२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं। नारायणी नदीको किनारबाट बगेर पुलको पिलरमा अड्किएको नेपालकै पहिलो ठुलो ‘राइनो क्रुज’ निकाल्ने काम सुरु भएको छ।
नदीको बहाव केही घटेपछि अड्किएको क्रुजलाई सुरक्षित रूपमा पन्छाउन वा हटाउन प्रयास थालिएको हो।
अविरल वर्षाका कारण नारायणी नदीमा आएको भीषण बाढीले किनारमा बाँधेर राखिएको साढे दुई तले क्रुजलाई बगाएर पुलको पिलरसम्म पुर्याएको थियो। क्रुज बगेर नारायणीको पुलमा अड्किएपछि पुलको सुरक्षामा गम्भीर चुनौती थपिएको नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताएका छन्।
नदीको बहाव उच्च रहँदा र रात परेका कारण क्रुजलाई तान्न असम्भव भएपछि क्रेनको सहायताले फुटाएर पठाउने वा कसरी हटाउने भन्नेबारे सडक डिभिजन कार्यालयसँग छलफल अघि बढाइएको थियो।
इलाका प्रहरी कार्यालय गैँडाकोटका इन्चार्ज, प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीमा समेत जोगिएको क्रुज यसपालि नारायणीको बाढीले बगाएर ल्याई पिलरमा ठोकिएकाले पुल नै भाँचिने जोखिम बढेको थियो। जलस्तर घटेसँगै सुरक्षा निकाय र प्राविधिक टोलीले क्रुजलाई हटाउने काम अघि बढाएका हुन्।
नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा गत माघ १८ गतेदेखि यो क्रुज सञ्चालनमा आएको थियो। नवलपुर र आसपासको पर्यटकीय क्षेत्रमा नयाँ गन्तव्य बनाउने योजनासहित ५० करोड रुपैयाँको लागतमा राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा यसको सञ्चालन थालेका थिए।
रिभर क्राउन प्रालिका प्रबन्ध निर्देशक दीपक ढकालका अनुसार ९५ फिट लम्बाइ र २१ फिट चौडाइ रहेको यस क्रुजको कुल क्षमता दुई सय जनासम्मको भए पनि १५० जना यात्रुलाई सुविधा उपलब्ध गराउने गरी चलाइएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij