२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो तथा परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन प्रहरीसमक्ष निवेदन दिएका छन्। उनका छोरा सचिन्द्र शमशेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिइएको हो।
निवेदनमा पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका सुरक्षा चुनौतीसँग सम्बन्धित विषयका कारण आफू र परिवार असुरक्षित महसुस गरेको उल्लेख गरिएको छ। न्यायपालिकाको प्रमुखका रूपमा आफूले गरेका निर्णय तथा विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारीका कारण थप सुरक्षा चुनौती महसुस भएको पनि निवेदनमा भनिएको छ।
जबराले पछिल्लो समय प्रहरी कार्यालयबाट केही विषयबारे जानकारी पाएपछि आफ्नो सुरक्षा थप आवश्यक देखिएको बताएका छन्। निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यका सुरक्षा निकायको ध्यान पुग्नुपर्ने माग उनको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशीलसिंह राठौरले जबराले सुरक्षा माग गर्दै निवेदन दिएको पुष्टि गरेका छन्। यसअघि शनिबार राति जबरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने आइतबार दिउँसो उनलाई छाडिएको थियो। उनको पक्राउ र रिहाइको विषयमा विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij