२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुल्चोक पुगेका छन्।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे जानकारी लिन आयोगले सोमबार पत्राचार गर्दै एसएसपी खड्कालाई बोलाएको थियो। आयोगको पत्रपछि खड्का मंगलबार आयोगको कार्यालय पुगेका हुन्।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले एसएसपी खड्का आयोगको कार्यालयमा आएको पुष्टि गरेका छन्। जबरालाई शनिबार मध्यराति आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। करिब १२ घण्टा प्रहरी नियन्त्रणमा राखिएपछि उनलाई छाडिएको थियो।
जबराको नियन्त्रणबारे बुझ्न आयोगको टोली आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको थियो। तर त्यहाँ आयोगका प्रतिनिधिलाई जबरासँग भेट गर्न नदिएपछि टोली फर्किएको थियो।
यसै विषयमा आयोगले एसएसपी खड्कासँग स्पष्टीकरण तथा घटनाबारे जानकारी मागेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij