Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

चोलेन्द्रको गिरफ्तारीप्रति कांग्रेसको आपत्ति, भन्यो– कानुनी आधार र औचित्य स्पष्ट गर

चोलेन्द्रको गिरफ्तारीप्रति कांग्रेसको आपत्ति, भन्यो– कानुनी आधार र औचित्य स्पष्ट गर


  • 582
    Shares

    चोलेन्द्रको गिरफ्तारीप्रति कांग्रेसको आपत्ति, भन्यो– कानुनी आधार र औचित्य स्पष्ट गर
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको गिरफ्तारीप्रति आपत्ति जनाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले आइतबार विज्ञप्ति जारी गर्दै कानुनी शासन र संवैधानिक सर्वोच्चताको सीमाभित्र रहेर राज्यका संयन्त्र सञ्चालन हुनुपर्ने बताएका छन् ।

    कांग्रेसले जबराको गिरफ्तारीबारे सरकारी अधिकारीहरूबाट सार्वजनिक भएका फरक–फरक भनाइलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । पार्टीका अनुसार यस्ता विरोधाभासपूर्ण अभिव्यक्तिले गिरफ्तारीको कानुनी आधार र औचित्यमाथि प्रश्न उठाएको छ ।

    प्रवक्ता चालिसेले यदि गिरफ्तारी कानुनसम्मत र आवश्यक थियो भने सरकारले त्यसको स्पष्ट कानुनी आधार तथा औचित्य सार्वजनिक गर्नुपर्ने बताएका छन् । उनले अपराध अनुसन्धान र कानुन कार्यान्वयनको प्रक्रियामा कांग्रेस बाधक नभएको स्पष्ट गर्दै कानुन कार्यान्वयनको नाममा अस्पष्ट र अन्योलपूर्ण प्रक्रिया स्वीकार्य नहुने बताएका छन् ।

    कांग्रेसले अनुसन्धान निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिएको छ । कसैले कानुन उल्लङ्घन गरेको भए प्रमाणका आधारमा कारबाही हुनुपर्ने र दोषी ठहरिए कानुनबमोजिम सजाय हुनुपर्ने पार्टीको धारणा छ । चालिसेले गिरफ्तारी आफैँमा दोषको प्रमाण नभएको भन्दै राज्य शक्तिको प्रयोग पारदर्शी, न्यायोचित र जवाफदेही हुनुपर्ने बताएका छन् ।

    जबरालाई प्रहरीले आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा ल्याएको थियो । प्रहरीले सुरुमा उनलाई पक्राउ गरिएको जनाएको थियो भने पछि सुरक्षा चुनौतीका कारण सुरक्षित स्थानमा राखिएको बताएको छ । प्रहरीले उनीविरुद्ध कुनै मुद्दा अघि बढाउने योजना नरहेको र रिहा गरिने जनाएको छ ।

    कांग्रेसले विशेष सुरक्षा चुनौती वा असाधारण परिस्थितिका कारण यस्तो कदम चालिएको भए त्यसको विश्वसनीय आधार जनतासमक्ष स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएको छ ।  

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १३:४६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij