Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

पाल्पामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु

पाल्पामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु


  • 610
    Shares

    पाल्पामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु
    images

    काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर पाल्पामा पाँच जनाको मृत्यु भएको छ। माथागढी गाउँपालिका–३ भसकट्टामा आइतबार बिहान घर पहिरोले पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

    मृत्यु हुनेमा ७५ वर्षीय लीलबहादुर घर्ती, १७ वर्षीया दिना घर्ती मगर र १५ वर्षीया झरना घर्ती रहेका छन्। बिहान करिब ५ बजे घर पहिरोले पुरिएपछि उनीहरू बेपत्ता भएका थिए। खोजीका क्रममा तीनै जनाको शव फेला पारिएको हो। शव पोस्टमार्टमका लागि पाल्पा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

    यसैगरी, माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको पनि पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। रिडीस्थित रुरु क्षेत्रधाम तथा रानीमहल क्षेत्र पूर्ण रूपमा डुबानमा परेका छन् भने पाल्पाको अन्न भण्डार मानिने माडीफाँटसमेत बाढीको चपेटामा परेको छ।

    कालीगण्डकी नदी क्षेत्रमा रहेका पक्की तथा झोलुङ्गे पुलमा क्षति पुगेको छ। जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् भने ग्रामीण क्षेत्रमा विद्युत र मोबाइल फोन सेवा समेत प्रभावित भएको प्रहरीले जनाएको छ। वर्षाका कारण भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १६:०५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij