Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

बाढीपहिरो प्रभावित क्षेत्रमा सेनाको सक्रियता

बाढीपहिरो प्रभावित क्षेत्रमा सेनाको सक्रियता


  • 484
    Shares

    बाढीपहिरो प्रभावित क्षेत्रमा सेनाको सक्रियता
    images

    काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको खोज तथा उद्धारमा नेपाली सेनाले सक्रियता बढाएको छ। आइतबार सेनाले बाढीपहिरो प्रभावित विभिन्न ६ स्थानमा उद्धार तथा स्थानान्तरणको काम गरेको छ भने अवरुद्ध राजमार्गसमेत खुलाएको छ।

    पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदी बस्तीमा पसेर घर बगाएपछि नयाँ रणभिम गुल्मबाट परिचालित सेनाले स्थानीयलाई सुरक्षित स्थानमा सार्नुका साथै सरसामान जोगाउन सहयोग गरिरहेको छ। यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यबिन्दु नगरपालिका–२ भुताहामा नारायणी नदीको बाढीका कारण डुबानको जोखिम बढेपछि नम्बर–२ वन तथा पर्यावरण सुरक्षा गणको टोली स्थानीयलाई सुरक्षित स्थानमा सार्न परिचालित भएको छ।

    नवलपरासीको सुस्ता गाउँपालिका–५ मा पनि डुबानको जोखिम बढेपछि त्रिवेणीबाट खटिएको गोरखदल गणको टोलीले स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। पाल्पाको माथागढी गाउँपालिका–३ लेन्दीमा पहिरोले घर पुरिएपछि सैनिक टोली खोज तथा उद्धारमा जुटेको छ।

    चितवनको भरतपुर महानगरपालिका–१ देवघाट र वडा नम्बर ३ बाह्रघरेमा नारायणी नदीको सतह बढेपछि नयाँ सबुज गणको टोली उद्धार तथा स्थानान्तरणमा खटिएको छ। धनुषाको मिथिला नगरपालिका–११ आपगाछी चुरेमा पहिरोले घर पुरिएपछि पनि सेनाको टोली खोज तथा उद्धारका लागि परिचालित भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

    यसैबीच, बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउन पनि सेनाले पहल गरेको छ। तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा पहिरो र लेदोका कारण अवरुद्ध सडकलाई काली भञ्जन गण (ई) बाट खटिएको टोलीले स्थानीय निकायसँगको समन्वयमा अवरोध हटाएर पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ।

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार देशका विभिन्न क्षेत्रमा सेना परिचालन गरी नागरिकको जीउधनको सुरक्षाका लागि खोज, उद्धार तथा सडक खुलाउने कार्यलाई निरन्तरता दिइएको छ।

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १५:५०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij