटेको छ । म आफैँ पनि वडाकै नेतृत्वमा छु । तर, आवश्यक स्रोतसाधन अभावले केही काम नै गर्न सकिएको छैन ।” रासस

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - १३:२१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij