२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद डा. पुष्पराज कँडेलले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम र त्यसको खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विपद् व्यवस्थापनमा सरकारले परिचालन गरेको आर्थिक स्रोतको पारदर्शितामाथि प्रश्न उठाएका हुन् । देशमा बारम्बार आइपर्ने विपत्ति र त्यसको व्यवस्थापनका लागि खडा गरिएका कोषहरूको सदुपयोगबारे सांसद कँडेलले चासो व्यक्त गरेका छन् ।
उनले कोषमा कति रकम जम्मा भएको छ र सो रकम कुन-कुन शीर्षकमा खर्च भयो भन्नेबारे संसद् अनभिज्ञ रहेको बताएका छन् । सांसद कँडेलकाअनुसार स्थानीय तह, प्रदेश सरकार र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणसम्म कति रकम पुग्यो र त्यसको प्रभावकारिता कस्तो रह्यो भन्ने विवरण अहिलेसम्म संसदलाई जानकारी गराइएको छैन ।
उनले भने, ‘विपत्तिमाथि विपत्ति आइरहेको सन्दर्भमा कोषहरूको यथार्थ विवरण सार्वजनिक नहुनु दुःखद् छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषको खर्चको स्पष्ट विवरण यो सम्मानित संसद्मा पेश हुनुपर्छ ।’
उनले सरकारले विपद्का समयमा संकलन गरेको रकमको पारदर्शी लेखाजोखा हुनुपर्नेमा जोड दिँदै यसले नागरिकको विश्वास बढाउने तर्क गरेका छन् । कँडेलको यो मागसँगै विपद् व्यवस्थापनका लागि सरकारले प्रयोग गर्ने वित्तीय स्रोतको वितरण प्रणालीमाथि थप बहस शुरु भएको छ । सरकारले अब यी कोषहरूको आय-व्यय विवरण कसरी संसद्मा प्रश्तुत गर्छ, त्यो प्रतिक्षाको विषय बनेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij