२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएपछि काठमाडौंमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन्।
नेपाल प्रहरीले पहिरो पन्छाएपछि राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जनाएको छ। सडक खुलेसँगै बाफल, कलंकी, ढुंगेअड्डा र थानकोट क्षेत्रमा सवारीसाधनको चाप बढेको छ।
राजमार्ग अवरुद्ध भएपछि कलंकी–बल्खु–सानेपा सडकखण्डमा रोकिएका ठूला मालवाहक सवारीसाधन पनि अहिले क्रमशः बाहिरिन थालेका छन्। रिङरोड क्षेत्रमा पर्ने उक्त सडकखण्डको सर्भिस लेन र सब–लेनमा बिहीबार रातिदेखि नै ठूला मालवाहक सवारी पार्क गरेर राखिएका थिए।
गत साता परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गसहित विभिन्न सडकखण्डमा बाढीपहिरो आएर यातायात प्रभावित भएको थियो। अवरुद्ध सडक खुलाउन प्रहरी र स्थानीय प्रशासनले निरन्तर काम गरिरहेको जनाएको छ।
प्रहरीले अझै केही सडकमा अवरोध कायमै रहेकाले यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको सडक अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij