२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर दुई समूहले छुट्टाछुट्टै निर्वाचन प्रक्रिया अघि बढाएका छन्। संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने तयारी गरिरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।
दुवै समूहले महाधिवेशनमा उम्मेदवार बन्नका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरेका छन्। देउवा समूहले सार्वजनिक गरेको निर्वाचन निर्देशिकाअनुसार केन्द्रीय सभापतिका लागि ३० हजार रुपैयाँ शुल्क तोकिएको छ। उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ।
यसैगरी, प्रदेश सभापतिका लागि १० हजार, जिल्ला सभापतिका लागि ५ हजार, प्रतिनिधिसभा क्षेत्रीय सभापतिका लागि ३ हजार ५०० र वडा सभापतिका लागि २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने जनाएको छ।
संस्थापन पक्षको निर्वाचन निर्देशिकामा भने उम्मेदवारी शुल्क तुलनात्मक रूपमा बढी छ। केन्द्रीय सभापतिका लागि ४० हजार, उपसभापति र महामन्त्रीका लागि ३० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको विवरण सार्वजनिक भएको छ।
प्रदेश सभापतिका लागि २० हजार, जिल्ला सभापतिका लागि १५ हजार, प्रतिनिधिसभा क्षेत्रीय सभापतिका लागि १० हजार र वडा सभापतिका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। यसरी विभिन्न तहमा संस्थापन पक्षको शुल्क देउवा समूहको भन्दा बढी देखिएको छ।
यससँगै कांग्रेसको १५औँ महाधिवेशनका लागि दुवै समूहले छुट्टाछुट्टै निर्वाचन प्रक्रिया अघि बढाएका छन्। संस्थापन पक्षको आधिकारिक कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij