२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा जडिबुटी (कटुको) संकलनका लागि पुगेका मुगुका स्थानीयमध्ये एक जनाको हिउँमा परेर मृत्यु भएको छ भने नौ जना सम्पर्कविहीन भएका छन्।
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइलबाट कटुको संकलनका लागि पुगेका २२ वर्षीय गणेश बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रविराज थपलियाले जानकारी दिए। उनका अनुसार भदौ २८ गते १३ जना जडिबुटी संकलनका लागि उक्त क्षेत्रमा पुगेका थिए।
सामुदायिक वन उपभोक्ता समितिले कटुको संकलन गर्न नदिएपछि उनीहरू फर्किने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा पुगेका थिए। सोही क्रममा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन हुनेमा पापुका २८ वर्षीय बलबहादुर बुढा, २७ वर्षीय प्रकाश बुढा, ३६ वर्षीय ललितजंग बढुवाल, ३५ वर्षीय जयबहादुर बढुवाल र २६ वर्षीय अेखबहादुर रोकाय छन्। त्यस्तै छाइलका ३६ वर्षीय जयबहादुर रोकाय, ४२ वर्षीय वीरबहादुर ऐडी, २३ वर्षीय प्रेम रोकाय र १९ वर्षीय पवन रोकाय पनि सम्पर्कविहीन छन्।
स्थानीयका अनुसार टोलीमध्ये बच्चा बुढा, प्रिय बुढा र १६ वर्षीय सर्जन बुढा भने सम्पर्कमा आएका छन्। घटनास्थल हुम्ला–मुगु सीमाक्षेत्रको उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भइरहेकाले खोज तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयले जडिबुटी संकलन गर्ने क्रममा हुम्लातर्फका सामुदायिक वन समूहसँग विवाद तथा झडप भएको दाबी गरेका छन्। घटनाबारे वास्तविक अवस्था बुझ्न हुम्ला र मुगु दुवैतर्फका सुरक्षा निकायले खोजी तथा अनुसन्धान अघि बढाएका छन्। सम्पर्कविहीनहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij