२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पछिल्लो समयको विपद्बाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै विपद् व्यवस्थापनको संरचनागत सुधारका लागि सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा उनले विपद्लाई ‘दैवी प्रकोप’ भनी पन्छिने प्रवृत्ति गलत रहेको बताउँदै प्रधानमन्त्रीको राहत कोषको नामकरण परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद खरेलले सदनलाई जानकारी गराएअनुसार हालैको विपद्मा परी २७ जनाले ज्यान गुमाएका छन् भने ४ जना अझै बेपत्ता छन् । विपद्का कारण अर्बौं रुपैयाँ बराबरको भौतिक क्षति भएको उल्लेख गर्दै उहाँले यसलाई ‘दैवी’ भन्नुको सट्टा प्राकृतिक वा मानव सिर्जित समस्याका रूपमा बुझ्नुपर्ने बताएका छन् ।
उनले भने, ‘विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ । हामीले पटक–पटक भन्दै आएका छौं कि यसलाई दैवी प्रकोपको बिल्ला भिराएर जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’
यसअघि नै सदनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न माग गरेको स्मरण गराउँदै उक्त प्रश्तावको जवाफ अझै नपाएको गुनासो गरेका छन् । खरेलले विपद् व्यवस्थापन प्राधिकरणको हालको संरचना र कार्यशैलीप्रति समेत प्रश्न उठाएका छन् ।
उनले प्राधिकरणमा सहसचिव स्तरका व्यक्ति राखेर मात्रै विपद्को जटिल समस्या समाधान नहुने भन्दै यसलाई थप अधिकारसम्पन्न र बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। उनले संसदको विशेष समिति तथा सुशासन तथा राज्य व्यवस्था समितिले पनि यसतर्फ गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij