२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । नेपाली कांग्रेसको समानान्तर महाधिवेशन गर्न लागेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले विभिन्न पदमा उम्मेदवार बन्ने शुल्क निर्धारण गरेको छ । डा. शशाङ्क कोइराला नेतृत्वको १५औँ महाधिवेशन आयोजक समितिअन्तर्गतको केन्द्रीय निर्वाचन समितिले तयार पारेको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०८३’ मा वडा सदस्यदेखि केन्द्रीय सभापतिसम्म उम्मेदवारी शुल्क तोकिएको हो ।
निर्देशिकाको अनुसूची २५ अनुसार वडा कार्यसमितिको सभापतिका लागि २५० रुपैयाँ तथा उपसभापति, सचिव र सहसचिवका लागि १५० रुपैयाँ शुल्क तोकिएको छ । वडा सदस्यका लागि ५० रुपैयाँ र प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
गाउँपालिका कार्यसमिति सभापतिका लागि १ हजार, उपसभापति, सचिव र सहसचिवका लागि ५०० तथा सदस्यका लागि २५० रुपैयाँ शुल्क तोकिएको छ । नगरपालिका सभापतिका लागि २ हजार, उपसभापति र सचिवका लागि १ हजार ५००, सहसचिवका लागि १ हजार र सदस्यका लागि ५०० रुपैयाँ निर्धारण गरिएको छ । महानगर तथा उपमहानगर सभापतिका लागि २ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ ।
त्यस्तै, जिल्ला कार्यसमिति सभापतिका लागि ५ हजार, उपसभापति तथा सचिवका लागि ३ हजार ५००, सहसचिवका लागि ३ हजार र सदस्यका लागि १ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रदेश कार्यसमिति सभापतिका लागि १० हजार, उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीका लागि ६ हजार र सदस्यका लागि ३ हजार रुपैयाँ तोकिएको छ ।
केन्द्रीय कार्यसमितिको सभापतिका लागि भने ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको निर्देशिकामा उल्लेख छ ।
यसैगरी प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि ५००, प्रदेश महाधिवेशन प्रतिनिधिका लागि १ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २ हजार ५०० र केन्द्रीय महासमिति सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । निर्वाचन प्रक्रियालाई व्यवस्थित र संस्थागत गर्ने उद्देश्यले उम्मेदवारी शुल्क निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij