२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । अविरल वर्षा र बाढीपहिरोका कारण अवरुद्ध विद्युत् आपूर्ति बाढी प्रभावित सबै जिल्लामा बुधबारसम्म सुचारु हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सोमबार पत्रकार सम्मेलनमार्फत प्रभावित क्षेत्रमा मर्मतको काम तीव्र रूपमा भइरहेको जानकारी दिएका हुन्।
वर्षाका कारण प्रसारण तथा वितरण संरचनामा क्षति पुग्दा एकैदिन राष्ट्रिय प्रणालीबाट १ हजार मेगावाटभन्दा बढी विद्युत् बाहिरिएको थियो। सडक अवरुद्ध हुँदा प्राविधिक टोली परिचालनमा कठिनाइ भए पनि मर्मत कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार म्याग्दी, बागलुङ, तनहुँ र रुकुम पूर्वमा विद्युत् आपूर्ति पुनः सुचारु भइसकेको छ। मुस्ताङ, प्युठान र डोल्पामा मंगलबार अपराह्नसम्म तथा अन्य प्रभावित क्षेत्रमा बुधबारसम्म विद्युत् जडान गरिसक्ने लक्ष्य राखिएको छ।
बाढीबाट सेती–मादी करिडोरका २६२ मेगावाट र मर्स्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आएका छन्। १४४ मेगावाटको कालीगण्डकी ‘ए’ पनि पिक आवरमा सञ्चालनमा ल्याउने तयारी छ।
विद्युत् उत्पादनमा आएको कमी पूर्ति गर्न प्राधिकरणले भारतबाट १ हजार १५४ मेगावाटसम्म विद्युत् आयात गर्ने योजना बनाएको छ। आन्तरिक उत्पादन र आयातबाट कुल २ हजार ३७२ मेगावाट विद्युत् उपलब्ध गराउने लक्ष्य छ।
यसअघि भदौ १० गते भोटेकोशी–त्रिशूली बाढीबाट विद्युत् संरचनामा ठूलो क्षति पुगेको थियो। उक्त बाढीबाट प्राधिकरण र सहायक कम्पनीहरूको करिब ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij