२०८३ आश्विन १३ गते मंगलवार
धनगढी । धनगढी उपमहानगरपालिका-६ मटयारीकी सुशीला विष्टले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएकी छन् । धनगढी उपमहानगरपालिकाद्वारा दिइएको फूलखेती तालिमबाटै सिकेर उहाँले फूलखेती सुरुआत गरेकी हुन् ।
न्यू बण्डोली नर्सरी कन्र्सन फार्ममार्फत फूलखेती गर्दै आएकी सुशीला हाल फूलखेतीबाट आत्मनिर्भर बन्नुको साथै आम्दानीसमेत गर्दै आएकी छन् । पाँच लाख लगानीबाट सुरु गरेकी सुशीलाको फूलखेती व्यवसायमा अहिले ५० लाख लगानी पुगेको छ । दुई बिघा क्षेत्रफल जमिन लिजमा लिई व्यावसायिक रुपमा फूलखेती गर्दे आएकी सुशीलाले वार्षिक रुपमा ५० लाखको कारोबार गर्दै आएको जानकारी दिइन् ।
फूलका बिरुवा हुर्काउने, गोडमेल गर्नेदेखि लिएर हेरचाहको लागि ११ जना स्थानीयले समेत रोजगार पाएका छन् । मासिक रुपमा एक लाख ८० हजार उनीहरुको तलबमा खर्च हुने गरेको छ । जसबाट सबै खर्च कटाएर वार्षिक २० लाख बचत हुने गरेको उनको भनाइ छ । ‘दश जना परिवारको सम्पूर्ण खर्च यसै व्यवसायबाट धान्दै आएको छु’, उनले भनिन्, ‘फूलखेतीबाट आम्दानी राम्रो हुँन थालेपछि अहिले आर्थिक अवस्था सुधारसँगै आत्मनिर्भर भएकी छु ।’
प्रतिकिलोग्राम चार सयमा फूल बिक्री गर्दे आएकी सुशीलाले कैलाली, कञ्चनपुरसहित प्रदेशका नौवटै जिल्लामा फूल बिक्री गर्दै आएको बताएकी छन् । उनले कहिलेकाहीँ मागअनुसार बिक्रीको लागि काठमाडौँसमेत पठाउने गरेकी छन् । उनले हाल धनगढी उपमहानगरपालिकाको परिसरमा फूल बिक्री केन्द्र राखेर फूल, फूलको माला, बुके, गुच्छासहित फूलका सामग्री बिक्री गर्दै आएकी छन् ।
सुशीलाको फूलखेतीमा हाल सयपत्री, गोदावरी, गुलाफ, रजनीगन्धा, जीप्सफिला, ग्याडुलमलगायत विभिन्न जातिका फूल रहेका छन् । उनले फूल बिक्रीसँगै फूलका बेर्नासमेत उत्पादन गरी बिक्री गर्दै आएको बताइन् ।
पछिल्लो समय धनगढीमा फूल तथा सजावटका सामग्रीको माग बढ्दै भएको छ । उनले उत्पादन गरेको फूल विवाह, व्रतबन्ध, विभिन्न औपचारिक कार्यक्रम, धार्मिक तथा सांस्कृतिक पर्व, विद्यालयमा हुने गरेका विभिन्न कार्यक्रम र अन्य शुभकार्यमा प्रयोग हुने गरेको उनले बताइन् ।
उनले सुरु गरेको फूलखेतीले स्थानीयस्तरमै कृषि उद्यम गर्न चाहने अन्य व्यक्तिलाई समेत प्रेरणाको दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij